इजरायल-इरान युद्ध, ट्रम्पको अग्निपरीक्षा !

१ असार २०८२, आइतबार

जुन १५ मा अमेरिका र इरानबीच ओमानमा तय गरिएको छैटौँ चरणको आणविक निरस्त्रीकरण वार्ताको ठिक दुई दिनअगाडि अर्थात् जुन १३ शुक्रबार सुरुवातको समयमा इजरायलले इरानमाथि आक्रमण गऱ्यो ।

गत जनवरी २० मा आफ्नो दोस्रो कार्यकालको शपथको दौरान ‘सबै युद्धहरू रोक्ने’, ‘शान्ति निर्माता र एकीकरणकर्ता’को विरासत कायम गर्ने बताएका संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराउँदै इजरायलले इरानमाथि रणनीतिक आक्रमण गर्दा उनले रोक्न चाहेनन् । मध्यपूर्वमा, मुस्लिमलाई सिया-सुन्नी राजनीतिमा सीमित गर्दै यहुदी (इजरायल)लाई आणविक हतियारले सम्पन्न बनाउने अमेरिकी राजनीति यतिबेला छताछुल्ल भएको छ । विरोधीलाई मारेर समाप्त गर्ने, विरोधीको रणनीतिक-राजनीतिक संरचना ध्वस्त गर्ने ‘दैत्यशैली’को इसाई-यहुदी अभियान मुस्लिम जगतले भोग्न विवश छ ।

गत जुन १३ को रात इजरायलले इरानको मर्ममा प्रहार गरेको छ । सरसर्ती हेर्दा इरानले अकल्पनीय नोक्सानी ब्यहोरेको छ । कम्तीमा ७८ जना मारिएका छन् । ३२९ जना गम्भीर घाइते भएका छन् । इजरायलद्वारा चलाइएको अपरेसन ‘राइजिङ लायन’मा इरानले महत्त्वपूर्ण व्यक्ति गुमाएको छ । मेजर जनरल हुसेन सलामी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) को प्रमुख, मेजर जनरल हुसेन सलामी इरानका सबैभन्दा शक्तिशाली व्यक्तिहरू मध्ये एक थिए, जसले शक्तिशाली सैन्य शाखाको निरीक्षण गर्थे । उनी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई सिधै रिपोर्ट गर्थे । त्यसैगरी Chief of Staff of the Armed Forces का मेजर जनरल Mohammad Bagheri, Head of the Khatam al-Anbiya Central Headquarters का मेजर जनरल Gholam Ali Rashid लाई इरानले गुमाएको छ । उक्त घटनापश्चात् इरानका सर्वोच्च नेताले राष्ट्रलाई टेलिभिजन सम्बोधन गर्दै भनेका छन्, ‘इजरायल क्षतिमुक्त रहनेछैन’ । तेहरानले इजरायलको आक्रमणको बदला लिँदा ‘आधा उपाय’ अपनाउने छैन । साथै इरानको सशस्त्र सेनाले इजरायललाई ‘असहाय’ छोड्नेछ ।

इजरायली रक्षा बलले विज्ञप्तिमार्फत घटनालाई पुष्टि गर्दै भनेको छ- उनका जेटहरूले आक्रमणको पहिलो चरण पूरा गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यपूर्वमा अस्थिरताको लागि इरानको ठुलो जिम्मेवारी रहेको र यसले अनुचित आणविक कार्यक्रम अगाडि बढाएको बताएका छन्, तर इजरायलले इरानमाथि आक्रमण गरेपछि उनले संयम अपनाउन आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै म्याक्रोनले इरानले आफ्नो आणविक कार्यक्रमको कूटनीतिक समाधान खोज्न संयुक्त राज्य अमेरिकाको आग्रहलाई स्वीकार नगरेकोमा दुःख व्यक्त गर्दै वार्ताहरू पुनः सुरु हुने आशा व्यक्त गरेका छन् । इजरायल रक्षा बल (IDF) ले इरानका विभिन्न क्षेत्रहरूमा आणविक लक्ष्यहरू सहित दर्जनौँ सैन्य लक्ष्यहरूमा ‘उत्कृष्ट, सटीक र संयुक्त’ आक्रमण गरेको भन्दै गर्व गरिरहेको समयमा इरानले १०० वटा ड्रोन र असङ्ख्य मिसाइलले इजरायलमाथि प्रत्याक्रमण गरेको छ । इरानले ‘ट्रु प्रोमिस थ्री’ समेत सुरु गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘एकतर्फी’ आक्रमणमा कुनै पनि अमेरिकी सहयोग वा संलग्नता अस्वीकार गरेका छन् । इजरायलले वासिङ्टनलाई भनेको छ, उसले आफ्नो आत्मरक्षाको लागि आक्रमणहरू आवश्यक भएको विश्वास गर्दछ । चीनले इरानमाथि इजरायली आक्रमणको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै सम्बन्धित पक्षहरूलाई क्षेत्रीय शान्ति र स्थिरताको लागि अनुकूल तरिकाले कार्य गर्न आह्वान गरेको छ । सधैं अस्थिर मध्यपूर्वमा जुन १३ बाट सुरु भएको युद्धले तनाव बढाएको छ । इजरायलका रक्षामन्त्रीले देशभरि आपतकाल घोषणा गरेका छन् । नागरिकलाई सुरक्षित स्थानमा बस्न भनेका छन् । इरानका सर्वोच्च नेता अलि खामेनीले भने कि इजरायलले ‘कठोर सजायको अपेक्षा गर्नुपर्छ । इस्लामिक गणतन्त्रको बलियो हातले उनीहरूलाई जान दिनेछैन ।’ उनले थपे- ‘धेरै वरिष्ठ सैन्य कमान्डर र आणविक वैज्ञानिकहरू मारिएका छन् । त्यसको सजाय उनीहरूले भोग्नुपर्नेछ ।’

