विद्याको शालिन प्रस्तुति, ‘ओलीटिक्स’ धरापमा !

११ श्रावण २०८२, आइतबार

एउटा चर्चित गाउँमा एक वृद्ध मानिस र उनका दुई युवा पुत्र बस्थे । वृद्धको गतिविधिले पूरै गाउँ पीडित बनिरहेको थियो । जसलाई उनका शिक्षित पुत्रहरूले अनदेखा गरिरहेका थिए । पुत्रहरूको शान्त स्वभावले वृद्ध थप आक्रामक बन्दै गए । उनले बाटो हिँडेका मानिसलाई समेत अपशब्द प्रयोग गर्न थाले । ततपश्चात् पूरै गाउँ वृद्धसँग रुष्ट हुँदै उनको मृत्युको दिन पर्खेर बस्न थाले । वृद्ध बानी रोकिएन । उनी थप बदनाम बन्दै थिए । यस्तैमा वृद्ध उमेरको कारणले थला परे । उनले आफ्ना पुत्रलाई बोलाउँदै भने । तिमीहरू शिक्षित, भद्र तथा शिष्ट छौ, तर मेरो कारणले तिमीहरू समेत बदनाम भएका छौ । अब आफ्नो शिक्षाको प्रयोग गर्दै गाउँलेको दृष्टिमा मलाई राम्रो मानिस बनाउन गम्भीर भएर लाग ।

केही दिनमा वृद्ध बिते । शिक्षित छोराहरू बुबाको अन्तिम इच्छा पूरा गर्न लागे । उनीहरूले बुबा गम्भीर बिरामी परेको र सम्पूर्ण गाउँलेसँग माफी माग्न चाहेको भन्दै गाउँमा खबर पठाए । छोराहरूको अनुरोध सुनेर गाउँले वृद्धको घरमा गए । दुई छोराहरू बाँसको लट्ठी लिएर गेटमा बसे । जब गाउँले आए, शिक्षित छोराहरूले गाउँलेलाई लौरोले चुट्दै लखेट्न थाले । उनीहरूको गतिविधिपश्चात् सम्पूर्ण गाउँलेले भने- यी नालायकहरू भन्दा त बरु यिनका बाउ नै ठिक थिए । बरु उसले त गाउँलेलाई गाली मात्र गर्थ्यो, यिनीहरू त हातपात समेत गर्न थाले ।

उल्लेखित नीतिकथालाई मुलमन्त्र बनाएर चलिरहेको नेकपा एमालेको राजनीतिलाई कमरेड मदनपत्नीले नोटिसमा मात्र लिएर बस्न मानिनन् । जसले गर्दा ‘बा राजनीति’को अनुहार र औकात मुलुकले देख्न पाएको छ । विश्व-राजनीतिको सङ्केत र सन्देशलाई समयमा बुझ्दै कमरेड मदनले सिर्जना गरेको ‘जबज’को बिसर्जन गर्ने ‘बा राजनीति’बाट झस्किएकी मदनपत्नी विद्या एमाले राजनीतिमा फर्किने घोषणा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई उचित लागेन ।

कमरेड मदनको ७४औँ जन्मजयन्तीको सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कमरेड विद्याद्वारा गरिएको सार्वजनिक घोषणापश्चात् नेता ओलीले ‘ओलीटिक्स’ सुरु गरे । गत साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकमार्फत अध्यक्ष ओलीले ‘जबज’को हत्या गर्दै कमरेड विद्यालाई मदनको पार्टीमा प्रवेश निषेध गरिदिए । उनको साधारण सदस्यता खोसियो । अध्यक्ष ओलीको इच्छा, चाहना र आदेशमार्फत विद्याविरुद्ध ‘राजनीतिक कु’ गरियो । जसलाई कमरेड विद्याले गत साउन ९ गते पत्रकार सम्मेलनमार्फत अस्वीकार गरिन् । एमाले केन्द्रीय कमिटीको निर्णयलाई ‘हुलहुज्जतले गरेको निर्णय’ भन्दै ओलीको ‘कु’लाई अस्वीकार्य र अपरिपक्व करार गरिदिइन् ।

आगामी योजनाबारे पत्रकारले पटक-पटक सोधेको प्रश्नमा कुनै जवाफ नदिएर अध्यक्ष ओलीको षडयन्त्रलाई खासै महत्त्व दिइनन् । यसो गर्दै कमरेड विद्याले नेता ओलीको निद्रा खोस्न सफल भएकी छिन् । अध्यक्ष ओलीको अराजनीतिक कदमको सशक्त प्रतिवाद गर्दै परिपक्व राजनीतिज्ञको छवि पस्किएकी छिन् । सत्यलाई अस्थायी रूपमा प्रभावित गर्न सकेपनि वास्तविकतालाई छोप्न सकिँदैन भन्ने पूर्व एमाले उपाध्यक्ष विद्याले अध्यक्ष ओलीलाई एकलौटी मैदान खाली नगर्ने सन्देश दिएकी छन् । नेतात्रयको घोषित/अघोषित सहकार्यमा चलाइएको ‘सुखी बिचौलिया समृद्ध दलाल’को कार्यक्रमलाई नजिकबाट नियाल्दै सफा पानीझैँ बगिरहने प्रण गरेकी छन् । जसले फोहोरहरू आफै किनारा लाग्न बाध्य हुनेछ भन्नेमा कमरेड विद्या ढुक्क देखिएको सङ्केत मिल्दैछ ।

