राजनीति बदल्ने ‘विद्या मिसन’ !


२७ असार २०८२, शुक्रबार

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान कुनै अर्थमा कम छैन । विद्या सक्रियतापश्चात् राजनीतिको हावाले अप्रत्याशित मोड लिएको छ । पछिल्लो समयमा ‘लोकतन्त्र र आयातित प्रणाली’ले महिला संलग्नताको लागि अप्रत्याशित ठाउँहरू सिर्जना गरेको छ । महिला स्वतन्त्रता र राजनीतिक सक्रियताले आयातित लोकतन्त्रलाई आत्मसात गर्दै गएको छ । जसको प्रभाव नयाँ पुस्तामा परिसकेको छ । महिलाहरू कार्यकारी पदमा पुग्न अधिकतम कोसिस गर्दैछन् ।

लोकप्रियता र सफलताको कसीमा ‘डुङ्डुङ्ती’ हुन पुगेको ओली-देउवा सहकार्य विद्यालाई रोक्न गम्भीर छलफलमा जुटेको छ । उनीहरूको कथित गतिविधि र नेतृत्व खोज्ने विद्याको सक्रियतालाई भूराजनीतिक शक्तिले नजिकबाट नियालिरहेको आभास हुन्छ । ‘नेतात्रय’ले विद्याविरुद्ध प्रतिबन्धात्मक वातावरण सिर्जना गरे शक्तिशाली प्रतिरोध हुनसक्छ भन्ने पश्चिमा शक्तिको बुझाइ छ । यस्तो अवस्थामा कमरेड विद्याले ‘प्रचण्ड-माधव’लाई स्वागत गर्ने कल्पना मूर्खतापूर्ण हुनेछ । ‘झोले ग्याङ’भित्र नेता ओलीले ढलान गरेको धारणा भत्काउन कमरेड विद्याले ‘प्रचण्ड-माधव’सँग दुरी कायम गर्नुपर्नेछ । अध्यक्ष ओलीलाई सम्मानपूर्वक बिदा गर्न ‘वामएकता’को गुलियोबाट मुक्त हुनुपर्नेछ ।

अध्यक्ष ओलीको नेतृत्वमा नागरिकसँग एमालेको सम्बन्ध पातलो बनिसकेको छ । नेता ओलीलाई तथाकथितहरूले घेरेर बसेका छन् । एमालेभित्र बढ्दै गरेको उकुसमुकुस, बिग्रँदै गरेको वैदेशिक सम्बन्ध र सुशासनमा कमजोर ओली-प्रस्तुतिले नागरिकमा गम्भीर असन्तुष्टि उत्पन्न गरेको छ । अनेक रूपमा राजनीतिक विद्रोह सुरु भएको छ । जसले कमरेड विद्यालाई सक्रिय राजनीतिमा आउन ऊर्जा प्राप्त भएको छ । सेरेमोनियल राष्ट्रपति बन्दा पार्टीसँग तोडिएको सम्बन्ध जोड्दै पार्टीको अध्यक्ष बन्ने अभियानभित्र प्रधानमन्त्री पद जोडिएर आउने निश्चित छ । जसलाई नजिकबाट नियालेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले देखाएको नकारात्मक भूमिकाले कमरेड विद्या र उनीबीच परम्परागत सहकार्य टुङ्गिएको सङ्केत मिल्दैछ ।

