‘जबज’को हत्या !
८ श्रावण २०८२, बिहिबार
नेता ओली द्वन्द्वात्मक भौतिकवादी रहेनन् । उनी नार्सिसिस्ट बनेर उदाएका छन् । नेकपा एमालेको सचिवालय, स्थायी समिति, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीको औपचारिक बैठक अध्यक्ष ओलीको इच्छा, चाहना र आदेशअनुसार ‘जबज’को हत्या गर्दै टुङ्गिएको छ । मिल्ने भन्दा निल्ने सिद्धान्तलाई अङ्गीकार गरेका उनले पुटिन शैलीमा पार्टीको संविधान, मूल्य र मान्यतामाथि खेलबाड गरेका छन् । ओली ब्रान्ड स्थापित गर्ने एकल अभियानमा जुटेका उनी विद्यामाथि निर्मम बनेका छन् । मदनपत्नी विद्याको सक्रिय राजनीतिलाई रोक्ने बहानामा नाङ्गो बनेको ओली-राजनीतिले सोभियतकालीन इतिहासलाई सम्झाएको छ ।
अमेरिकानिवासी जोन र बब कम्युनिस्ट पार्टीको सदस्य थिए । जोनले एकदिन अमेरिकाबाट सोभियत सङ्घ जाने फैसला गरे । तत्कालीन समयमा सोभियत कम्युनिस्ट पार्टीको विरुद्ध अमेरिकी मिडियाले फैलाएका नकारात्मक हल्लामाथि जोनलाई विश्वास थिएन । तथापि, सोभियत भ्रमणको दौरान सामान्य सावधानी अपनाउने सोच बनाए । जोनले पानीको परीक्षण गर्ने बहानामा सोभियत सङ्घ जाने तयारी गरे । उनले सोचेको सोभियत कम्युनिस्ट पार्टी र सत्ता ‘स्वर्ग’ जस्तो भए कालोमसी प्रयोग गर्दै बबलाई चिठ्ठी लेख्नेछन् । यदि अमेरिकी मिडियाले चित्रित गरेको स्थितिभन्दा खराब अवस्थामा सोभियत सङ्घ देखापरेमा रातोमसीले चिठ्ठी लेख्नेछन् । जसबाट यो पत्ता लागोस् कि पत्रमा लेखिएका कुरा झुट्टा मानिने छन् ।
तीन महिनाको आसपास जोनले पहिलो रिपोर्ट बबलाई पठाए । यो कालोमसीमा लेखिएको थियो । ‘म यहाँ अति खुसी छु ! सोभियत सङ्घ एक सुन्दर देश हो, म पूर्णतया स्वतन्त्र ढङ्गले उच्चस्तरको जीवनको आनन्द लिँदैछु । अमेरिकी मिडियाले लेखेका कुरा सबै झुट थिए । यहाँ सबै सामान सजिलै उपलब्ध छन् ! केवल एक सानो कमी छ । त्यो हो रातोमसी ।’
लेनिन र स्टालिनको सोभियत सङ्घ अहिले अस्तित्वमा छैन । सोभियत कम्युनिस्ट पार्टी इतिहास भइसकेको छ । विश्व राजनीतिलाई तरङ्गित पार्ने मार्क्सवाद र लेनिनवादको प्रभाव नेपालमा फैलिएको छ । मुलुकमा शक्तिशाली कम्युनिस्ट पार्टी छ । केही प्रदेश र केन्द्र सरकार कम्युनिस्ट पार्टीले हाँकिरहेको छ । स्थानीय सरकारमा कम्युनिस्टहरूकै बोलवाला छ । प्रधानमन्त्रीले सुशासन, विकास, समृद्धिको चर्को भाषण र आश्वासन बाँडेको बाँड्यै छन् । तर पनि सुशासनलाई चुनौती दिने अनेक नामका भ्रष्टाचार उजागर हुँदै छन् । सरकार भ्रष्टाचारको विरोधलाई गायत्रीमन्त्रकै शैलीमा जप्ने गर्दछ । दुर्भाग्यवश भ्रष्टाचारको दाग नलागेको व्यक्ति मन्त्रीपरिषदमा फेलापार्न मुस्किल बनिसकेको छ ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा स्थिति यतिसम्म भयावह छ कि भ्रष्टाचार कहाँ छ भन्ने हैन, कहाँ छैन भन्ने अवस्था छ । सत्य, न्याय, जनपक्षिय, वर्गीय र समानताको वकालत गर्ने ओली-राजनीति मौलाएको देशमा यस्तो डरलाग्दो अवस्था कसरी र किन सिर्जना भयो ? जबजको हत्या गर्दै कुर्सीसमेत आर्यघाट जाने तारतम्य मिलाएका नेता ओली कति जिम्मेवार छन् भन्ने पेचिलो प्रश्नको जवाफ मुलुकले खोजिरहेको छ । दुर्भाग्यवश नेता ओलीको केन्द्रीय कमिटीमा यस्तो विषयमा छलफल र बहससमेत हुन छोडेको छ । हिजो देश र जनताको निम्ति मर्न हिँडेका नेताहरू जबज मरे मरोस्, आफ्नो पद नमरोस् भन्दै ओलीको पाउमा जिब्रो चढाएका छन् ।
