विद्या घोषणाको कम्पन !
१७ असार २०८२, मंगलबार
मुलुकले प्रजातन्त्रको स्वाद चाख्न सुरु गरेको लामो समय भएको थिएन । तत्कालीन नेकपा माले अर्द्धभूमिगत अवस्थामा थियो । कमरेड मदन भण्डारी पार्टी प्रवक्ताको रूपमा बाहिर निस्किएका थिए । सन् १९९१ को डिसेम्बर महिनामा सोभियत राष्ट्रपति मिखाइल गोर्भाचेभ छुट्टी मनाउन क्रिमिया गएको समयमा रुसी रेडियोले राष्ट्रपति बिरामी परेको, उपराष्ट्रपति गेन्नाडी एनाएभले सत्ता समाल्नुभएको बतायो । मस्कोको सडकमा सेनाको ट्याङ्क निस्कियो ।
बागबजारस्थित नेकपा मालेको पार्टी अफिसमा खुसीको लहर छायो । सोभियत सङ्घमा संशोधनवादीहरू पराजित भए । क्रान्तिकारी कम्युनिस्टहरूले सत्ता हातमा लिए । गोर्भाचेभले बिगारेको समाजवादी आन्दोलन फेरि जुर्मुराएर उठ्नेछ भन्दै नेकपा मालेले स्वागत वक्तव्य निकाल्यो । दुर्भाग्यवश उनीहरूको खुसी ७२ घण्टा पनि टिकेन । रुसी ‘कु’ विफल भयो । गोर्भाचेभ क्रेमलिन फर्किए । उनले सोभियत कम्युनिस्ट पार्टीको सम्पत्ति जफत गरे । पार्टीमाथि प्रतिबन्ध लगाए । २६ डिसेम्बर १९९१ मा यल्तसिनलाई सत्ता सुम्पेर बिदा भए । उक्त घटनापश्चात् नेकपा मालेविरुद्ध तीव्र घेराबन्दी सुरु भयो । अलोकतान्त्रिक भन्दै नेपाली काङ्ग्रेसले कडा आलोचना सुरु गऱ्यो । कमरेड मदनले ‘समय’लाई तत्काल बुझे/चिने । विरोधीलाई मत्थर बनाउने नयाँ कार्यक्रम कुशलतापूर्वक पस्किए- जनताको बहुदलीय जनवाद अर्थात् ‘जबज’ ।
कमरेड मदनको जबज टुकुटुकु हिँड्ने अवस्थामा पुग्दै थियो । दुर्भाग्यवश दासढुङ्गा दुर्घटनामा उनी अस्ताए । मदनले बुद्धिमत्तापूर्ण ढङ्गले जोगाएको हस्तिनापुरमा माधव/झलनाथहरू चम्किए । यसले कमरेड ओलीलाई आरामसँग बस्न दिएन । उनले १४ वर्ष जेलमा पढेको शकुनी विद्या प्रयोग गर्दै शक्ति आर्जन गर्न कम्मर कसे । सौभाग्यवश नेता ओलीले मदनपत्नी कमरेड विद्याको साथ-सहयोग पाइरहे । यतिबेला मदनको हस्तिनापुरमा शकुनीहरूको बिगबिगी देखेर मदन पत्नीले लामोसमयदेखि आँखामा बाँधेको पट्टी असार १४ गतेबाट (मदन जयन्तीको अवसर पारेर) मिल्काएकी छन् । एमाले र जबज जोगाउँदै मदनको सपना साकार पार्न मैदानमा ओर्लिएको विद्याको भनाइ छ । यसबाट शकुनीहरूको बीचमा भागदौड मच्चिएको छ । विद्याको सक्रिय राजनीति नरुचाउनेहरूले पुटिन, हिटलर, इन्दिरा गान्धीको कथित कहानी फिट गर्ने असफल कोसिस गरिरहेका छन् । पटके परिवर्तन र पार्टी-सत्तालाई हाइज्याक गर्दै ‘तर’ मारिरहेको वर्गले मिडियामा फोहोर गर्न सुरु गरेका छन् । वास्तवमा इन्दिरा, हिटलर, पुटिन बन्दै कुर्सीसमेत आर्यघाट जान हौसिएका नेताहरूको चाहनालाई धक्का दिने विद्या-अभियानले देशभक्तहरूमा रक्तसञ्चार भएको छ ।