महिलाको मुद्दाहरू आर्थिक समावेशीकरणदेखि सुरक्षा ढाँचासम्म फैलिएको छ । मुलुकले महसूस गरिरहेको छ, घरेलु हिंसाको स्वरूपमा परिवर्तन भएको छ तर महिला हिंसा झनै डरलाग्दो बनेर देखापरेको छ । सम्पत्ति अधिकारमा महिलाको पहुँच बढ्दै छ, यद्यपि राजनीतिक सहभागिताको निम्ति नीतिगत परिवर्तन र ठोस कार्यक्रम ल्याउन सरकारले अल्छी गर्दै आएको छ । दुर्गम गाउँहरूमा महिलाको अवस्था अझै सङ्घर्षमय छ । पार्टी-राजनीतिमा लडाइँ जारी छ, चुनौतीहरू कायमै छन् । पार्टी र संसदीय राजनीतिमा प्रत्यक्षतर्फको उम्मेदवार बन्न अझै मुस्किल छ । यस तथ्यलाई बुझ्दै कमरेड विद्याले औचित्यपूर्ण कदम चाल्ने समय आएको छ ।

जबज र संसदीय राजनीतिमा नयाँ पुस्ताको उदय चाहने शक्तिले विकल्प खोज्दा विद्यालाई फेला पारेको छ । पारिवारिक विरासत बोकेको शक्तिले दक्षिण एसिया राजनीतिलाई प्रज्वलित गरिरहेको भूराजनीतिक शक्तिले बुझ्दैछ । विद्याको सबैभन्दा ठुलो कमजोरी भनेको उनलाई ‘उखान टुक्का’ आउँदैन । उनको सकारात्मक तागत भनेको कहिल्यै उखान टुक्कामा विश्वास गरिनन् । यस्तो अवस्थामा कमरेड विद्याले अध्यक्ष ओली र भूराजनीतिक शक्तिको स्वार्थ बुझ्नु पर्नेछ । वामएकताको लोकप्रिय भ्रमलाई तत्काल रोक्नु पर्नेछ । यसो गर्न सकेमा उनको नेतृत्वमा ‘जबज’को भाग दुई सुरु हुनेछ ।

महिलाहरूले राजनीतिमा सहभागिता मात्र लिइरहेका छैनन्, उनीहरू राजनीतिको अर्थ के हो भनेर पुनः परिभाषित गर्न लागिरहेका छन् । २००७ देखि २०८२ सम्मको यात्राले परम्परा र परिवर्तनबीचको कमजोरीलाई उजागर गरिरहेको छ । प्रत्येक पुस्ताले सांस्कृतिक अपेक्षाहरूलाई राजनीतिक महत्त्वाकाङ्क्षासँग जोड्दै सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ । उनीहरूको सामूहिक यात्राले मुलुक र लोकतन्त्रको रूपान्तरणलाई प्रतिबिम्बित गरिरहेको छ । जसलाई बुझ्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदम गतिलो उदाहरण हुनेछ ।

अगाडिको चुनौती डरलाग्दो छ । षडयन्त्र र राजनीतिक दुस्मनहरू पाइला-पाइलामा घात लगाएर बसेका छन् । राजनीतिक मैदानमा ओर्लिनु आफैमा उपलब्धि भएपनि यस अभियानलाई कायम राख्दै नागरिकको इच्छा र चाहनालाई सांस्कृतिक परिवर्तनमा रूपान्तरण गर्न सक्नु हो । अध्यक्ष ओलीको निरन्तरता अर्थात् ‘जबज’को मृत्युलाई रोक्न असाधारण क्षमता र अग्रसरतासहितको नेतृत्व विकास गर्नु पनि हो । राज्यदोहनलाई नैसर्गिक अधिकार ठान्नेविरुद्ध गरिएको ‘सुविधा त्याग’को नयाँ बमले अध्यक्ष ओली थप आक्रामक बन्ने निश्चित छ । असामान्य उदाहरण पस्किँदै देखाएको शक्तिलाई महिलाहरूले सामान्य रूपमा लिँदै विद्या अभियानलाई निष्कर्षमा पुऱ्याउन अनिवार्य भइसकेको छ ।

