‘मस्क विद्रोह’ र अमेरिकी राजनीतिको अनुहार !

२७ जेष्ठ २०८२, मंगलबार

वास्तवमा एलोन मस्कले सत्ता-राजनीति बुझेनन् । अस्तित्व र वर्चस्वको नाममा अमेरिकाले विश्वभर गरिरहेको फण्डिङमार्फत आफ्नो साम्राज्य स्थापित गरिरहेका अमेरिकन एलिटहरूको आम्दानी र लुटको मुहान बन्द गरेको सजाय मस्कले भोग्दैछन् । राज्य-स्रोतलाई दोहन गर्दै मोजमस्ती गरिरहेका शक्तिले मस्कलाई राज्यसत्ताको आन्तरिक जरा देखाएका छन् । DOGE मार्फत गरिएको खर्च कटौतीले रन्थनिएका अमेरिकन एलिटहरूले राष्ट्रपति ट्रम्पलाई घेरे । आफ्ना शत्रुको अभियानलाई नजर अन्दाज गरेका मस्क अन्ततः पछारिए ।

यतिबेला राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अमेरिका असुरक्षित बन्दैछ । अमेरिका आर्थिक नीतिको संरचनात्मक असफलताबाट रन्थनिएको छ । वास्तविकताले भनिरहेको छ, अमेरिकाले टेकेको जमिन कमजोर बनेको छ ! व्यापार स्थिरताको जगलाई कमजोर बनाएको छ । उनको असफल नीतिले अमेरिकालाई थप निरीह बनाउँदैछ । यसै समयमा १२० दिने कामबाट मैत्रीपूर्ण तर अनौठो बिदाइपश्चात् ‘मस्क’ चर्चामा छन् । ओभल अफिसबाट मुक्ति पाएका मस्कलाई लिएर हास्य कलाकार जोन स्टीवर्टले ठट्टा गरे- Department of Government Efficiency (DOGE) ले अन्ततः अमेरिकाको सबैभन्दा कम कुशल सरकारी कर्मचारीहरूमध्ये एकलाई उखेलेर फालेको छ ।’

टेस्ला र स्पेसएक्सका सर्वोच्च नेता ट्रम्पसँगै मञ्चमा उफ्रिए, उनको सोसल मिडिया प्लेटफर्म ‘एक्स’मा मेघा प्रोपोगाण्डा चलाए । चुनावी अभियानमा २७७ मिलियन डलर उडाए । राष्ट्रपति निर्वाचनको दौरान नेता ट्रम्पमाथि गोली प्रहार गरियो । सौभाग्यवश हत्या प्रयासबाट बचेका नेता ट्रम्पले आफ्ना समर्थकहरूलाई भने, ‘लड्नुहोस्, लड्नुहोस्, लड्नुहोस्’ । राष्ट्रपति उम्मेदवार ट्रम्पको लड्नुहोस् भन्ने नारालाई लोकप्रिय व्यापारी मस्कले गन्तव्यसम्म पुऱ्याए । रोचक कुरा आज तिनै मस्क राष्ट्रपति ट्रम्पसँग लड्दैछन् । एउटा अव्यवस्थित सम्बन्ध भत्केको छ । प्रसिद्धि, पैसा र अति दक्षिणपन्थीहरूको सहकार्य टुटेको छ । विशाल अहङ्कारले भरिएका दुई सज्जनहरू दुनियाँ हँसाउने गरी झगडामा उत्रिएका छन् । घातक दुई व्यक्तित्वको निम्नस्तरको शाब्दिक लडाइँ कसरी अन्त हुन्छ, विश्वले उत्सुकतापूर्वक हेरिरहेको छ ।

जुन ५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन नीति विधेयकको आलोचना गरेकोमा एलोन मस्कप्रति ‘धेरै निराश’ भएको बताए, जसमा ट्रम्प प्रशासनका धेरै प्राथमिकताहरू समावेश छन् । उनको कम्पनी टेस्लालाई फाइदा पुऱ्याउने बाइडेनयुगको विद्युतीय सवारी कर छुट हटाएपछि दुखी भएको आरोप लगाए । राष्ट्रपति ट्रम्पको आरोपको जवाफी फायर गर्दै मस्कले भने, मेरो सहयोगबिना ट्रम्पले चुनाव हार्न सक्थे । त्यसपछि द्वन्द्वमा नाटकीय वृद्धि भयो । ट्रम्पले सङ्केत गरे, उनी मस्कको व्यवसायसँग अमेरिकी सरकारको सम्बन्ध तोड्न सक्छन्, जुन सम्झौता अर्बौं डलरमा छ ।