एमाले वरिष्ठ नेता ईश्वर पोखरेलको भनाइअनुसार नेता ओली तातेको तावामा उफ्रेजस्तो गर्दैछन् । ‘सिर्जना भन्दा षडयन्त्र’मा रमाउने अध्यक्ष ओली, विद्याको घोषणाले रन्थनिएका छन् । उनले टेकेको जमिन भासिएको छ । उनले संरक्षण गरेका व्यक्तिले नेता ओलीको अलोकप्रिय गतिविधिलाई बोक्न नसक्ने अवस्था सिर्जना भइसकेको छ । जसको पछिल्लो प्रमाण नेता ओलीले दिवङ्गत महासचिव मदन भण्डारीविरुद्ध गरेको ‘विष’ वमनलाई लिन सकिन्छ । मदनको सावाँ र ब्याज हडपेर कथित साम्राज्य चलाइरहेका नेता ओलीले मदनलाई ‘सहकारी ठग’को आरोप लगाउँदै रवि लामिछानेसँग तुलना गर्न हौसिएका छन् । चारवटा श्रीमतीको कपोलकल्पित आरोपमार्फत कमरेड विद्यालाई ‘तपाईं कुन चैँ ? कति नम्बरको श्रीमतीमा पर्नुहुन्छ ?’ भन्ने गम्भीर प्रश्न गरेका छन् ।
अध्यक्ष ओली घृणित र तुच्छ अभिव्यक्तिमार्फत कमरेड मदनको अपमान गर्दैछन् । मदनद्वारा प्रतिपादित ‘जबज’को राजनीतिक हत्या गर्न अध्यक्ष ओली मैदानमा ओर्लिएका छन्, जसको निम्ति उनले रोजेका अस्त्रहरू अत्यन्त तल्लो स्तरको छ । प्रधानमन्त्री एवम् नेता ओली ‘जबज मदनको होइन/थिएन, जबज मेरै उत्पादन हो’ भन्ने अवस्थाबाट एक कदममात्र टाढा छन् । न्यायालयमार्फत प्राप्त एमालेमा आफूमात्र सर्वेसर्वा भएको स्थापित गर्न मरिहत्ते गर्दैछन् । उनलाई लाग्दैछ- म नभए एमाले चल्दैन ! सबैले मलाई परिक्रमा गर्नुपर्छ । मबिना पृथ्वी अन्धकार हुनेछ । म छु र सूर्य उदाएको छ । म अस्ताए सूर्य अस्ताउने छ भन्ने भ्रममा उनी बाँचिरहेका छन् ।
यतिबेला एमालेमा शकुनीहरूको बिगबिगी छ । उनीहरू अध्यक्ष ओलीलाई मदनभन्दा माथिको नेता बनाउन पैतालादेखिको बल लगाउँदै छन् । शङ्कर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली, दयालबहादुर शाहीहरू विद्या, ईश्वर र एमाले-इतिहासको अपमान गर्न मैदानमा ओर्लिएका छन् । अझ रोचक कुरा २०६४ सालामा मरिसकेको एमाले ओलीले बचाएको भन्दै सफेद झुट बोल्दैछन् । वास्तवमा २०६४ सालमा वामएकता हुन नदिने प्रमुख खेलाडी भनेकै ओली थिए भन्ने तिनले लुकाएका छन् । माओवादीको आश, त्रास, क्याप्चर, घात-अन्तरघातको कारण एमाले प्रत्यक्षतर्फ ३३ सिटमा खुम्चिएको कुरालाई अतिरञ्जित गर्दै आएका छन् । जसलाई बुझ्न २०७० मा झलनाथ नेतृत्वमा निर्वाचनमा होमिएको एमाले दोस्रो भएको र माओवादी केन्द्र तेस्रोमा झरेको नतिजा काफी छ ।