विद्याले नचिनेको एमाले

कमरेड मदनको अकल्पनीय देहावसानपश्चात् ‘जबज’ हुर्काउने जिम्मा तत्कालीन महासचिव माधव नेपालले पाए । दुर्भाग्यवश उनको १५वर्षे कार्यकालमा एमाले वैचारिक रूपमा दुब्लाउँदै गयो । पार्टी राजनीतिमा पश्चिम र दक्षिणको प्रभाव औपचारिक रूपमा प्रवेश गऱ्यो । ९ महिने सरकारको स्वाद चाखेपश्चात् पार्टीभित्र गुटबन्दीको राजनीति सुरु भयो । पार्टीको शरीर मोटाउँदै गयो । जबज खोपीको देवता बन्दै गयो । ०६४ को संविधानसभा निर्वाचनमा अकल्पनीय पराजयपश्चात् माधवले नैतिकताको आधारमा राजीनामा दिए । जसले झलनाथ खनाललाई ५ वर्ष अध्यक्ष बन्ने बाटो खोल्यो । दुर्भाग्यवश जबजलाई बलियो बनाउन उनले समेत जाँगर देखाएनन् । इश्वर र वामदेवको रणनीतिक प्रयोग गर्दै अन्ततः नेता ओली एमाले अध्यक्ष चुनिए । ठुलो कष्ट, कपट र षडयन्त्रको कुटिल प्रयोग गर्दै प्राप्त सत्तालाई मजबुत बनाउन नेता ओलीले जबजको दुरुपयोग गरिरहे । दुर्भाग्यवश जबज पोस्टरमा सीमित गरियो । पार्टी-कार्यकर्ता वैचारिक रुपले टाट पल्टिएको, सुविधाभोगी, दास, झोले, भ्रष्ट बनिसकेको कमरेड विद्याले भर्खरै बुझ्न पाएकी छन् ।

अब के गर्ने ?

नेतात्रयद्वारा मुलुकमा मच्चाएको भ्रष्टाचार, अन्याय, नातावाद, कृपावाद, भाषा, धर्म, संस्कृतिमाथिको प्रहारलाई लुकाउँदै दुई पटक राष्ट्रपति भएको व्यक्ति पार्टी राजनीतिमा आउँदा गणतन्त्र कमजोर हुन्छ भन्ने कथित स्यालहुइँया मच्चाइएको छ । गणतन्त्रको नाममा चलाइएको लुटलाई निरन्तरता दिने तथाकथितहरूको षडयन्त्रलाई चिर्न जरुरी छ । सम्पूर्ण मुलुकवासीलाई काल्पनिक सपना बाँडेर बेथिति, विकृति, विसंगतिलाई जीवित राख्दै मुलुकवासीलाई कङ्गाल बनाउने नेतात्रयको राजनीतिलाई भण्डाफोर गर्न जरुरी छ ।

यसको नेतृत्व कमरेड विद्याले गरुन् भन्ने मदनका समर्थक, शुभेच्छुक, देशभक्त, न्यायप्रेमी, भ्रष्टाचारविरोधी नागरिकको चाहना छ । नागरिकको इच्छा र चाहनालाई सम्मान गर्दै प्रस्ट कार्यक्रम सहित जनतासामु जानु पर्नेछ । यसै सिलसिलामा नेतात्रयद्वारा मच्चाइएको मुलुकविरोधी काण्डको भण्डाफोर गर्दै सोसल मिडियामा प्रचार-प्रसार गर्न जरुरी छ । योग्यता र क्षमताको सम्मान र कदर गर्ने खुला प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण भ्रष्टहरूलाई कानुनी दायरामा ल्याउन विश्वसनीय उच्चस्तरीय आयोग गठन गर्ने सार्वजनिक प्रतिबद्धता विद्याको मुखबाट मुलुकले सुन्न चाहेको छ ।