अध्यक्ष ओलीको अराजनीतिविरुद्ध विद्यालाई उचालेर नेता ओलीको पाउमा पर्नेहरूले गोर्भाचेवकालीन जोकलाई सम्झाएको छ । पुनर्निर्माण र खुलापनको नारा दिँदै अत्यन्त लोकप्रिय छवि बनाएका सोभियत कम्युनिस्ट पार्टीका महासचिव एवम् राष्ट्रपति मिखाइल गोर्भाचेवले खुलारूपमा ‘भोड्का’ पिउन र किन्न प्रतिबन्ध लगाइदिए । गोर्भाचेवको उक्त कदमले रुष्ट एक कार्यकर्ता ‘भोड्का’ किन्ने लामो लाइनमा बस्दै करायो- ‘म आज कमरेड राष्ट्रपतिलाई गोलीहानेर मारिदिन्छु । म क्रेमलिन जाँदैछु ।’ उनी कराउँदै-चिच्याउँदै लाइनबाट निस्किए । केही बेरपछि उनी फेरि भोड्का लाइनमै फर्किए । लाइनमा बसेका मानिसले उत्सुकतापूर्वक सोधे- ‘कमरेड गोर्भाचेवलाई मारीदिनुभयो ?’ उनले रिसाउँदै भने- ‘क्रेमलिनबाहिर यहाँभन्दा लामो लाइन छ, त्यसैले म फर्किएँ ।’ सिद्धान्त, विचार, नीति, नियम, पद्धतिलाई तिलाञ्जली दिँदै सामन्तवादको भद्दा नक्कल गर्न मरिहत्ते गरेको ओली-राजनीति डरलाग्दो बनेर उदाएको छ । जसलाई वरिष्ठ नेता इश्वर लगायतले आँखा चिम्लँदै अध्यक्ष ओलीको ‘भोड्का लाइन’मा फर्किएका छन् ।
मार्क्सवादले आत्तिन र मात्तिन दिँदैन तर सत्ता उन्मादमा मार्क्सवाद कसैले पढ्दैन । विश्व इतिहासले पुष्टि गरिसकेको छ- पढ्नेको पनि दिमागमा धुलो जम्ने गर्दछ । नेपाल अपवाद बन्ने कुरै भएन । राष्ट्रवादको लडाइँ लड्दालड्दै ल्याइएको प्रजातन्त्र र लोकतन्त्रपछि सार्वभौम सत्ताले बसाइँसरेको नेता ओलीले टुलुटुलु हेरिरहे । शिक्षा, स्वास्थ्य, भाषा, धर्म, संस्कृति, शान्ति, स्थिरता, विकास, कर्मचारी प्रशासन सुधारमा ओलीको उत्सुकता कतै देखिएन । रेमिटयान्सलाई अर्थतन्त्रको अभिन्न अङ्ग मान्ने बाध्यतामा पुगेको मुलुकमा आर्थिक अनुशासन र मितव्ययिता मुसाको सिङ बन्न पुग्यो । विदेश नीति, कूटनीति मात्र हैन सबै नीति केवल कुर्सीनीतिमा परिवर्तन गराइयो । व्यापारघाटा र लगानीको वातावरण अर्थ मन्त्रालयको गफको एजेन्डाबाहेक केही रहेन । महँगी, हिंसा, घृणा, मूल्यवृद्धि भ्रष्टाचारसँग प्रतिस्पर्धा गर्न तम्सिए ।
समाजवाद, न्यायपूर्ण समाज, आर्थिक, राजनीतिक, सामाजिक समानता र स्वतन्त्रता सहितको उन्नतशिल लोकतान्त्रिक समाज स्थापनाको निम्ति जीवनकै आहुति दिन तयार युवाहरू आज कुन स्थानमा पुगेका छन् ? नेता ओलीले पछाडि फर्केर हेर्न नचाहे पनि राजनीतिले सूक्ष्म मूल्याङ्कन गरिरहेकै छ । बुर्जुवा शिक्षा बहिस्कार, धन सम्पत्ति त्याग्दै मार्क्सवाद, लेनिनवादको जगमा मुलुकको अनुहार बदल्न हिँडेका ‘लाल कमरेड’हरू सम्पूर्ण सिद्धान्त मिल्काएर ‘लालपुर्जावादी’ बन्न सफल भए । वर्गीय राजनीतिलाई चटक्क भुल्दै केवल कुर्सी हस्तान्तरणको मिति कुरिरहेको ओली सरकार जनतासम्म पुग्न असफल भएको छ । योग्यता, क्षमता, लगनशीलता, तदारुकता, जिम्मेवारी मिल्काउँदै जन्मिएको ओली-देउवा सहकार्य भूराजनीतिक चपेटमा परिसकेको छ । जसले गर्दा अध्यक्ष ओली जबजको हत्या गर्न हौसिएका छन् । कम्युनिस्ट ऊर्जा सकिएको ओली राजनीतिमा मदनपत्नीलाई रोक्दै भ्रम फिँजाइएको छ ।