इजरायलद्वारा तेहरान आक्रमणको लगभग ४८ घण्टाअगाडि केही हुनसक्ने एउटा महत्त्वपूर्ण सङ्केत गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी इराकमा रहेको अमेरिकी दूतावासबाट गैरआवश्यक कर्मचारीहरूलाई इराक छोड्न आदेश दिएका थिए । यद्यपि उनले कुनै कारण खुलाएका थिएनन् । निर्णयलाई विस्तार गर्दै विदेश विभागले सुझाव दियो कि ‘अमेरिकीहरूलाई सुरक्षित राख्नु, घर र विदेश दुवैमा’ । इजरायललाई थाहा छ, युद्ध चर्किनेछ । बम र क्षेप्यास्त्रले मृतकको सङ्ख्या थप्ने छ । युद्धले देश वा क्षेत्रलाई फाइदा पुऱ्याउने छैन । तर युद्धको रिमोट इजरायलको हातमा छैन ।

’रुस र युरोप’लाई युक्रेन युद्धमा अल्झाएर मध्यपूर्व एकलौटी कब्जामा लिन हौसिएको अमेरिका यतिबेला विचित्रको दलदलमा फस्दैछ । अक्टोबर २०२३ देखि गाजामा सुरु गराइएको इजरायली आक्रमणको मास्टर माइन्ड अमेरिका भएको प्रमाण संयुक्त राष्ट्र सङ्घ जस्ता संस्थाहरू निरीह बन्नुले दिएको छ । गाजामा इजरायलद्वारा निर्दोष नागरिक मारिँदा ‘चुँ’सम्म नबोल्ने अमेरिका मानवअधिकारको संरक्षक बनेर बसेको छ । इजरायलले आणविक हतियार बनाउनु उसको अधिकार मान्ने तर इरानले त्यही र त्यस्तै कार्यक्रम सञ्चालन गर्न नपाउने ह्वाइट हाउसको नीति विश्वले देख्न र बुझ्न पाएको छ ।

विगतमा राष्ट्रपति ट्रम्पद्वारा देखाइएको शान्तिको कथा च्यातिएको छ । इरानमाथि इजरायली आक्रमणपश्चात् ट्रम्पको इजरायलप्रतिको आत्मीयता खुलेर प्रकट भएको छ । शान्तिको अग्रदूत बन्ने उनको बाचाले हावा खाएको छ । ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख व्यक्तित्व एवम् टिप्पणीकार टकर कार्लसनले भनेका छन्, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ‘युद्धको भोको सरकार’लाई अमेरिकाले समर्थन गर्नु हुँदैन । यद्यपि दक्षिणपन्थी राजनीतिज्ञ र टिप्पणीकारहरूले इजरायललाई बिनासर्त समर्थन गर्नु ट्रम्पको बाध्यता मानेका छन् । किनकि ट्रम्प स्वतन्त्र छैनन् । उनी राजनीतिज्ञ कम व्यापारी ज्यादा हुन् । अदृश्य सहयोगीमार्फत उनका हातखुट्टा बाँधिएका छन् । उनको ‘मेक अमेरिका ग्रेट अगेन’को नारा वास्तवमा व्यापारीको निम्ति थियो । जसको निम्ति युद्ध आवश्यक छ । यतिबेला राष्ट्रपति ट्रम्प ‘अमेरिका फस्र्ट’को आवरणमा ‘व्यापार र व्यापारी फर्स्ट’ अभियान सफलतापूर्वक हाँकिरहेका छन् ।

