गौरवको राजनीति खोज्दा गौरव गुमाएको देश !

८ आश्विन २०८२, बुधबार

‘दक्षिण-पश्चिम’बाट हतारमा समर्थन प्राप्त गरेको सरकारले मुलुकको सुरक्षा गर्ने करिव असम्भव देखिएको छ । लोकतन्त्रमा सत्ता-राजनीति मतपत्रबाट जन्मिएको हुनुपर्छ, नकि सडकबाट । दुर्भाग्यवश रगतको खोलो बगाएर, अथाह भौतिक सम्पत्ति स्वाहा पारेर जन्माइएको संविधानसभाबाट निर्मित संविधानलाई मुर्छित तुल्याउँदै भूराजनीतिक शक्तिले सडकबाट सरकार जन्माएको छ । नागरिक वैधानिकता र नैतिक अडान नभएको राजनीति सधैं जोखिमपूर्ण हुन्छ । लोकतन्त्रमा नागरिकको भविष्य जलाउनेहरू लोकतन्त्रवादी हुन सक्दैनन् । दुर्भाग्यवश आयातित लोकतन्त्रको भग्नावशेषमा मुलुकले सूर्योदय खोज्दैछ ।

भूराजनीतिक टकरावले संविधान र लोकतन्त्र कोमामा पुगेको छ । मुलुकलाई थिलथिलो बनाउन चलाइएको मिडिया ट्रायलले सफलता चुमेको छ । ‘समाज र राज्य’बीच अपराधीकरणमा प्रतिस्पर्धा चल्दैछ । अभिजात वर्ग र वैधानिकरूपमा सत्ताकब्जा गरेर उदाएको भुईंफुट्टा वर्गबीच राज्यस्रोत लुट्ने प्रतिस्पर्धा चल्दा मुलुक खरानी भएको छ । पारदर्शिता र जवाफदेहिता हराएको सत्ता-राजनीति, किर्नाजस्तो कर्मचारी प्रशासन, लोभी अभिजात वर्ग र वैचारिक रूपमा टाटपल्टिएको नेतृत्वले जेनजी पुस्ताको नरसंहारमा देखेको राजनीतिक भविष्य चकनाचुर भएको छ । राजनीतिक अस्थिरता मुलुकको भाग्य बनिसकेको छ ।

राज्यका तलबी कर्मचारी, संवैधानिक पदाधिकारी र सरकारमा रहेका राजनीतिज्ञले व्यक्तिगत, पक्षपातपूर्ण र आर्थिक लाभका लागि गरेको कुकर्मको अग्नीकुण्डमा मुलुक फसिसकेको छ । ओली-देउवा सहकार्यमार्फत चलाइएको तथाकथित गतिविधिले मुलुक खरानी बनिसकेको छ । सार्वजनिक छवि ध्वस्त भएका सोकल्ड नेतृत्वले हाइब्रिड संरचनालाई क्षतविक्षत बनाएर सेनाको शरणमा परेको छ । भूराजनीतिक शक्ति-सन्तुलनमा आएको परिवर्तनले मुलुकलाई थप अस्थिर र कमजोर बनाएको छ । जेन जी पुस्ताको गोरुचुटाइमा परेको हजुरबुबा पुस्ता पार्टी-सत्तामा टिक्न अन्तिम र असफल कोसिस गरिरहेको छ ।

परिपक्व र लायक व्यक्तिलाई उचित स्थानमा राजनीतिक नियुक्ति लोकतन्त्रको विशेषता हो भन्ने जलेको सिंहदरबारले समेत अनुशरण गर्न पाउने देखिएन । जनताले रोजेको राजनीतिक दृष्टिकोणसँग परिवर्तनको भेटघाट हुने सङ्केत पनि देखिएन । प्रत्येक सरकारले सचिव, आयुक्त, राजदूत, व्यावसायिक सहचारीलाई राजनीतिसँग नीति मिलाउन दिनुमा मुलुकको कल्याण छ । तटस्थताको कार्यलाई निरन्तरता दिनाले उनीहरूको कार्यसम्पादनलाई कमजोर बनाउँछ । नागरिकको एलर्जी यसकारण चुलिएको छ । मुलुकको निजामती सेवा माथिल्लो तहमा जवाफदेही छैन । तल्लो तह अनभिज्ञ छ । जेनजी पुस्ताको सपना नजन्मिँदै तुहिएको छ ।

