टाट पल्टिएको ओली-राजनीति !
२३ जेष्ठ २०८२, शुक्रबार
तत्कालीन सोभियत सङ्घका राष्ट्रपति ख्रुश्चेव अर्थव्यवस्थामा सुधार ल्याउन अनेक प्रयास गरिरहन्थे । उनी आम जनता र कार्यकर्तासँग २० वर्षमा साम्यवाद ल्याउने सपना बाँड्थे । सपना कसैगरी पूरा गर्ने कसम खान्थे । आफ्नो सपना र कसमलाई पूरा गर्न राष्ट्रपति ख्रुश्चेवले विशाल सुँगुर फार्म खोल्न आदेश दिए । एकदिन कार्यकर्ता र सरकारी अधिकारी लिएर सुँगुर फार्म पुगे । फोटोग्राफरले अनेक पोजमा ख्रुश्चेव र सुँगुरको फोटो लिए ।
राष्ट्रपति ख्रुश्चेव क्रेमलिन फर्केसँगै फोटोग्राफरले कार्यालयमा सम्पूर्ण फोटो बुझाए । सम्पादकले सबै फोटो हेरेपछि क्याप्सन के राख्ने भन्दै सहयोगीसँग छलफल चलाए । ‘सुँगुरको बीच कमरेड ख्रुश्चेव’, ‘कमरेड ख्रुश्चेव र सुँगुर’, ’ख्रुश्चेवको चारैतर्फ सुँगुर’ जस्ता शीर्षकले जन्म लियो । सबै क्याप्सन हेरेपछि सम्पादकले भने- राजनीतिक रूपले उल्लेखित क्याप्सन आक्रामक मानिन सक्छ । गम्भीर सोचविचारपश्चात् सम्पादकले जुक्ति लगाए, ‘बायाँबाट तेस्रोमा कमरेड ख्रुश्चेव’ ।
सोभियत राजनीतिबाट प्रभावित कमरेड ओली लड्दै उठ्दै धुलो टकटक्याउँदै उदाए । ख्रुश्चेवकै शैलीमा सम्भव/असम्भव सपना बाँडे । रेल र पानीजहाजको टिकट बाँडे । भातमात्र खान काम गर्न नपर्ने, धनी हुन काम गर्नुपर्ने भाषण गरे । चौध वर्ष जेलमा बसेर कमाएको सम्पत्तिसमेत राष्ट्रलाई दिन्छु भन्दै ‘बा’ बन्न हौसिए । हवाई सपना बाँड्दै खडा गरेको उनको ‘सोभियत सङ्घ’ दुर्भाग्यवश टाट पल्टियो । मुखले सुशासन र व्यवहारमा कुशासन मात्र पस्किँदा उनको राजनीति ‘यक्ष प्रश्न’ले घेरिएका छन् । नागरिकको अपेक्षा सकिएको समयमा ठुलो षडयन्त्र र कष्टले प्राप्त सत्ता ‘ओलीगार्की’को भरमा चलाउँदै छन् ।
ओलीगार्की ग्रीक शब्द हो, जसको अर्थ ‘थोरै’ अर्थात् थोरै मानिसले ‘शासन गर्नु वा आदेश दिनु’ हुन्छ । यो शक्ति संरचनाको एक रूप हो । जसमा शक्ति थोरै मानिससँग टिकेको हुन्छ । जहाँ राज्यहरू प्रायः परिवारद्वारा नियन्त्रित हुन्छन्, जसले सामान्य रूपमा एक पुस्तादेखि अर्को पुस्तामा उनीहरूको प्रभावलाई स्थापित गरिन्छ । उत्तराधिकारीको चयन गर्दा अवधिको लागि आवश्यक सर्त राखिँदैन । ओलीगार्कीहरू निरङ्कुश हुन्छन् । जनताको अस्तित्वलाई स्वीकार गर्दैनन् ।
रोबर्ट माइकलले विकास गरेको यो सिद्धान्तअनुसार ठुला सङ्गठनहरूमा श्रमको आवश्यक विभाजनले शासक वर्गको स्थापना गर्दछ जुन प्रायः उनीहरूको आफ्नै शक्तिको सुरक्षामा सम्बन्धित हुने गर्छ । ओलीगार्कीको प्रमुख विशेषता अल्पमतको शासन हो । अभिजात वर्ग र व्यवसयिक हितको प्रतिनिधित्व गर्ने समूहहरूले सरकारको नीतिमा ठोस प्रभाव पार्छन् । नागरिक र जनआधारित रुचि समूहको स्वतन्त्र प्रभाव हुँदैन ।
