ट्रम्प युद्धविरामको अभीष्ट !


१३ असार २०८२, शुक्रबार

राष्ट्रपति ट्रम्पसँग नेटो देशहरूको नैतिक विश्वसनीयता हराउँदै गयो, जसले मध्यपूर्वमा अमेरिकी युद्धको बाटो खोल्यो । नोबेल शान्ति पुरस्कारको चाहना राख्ने राष्ट्रपति ट्रम्प इरानको आणविक स्थलहरूमा बम विस्फोट गराउँदै शान्तिको नौटङ्की गरिरहेका छन् । अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्र, परमाणु अप्रसार सन्धि, IAEA विधान र अमेरिकी संविधानको धज्जी उडाउँदैछन् । अदृश्य लोभमा फसेका नेता ट्रम्प इजरायलको आपराधिक गतिविधिलाई सहजीकरण गर्दैछन् । प्यालेस्टिनी जनताको नरसंहारलाई अनदेखा गरिरहेका छन् ।

गत जुन २४ मा घोषणा गरिएको ट्रम्प-युद्धविरामलाई विश्वले नौटङ्कीको रूपमा हेरिरहेको छ । राष्ट्रपति ट्रम्पले खेलेको युद्ध र शान्तिको घिनलाग्दो खेलले मध्यपूर्वमा बसोबास गर्ने नागरिकभित्र जागेको निराशा, घृणा र आक्रोशलाई किमार्थ कम गर्दैन । नेतान्याहूमार्फत लादिएको अनावश्यक मृत्यु, क्षति र पीडामा ‘ट्रम्प स्वार्थ’ विश्वले देख्न पाएको छ, जसले गर्दा न्यायप्रेमी र स्वाभिमानी नागरिकहरू ट्रम्पको चालबाजीसँग लज्जित छन् । निःसन्देह राष्ट्रपति ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार छन्, किनकि उनी युद्ध सरदार हुन् । विश्वमा नोबेल शान्तिको पुरस्कार उसैलाई दिनुपर्छ जसले युद्धको उत्पादन, वितरण र नियन्त्रण गर्न सक्छ । यस अर्थमा इजरायल-इरान युद्धको मास्टर माइन्ड राष्ट्रपति ट्रम्प नोबेल शान्ति पुरस्कारको एकल हकदार हुन् ।

विश्व राजनीतिमा युद्ध सरदारहरूको लामो इतिहास छ । डिपस्टेटले अमेरिका र इजरायल छुट्टाछुट्टै देश हुन् भन्ने बुझ्न मुस्किल बनाएका छन् । युद्ध सरदारहरू समान उद्देश्यसहित खामेनी सत्तालाई समाप्त गर्न ‘USrael’ बनेर देखिएका छन् । कानुन र नैतिकताको धज्जी उडाउँदै ‘विजेता’ बनेका युद्धसरदारहरुको समान गुणहरू स्पष्ट रूपमा विश्वले देख्न पाएको छ । अनुमानहरू तीव्र भएको समयमा अमेरिकी सैन्य सम्पत्तिहरू रातारात सारिए । राष्ट्रपति ट्रम्पले वार्ताबाट समाधानको धम्की दिए । इरानविरुद्ध कस्तो कदम चाल्ने भन्ने सवालमा दुई साताभित्र निर्णयमा पुग्ने बताए । उनको चाल ७२ घण्टामा विश्वले देख्यो । झुट, छल र दोहोरोपनको ‘ट्रम्प स्वरूप’ इरानको फोर्डो, नतान्ज र इस्फहान आणविक स्थलमा पोखियो । शान्तिनिर्माता बन्न चाहेको ट्रम्पको दाबी खोक्रो सावित भयो । उनलाई विश्वास गर्नेहरू लाजले निहुरिए । उनीप्रति अमेरिकी नागरिकको विश्वास धुलोपिठो भयो ।

धेरैलाई लाग्न सक्छ- राष्ट्रपति ट्रम्प स्वतन्त्र छन्, उनी जे चाहन्छन् त्यही हुन्छ ! वास्तवमा ट्रम्प बिचित्रको घेराबन्दीमा छन् । अमेरिकी राज्यसत्ता व्यापारीको कब्जामा छ, जसले उनलाई अस्थिर बन्न विवश बनाएको छ । इजरायल-इरानको युद्धपश्चात् ट्रम्प-राजनीति उच्च जोखिममा छ । राष्ट्रपति ट्रम्पले बुझेका छन्, यस युद्धले अमेरिकालाई क्लासिक ‘मिसन क्रिप’मा फसाउँदै छ । यद्यपि ट्रम्पले इराक, अफगानिस्तान, लिबियाको विनाशकारी अनुभवबाट सिक्न पाएनन् । वाशिङ्गटनले जानाजानी बेवास्ता गरेको छ, इरानमा सत्ता परिवर्तन गराउँदै तेहरानलाई झुकाउन सकिन्छ । दुर्भाग्यवश शक्तिको दुरुपयोगले खामेनी सत्ताको आयु बढाएको छ । तेहरानले आत्मसमर्पण नगर्दा ट्रम्प अभिमानमाथि धक्का लागेको छ ।