पूर्वी युरोपमा समाजवादी सत्ता ढलेको, सोभियत सङ्घको औपचारिक विघटनलाई आफ्नै आँखाले देखेका कमरेड मदनले ‘जबज’को राजनीतिक बुटी बाँध्दै बचाएको एमाले केपी ओलीको कब्जामा परिसकेको छ । उनको नेतृत्वमा चलेको एमाले-राजनीतिले नैतिकता र सिद्धान्तभन्दा संसदीय अङ्कगणित र षड्यन्त्रलाई महत्त्व दिँदै आएको छ । एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा आफैले उठाएको बहुपदीय प्रणाली र आन्तरिक लोकतन्त्रको चर्को नारा आजकल नेता ओलीलाई मन पर्दैन । आफैले जन्माएका राजनीतिक सन्तान- ‘७० वर्षे उमेर हद र एउटै पदमा दुई कार्यकाल’ जस्ता सैद्धान्तिक अडान च्यात्ने अध्यक्ष ओलीलाई जबज मनपर्ने कुरै थिएन । फलस्वरूप एमालेको अध्यक्ष पद हासिल गर्न छरिएका आफ्नै धारणाको हत्या गर्ने नेता ओलीले कमरेड विद्यालाई रोक्ने बहानामा मदनद्वारा प्रतिपादित जबजको औपचारिक हत्या गरेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा राजनीतिक हिंसाको डन्डा चलाउँदै आएका छन्, जसले गर्दा एमाले पार्टीको आन्तरिक जीवनमा उकुसमुकुस चलिरहेको छ । उल्लेखित तथ्यलाई नजिकबाट नियाल्दै जबज बचाउन सक्रिय राजनीतिमा होमिएकी मदनपत्नी कमरेड विद्यालाई नेता ओलीले एमालेको ढोका बन्द गरिदिएका छन् । आफ्नो सम्भावित पराजयलाई रोक्न अध्यक्ष ओलीले गरेको तिकडम, जालझेल र अलोकतान्त्रिक निर्णय एमाले पार्टीको जीवनमा कलङ्क बनेर रहिरहने छ । राजनीतिक प्रयोग गर्दै मिल्काउने कथित सिद्धान्तका खेलाडी नेता ओलीलाई माझकिराँतकी छोरीले त्यसै नछोड्ने निश्चित छ । यस्तो अवस्थामा भूराजनीतिक शक्तिले थप खेल्दा नेता ओलीको कदम मुलुक र वाम आन्दोलनको निम्ति आत्मघाती हुनेछ । कमरेड मदनको सट्टा ‘देउवा’लाई आदर्श ठान्ने प्रधानमन्त्री ओलीको पछिल्लो क्रियाकलापले एमाले पार्टीलाई लोभीपापी, अवसरवादी, भ्रष्ट र ‘दासहरूको क्लब’मा रूपान्तरण गर्ने खतरा चुलिएको छ ।
अन्तमा, मदनको नम्रता, भद्रता र धैर्यता त्याग्दै कपट, षडयन्त्र र गुलामीको अभ्यास तीव्र पारिएको एमालेमा नेता ओलीको निरङ्कुशता थप मौलाएको छ । विधि, विधान, नीति, प्रक्रिया, सहमति, सहकार्य, छलफल, सामूहिकता, कमिटी पद्धतिको कुरा गर्ने जति ‘एमालेको दुस्मन’ बनाइएको छ । विचार र सिद्धान्त त्याग्दा मौलाएका जति झोले बनेका छन् । विद्यालाई ढोका बन्द गरेपछि प्रफुल्ल भएका दासहरू ‘बा’ले दिन्छन् र खाउँला भन्दै ‘आँ’ गरेर बसेका छन् । ‘बा’को जय-जयकार गर्ने दलाल र भक्तहरू नयाँ जोसको साथ सेवामा खटेका छन् । अमेरिकी जोनले लेनिनको देशमा फेला नपारेको रातोमसी ओलीको पार्टीमा फेलापारेका छन् । कालोमसीसँग कमरेड ओलीलाई घृणा छ । त्यसैले रातो लेखिन्छ, रातो बोलिन्छ तर रातोपन फेला पर्दैन । यति भन्न अमेरिकी जोन नेपाल आउनै पर्दैन ! यद्यपि जबजको हत्यापश्चात् विद्याको ‘ब्याकअप’ हेर्न जोन र बब नेपाल आउँदैछन् ।