जर्मन समाजशास्त्री रोबर्ट माइकलले पहिलो पटक सन् १९११ मा ओलीगार्कीको असली तागत र रूपलाई व्याख्या गरेका थिए । रोबर्टको थ्योरीमा भनिएको छ कि सबै जटिल सङ्ठनहरू जतिसुकै प्रजातान्त्रिक भए पनि अन्ततः ओलीगार्कीमा विकसित हुन्छन् । रोबर्टले भने, कुनै पनि ठुलो र जटिल सङ्गठनले प्रत्यक्ष लोकतन्त्रको रूपमा काम गर्न सक्दैन, त्यसैले सङ्गठनभित्रको शक्ति जहिले पनि त्यस समूहका व्यक्तिलाई सुम्पिनेछ । रोबर्टको तर्क छ, नेतृत्वलाई उत्तरदायी बनाउने प्रजातान्त्रिक प्रयासहरू असफल हुने छन् ।
यतिबेला मुलुकको अवस्था रोबर्ट माइकलले कल्पना गरेभन्दा किमार्थ फरक छैन । नेता ओलीको नेतृत्वमा ओलीगार्कीको सफल अभ्यास भइरहेको छ । व्यापारी र स्वार्थ समूहसँग नाजायज सम्बन्ध स्थापित गर्दै उनीहरूको सहयोगमा सङ्गठन र मुलुक कब्जा गरिएको छ । कुलिन वर्गको सेवा गर्दै उनीहरूको शैलीमा जीवन गुजार्ने ओली-राजनीति नयाँ मिसाल कायम गर्दैछ । आफ्नो लहड, रुचि, चाहनाको अगाडि पार्टी, विधि, नीति-नियम सबै नतमस्तक हुने विचित्रको अवस्थापछि सबै क्षेत्रमा भक्त, सेवक र नालायकहरूलाई पुरस्कृत गरिँदै छ । अख्तियार, अदालत, कर्मचारी प्रशासन, प्रहरीमात्र हैन अभियन्ता, मिडिया र दलालसम्म आफ्नै मानिसको घेरा तयार गरिएको छ ।
केवल संसदीय अङ्कगणित मात्रले शान्ति स्थिरता, विकास र समृद्धि नआउने बुझ्नासाथ प्रधानमन्त्री ओली ‘म झोले हुँ’ भन्दै राजनीति बचाउन निस्किएका छन् । मुलुकको भूराजनीतिमा अङ्कगणित भन्दा बिजगणित र ज्यामिति हाबी भएको कमरेड ओलीले तेस्रोपटक महसूस गर्न पाएका छन् । चौतर्फी असफलतापश्चात् तिल्मिलाएका कमरेड ओली सोसल मिडिया फोहोर गर्दैछन् । विरोधी र प्रतिस्पर्धीलाई पार्टीबाट निकालेर एमालेको हस्तिनापुर चलाउँदै छन् । आफ्नै मूर्खताले गुमाएको कुर्सी देउवा-आशीर्वादमा प्राप्त गर्दै असङ्ख्य कार्यकर्ता, शहीद र मदनले स्थापित गरेका सिद्धान्त, विचार, कार्यक्रमको अन्तिम संस्कार गर्न ‘झोले अभियान’ चलाउँदै छन् ।
बुर्जुवा शिक्षा बहिस्कार गर्दै भूमिगत आन्दोलनमा होमिएको ‘माले अभियान’लाई नेता ओलीले आजसम्म सम्मान गरेको देखिँदैन । विगतमा ज्यानको जोखिम मोल्दै झोला बोक्ने कमरेडलाई पेल्दै र ठेल्दै चलाइएको झोले अभियान असली नियतले आएको मान्न सकिँदैन । देशभक्त नागरिकले बुझ्नुपर्छ- डुङडुङती गन्हाएको कार्यशैली त्याग्न झोले अभियान चलाइएको होइन । युवालाई स्वदेशमै राख्न, नयाँ-नयाँ उद्योग खोल्न, सम्पूर्ण भ्रष्टलाई पार्टीबाट बिदा दिन, जनतासँग टुटेको सम्बन्ध स्थापित गर्न, सामन्त गोयल जस्ता पात्र र प्रवृत्तिसँग सम्बन्ध तोड्न पनि झोले अभियान चलाइएको होइन । कुर्सी-नसामा गरिएका तमाम अपराध लुकाउन र ओरालो लागेको राजनीति जोगाउन रचिएको षडयन्त्र नै नेता ओलीको झोले अभियान हो भन्ने नागरिकको बुझाइ छ । जनताको झोला बिसाएर दलाल र बिचौलियाको ब्रीफकेस बोक्न पछिनपरेको ओली-राजनीति अकस्मात् किन ‘झोले’ बन्न हौसियो ? आम देशवासीको मगज खल्बलिएको छ । सोभियत सत्ताको अकल्पनीय विघटनपश्चात् ‘जबजवादी’ बन्दै सत्ता-राजनीति जोगाएको एमाले ‘झोले अभियान’मा पुग्ने अवस्था आउनुले नेता ओली कतै ‘नेपाली गोर्भाचेभ’ त बन्दै छैनन् भन्ने प्रश्नले एमाले कार्यकर्तालाई सताउँदैछ ।