जबज र देशभक्तहरूको सामूहिक भविष्यलाई खतरामा पार्ने प्रतिगामी दृष्टिकोण एमाले संस्थापनभित्र झाँगिएको छ । उनीहरू पार्टी र राजकीय सत्ताप्राप्तिको निम्ति सम्पूर्ण कुकाम जायज हुन्छ भन्ने मानसिकताबाट ग्रस्त छन् । कट्टरपन्थीकरण, महिलाविरोधी र हिंसात्मक विचारधारालाई प्रयोग गर्न किमार्थ हच्किने छैनन् । शङ्कर पोखरेलदेखि विष्णु रिमालसम्मको कारखानाबाट उत्पादित षडयन्त्रका कथाहरूलाई कमरेड विद्याले डिफेन्स गर्न सक्नुपर्नेछ । भ्रम, कुतर्क र षड्यन्त्रको सामना गर्ने तयारी आजैबाट गर्नुपर्नेछ । दुव्र्यवहारलाई सामान्यीकरण गर्ने संस्कृतिसँग सतर्क रहँदै पीडित बन्नबाट जोगिन जरुरी छ । लोकतन्त्र र जबजको नाममा हुँदै आएको अलोकतान्त्रिक गतिविधि र सहकर्मीबाट हुँदै आएको क्रूर अनलाइन बहसलाई निस्तेज गर्नुपर्नेछ ।

परम्परागत बौद्धिक व्यक्तित्वहरू तुरुन्त आक्रमणमा निस्कने छन् । जसलाई प्रधानमन्त्री ओलीले भरमार प्रयोग गर्नेछन् । नेता ओलीको नियत, सोच र कार्यशैलीले दिएको सन्देशहरू चिर्न जरुरी छ । सत्ताको कट्टरता र दुराचारले काम गरिरहेको बुझाउन जरुरी छ । प्रभुत्वको विचारधारा लिङ्गमा सीमित छैन । पुटिनले जेलेन्स्कीमाथि, नेतान्याहूले प्यालेस्टाइनमाथि, शक्तिले करुणामाथि बुट बजार्दै आएको छ । हिंसा व्यक्तिगत मात्र हुँदैन, प्रतिस्पर्धीलाई नियन्त्रण गर्ने इच्छालाई राजनीतिले हुर्काउँदै आएको छ । हिट्लरको जर्मनीदेखि ओलीको नेपालसम्म आधारभूत तरिका करिव समान रहँदै आएको बुझ्दै तयारी गर्न जरुरी छ ।

एमाले चौबाटोमा छ । जबज कब्जामा परेको छ । वैचारिक छलफल समाप्त पारिएको छ । अध्यक्ष ओलीले विश्वासको दुरुपयोग गरेका छन् । लाखौँ कार्यकर्ता सक्रिय योगदान गर्ने ठाउँ नपाएर पलायन रोज्दैछन् । घृणालाई जायज ठहराउन कोसिस गरेका छन् । उनको फर्मान र चाहनालाई सम्पूर्ण कार्यकर्ताले उपभोग गरिरहेका छन् । उनीहरूले मदनको आदर्श बिर्सिएका छन् । जबजको पानाहरू च्यातिएको टुलुटुलु हेरिरहेका छन् । उनीहरू अस्तित्वगत खतरालाई अनदेखा गरिरहेका छन् । जनताको बहुदलीय जनवाद (जबज)को सट्टा नेता ओलीको एकदलीय जनवाद (ओएज) मार्फत सहानुभूति कमजोरी हो, प्रभुत्व भाग्य हो र हिंसा सद्गुण हो भन्ने सिक्दैछन् । नेकपा मालेको इतिहास र मदनको योगदानलाई ऐतिहासिक बोझ र सांस्कृतिक जटिलता मान्दैछन् ।