वास्तवमा इरानले मध्यपूर्वमा आणविक हतियारमुक्त क्षेत्रको लागि अरब प्रस्ताव स्वीकार गरेको थियो । जसले गर्दा इरानको आणविक हतियार कार्यक्रम समाप्त हुने थियो । तथापि अमेरिकाले प्रस्ताव रद्द गऱ्यो किनभने इजरायल मध्यपूर्वमा एकमात्र ‘अघोषित र अवैध’ आणविक हतियार शक्ति सम्पन्न मुलुक रहिरहोस् भन्ने चाहन्थ्यो । अमेरिकासँग इरानले आफ्नो युरेनियम ३.७ प्रतिशतभन्दा बढी समृद्ध नगर्न सहमति जनायो । यसै समयमा इरानले युरेनियम संवर्द्धन ६० प्रतिशतमा पुऱ्यायो, जुन आणविक हतियार विकासको लागि आवश्यक ९० प्रतिशतभन्दा भन्दा धेरै टाढा थियो । अमेरिका र ‘IAEA’का अधिकारीले इरानसँग आणविक हतियार भएको कुनै प्रमाण छैन भन्ने मानिरहे तर दुर्भाग्यवश युद्ध सरदारहरू इराकको कहानी दोहोऱ्याउँदै इरानमाथि आक्रमण गर्न हौसिए । युद्ध सरदारहरू निष्पक्ष प्रतिस्पर्धा र रचनात्मकतामा विश्वास गर्दैनन्, लुटपाट र ध्वंशबाट आफ्नो शक्ति बढाउँछन् । शीतयुद्धको समाप्तिपश्चात् उनीहरू यही गर्दै आएका छन् । राष्ट्रपति ट्रम्प यसैमा मक्ख छन् ।

यतिबेला ट्रम्पको अमेरिकाले विश्वास गुमाएको छ । ओमान वार्तालाई इरानले छल र कपटको रूपमा लिँदै अस्वीकार गरेको छ । अमेरिकाको संविधान धृतराष्ट्र जस्तो छ । यसले राष्ट्रपतिको रूपमा दुर्योधन जन्माउँदै आएको छ । यतिबेला राष्ट्रपति ट्रम्प दुर्योधनको अभ्यास गर्दैछन् । उनको अभिमानले भुइँ छोडेको छ । झुट, छल, धम्कीमार्फत कुरुक्षेत्र कब्जा गर्ने असफल कोसिस गरिँदैछ । दुर्भाग्यवश अमेरिका, इजरायल जस्ता आक्रामक शक्तिहरूले इच्छाअनुसार विश्वव्यापी कानुनहरू उल्लङ्घन गरिरहेका छन् । ‘USrael’ले अफगानिस्तान, इराक, लेबनान, प्यालेस्टाइन, लिबिया, सिरियापछि इरानमा आक्रमण गरेका छन् । विश्वले बुझेको छ, संयुक्त राष्ट्र सङ्घको कानुनले राज्यहरूलाई आत्मरक्षाको निम्ति बल प्रयोग गर्न अनुमति दिन्छ । अमेरिका र इजरायलले शान्तिपूर्ण रूपमा सामना गर्न सकिने खतरालाई नियन्त्रण गर्न अवैध रूपमा बल प्रयोग गरेका छन् ।

विश्वव्यापी रूपमा फैलिएका गाजाका मानिसहरूको भयानक र दयनीय पीडामा इजरायलीहरू रमाएका छन् । सर्वसाधारण यहुदीलक्षित हमासको हिंसात्मक गतिविधिको विरोध गर्न जरुरी छ तर पश्चिमी युद्ध सरदारहरूले इजरायलको नरसंहारलाई समर्थन गरेर अमानवीय उदासीनता देखाएका छन् । उनीहरूको नैतिकता, कपट र असली चरित्र प्रकट भएको छ । इरानको सवालमा यही नजिरको प्रयोग गरिएको छ । इजरायलले हमासको आक्रमणलाई विफल पार्न निर्दोष नागरिकलाई मार्न जरुरी थिएन । आफ्नो सीमा र नागरिकको सुरक्षा गर्न गुप्तचरलाई बलियो बनाउन सक्थ्यो । आफ्नो वैध रणनीतिमार्फत बदला लिन पनि सक्थ्यो, जसमा शीर्ष शत्रुहरूलाई इच्छाअनुसार मारियो । तर, उसले निहत्था नागरिकमाथि जङ्गली आक्रमण रोज्यो । हजारौँ मानिसको हत्या गऱ्यो तर न बन्धकहरूको उद्धार गऱ्यो न त हमासलाई नै माऱ्यो ।

