‘विद्या वार्मअप’को हलचल !

६ असार २०८२, शुक्रबार

महाभारत युद्ध टाल्न नचाहेका तर दोषको बाछिटा आफ्नो चमत्कारिक छविमा नपरोस् भन्ने मनसायको साथ शान्तिवार्ताको प्रस्ताव लिँदै भगवान् कृष्ण हस्तिनापुर पुगे । हस्तिनापुरको आतिथ्यपश्चात् युवराज दुर्योधनलाई भगवान् श्रीकृष्णले भने, कदाचित युद्ध भएमा तिमी ‘नारायणी सेना’ रोज्छौ कि ‘नारायण’ ? युद्धमा सेनाको महत्त्व बुझेका दुर्योधनले सोचविचार बिना नारायणी सेना रोजे । दुर्भाग्यवश नारायण छोडेर नारायणी सेना लिएका दुर्योधनले युद्ध जित्न सकेनन् ।

पराशरपुत्र महर्षि वेदव्यासले द्वापर युगको सभ्यता र संस्कारलाई रोचक बनाएर पस्किएको महाभारतकालीन राजनीति वर्तमान विश्वले रोचक ढङ्गले अभ्यास गरिरहेको छ । वैश्ययुगको आयातित लोकतन्त्रमा अर्जुनहरू सत्ता र शक्तिको निम्ति चुनाव लड्न विवश छन् । भगवान् कृष्णले अर्जुनसँग नारायणी सेना लिने कि नारायण भन्दै प्रश्न गर्दा अर्जुन भन्छन्, ‘हे नारायण ! हजुरले अकल्पनीय शक्ति प्रयोग गर्दै कुरुक्षेत्रको युद्ध जिताउनुभयो, यो त सामान्य निर्वाचन ! म हजुरलाई रोज्नेछु ।’ भगवान् कृष्ण मुसुक्क हाँस्दै अर्जुनलाई भन्नुहुन्छ- तिमी अवश्य हार्नेछौ । लोकतन्त्रमा मेरो केवल ‘एक मत’ मात्र हुनेछ । यस युद्धमा नारायणी सेनाको ‘मत’ निर्णायक हुनेछ । तिमी ‘भोट’को राजनीति बुझ्न सक्दैनौँ ।

माथि उल्लेख गरिएको हास्यरसभित्र विचित्रको सत्य लुकेको छ । वास्तवमा नारायण भनेको ‘आइडोलोजी’ र नारायणी सेना भनेको ‘कार्यक्रम र औजार’ हो । द्वापरयुग सिद्धान्त र सत्यमा आधारित थियो । कुरुक्षेत्रको युद्ध सत्यले जित्यो । वर्तमान समय सत्ता र कुर्सीको युग हो । पार्टी र संसदीय सत्ता प्राप्त गर्न भोटमात्र काम लाग्छ । ‘भोट’ प्राप्त गर्न नारायणी सेना अपरिहार्य छ । उल्लेखित हास्यरसभित्र लुकेको अथाह रहस्यलाई कमरेड ओलीले अक्षरशः विगतमा प्रयोग गरेको आफ्नै आँखाले देखेकी कमरेड विद्या भण्डारी उल्लेखित रहस्यको रिमिक्स गर्ने तारतम्य मिलाउँदै गरेको सङ्केत प्राप्त भएको छ ।

कमरेड मदनको अकल्पनीय निधनपश्चात् कमरेड माधवको प्रमोसन तत्कालीन एमालेको सङ्कट टार्न चालिएको बाध्यात्मक कदम थियो । माधव नेपाललाई विस्थापित गर्ने एकल लक्ष्यसहित अगाडि बढेका कमरेड ओलीले कमरेड विद्यालाई पार्टीमा स्थापित गर्न कुनै कसर बाँकी राखेनन् । संसदीय राजनीतिको समुन्द्रमा हेलिँदा कमरेड विद्यामार्फत एमालेभित्र सफलतापूर्वक चालिएको गुटगत राजनीतिले नेता ओलीलाई नारायणी सेना उत्पादन गर्ने ठुलो अवसर मिल्यो । कमरेड विद्याको पार्टी-राजनीतिमा निरन्तर उपस्थिति भविष्यमा महँगो पर्न सक्ने बुझ्दै कलिलो उमेरमा राष्ट्रपति बनाए । अस्वाभाविक प्रमोसनभित्र लुकेको षडयन्त्र कमरेड विद्याले काङ्ग्रेस नेता प्रदीप गिरीले व्यक्त गरेको सङ्केतबाट ढिलोगरी बुझिन् तर कतै व्यक्त गरिनन्, उचित समय कुरेर बसिन् । नेता ओलीको कारणले पलाएको महत्त्वाकाङ्क्षालाई मलजल गरेर हुर्काइन् ।