कमरेड विद्याले केही सार्वजनिक प्रतिबद्धता गर्नु पर्नेछ । निषेधको राजनीति नगर्ने विश्वास दिलाउनु पर्नेछ । भ्रष्टाचारविरुद्ध निर्मम बन्ने आधारहरू पस्किनु पर्नेछ । मुलुकवासीको पक्षमा राष्ट्रिय स्रोत र साधनको अधिकतम दोहन र उपयोग नीति अपनाउँदै मुलुकभित्र रोजगारीको वातावरण सिर्जना गर्ने प्रतिबद्धता गर्न जरुरी छ । लैङ्गिक र राजनीतिक असमानता अन्त्य गर्ने लिखित घोषणा गर्न जरुरी छ । निष्पक्ष मूल्याङ्कन पद्धतिलाई आधारभूत रूपमा ब्युँताउनु पर्नेछ । आलोचनालाई सहर्ष स्वीकार गर्ने वातावरण स्थापित गर्नु पर्नेछ ।

विषाक्त ओली हेजेमोनिकलाई समाप्त गर्न कमरेड विद्याले कठोर निर्णय लिन जरुरी छ । महिलाहरू परिस्थितिका निष्क्रिय सिकार होइनन्; उनीहरू परिवर्तनका सक्रिय एजेन्ट हुन भन्ने मान्यताको विकास गर्नु पर्नेछ । राजनीतिक पार्टीभित्र जरा गाडेका भ्रष्टहरूलाई कानुनी कठघरामा उभ्याउने सार्वजनिक घोषणा मुलुकले खोजेको छ । वर्तमान कर्मचारीतन्त्रमा आमूल परिवर्तन गर्न नयाँ अभियानको थालनी गरिने छ भन्ने विश्वास दिलाउन जरुरी छ । सङ्क्रमित प्रणाली, सामाजिक असफलता, नैतिक पतनविरुद्ध आक्रामक बन्दै ग्रास रुटबाट सुधारको समर्थन खोज्नु पर्नेछ । मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा र विश्वास फिर्ता ल्याउने अभियानसहित आउनु पर्नेछ ।

ट्रम्प प्रशासनले जतिसुकै नीति बदलेपनि दक्षिण एसियामा ‘नेपाल’लाई त्याग्न सक्दैन भन्ने कमरेड विद्याले बुझ्न जरुरी छ । ‘ओली असफलता र भूराजनीतिक बाध्यता’लाई बुझ्दै कमरेड विद्याले रणनीतिक चाल चाल्नु पर्नेछ । मुलुकको पक्षमा काम गर्ने हुटहुटी पूरा गर्न अध्यक्ष ओलीलाई गलाउने रणनीतिमा काम गर्नु पर्नेछ । हातखुट्टा बाँधिएको पदमा बसेर केही गर्न नसकिएको, नागरिकको अपेक्षा पूरा गर्न सक्रिय राजनीतिमा आएको बुझाउनु पर्नेछ । अध्यक्ष ओलीले खेदो खनेका मेयरलाई आफ्नै निवासमा भेट्दै दिएको सन्देशलाई निरन्तरता दिनु पर्नेछ ।

अन्तमा, पटके संसद् विघटन, एमसिसी सम्झौता, महाकाली सन्धि जस्ता विषयमा आलोचनात्मक दृष्टिकोण पस्किन सके कमरेड विद्याप्रति अकल्पनीय विश्वास अकस्मात् चुलिने छ । यद्यपि भूराजनीतिक शक्तिले यस्तो गर्ने छुट विद्यालाई दिने छैनन् । तथापि, सोसल मिडिया अराजकता सिर्जना गर्दै मुलुक र राजनीतिलाई दिशाहीन बनाउन मरिहत्ते गरिरहेको सोकल्ड विकल्पको भ्रमलाई चिर्न सकेमा मुलुकलाई राहत मिल्नेछ । नेतात्रयको अन्तहीन लुट र गडबडीलाई रोक्न सके मुलुक उनको ऋणी बन्नेछ । विडम्बनापूर्ण अवस्थामा झुमिरहेको ‘जुमर वा आइजेन’ पुस्तालाई राजनीतिको मूलधारमा ल्याउन सकेमा विद्या मिसन सफल हुनेछ ।