गौरवको राजनीति खोज्दै जाँदा भेनिसलाई भुल्न सकिएन । सन् १९५५ मा १५ वर्षीया नाबालिग इटालियन राजकुमारी Ira von Furstenberg ले ३१ वर्षीय राजकुमार अल्फोन्सोसँग विवाह गरे, जसलाई भेनिसले गौरव गरिरह्यो । सन् १९६० मा जेम्स मोरिसले भेनिसको गीतात्मक प्रशंसा लेखे । उनले यसलाई ‘आधा उदास शहर’को रूपमा वर्णन गरे, तर ‘वर्तमान चिन्ताहरूको कारण उदासीन होइन, केवल पुरानो पश्चात्तापको कारण’ । उनलाई यसको ‘दुःखी, भड्किलो र पुरानो सम्झनाको मिश्रण’ मनपऱ्यो । एक प्रभावशाली प्रेमी ‘जोन रस्किन’ले सन् १८५१-५३ को बीचमा तीन खण्डको श्रद्धाञ्जली स्टोन्स अफ भेनिस प्रकाशित गरे । सन् १८८० मा लेखक जर्ज इलियटले भेनिसलाई ‘शाही मनोवृत्ति लिएर जन्मेको प्राणी’ भन्दै वर्णन गरे । पति जोन क्रसले जोन रस्किनसँग भेनिसमा हनिमुन मनाए । क्रसले निःस्वार्थ रूपमा, ग्रान्ड नहरमा हामफालेर आत्महत्या गर्ने प्रयास गरे । सौभाग्यवश उनी बाँचे । उल्लेखित घटना सैनिक ब्यारेकमा बसेर नेता ओलीले पढ्दा कति सान्दर्भिक र रोमाञ्चक भयो होला !

नेता ओलीको अकल्पनीय पतनपश्चात् एमालेमा लिङ्ग परिवर्तन गर्ने लहर चलेको छ । निर्विकल्प शीर्ष नेतृत्वको विकल्प खोज्ने अभियान चलेको छ । यसलाई बुझ्न फेरि एकपटक नेता ओली भेनिसको कहानी पढ्न अभिसप्त छन् । सन् १९८० को बीचमा जेम्स मोरिसले लिङ्ग परिवर्तन गरे । जान मोरिसको रूपमा, उनले द भेनेसियन एम्पायर (१९८०) प्रकाशित गरिन्, जसमा उनले भेनेसियनहरूको इतिहासलाई ‘समुद्री साम्राज्यवादी’को रूपमा प्रस्तुत गरिन् । उनको पश्चात्ताप थियो- आधुनिक भेनिस रोमान्टिक रहेन, जसलाई संसारले ‘एक विश्वव्यापी सम्पदा’ भन्दै गौरव गरिरहेको छ । सत्ता, शक्ति र पैसालाई गौरव मान्ने विश्व पुँजीवाद र लोकतन्त्रले हरेक विषय र वस्तुलाई उच्चतम बोली लगाउँदै छ । भेनिस शहरको सांस्कृतिक स्मारकलाई अर्बपति बेजोसले कमाउने भाँडो बनाएका छन् ।

रोचक ढङ्गले बुझ्न लोकतन्त्रलाई म्युजिकल चियर बनाएर मुलुक लुट्ने नेतात्रयले आफूलाई बेजोसको भूमिकामा स्थापित गरे । आफ्नो र दलको इतिहास बेचेर मच्चाएको लुटलाई विवेक गुमाएका आसेपासेले काँध हालेको सजाय मुलुकले भोगिसकेको छ । राजनीति नबुझेका अनुभवहीन जेनजी पुस्तामाथि बर्बरतापूर्वक दमन गराउने तारतम्य समेत दुर्भाग्यवश भूराजनीतिक शक्तिले मिलायो । निर्दोष नाति-पुस्तालाई शिखण्डी बनाउँदै परम्परागत शक्तिलाई सडकमार्फत समाप्त गर्ने, कठपुतली सरकार निर्माण गर्दै चीन घेर्ने पश्चिमा षडयन्त्रमा दक्षिणले प्रवेश गर्दा मुलुकको सार्वभौम सत्ता, शान्ति र दीर्घकालीन अस्तित्व खतरामा परिसकेको छ । संयोगवश अमेरिकी आशीर्वादमा हिंस्रक बनेका अभियन्ता र सोसल मिडिया सेलीब्रेटीले दुर्लभ पश्चात्ताप व्यक्त गर्ने अवसरसमेत पाउने छैनन् । तिब्बत सुरक्षाको कारणले झस्किएको चीन चुपचाप नबस्ने सङ्केत मिल्दैगर्दा विवेकको हत्या गर्नेहरूबाट मुलुकलाई जोगाउन नेपाली सेनाले एक्सन लिने उचित समय आएको छ ।

सन् १९६३ मा मानवतावादी Pope John XXIII ले Pacem in Terris प्रकाशित गरे । जहाँ ‘प्रत्येक मानिसलाई जीवन, शारीरिक अखण्डता र जीवनको उचित विकासको लागि उपयुक्त साधनहरूको अधिकार छ’ भन्ने कुरामा जोड दिए । यसले संसारको अन्तःस्करणको आवाज बोलेको थियो । पोप जोनको विश्व दृष्टिकोण जारी भएको केही समयपछि मृत्यु भयो । उनको असङ्ख्य कार्यहरू धेरैलाई सम्झना छ । विशेषगरी सन् १९५८ मा रोमको Regina Coeli को भ्रमण गर्दै उनले कैदीसँग क्रिसमस मनाए । पोप जोनको काकाको छोरालाई त्यही जेलमा कैद गरिएको सम्झेर कैदीलाई छक्क पारे । उनका उत्तराधिकारी पोप जोन पल द्वितीयले दुई वर्ष पहिले उनलाई गोली हानेका मुस्लिम बन्दुकधारी मेहमेट अलि आकालाई भेटे । यी दुई मानवीय पोपहरूको कार्यहरू हरेक धर्मका व्यक्तिले सम्झनुपर्ने उदाहरण हुन् ।