संसदीय राजनीतिको फोहोरी खेलमा फस्दै दुर्गन्धित भएको एमाले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा बग्न छोडेको छ । सिद्धान्त (नारायण)लाई त्याग्दै नारायणी सेनाको बलमा कब्जा गरिएको एमाले दुर्गन्धित पोखरीको रूपमा बदलिएको छ । पार्टीको करेन्ट सकिएको छ । सङ्गठन भुत्ते बनेको छ । एमाले निर्माणमा जीवनको बहुमूल्य समय र ऊर्जा फ्याँकेका लाखौँ कार्यकर्तामा उकुसमुकुस बढ्दैछ । यस तथ्यको गम्भीर विश्लेषण र सूक्ष्म अध्ययनपश्चात् कमरेड विद्याले एमाले पोखरीमा पत्थर फ्याँक्दै आफूलाई ‘वार्मअप’ गर्दैछिन्, जसले ठुलो राजनीतिक तरङ्ग उत्पन्न गरेको छ । आफूलाई विकल्पहीन ठान्दै एमालेभित्र मोजमस्तीको हस्तिनापुर चलाइरहेको अवसरवादी ग्याङभित्र विचित्रको हलचल पैदा भएको छ ।

कमरेड झलनाथ र माधवले एमाले त्यागेको, कमरेड वामदेवको निम्ति एमालेको ढोका बन्द गरिएको, नेता प्रचण्ड अस्तित्वरक्षाको निम्ति भौँतारिएको समयमा अध्यक्ष ओलीको कब्जामा परेको एमाले दिन-प्रतिदिन दुब्लाउँदै छ । सत्ता-राजनीतिको दौरान अध्यक्ष ओली थप अलोकप्रिय भएको, विचित्रको घेराबन्दीमा परेको, अनेकौँ काण्डहरूले पछ्याएको अवस्थालाई कमरेड विद्याले नजिकबाट महसूस गरेकी छन् । सहकार्यको सट्टा सहयोगी, आफू दाता अरू सबै माग्ने, दक्षिण एसियामा आफ्नो जत्तिकै उचाइको सङ्घर्षशील राजनेता कोही नरहेको नेता ओलीको भ्रमपूर्ण बुझाइ कमरेड विद्याको लागि सुवर्ण अवसर बन्दैछ । नियुक्ति, सरुवा, बढुवा, उत्थान, पतन, नारायण, नारायणी सेना आफैमा समाहित गर्न तम्सिएका प्रधानमन्त्री ओलीको अतृप्त सपनालाई चुनौती दिने तयारी विद्या गर्दैछिन् ।

सार्वभौमसत्ता सानो वा ठुलो नहुने मान्यतालाई भजाउँदै चम्किएका कमरेड ओलीको सहयोगी बनेर लामो समय सहकार्य गरेकी कमरेड विद्या राष्ट्रपति कार्यकालको अन्तमा गज्जबले खुट्टा टेक्दै नागरिकता विधेयकलाई होल्ड गर्न सफल भइन् । जसले गर्दा उनको हाइट रातारात उकासियो । अझ रोचक कुरा, नेपालको संविधानलाई केवल नोटिसमा लिएको दक्षिणसँग उनको सम्बन्ध कमजोर बनेन । एमाले राजनीतिमा दक्षिण र उत्तरको भन्दा पश्चिमको महत्त्व हाबी भएको समयमा उनको सम्बन्ध जमिन जोडिएका छिमेकीसँग मजबुत बन्दै जानु कम रोचक रहेन ।

एमालेभित्र अकस्मात् कमरेड विद्याको आवश्यकता उत्पन्न हुनुमा अध्यक्ष ओलीको कार्यशैली मात्र जिम्मेवार छ भन्नु हतार हुनेछ । यद्यपि राजनीतिको नियम नै हो- परिवर्तन अनिवार्य छ । एमाले पार्टीले परिवर्तन खोजिरहेको छ । कमरेड ओलीको नेतृत्वमा विदेशी लगानी सुरक्षित हुने देखिएन । दुर्भाग्यवश उनको नेतृत्वमा अनियन्त्रित निरङ्कुशता बाहेक केही मौलाउने देखिएन । जनताबाट अलग भएको नेता ओलीलाई बोकेर विदेशी शक्तिको स्वार्थ सुरक्षित हुने पनि देखिएन । फलस्वरूप भूराजनीतिक शक्तिको रणनीतिक स्वार्थले कमरेड विद्यालाई प्रयोग गर्ने अवस्था सिर्जना भयो भन्ने बुझ्न अलिकति समय लाग्नेछ । राजनीतिक शक्ति सन्तुलनलाई बेवास्ता गर्दै सीमित व्यक्तिको लालनपालनमा सुनौलो अवसर मिल्काएका नेता ओली कमरेड विद्याको नेतृत्वमा किनारा लाग्ने अवस्था आउनु अर्थपरक देखिन्छ ।