गत जुन ५ मा अमेरिकी राष्ट्रपति ट्रम्पले सबैलाई आश्चर्यचकित पार्दै अर्बपति उद्यमी मस्कसँग सम्बन्ध बिग्रेको बताए । राष्ट्रपति ट्रम्प रोकिएनन्, उनले बिहान चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लगभग डेढघण्टा खर्च गरे । उनीहरूले एकअर्कालाई व्यापार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाए । समस्या गत मार्चमा सुरु भयो जब मस्कले ह्वाइट हाउसको जानकारीबिना चीन-नीतिको बारेमा पेन्टागनमा निजी ब्रीफिङ गरे । मस्कको व्यापारिक सम्बन्धको कारण चीनसँग स्वार्थको द्वन्द्व बढ्दै थियो । मस्कले व्यापारिक फाइदाको लागि आफ्नो दुरुपयोग गरिरहेको ट्रम्पको बुझाइ रह्यो । जसले गर्दा ‘ट्रम्प-मस्क’बीच चिसोपन सुरु भयो ।

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले मध्यपूर्वको यात्रा गर्दा मस्कको इच्छालाई स्थान दिएनन् । मस्कको कट्टर प्रतिद्वन्द्वी, ओपनएआईका साम अल्टम्यानलाई अबुधाबीमा स्थापना गरिने विश्वको सबैभन्दा ठुलो एआई डेटा सेन्टर उपलब्ध गराएकोमा मस्क रुष्ट बन्न पुगे । त्यसैगरी ट्रम्पले अचानक नासाको प्रशासकको रूपमा जेरेड आइज्याकम्यानको मनोनयन रद्द गर्ने घोषणा गरे । उनी मस्कका सहयोगी थिए । साथै विशेष सरकारी कर्मचारीको रूपमा मस्क ह्वाइट हाउसमा बस्न चाहन्थे, जुन कानुनद्वारा १३० दिनमा सीमित छ । जबकि उनका विरोधीको कुरालाई राष्ट्रपति ट्रम्पले सम्मान गर्दै उनको बिदा गर्न चाहे ।

वर्तमान विश्वमा युद्ध जमिनमा कम आकाशमा ज्यादा लडिन्छ । युद्धको प्रमुख हतियार ड्रोन बनेजस्तै व्यक्तिलाई पखाल्न या हिरो बनाउन डाटा र सोसल मिडिया प्रमुख हतियार बनिसकेको छ । सुखको कुरा.. मस्कसँग डाटा र सोसल मिडियाको पुँजी प्रशस्त छ । यस तथ्यलाई ट्रम्पले नजरअन्दाज गरेका छन् । मस्क तब बिच्किए, सुन्दर विधेयकको रूपमा पस्किएको खर्च विधेयकप्रति उनको गम्भीर असहमति थियो । उनले १२० दिन लगाएर कटौती गरेको खर्चलाई बढाउने छ । उनको चर्चित काम निरर्थक बन्ने छ । मस्कले सामाजिक सञ्जाल पोस्टहरूमा भने कि यसले २.५ ट्रिलियन डलर बजेट घाटा बढाउनेछ ।

मस्कको आलोचनाबाट राष्ट्रपति ट्रम्प ‘आश्चर्यचकित र निराश’ थिए । केही दिनको अनैतिक आत्मसंयम पछि गत जुन ५ मा ट्रम्पले जवाफ दिँदै भने, ‘एलोन र मेरो सम्बन्ध राम्रो थियो, मलाई थाहा छैन हामी अब रहनेछौँ कि छैनौँ । ‘सामाजिक सञ्जालमा जवाफी प्रहार गर्दै मस्कले लेखेः ‘म बिना, ट्रम्पले चुनाव हार्थे’ । डेम्सले सदनलाई नियन्त्रण गर्ने थिए र रिपब्लिकनहरू सिनेटमा ५१-४९ हुने थिए, यस्तो कृतघ्नता । उनले ट्रम्पलाई महाभियोग लगाउने र पदबाट हटाउने आह्वान गर्ने सामाजिक सञ्जाल पोस्टसँग सहमति जनाए । राष्ट्रपतिले आफ्नै प्लेटफर्म, ट्रुथ सोसियलमा जवाफ दिए कि उनले वास्तवमा मस्कलाई बर्खास्त गरे । ‘एलोन पातला थिए, मैले उनलाई जान भनेँ, मैले उनको जनादेश हटाएँ जसले सबैलाई इलेक्ट्रिक कार किन्न बाध्य पाऱ्यो जुन अरू कसैले चाहँदैनथ्यो र उनी पागल भए !’