कमरेड ओलीसँग मुलुक निर्माणको कुनै कार्यक्रम थिएन । तथापि, मुलुकको कार्यकारी पदमा पुग्न चाहिने षडयन्त्रका सम्पुर्ण अस्त्र र शस्त्र उनको ‘तूणीर’मा थियो । तिनै अस्त्रको प्रयोग गर्दै वामदेव र झलनाथलाई थाङ्नामा सुताए । प्रचण्डलाई ‘अदृश्य लोभ’ देखाउँदै नेकपा बनाए । जब प्रधानमन्त्री ओलीको तमाम कमजोरी सतहमा देखापऱ्यो तब उनी भस्मासुर बनेर उदाए । शान्ति, स्थिरता, समृद्धि, सुशासन केवल कुर्सीप्राप्तिको साधनमा सीमित गरिदिए । समर्थक, विरोधी र प्रतिपक्षीलाई एकसाथ मिलाएर उन्नति, प्रगति र स्थिरताको मार्गमा हिँडाउनुको सट्टा विदेशीको इच्छा र चाहनाअनुसार नेकपा विघटन गर्न राजी भए । उनी राजनीतिक रूपमा टाट पल्टिए ।
जन्मँदै नाति जर्नेल हुने राणाशासन, राजाको छोरा राजा हुने सामन्ती व्यवस्थाको घोर विरोध गर्दै मौलाएको नेपाली वाम आन्दोलन अन्ततः लोग्ने मरे श्रीमती, श्रीमती मरे श्रीमानलाई स्थापित गर्दै बाँचेको छ । रोगी शरीर लिएर केवल एक कार्यकाल एमाले अध्यक्ष बन्न चाहेका नेता ओली कुर्सीसमेत आर्यघाट जान झोले अभियान सुरु गर्दैछन् । उनलाई नजिकबाट चिन्ने र जान्नेहरू अपवादमा उनीसँग छन् । कमरेडबाट ‘बा’, ‘बा’बाट झोले बनेका नेता ओलीको झोलामा के छ ? बुझ्नेहरू गज्जबले हाँस्दैछन् । जबज, गरिबको पीडा, न्याय, सुशासन, देशभक्ति, विकास र समृद्धि मिल्काउँदै उनले बोकेको झोलामा कुण्ठा, षडयन्त्र, कपट, तुच्छ शब्द, काण्डैकाण्ड र ‘ओलीतन्त्र’ बाहेक केही छैन । एउटा लोभलाग्दो पार्टी खराब नेतृत्वको हातमा पर्दा छोटो समयमा कसरी धराशायी बन्छ भन्ने बुझ्न नेता ओलीको झोले अभियान राजनीतिक शास्त्रका विद्यार्थीहरूको निम्ति गहकिलो खुराक बनेको छ ।
हरेक मानिस, निकाय, जात, धर्म र क्षेत्रले आफ्नै ढङ्गले बुझ्दै अर्थ लगाउन मिल्ने झोले अभियानको बाध्यताभित्र गम्भीर अर्थ लुकेको छ । राजनीतिक शक्तिलाई जनताको नासो सम्झिन छोडेको कारणले जन्मिएको झोले अभियान ‘ख्रुस्चेवको सुँगुर पालन’ जस्तै हो भन्ने नागरिकको बुझाइ छ । रित्तिएको त्याग र बलिदानपछि जन्माइएको झोले अभियानले सकारात्मक प्रभाव छोड्न नसक्दा नेता ओली थप रक्षात्मक बन्दैछन् । मिडियाले प्रधानमन्त्रीको शासन र शैलीमा समर्थन योग्य समाचार फेला पार्न सकेको छैन । यही कुरालाई बुझेका नेता ओलीले आम नागरिकको ध्यान अन्यत्र मोड्न चलाएको झोले अभियान बदनाम बन्दैछ ।
जित्नैपर्ने राजनीतिले भ्रष्टाचार निम्त्याउँछ । प्रत्येक व्यक्तिसँग एकमत हुन्छ र हरेक मतको एक र बराबर मूल्य हुन्छ भन्ने लोकतान्त्रिक मान्यता नेता ओलीलाई उचित लाग्दैन । जनता र पार्टीप्रति उत्तरदायी हुने राजनीति उनले खारेज गरिसकेका छन् । ओली र गल्ती एकसाथ हिँड्न असम्भव छ भन्ने मान्यताका धनी नेता ओली, गल्तीमा राजनीतिक निरन्तरता खोज्दैछन् । राजनीतिक प्रतिस्पर्धा शक्तिप्राप्तिको निम्ति हो, नैतिकताको यहाँ कुनै स्कोप छैन भन्दै महाधिवेशन केन्द्रित अभियान चलाउँदैछन् । दुर्भाग्यवश स्थानीय कार्यकर्ता, एमाले समर्थक र शुभेच्छुकलाई निराश बनाएको झोले अभियानले ओली राजनीति नाफामा नजाने निश्चित छ ।