कमरेड ओलीलाई कार्यकर्ता र सडकको आवाज सुनाउन सक्ने एकमात्र पात्र कमरेड विद्या हुन् । बाध्यात्मक मोर्चाबन्दीलाई नाजायज मान्ने ‘ओली-परिभाषा’लाई भुत्ते बनाउन सक्ने उपयुक्त पात्र उनी नै हुन् । एमाले कार्यकर्ता र नेताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षार्थ प्रभावकारी, सन्तुलित र समन्वयात्मक भूमिका खेल्न सक्ने उनी नै हुन् । विगतमा माधव, झलनाथ कमजोरीको फाइदा ओलीले उठाएजस्तै वर्तमानमा ओली कमजोरीको फाइदा उठाउन सक्ने पनि कमरेड विद्या नै हुन् । यस्तो कटु सत्यलाई नेता ओलीले नजरअन्दाज गरेको सजाय पाउँदैछन् । राजनीतिबाट बिदा दिएको शिष्य कमरेड विद्यासँग प्रतिस्पर्धा गर्ने अवस्था ल्याउने ओली-राजनीति गम्भीर रूपमा असफल भएको मान्न सकिन्छ ।

सर्वसाधारण मानिसले बुझ्न जरुरी छ- विद्याको सक्रियता उनको रहरले मात्र होइन । एमाले निर्माणमा रगत पसिना बगाएका, झोले ग्याङबाट पेलिएकाहरूको बाध्यता हो । कमरेड विद्याको वार्मअपले झोले ग्याङभित्र विचित्रको छटपटी र हलचल पैदा भएको छ । देशभक्तहरूले बुझ्नैपर्छ, बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व र साझा कर्तव्य हो । आवेश, उत्तेजना र भावनामा बगेर एमाले जनताको ढोकामा पुग्दैन । विद्याको वार्मअपपश्चात् निजी स्वार्थको निम्ति एमालेको संस्कृति र धरोहरहरूको इतिहास त्यागेको झोले ग्याङमा रुवावासी हुनु जायज छ । जनता र कार्यकर्ताको इच्छा, चाहना र भावनालाई बुझ्दै न्यायपूर्ण राजनीतिको पक्षमा लोकप्रिय कार्यक्रम पस्किन सकेको खण्डमा कमरेड विद्यालाई अकल्पनीय सफलता हात लाग्नेछ ।

अध्यक्ष ओलीले कमरेड विद्यालाई माधव, झलनाथ या भीम रावल सम्झिनु गम्भीर भूल हुनेछ । नेता ओलीले बुझ्नुपर्छ, कमरेड विद्या केवल पूर्व राष्ट्रपतिमा सीमित भएर बस्न चाहिनन् । उनी मदन (जबज)को अंश लिन हौसिँदै छिन् । चौतर्फी घेराबन्दी बढेको समयमा कमरेड विद्याले चलाएको पछिल्लो अभियानले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको बाध्यात्मक छटपटी मुलुकले महसूस गरिरहेको छ । पार्टीविरोधीलाई हटाएर मैदान खाली गरेको अभिमानमा रमाएको समयमा हेपिएका, चेपिएका नारायणी सेनाले कमरेड विद्यालाई अध्यक्ष (नारायण) मान्न राजी भएको अवस्थाले नेता ओलीलाई भित्रभित्रै सताएको छ । उनको छटपटी अनेकौँ ढङ्गले पोखिएको छ । दुर्भाग्यवश उनको ‘झोले डिफेन्स सिस्टम’ र राजनीतिक सल्लाहकारको गोप्य चीन भ्रमणले काम नगर्ने अवस्था छ ।

अन्तमा, पार्टी जन्मेको इतिहास बेवास्ता गर्दै आफ्नो जन्मथलो खोज्दै हिँड्ने अध्यक्षको कमजोरी कमरेड विद्याको निम्ति वरदान बन्दैछ । नारायण बन्ने एकल अभियानमा निस्केका कमरेड ओली पार्टीभित्रको नारायणी सेनाबाट विमुख हुँदैछन् । कमरेड विद्याको अलौकिक क्षमता, कार्यक्रम र आवश्यकताले उनको चर्चा भएको किमार्थ होइन । नेता ओलीको कार्यशैली, तुच्छ अभिमान, भजन मण्डलीको भ्रष्ट गतिविधि र वाम आन्दोलनको अदृश्य भ्रमले उनको खोजी स्वाभाविक मान्न सकिन्छ । कमरेड मदनलाई सम्मान गर्ने, वाम आन्दोलनलाई माया गर्ने ठुलो पङ्क्ति र नेता ओलीलाई नरुचाउने देशी विदेशी शक्तिले कमरेड विद्यालाई विकल्पको रूपमा देख्नु स्वाभाविक छ । रणनीतिक शक्तिले प्रणालीलाई जोगाउन र नियन्त्रणमा राख्न नयाँ पात्रलाई साधनको रूपमा प्रयोग गर्छन् । यस तथ्यलाई बुझ्ने हो भने महत्त्वपूर्ण राजनीतिको लागि ठाउँ खाली गर्न नेता ओली मजबुर हुँदै छन्, जसले गर्दा कमरेड विद्यालाई एमाले अध्यक्षको प्रवेश बिन्दु सिर्जना हुँदै गएको मान्न सकिन्छ ।