यतिबेला ह्वाइट हाउसले भ्याटिकनलाई प्रतिस्थापन गर्ने रणनीतिक अभियान चलाएको छ । धर्मनिरपेक्ष ओभल अफिसले ‘पेसेम इन टेरिस’ पृथ्वीमा शान्ति ल्याउने अभियानको निम्ति राष्ट्रपति ट्रम्पलाई प्रचार गरिरहेको छ । राष्ट्रपति ट्रम्पको धम्की, ट्यारिफ, कथित व्यापार, ड्रोन उत्पादन र वितरण, खतरनाक क्षेप्यास्त्र र बमले भरिएका बि-२ बमवर्षक विमान, अमेरिकी डिपस्टेट, सिआइए र ट्रम्प प्रशासनका कथित नीति कमजोर मुलुकको काल बनिरहेको छ । सत्ता उन्मादमा शान्ति, लोकतन्त्र, अङ्कगणित, जनादेश र मतादेशको परिभाषा बदल्न हौसिएका निर्वाचित तानाशाहहरू राजनीति कब्जा गर्न मरिहत्ते गरिरहेका छन् । दुर्भाग्यवश ‘ट्रम्प’ भिडिरहेका छन्, सौभाग्यवश नेता ‘ओली’ उत्तानो परिसकेका छन् ।

पूर्व राष्ट्रपति बिल क्लिन्टनले ओभल अफिसमा प्रवेश गर्दा ट्रम्पको जस्तो तुच्छता देखाएनन् । राष्ट्रपति क्लिन्टन शान्त, चलाख र जागरूक थिए । उनले चलाखीपूर्वक कमजोरी लुकाए । आम नागरिकलाई भ्रममा राख्दै ओभल अफिसको सम्मान राखे । उनले आफ्नो पुस्तक सिटिजन (२०२४)मा लेखे– जब समाधान अप्राप्य देखिन्थ्यो, ‘विपक्षी चाहे व्यक्ति होस् वा राज्य, सबैलाई साइजमा राख्न १९६९ मा ल्याइएको ३.६ अर्ब वर्ष पुरानो चन्द्रमाको चट्टानलाई टेबलमा देखाउँदै छलफलकर्तालाई उनीहरूको क्षणभङ्गुरताको सम्झना गराउँथे ।’ क्लिन्टनको नक्कल गर्दै नेता ओलीले आफूलाई एकल राष्ट्रवादी बनाउन चुच्चे नक्साको मार्केटिङ गरिरहे । पछिल्लो सत्ता बहिर्गमनपछि थप हल्ला गर्नेछन् ।

गौरव खस्किएको मुलुकमा सुरक्षा चुनौती बढेको छ । जेन जी पुस्ताको क्रान्तिले शान्ति सूचकाङ्कलाई हानि पुऱ्याएको छ । आयातित संविधानले निरन्तर उल्लङ्घनको सामना गरिरहेको छ । भूराजनीतिक खेल महसूस गर्ने ढङ्गले देखिएको छ । सीमा सुरक्षा साझा जिम्मेवारी हो । पछिल्लो अस्थिरताले छिमेकीलाई झस्काएको छ । समाजवाद उन्मुख संविधानले रोकेको वैदेशिक लगानी सेप्टेम्बर क्रान्तिको नाममा मच्चाइएको हिंसापश्चात् शून्यमा पुगेको छ । वैदेशिक पलायनलाई विकल्प मान्न नचाहेको निजीक्षेत्रले बेहोरेको पछिल्लो ध्वंशले निजी क्षेत्रको मनोबल गिरेको छ ।

वैश्य युगमा जननिर्वाचित संसद् अचानक विवेक परिवर्तन गर्ने/गराउने संस्था रहेन/होइन । मुलुकलाई उत्पादनतर्फ फर्किन नदिने ध्वंसात्मक सोसल मिडिया, आयातित उपलब्धि र डिजिटल पुँजीवादले पुष्टि गरिसकेको छ, गफ दिएर पैसा कमाउन सकिन्छ । जेनजी पुस्ताको अभियान समेत त्यसतर्फ ट्युन गरिएको छ । गौरवको राजनीति खोजेको पुस्ताले गाई काटेर खान पाउनुपर्छ भन्ने व्यक्तिलाई न्याय, शान्ति र सनातन धर्म जिम्मा दिएर मस्तसँग सुतेको छ । दरबारबाट भगाइएका राजा त्रिभुवनदेखि बालुवाटारबाट भागेका प्रधानमन्त्री ओलीसम्म पुग्दा मुलुकको गौरव घाँटी छिनालेर आँखा जोगाए जस्तो भएको छ ।