अध्यक्ष ओलीको नेतृत्वमा २०७९ को चुनाव लडेको एमालेले किन आफ्ना पदाधिकारीलाई जिताउन सकेन भन्ने ‘झोले ग्याङ’ कहिल्यै भन्दैन । त्योभन्दा रोचक कुरा आफ्नो संसदीय क्षेत्र जोगाउन नसक्ने ईश्वरले एमाले कसरी जोगाउँछन् भन्दै चिच्याउने झोलेहरू आफ्नै अध्यक्ष २०६४ मा झापामा कसरी उत्तानो परे भन्नेचाहिँ भुसुक्कै बिर्सन्छन् । साथै आशीर्वादबाट महासचिव पड्काएका शङ्कर, उपमहासचिव प्रदीप, कहिल्यै निर्वाचनमा भाग नलिएका विष्णु रिमालले कसरी एमाले जोगाउँछन् ? आम कार्यकर्ता र नागरिकले उत्सुकतापूर्वक हेरिरहेका छन् ।
केही पश्चिमा विद्वान् भन्दैछन्, जनमतबाट हिटलर जन्मिन्छ । हिटलर खराब थिए भन्ने पश्चिमा भाष्य फलाक्दै छन् । हिटलरको उदय कसरी र किन भयो भन्ने बुझपचाउँदै कथित विद्वानहरू ओलीको आयु लम्ब्याउन मरिहत्ते गर्दैछन् । उनीहरूको शब्दकोशमा डलरबाहेक केही छैन । देशभक्तिलाई बेचेर चुलो बालेका कथितहरू विद्यालाई पुटिनसँग दाँज्न समेत हौसिएका छन् । आरोप होइन, कटु सत्य हो । हाइब्रिड पञ्चायतमा भ्रष्टहरूको ताण्डव चलिरहेको छ । दुर्भाग्यवश नेतात्रयको संरक्षणमा मुलुक बरबाद भइरहेको छ । भ्रष्टहरूको दशैँ चलिरहेको छ । उनीहरूले आफ्नो सम्पूर्ण सिप र शक्ति भ्रष्टलाई जोगाउन लगाइरहेको समयमा पूर्वराष्ट्रपति भण्डारीको आगमनले उनीहरूमा रुवाबासी चलेको छ । यो बुझ्न अध्यक्ष ओलीको बरबराहट काफी छ ।
२०३५ साल पुसमा जन्मिएको तत्कालीन मालेको केन्द्रीय सदस्य समेत नबनाइएका नेता ओली एमालेको नेतृत्वमा कसरी पुगे भन्ने भुसुक्कै बिर्सिएका छन् । सिपी मैनाली, झलनाथ खनालपछि मालेको महासचिव बन्न सफल मदनको अकल्पनीय निधनपश्चात् माधव महासचिव बन्नुले एमाले पार्टीमा उनको अवस्था कस्तो थियो भनिरहनु परेन । कमरेड विद्याको रणनीतिक सहयोग र ईश्वर/वामदेवको अवसरवादी प्रयोगमार्फत चम्किएका अध्यक्ष ओलीले मदनको जबज मिल्काएको कमरेड विद्याले भर्खर महसूस गरेकी छन् ।
२०४८ सालमा दोलखाबाट निर्वाचित एमाले सांसद जीतवीर लामा र इन्द्रबहादुर श्रेष्ठले एमाले अध्यक्ष मनमोहनलाई संसदीय दलको नेता नबनाउन राखेको प्रस्तावलाई मदनले अस्वीकार गर्दै दलको नेता मनमोहन र उपनेता सिपी मैनालीलाई बनाएर जबजको सफल अभ्यास गरे । दुर्भाग्यवश आफूलाई परिक्रमा गर्नेबाहेक सबैलाई वर्ग दुस्मन सम्झिने ओली शैली नाङ्गो बनेर कमरेड विद्यामाथि बजारिँदै छ । विद्याको घोषणाले रन्थनिएका नेता ओलीले विद्यालाई रोक्न के के गर्न सक्नेछन् भन्ने केही बुँदा प्रस्तुत गरिएको छ ।