यतिबेला विश्व लजाएको छ । राष्ट्रपति ‘ट्रम्प र मस्क’ले हद पार गरेका छन् । थाहा छैन, उनीहरूको द्वन्द्वमा मस्कलाई घाटा या नाफा के हुनेछ तर राष्ट्रपति ट्रम्पलाई निश्चित रूपमा नोक्सान हुनेछ । उनीहरू रोकिएका छैनन्, ट्रम्प थप आक्रामक बन्दै मस्कलाई आरोप लगाउँछन्, ‘पागल मानिसहरूले आणविक हमला गरे ।’ वास्तवमा मस्क व्यक्तिमात्र नभएको सङ्केत गरेका छन् । यतिबेला उनी आफूसँग डाटा बैङ्क भएको महसूस गराउँदै छन् । उनको संस्थासँग बहुमूल्य सम्पत्तिको रूपमा डाटा रहेकोमा ढुक्क छन् । जसको प्रयोग र दुरुपयोग ट्रम्पको टाउकोदुखाइ बन्दैछ । यसै सिलसिलामा मस्कले ट्रम्पलाई दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँग (विगतमा ट्रम्पको कनेक्सन रहेको मस्कले आरोप लगाएका छन् । एपस्टीनले सन २०१९ मा म्यानहटनको जेलमा आत्महत्या गरेका थिए ।) जोडेर जवाफ दिए- ‘साँच्चै ठुलो बम खसाल्ने समय आएको छ: @realDonaldTrump एपस्टाइन फाइलहरूमा छन् । त्यो वास्तविक कारण हो जुन तिनीहरू सार्वजनिक गरिएको छैन । शुभ दिन होस्, DJT !’

सबैले महसुस गरिरहेका छन्, राष्ट्रपति ट्रम्पसँग मस्कको दोस्ती निकै महँगो सावित भएको छ । उनले टेस्लाको शेयर मूल्यमा भारी गिरावटको सामना गरेका छन् । यद्यपि मस्कले सूचना-युद्धबाट बच्न ट्रम्पमाथि पर्याप्त फोहोर जम्मा गरेको सङ्केत गरेका छन् । मस्कको अनुपस्थितिमा सम्पन्न सम्झौताहरूबाट ट्रम्पले प्रशस्त पैसा कमाएको महसूस गरेका छन् । रिपब्लिकन सदस्यहरूको बुझाइमा मस्क एक हस्तक्षेपकारी व्यक्ति हुन् ।

अमेरिकी नागरिकले भर्खरै बुझ्दैछन् कि मस्क र ट्रम्पको ब्रेकअप हुनुभन्दा पहिलेका गडबडी अहिले किन उजागर गरिँदैछ । सरकारी सम्झौताको आर्थिक बोझ र एपस्टाइनले फाइल गरेको आरोप पहिले नै अस्तित्वमा थिए । त्यतिबेला उनीहरू बोलेनन् । अहिले एकाएक सत्यवादी बन्दै पोल खोल्न तँछाडमछाड गर्दैछन् । जसले ट्रम्प र मस्कको विवेक र नियत उजागर गरेको छ । अमेरिकीहरू एकसाथ दङ्ग र निराश छन्, किन कि ट्रम्प र मस्क अमेरिकी जनतालाई लुट्न साझा प्लेटफर्मको वरिपरि भेला भए । जब झगडा पऱ्यो दुवैले एकअर्काको बारेमा पोल खोल्दैछन् ।

मस्कले ट्रम्पसँग हार्न नचाहेमा थुप्रै कुर्बानी दिनुपर्नेछ । ट्रम्पले मस्कको आकर्षक सरकारी सम्झौताहरू रद्द गर्न सक्नेछन् । मस्कका कम्पनीहरूमा, ट्रम्पले पदभार ग्रहण गर्दा रोकिएका अनुसन्धान पुनः खुल्न सक्नेछ । ट्रम्पका सहयोगी स्टीव ब्याननको अतिवादी विचारहरू उनको जीवनमा ठोक्किन सक्नेछ । दक्षिण अफ्रिकामा जन्मेका मस्कलाई देश निकाला गर्न र स्पेसएक्सलाई राष्ट्रियकरण गर्ने ब्याननको आह्वानले सताउन सक्नेछ ।

अन्तमा, व्यापारमार्फत चम्किएका मस्कले पैसा गुमाएर राजनीति सिकेका छन्, हुनसक्छ यही राजनीतिले उनलाई उचाइमा पुऱ्याउन पनि सक्नेछ । उनी असफल भएर अमेरिकालाई कुनै असर गर्ने छैन तर सफल भएमा ट्रम्प-राजनीति धरापमा पर्नेछ । मस्कले सम्झौता गर्न नचाहेको खण्डमा ट्रम्पको धज्जी उडाउन ‘एक्स’को प्रयोग गर्नेछन् । पेन्टागन र गुप्तचर एजेन्सीसमेत स्पेसएक्समा निर्भर भएको समयमा मस्कले डाटाको रणनीतिक दुरुपयोग गर्न सक्नेछन् । ट्रम्प-मस्क द्वन्द्वको नकारात्मक असर भयावह बन्नेछ । त्यस्तो अवस्थामा अमेरिकी राजनीतिको अनुहार थप कुरुप बन्ने देखिन्छ, जसलाई सर्वसाधारण अमेरिकी नागरिक र विश्वले देख्न पाउनेछ । मस्कको कारणले छताछुल्ल कमजोरी छोप्न ट्रम्प प्रशासन नयाँ गडबडीको तयारी गर्दैछ ।