‘वाम एकता’को गुलियोबाट मुक्त हुने

धेरै वादविवाद गरिरहन जरुरत छैन, मुलुकमा वामहरूको राम्रो उपस्थिति छ । सर्वसाधारण नागरिकमा उनीहरू प्रति अझै भ्रम बाँकी छ । धर्म र परम्परालाई त्याग्न नसकेका वामहरूले समाजवादको नाममा सम्पत्ति कमाउन लुछाचुँडी गर्दा वाम आन्दोलनभित्र भाले माहुरी र रानो माहुरीको सङ्ख्या थपिएको छ । ज्यामी माहुरीको सङ्ख्या घटेको कारणले भाले माहुरीहरू विद्यामार्फत वामएकताको सपना देख्दैछन् । उनीहरूको ‘लोभ र षडयन्त्र’बाट कमरेड विद्याले छिटोभन्दा छिटो मुक्त हुन जरुरी छ । जसले भूराजनीतिक दबाबलाई कम गर्ने छ । यद्यपि विभिन्न घारमा रहेका ज्यामी माहुरीको क्षमता, योग्यता, त्याग र समर्पणको मूल्याङ्कन गर्दै मूलधारमा स्वागत गर्ने नीति लिनु बुद्धिमानी हुनेछ । जसले ओलीको षडयन्त्र र पश्चिमको गतिविधि असफल हुनेछ ।

सक्रिय राजनीतिमा आउनुको कारण खुलाउने

मदनको पत्नी, आफ्नै सहयोद्धा, पूर्व पार्टी उपाध्यक्ष, दुई पटक राष्ट्रपति भइसकेको मानिसलाई समेत नेता ओलीले यस ढङ्गले दमन गर्न सक्छन् भने सामान्य कार्यकर्ता र जबजको हालत कस्तो होला भन्ने कमरेड विद्याले भर्खर महसूस गर्न पाएकी छिन् । अध्यक्ष कमरेडको नेतृत्वमा मदनको पार्टी कब्जामा परेको, जबजले एमाले पार्टीभित्र अस्तित्वको लडाइँ लड्न बाध्य भएको, राजनीतिको अपराधीकरण भएको, अपराधको राजनीतिकरण गरिएको आफ्नै आँखाले देखेपछि सक्रिय राजनीतिमा हामफाल्न बाध्य भएको आम नागरिकलाई बुझाउनु पर्नेछ ।

विद्यासँग मुलुकको अपेक्षा

पटके परिवर्तनले मुलुक खोक्रो भएको छ । अवसरहरू सीमित व्यक्तिको कब्जामा परेको छ । राजनीतिप्रति नागरिकको विश्वास र भरोसा खुइलिएको छ । छिमेकीसँग सम्बन्ध चिसिएको छ । परराष्ट्र नीति असन्तुलित बनेको छ । प्लस टु जेनेरेसनले मुलुकलाई माया गर्न छोडेको छ । मुलुकमा भविष्य छैन भन्ने नागरिकको सङ्ख्या उकालो चढेको छ । भ्रष्टाचार बिना राष्ट्रिय महत्त्वका योजना र आयोजना सम्पन्न नहुने अवस्थामा पुगेको छ । नेतात्रयको कब्जामा परेको आयातित लोकतन्त्रले मुलुकलाई बचाउन नसक्ने अवस्था सिर्जना गरिएको छ ।

न्यायपालिका, संवैधानिक अङ्ग, तीन वटा सरकार, कर्मचारी प्रशासनसँग युवावर्गको सम्बन्ध र विश्वास टुटेको छ । कमरेड विद्याले गुमाउन केही छैन । उनीसँग सम्पूर्ण देशभक्त र न्यायप्रेमीलाई राष्ट्रिय एकसुत्रमा बाँध्ने अवसर आएको छ । उनले नरम र प्रस्ट शब्दमा कडा र सबैले बुझ्ने गरी भन्नुपर्नेछ- मेरो एकमात्र लक्ष्य र उद्देश्य राजनीतिको शुद्धीकरण गर्ने हो । थकित देशभक्तिलाई जगाउने मात्र हो । भूराजनीतिक शक्तिको स्वार्थलाई बुझ्दै मुलुकको पक्षमा खुट्टा टेक्नु हो । जसको निम्ति निकट भविष्यमा उनी नागरिकको घरदैलोमा पुग्नु पर्नेछ । देशदौडाहामा निस्कँदै निष्पक्ष भएर राजनीतिक शुद्धीकरणको अन्तिम लडाइँ लड्न आएको छु, केवल तपाईंहरूको साथ र समर्थन खोजेको छु भन्नु पर्नेछ ।

अन्तमा, नेता ओली र विद्याबीच समझदारीमा नाटक रचिएको भन्ने विद्वान् र विश्लेषकहरूसँग एकपटक खुला संवाद गर्नु उचित हुनेछ, जसले गर्दा उनीप्रतिको तमाम भ्रम हटेर जानेछ । उनको राजनीतिक राप-तापको अगाडि एमालेको मात्र नभइ पूरै देशवासीको मनको ढोका खुल्नेछ र नेता ओलीलाई नीतिकथाको वृद्ध बनेर मुलुकलाई दुःख दिने ‘अवसर’बाट छिट्टै वञ्चित गर्नेछ ।