अस्तित्वको सङ्कट !

३० जेष्ठ २०८२, शुक्रबार

सभ्य भाषामा भन्दा यतिबेला नेपालीहरू विश्वभर फैलिएका छन् । राजनीतिक भाषामा भन्दा आर्थिक शरणार्थी बन्दै अवसरको खोजीमा विश्वभर भौँतारिएका छन् । उनीहरू जहाँ पुगेपनि दुःखबाट मुक्त छैनन् । स्वदेशबाट धकेलिएका, ठेलिएका युवायुवती विदेशबाट जबर्जस्ती निकालिएका छन् । यो प्रक्रिया निरन्तर चलिरहेको छ । कहिले बर्माबाट लखेटिएका छन् । कहिले आसाम, कहिले सिक्किम त कहिले भुटानबाट खेदिएका छन् । यतिबेला बर्मा, भारत र भुटानको नक्कल गर्दै अमेरिका आएको छ । उसले पछिल्लो लटमा ३७ युवायुवतीलाई मानसिकरूपले अपमानित गर्दै दयनीय अवस्थामा काठमाडौं फर्काएको छ ।

सबैलाई थाहा छ- सिंहदरबार र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले मुलुक र मुलुकवासीको बारेमा चिन्ता र चिन्तन गर्दैन । उनीहरू विश्व पुँजीवाद र दलाल पुँजीवादको सेवा गर्दै राज्यदोहनमा दिनरात एक गर्दै छन् । अझ रोचक कुरा.. कथित राजनीतिक नेतृत्व र परिवर्तनको उपलब्धि दलाल र बिचौलियाको लिखित/अलिखित कानुनले बाँधिएका छन् । नागरिकको नजरमा औचित्य गुमाएका तथाकथितहरूले थोरैमात्र स्वतन्त्र हुने, मुलुक र नागरिकतर्फ ढल्किने कोसिस गरेको खण्डमा खाइपाइ आएको सुविधा गुमाउने छन् । यस्तो विडम्बनापूर्ण अवस्थामा पुगेको मुलुकमा अमेरिकाबाट या अन्य मुलुकबाट नेपाली नागरिक किन फिर्ता पठाइए ? कस्तो अवस्थामा पठाइए ? यस्तो अवस्था किन आयो ? नेपालीहरूले दुःख पाउनुमा कसलाई दोष दिने ? यस्ता तमाम प्रश्न सिंहदरबार र पटके परिवर्तनको नजरमा असान्दर्भिक भइसकेको छ ।

पुर्खाले भन्दै आएका छन्, ‘दुःखलाई दोषको रूपमा होइन, एउटा सङ्केतको रूपमा हेर्नुपर्छ ।’ दुर्भाग्यवश वर्तमान पुस्ताले पुर्खाको मार्मिक र वजनदार भनाइलाई बुझ्ने ल्याकत गुमाएको छ । मुलुकले सामाजिक र आध्यात्मिक मूल्यलाई बेवास्ता गरेर चलिरहेको छ । भौतिकवाद र अवसरवादमा डुबेको समाज डिजिटल संसारलाई सम्पूर्ण मानेर चलेको छ । विश्व पुँजीवादले यस्तो संसार निर्माण गरेको छ कि मौलिक रूपमा मानव प्रकृतिसँग बाझिएको छ । समाजको नियम र परम्परालाई भत्काउँदै नागरिकलाई डिजिटल युजरमा सीमित गर्दै छ । मानवजीवनको ‘गति र प्रतिस्पर्धा’ डिजिटल ओभरलोडद्वारा नियन्त्रित छ । हामी ‘अर्थ’को पछि दौडिन विवश छौँ । विरोधाभासमा रम्दैछौँ ।

विकासको पश्चिमी मोडेलले मुलुकलाई गाँज्दैछ । युवापुस्ता भौतिक प्रगतिको पछाडि दौडिरहेको छ । एक्लोपन, डिप्रेसन र आत्महत्याले डिजिटल पुस्तालाई सताएको छ । आधुनिक संसारलाई पछ्याउने नाममा निराशाको महामारीसँग सङ्घर्ष गरिरहेका छौँ । मुलुकले डिजिटलाइजेसनको पीडाहरू आयात गर्दैछ । आधुनिकीकरणको भोकमा आफ्नै अस्तित्वमाथि खेलबाड गरिरहेका छौँ । मनोवैज्ञानिक, सामाजिक र आध्यात्मिक शक्तिको विसर्जन गर्न मरिहत्ते गरिरहेका छौँ ।