राष्ट्रपति ट्रम्पलाई मध्यपूर्वको आगोमा हामफाल्न टकर कार्लसन रोक्दैछन् । उनी प्रस्ट छन्, ‘यदि इजरायल युद्ध गर्न चाहन्छ भने, उसलाई त्यसो गर्ने पूर्ण अधिकार छ । उ एक सार्वभौम देश हो र उसले जे चाहन्छ त्यो गर्न सक्छ तर अमेरिकाको समर्थनमा होइन ।’ टकर कार्लसन नेटवर्कले भनेको छ, ‘इरानसँगको युद्धले आतङ्कवादको अर्को पुस्तालाई इन्धन दिन सक्छ वा विदेशी एजेन्डाको नाममा हजारौँ अमेरिकीहरूको हत्या गर्न सक्छ ।’ रिपब्लिकन सिनेटर रान्ड पलले इरानसँगको युद्धको विरुद्धमा चेतावनी दिए र ट्रम्प प्रशासनमा जन्मिएका नव रूढिवादीहरूको आलोचना गरे । दक्षिणपन्थी काङ्ग्रेस महिला मार्जोरी टेलर ग्रिनले पनि आक्रमणको विरोध गर्ने सन्देश पठाएकी छन् । उनले पहिले ट्रम्पलाई इजरायली दाबीको आधारमा इरानमा आक्रमण नगर्न चेतावनी दिएकी छन् । ‘म शान्तिको लागि प्रार्थना गर्दै छु, शान्ति’, उनले X मा लेखिन् । ‘त्यो मेरो आधिकारिक अडान हो ।’ चार्ली कर्क, एक प्रमुख रिपब्लिकन कार्यकर्ता र टिप्पणीकार जो कट्टर इजरायल समर्थक हुन्, उनले पनि इरानसँग युद्धमा संलग्न हुने बारेमा शङ्का व्यक्त गरेका छन् ।

उल्लेखित घटनाको बाबजुद अमेरिका आफ्नो मिसनमा दृढ छ । उसले व्यापार र शान्तिको नाममा युद्धको उत्पादन गरिरहेको छ । बसर अल असद सरकारलाई सिरियाबाट विस्थापित गराउन आफैले आतङ्कवादीको उपाधि दिएको अबु मोहम्मद अल जुलानी (वर्तमान सिरिया राष्ट्रपति अहमद अल शरा) सरकारलाई आर्थिक नाकाबन्दी हटाउने, प्यालेस्टिनी हमास र लेबनानको हिजबुल्लाह पछि इरानमाथि आक्रमण गराउने अमेरिकी राजनीति अरब संसारले भर्खरै बुझ्न पाएको छ । मध्यपूर्वमा आफ्नो ५१औँ राज्य (इजरायल)लाई अझ सशक्त र शक्तिशाली हतियारको रूपमा राख्दै मध्यपूर्वको व्यापार दीर्घकालीन रूपले कब्जा गर्ने ट्रम्प प्रशासनको कथित रणनीतिलाई ‘रुस-चीन’ले गहिरो ढङ्गले हेरिरहेका छन् ।

अन्तमा, पछिल्लो युद्धले मध्यपूर्वमा चीनको कुटनीतिक सफलता बढ्न सक्छ । अमेरिकाको नियत र नेतृत्वमा मध्यपूर्व तनावग्रस्त हुँदैछ । वास्तवमा, अमेरिकाको एक गलत कदम चीनको निम्ति वरदान बन्नेछ । यो नबिर्सौं कि दुई वर्षअघि मात्र चीनले विश्वको प्रमुख सिया र सुन्नी मुस्लिम राष्ट्र इरान र साउदी अरेबियाबीच शान्तिसम्झौतामा मध्यस्थता गरेको थियो । दुई देशले एक अर्काको भूमिमा दूतावास खोलेका छन् । उनीहरूले जटिल समस्याको शान्तिपूर्ण समाधान खोज्न सफल भएको सङ्केत दिएका छन् । इरान हालैका वर्षहरूमा चीनको नजिक गएको छ र चीन पनि इजरायलसँग काम गर्न इच्छुक छ । यस्तो स्थितिलाई तोड्न अमेरिका हौसिन सक्छ, जसले गर्दा अमेरिकी सेनालाई द्वन्द्वमा तान्ने जोखिम बढेको छ । खामेनीले भनेका छन्, ‘युद्ध इजरायलले सुरु गरेको छ, अन्त्य हामी गर्छौं ।’ साँच्चै अमेरिका युद्धमा होमिए, खामेनीको नैतिक विजय हुनेछ । मध्यपूर्वको राजनीतिक समीकरणमा अनौठो परिवर्तन आउनेछ ।