वास्तवमा अमेरिकाको विशाल शक्ति इरानविरुद्ध प्रयोग गर्न इजरायल सफल भएको छ । ‘पुटिन र सी’ले अमेरिकी साम्राज्यलाई नियन्त्रण गर्ने साहस देखाएनन् । ट्रम्प-नेतान्याहू सफलताले दुष्ट महत्त्वाकाङ्क्षालाई पोषण गरिरहेको छ । उनीहरूले इरानलाई पराजित गर्न नसक्दा पुरानो कामको निम्ति नयाँ मिसन बनाउन पेन्टागन बाध्य भएको छ । तथापि, ट्रम्पलाई ‘नोबेल पुरस्कार’ले सताउँदैछ । चीनले औद्योगिक रूपमा अमेरिकालाई परास्त गर्न सक्छ, तर सैन्य-गुप्तचर प्रविधिको हिसाबले पुड्को देखिएको छ । चीनसँग विश्वव्यापी घटनालाई आकार दिने रणनीतिक शक्तिको अभाव छ, तर अमेरिकी नेतृत्वको संसारभित्र आर्थिक रूपमा माथि उठ्ने लक्ष्य राखेको छ । यसैबीच अमेरिकी राजनीति द्रुतगतिमा खराब हुँदै गइरहेको छ र, चीनको उदयलाई अनुचित रूपमा रोक्न तल्लीन छ ।

गत जुन १५ मा अमेरिका र इरानबीच ओमानमा छैटौँ चरणको वार्ता हुनुभन्दा केही दिनअघि इजरायलले आक्रमण गरेको थियो । ट्रम्पको आफ्नै स्वीकारोक्तिअनुसार इजरायली आक्रमणको अग्रिम जानकारी थियो । उनले यसलाई रोक्न चाहेनन् तर कूटनीतिक मार्ग पछ्याउने नाटक गर्दै नेतान्याहूलाई अगाडि बढ्न हरियो सङ्केत दिए । इरानका विदेशमन्त्रीले भनेझैँ- ‘गत हप्ता, हामी अमेरिकासँग वार्तामा थियौँ जब इजरायलले त्यो कूटनीतिलाई ध्वस्त पार्ने निर्णय गऱ्यो । यस हप्ता, हामीले ‘इयु’सँग वार्ता गऱ्यौँ जब अमेरिकाले त्यो कूटनीतिलाई ध्वस्त पार्ने निर्णय गऱ्यो ।’ वार्तामा फर्कनु अब अर्थहीन थियो- उनले भने । यस्तो उतारचढावपूर्ण परिस्थितिमा अमेरिका-इजरायलको संयुक्त सैन्य अभियानले इरानलाई आणविक हतियार क्षमता विकास गर्न बाध्य पारेको छ । सङ्कटबाट शानदार ढङ्गले निस्किएको इरानले आणविक हतियार निर्माणमा लाग्नुबाहेक अर्को विकल्प बाँकी छैन, जसले गर्दा वासिङ्गटन-तेल अबिबको ‘ग्रेटर इजरायल’ अभियान खतरामा परेको छ ।

नोम चोम्स्कीका अनुसार, दोस्रो विश्वयुद्धपछि प्रत्येक अमेरिकी राष्ट्रपति कङ्ग्रेसको अनुमतिबिना अन्य देशविरुद्ध अनधिकृत आक्रमणमा दोषी छन् । अमेरिकी संविधानअनुसार उनीहरूले मृत्युदण्डयोग्य अपराध गरेका छन् । चोम्स्कीको भनाइ फेरि एकपटक सही सावित भएको छ । कङ्ग्रेसको अनुमतिबिना राष्ट्रपति ट्रम्पले इरानमाथि धावा बोलेका छन् । उनी युद्ध सरदार बनेर उदाएका छन् । बम हानेर शान्तिको घोषणा गरेका छन् । ट्रम्पको आशीर्वादमा नेतान्याहू मध्यपूर्वको खतरा बनेका छन् । जसलाई बुझ्न ९/११ पछि तुरुन्तै स्वीकृत पेन्टागन योजनातर्फ जानु पर्नेछ । नेटोका पूर्व सर्वोच्च कमान्डर (सेवा निवृत्त अमेरिकी जनरल) वेस्ली क्लार्कले खुलासा गरेका थिए कि अमेरिकाको नेतृत्वमा सात क्षेत्रिय देशहरूमा शासन परिवर्तन गरिने छ, जसको अन्त्य इरानबाट हुनेछ । दुर्भाग्यवश ट्रम्प-नेतान्याहू सहकार्यले पेन्टागनको इरान योजना (शान्ति पुरस्कार थाप्ने) गर्भमै तुहिन सक्नेछ ।