आधुनिकताले कट्टरपन्थी व्यक्तिवादलाई समर्थन गरेको छ । डिजिटल युजरहरूले सामूहिकताको क्षय भएको महसूससम्म गर्न छोडेका छन् । पहिचानहरू सम्बन्धमा आधारित थिए । परिवर्तनले रहस्य र विस्मयसँगको सम्बन्धलाई तोडेको छ । जीवनलाई गहिरो बनावटबाट खाली गरेको छ । असङ्गतिले युवाहरूलाई सबैभन्दा बढी असर गरिरहेको छ । आजका युवाहरू बिचित्रको अवस्थामा हुर्किरहेका छन् । परम्परा र अन्तरनिर्भरतामा जरा गाडेको समाज भत्किएको छ । डिजिटल आधुनिकताले अति-व्यक्तिवादलाई समातेको छ । सफलता, सौन्दर्य र आत्ममूल्यको आदर्श हराउँदैछ ।

मुलुकले आजसम्म डिजिटल युजरको समस्याको बारेमा अध्ययन गरेको छैन । युवा वर्गमा डिप्रेसन, चिन्ता, लागूपदार्थको दुरुपयोग र आत्महत्याको बढ्दो दरले मुलुकलाई सताउन सुरु गरेको छ । मानसिक स्वास्थ्य समस्या व्यक्तिगतमात्र होइन, मुलुकको अस्तित्वसँग गाँसिएको छ । हामी सभ्यताको चौबाटोमा छौँ । हामी हाम्रो कल्याणलाई क्षय गर्ने तरिकालाई त्याग्न नसक्ने अवस्थामा छौँ । विश्व पुँजीवादले हामीलाई डिजिटल युजरमा सीमित गरेको छ । हामीलाई उसको इच्छा र चाहनाअनुसार वास्तविक अस्तित्व बिसाउन बाध्य बनाएको छ । आध्यात्मिक खुसी त्याग्न विवश बनाउँदै छ । डिजिटल युजरले परम्पराबाट सिक्न छोडेको छ । भौतिकवादी अवधारणाले आधारभूत सत्यलाई मिल्काएको छ । हामी सबै कुरा बिर्सिन तयार छौँ । गरिबी हाम्रो शत्रु होइन, हामीलाई डिजिटल युजरमा सीमित गर्ने पश्चिमा सोच हाम्रो शत्रु हो । आयातित अभ्यास र सिद्धान्तले हाम्रो अस्तित्व जोगिँदैन, प्रयोग गरिरहेको प्रणालीले हामीलाई डुबाउँदैछ । शिक्षादेखि स्वास्थ्यसम्म आर्थिक विकासदेखि न्याय प्रणालीसम्म परिवर्तन आवश्यक छ ।

माफिया-शैलीका हाइब्रिड संरचनामार्फत कार्टेल गरिएको छ । साइबर अपराध र वित्तीय ठगीमा युवालाई फसाउँदै छ । महिला र बालबालिकालक्षित अनलाइन दुर्व्यवहार, डिजिटल ब्ल्याकमेल र क्रिप्टो करेन्सीको महाजालमा फसाउँदैछ । धोखाधडी, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी वित्तपोषण र भ्रष्टाचार जस्ता वित्तीय अपराधमार्फत मुलुकलाई खोक्रो बनाउँदै छ । विश्व पुँजीवादको हतियार बनेको डिजिटल साम्राज्यमार्फत आर्थिक स्थिरतामा बाधा पुऱ्याउँदै छ । संस्थागत अखण्डतालाई कमजोर बनाउँदै छ ।

शहरी सिन्डिकेटहरू डरलाग्दो बनेर उदाएको छ । जबर्जस्ती रकम असुलीका घटना, पानी-माफिया, भू-माफिया र लागूपदार्थको कारोबार, मानवतस्करी जस्ता घटना राजनीतिक संरक्षणमा चलिरहेको छ । राजनीतिमा तस्करी नेटवर्क हाबी भएको छ । हिंसा, जबर्जस्ती, चन्दा असुली, ब्ल्याकमेल र धम्की सामान्य बनेको छ । भ्रष्टाचार मानव-सभ्यताभन्दा बलियो बनेको छ । अनौपचारिक अर्थतन्त्रले सम्पत्ति प्रवाह र करछलीलाई सहज बनाएको छ । प्रणालीगत असमानता, गरिबी र बेरोजगारीको जगमा शोषण कायम गरिएको छ । रोजगारी, ऋण र सुरक्षाको अवस्था नाजुक छ । आपराधिक अर्थतन्त्र विकास हुँदैछ । ग्राहक राजनीतिले अपराधहरूको सुरक्षा सञ्जालहरू सिर्जना गरेको छ । चुनाव वित्तपोषण र पार्टी संरक्षण आपराधिक आयसँग जोडिएको छ । राजनीतिक परिवर्तनको जगमा राष्ट्रिय रणनीति मिल्काइएको छ । वित्तीय प्रवाह अभिजात वर्गको कब्जामा परिसकेको छ ।