१) नेता ओलीले कमरेड विद्याको सदस्यता खारेज गर्न सक्ने छन् ।
२) विधान महाधिवेशनमार्फत नयाँ षडयन्त्र गर्न सक्ने छन् ।
३) राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नपाउने कानुन बनाउन सक्ने छन् ।
४) एमाले महाधिवेशन रोक्न सक्ने छन् ।
५) आफ्ना नन्दी-भृङ्गीहरूको प्रयोग गर्दै विद्यालाई बदनाम गराउन सक्ने छन् ।
६) देउवासँग भद्र सहमति गर्दै संसद् विघटन गर्न सक्ने छन् । विरोधीलाई टिकटको लोभमा विद्यातर्फ जानबाट रोक्न सक्ने छन् ।
राजनीतिक दल निर्माणमा मुलुकले ठुलो योगदान गरेको हुन्छ । एउटा राजनीतिक दल निर्माणमा मुलुकको रगत, पसिना, भावना, समय, भौतिक सम्पत्ति खर्च भएको हुन्छ । यस अर्थमा राजनीतिक दल नागरिक र मुलुकप्रति जिम्मेवार हुनुपर्छ । यसैगरी राजनीतिक दल सार्वजनिक सम्पत्ति हुन् भन्ने बुझेका नागरिकले दलीय नेतृत्वको गतिविधिलाई नजिकबाट हेर्नु उनीहरूको कर्तव्य हो । यस अर्थमा एमाले, काङ्ग्रेस, माके, रास्वपा जस्ता दलभित्र या त्यस दलले ल्याएका नेतृत्व प्रति निगरानी राख्नु स्वाभाविक छ । यसै सन्दर्भमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी मुलुकले दिएको सेवा–सुविधा त्याग्दै सक्रिय राजनीतिमा आएकोलाई हेर्ने तीन आधार बनाउन उचित हुनेछ ।
१) नेतात्रयको भद्र सहमति र सहकार्यमा मच्चाइएको लुटलाई बेवास्ता गर्दै यथास्थितिमा रमाउने ।
२) आयातित प्रचण्ड, रवि लामिछाने या कथित नयाँ पात्रहरूलाई विकल्प सम्झेर मुलुक सुम्पिने र बरबाद हुने ।
३) पूर्व राष्ट्रपति विद्याको राजनीतिक आगमनलाई सिद्धान्ततः गलत भन्दै अपवादको रूपमा स्वीकार गर्ने । उनको निष्ठा, अनुभव, देशभक्तिलाई साथ र समर्थन गर्दै भ्रष्ट राजनीतिलाई जनतातर्फ फर्काउन बाध्य पार्ने ।
नेता ओलीको बिदाइपश्चात् नेपाली राजनीतिमा सकारात्मक परिवर्तन सुरु हुनेछ । यसले देउवा, प्रचण्ड, माधव युगको समाप्त हुनेछ । ततपश्चात् भ्रष्ट, बिचौलिया, दलालहरू ‘रानोविहीन’ हुनेछन् । नेतृत्वको परिक्रमा गरेर अनौपचारिक शक्तिकेन्द्र निर्माण गर्नेहरूको बिचल्ली हुनेछ । जसले राजनीतिमा सुद्धिकरण र पार्टीहरूको सुदृढीकरण समेत सुरु हुनेछ ।