विश्व पुँजीवादको फन्दामा परेका डिजिटल युजरले खेर फालेको बहुमूल्य समयले कार्बन उत्पादनमा महत्त्वपूर्ण योगदान निभाएको छ । यद्यपि युजरहरू आलोचनाबाट बच्न चाहन्छन् । उनीहरू अनजानमा पृथ्वी र संस्कृतिलाई फोहोर गर्दैछन् । आफ्नै बरबादीलाई सामान्यीकृत गर्न कम्मर कसेर लाग्दैछन् । विश्व पुँजीवाद ‘एआई र क्रिप्टो’लाई वातावरणीय मापदण्डमा राख्न चाहँदैन । उनीहरू बिजुली र पानीको खपतको बारेमा नक्कली चिन्ता गर्दैछन् । राजनीतिक परिवर्तन, पुँजीवादी अवरोध र नाफामुखी प्रविधिले जलवायु न्यायमा ढोँग गरिरहेको छ ।

परिवर्तनको नाममा मुलुकले सबै गुमाएको छ । डिजिटल युजरबाट माथि नउठेसम्म मुलुकले युवापलायन रोक्न सक्दैन । अपमानित हुनबाट बचाउन सकिँदैन । डिजिटल युजरको सट्टा डिजिटल उत्पादकमा हामफाल्ने समय आएको छ । जसको निम्ति एआई-क्रान्तिलाई आत्मसात् गर्न जरुरी छ । मुलुकको अस्तित्व नै खतरामा परिसकेको अवस्थामा परम्परागत कर्मचारीतन्त्र पाल्नुको सट्टा प्रविधिलाई अँगाल्न जरुरी छ । एआई जस्ता उदीयमान प्रविधिलाई जिम्मेवारीपूर्वक चलाउनु अनिवार्य छ । विशेषगरी उपकरणहरू जसले ज्ञान, सिर्जना, रचनात्मक उत्पादन र आर्थिक अवसरलाई पोल्टामा पारेको छ । पारदर्शिता, शासन, डिजिटल अधिकार र प्रविधिलाई सशक्त बनाउने वा थप सीमान्तकृत गर्ने भन्ने बारेमा बहस गर्न आवश्यक छ । कुराकानी प्रदर्शनात्मक सक्रियताभन्दा बाहिर जानुपर्छ र चुपचाप निर्माण भइरहेको प्राविधिक तागत खोतल्नुपर्छ । यदि हामीले यसलाई आकार दिएनौँ भने आफूलाई प्रणालीबाट बाहिर पाउनेछौँ । मुलुकले प्राविधिक जनशक्ति, नागरिक समाज र वित्तीय विज्ञसँग परामर्श गरेर नियामक ढाँचाहरू निर्माण गर्ने समय आएको छ, केवल कार्यान्वयन निकायमात्र होइन । पछिल्लो पुस्ताले स्पष्टता खोजेको छ, राजनीति र अपराधीकरण होइन ।

निःसन्देह युरोप, अमेरिका, अस्ट्रेलिया जस्तो भौतिक विकास मुलुकमा छैन । त्यो स्तरको विकास गर्न समय, बुद्धि, पैसा र देशभक्ति चाहिन्छ । यद्यपि मुलुक हल्ला गरिएजस्तो गरिब पनि छैन । झन्डै हाम्रो जस्तै बङ्गलादेशले १७ करोड जनता पालेको नभुलौँ । मुलुकको समस्या भनेको भ्रष्ट र नालायकहरूलाई लायक पदमा पुऱ्याउँदै पलायन रोज्नु हो । धन, बुद्धि, बल र शिक्षा भएका युवाले कस्तुरी बन्दै विदेशीभूमिमा भौँतारिनु हो । अवसरको खोजीमा पलायन भएको पुस्ताले बुझ्न ढिला भइसकेको छ, सोसल मिडियामा देशभक्ति पोखेर मुलुक बन्दैन/जोगिँदैन । आर्थिक सम्पन्नताको प्राप्तिमा कङ्गाल बनेको पुस्ताले सन्तानको अस्तित्व र पहिचान कायम गर्न सक्दैन ।

अन्तमा, विश्वभर छरिएका नेपालीले बुझ्ने समय आएको छः पहिचान गुमाएर केवल आँखा, जिब्रो, छालाको निम्ति बाँच्ने होइन । तपाईंहरूले जतिसुकै त्याग, तपस्या र देशभक्ति देखाएपनि त्यस मुलुकले तपाईंलाई विदेशीको दर्जाबाट मुक्ति दिने छैन । जब-जब उनीहरूको राजनीति सङ्कटमा आउनेछ, पहिलो लाठी तपाईंहरूको जीवनमा बर्सिनेछ । तपाईं र तपाईंका सन्तान विदेशी भनेर दुत्कारिनेछन् । यसबाट बुझ्नुपर्छ, जस्तो भएपनि, राजनीति जतिसुकै कुहिएको भएपनि अन्ततः उनीहरूले तेरो देश भन्दै पठाउने ठाउँ यही देश नै हुनेछ । त्यसैले सोचौँ, बुझौँ र प्रण गरौँ । नेपाल त नेपालीले नै बनाउनुपर्छ । पुर्खाको रगतले बनेको मुलुक फर्कंदै अस्तित्वको सङ्कटबाट आफू र मुलुकलाई बचाऔँ ।