‘परिवर्तन’ खोज्दै परिवर्तन !

वैश्ययुगमा निराशाले प्रभुत्व जमाएको छ । विशेष गरी युवायुवती ज्यादा प्रभावित छन् । ‘ब्रसेल्स’को क्याफेमा बसेको युवा होस् कि ‘क्यानबेरा’मा उन्नतिको झण्डा गाडेको नेपाली मन होस्; उसको विचार, भावना र देशप्रेम निराशाबाट सुरु हुन्छ- ‘नेपाल कहिल्यै नबन्ने भयो !’ सायद उनीहरूको दैनिकी यसैबाट सुरु हुन्छ/हुँदैछ । लाग्छ- यसो भन्नु उनीहरूको ‘रुटिन’ नै हो । राजनीतिक अस्थिरता, आर्थिक चुनौती र सामाजिक विभाजनको रेखा पार गर्दै निरन्तर सङ्घर्षको बीचमा उनीहरूको मन आन्दोलित भइरहेको छ, किन ? यसको जवाफ सायद हत्तपत्त भेटिने छैन । तर, प्रश्नले विश्राम पनि लिने छैन ।

आलोचना महत्त्वपूर्ण र आवश्यक छ । दुर्भाग्यवश सभ्य आलोचना र औचित्यपूर्ण बहस मुलुकबाट हराएको छ । वास्तवमा खराब मात्र देख्दै, सुन्दै र भोग्दै जाँदा युवायुवतीको क्षमतालाई नष्ट गर्छ । उनीहरूको शरीर र जीवनबाट सकारात्मक ऊर्जा गायब हुन्छ, जसको सिकार मुलुक भइरहेको छ । राजनीतिक मुद्दाले घिनलाग्दो मोड लिएको छ । आत्मभावना यति बढेको छ कि वास्तविकतासँग उसको नाता टुटेको छ । भ्रमहरूले यात्रालाई अनिश्चित बनाएको छ । परिणाम निराशामा बदलिएको छ । अस्वीकार फेसन बनेको छ । गन्तव्यको अर्थ बदलिएको छ । अहंकारले पतनलाई स्वागत गरिरहेको छ ।

यतिबेला आन्तरिक अराजकताले मुलुकलाई कमजोर बनाएको छ । समाजको जरा कुहिएको छ । विकृत भावनाले नागरिकलाई गाँजेको छ । समाजलाई बरबाद पारिरहेको छ । सामाजिक एकता टुटाउनेहरू सफल भएका छन् । विकृत सूचनाले आफ्नो काम फत्ते गर्दैछ । आँधीबेहरीको बीचमा ठिङ्ग उभिएको नेपाली समाज लोकतन्त्रको नाममा भताभुङ्ग बनाइएको छ । अभाव र अन्धकारको हरेक मोर्चामा जितेको मुलुक आयातित उपलब्धिमा हारिरहेको छ । मीम्स र ब्यङ्ग्य गर्दै आफैले आफैलाई पखाल्दै छ । विश्वव्यापी धारणा र वास्तविकतालाई त्यागेर कथामा रमाउँदै छ ।

नागरिकले आँखा चिम्लेर पछ्याउने दिन सकिएको छ । रचनात्मक विरोध र प्रतिरोधको सिलसिला जारी छ । असहमति र निन्दाको शैली फेरिएको छ । असफल सरकार र परिवर्तनले राष्ट्रवाद, लोकतन्त्र, घरेलु कथा र इतिहास बेचेर आफ्नो औचित्य बाँकी रहेको देखाउने कोसिस गरिरहेको छ । अझ डरलाग्दो कुरा- खराब र कमजोरीलाई समेत अहङ्कारपूर्वक पस्किन हतारिएको छ, जसले सर्वसाधारणको मनस्थितिलाई दिग्भ्रमित तुल्याउँदै आएको छ । छक्क पर्न जरुरी छैन, सङ्कटहरू आउनेछन् तर पूर्ण शक्तिका साथ पछारिनेछन् । आक्रोशलाई शक्तिमा बदल्ने अभियान छिट्टै सुरु हुँदैछ । पुर्खाको इतिहास र अटुट विश्वासले देशभक्तहरूलाई चार्ज गर्दैछ ।

रणनीतिक पश्चिमा शक्तिले सामाजिक सञ्जाल र कथित विश्लेषकहरूको अनियन्त्रित हमलामार्फत अविश्वसनीय वातावरण हुर्काउन मलजल गरिरहेको छ । पीडित नागरिक र आक्रोशित भीडलाई घृणा र गलत जानकारीको ‘भिटामिन’ खुवाएको छ । आन्तरिक शत्रु कमजोर र पतीत छ । बहुसङ्ख्यकको लागि अस्तित्वगत खतरा पनि छ । सत्ता र शक्तिको उन्मादमा आफूलाई बलियो, श्रेष्ठ र अजय मान्दैछ । फलस्वरूप मुलुक आधुनिक फासीवादतर्फ मोडिँदै छ । सत्ताको तथाकथित सोच, गतिविधि र नागरिकको भ्रम मुलुकको काल बन्दैछ ।

देशभक्ति के हो ? त्यसलाई गम्भीर ढङ्गले बुझ्न भारतको नयाँ संसदमा झुन्ड्याइएको ‘ग्रेटर इन्डिया’ (अखण्ड भारत)को नक्सालाई रिफ्रेन्समा लिन सकिन्छ । जसमा पाकिस्तान, बङ्गलादेश, नेपाल लगायत देशहरूलाई एक विशाल पौराणिक हिन्दु साम्राज्यको भागको रूपमा देखाइएको छ । यसलाई पछिल्लो पुस्ताले नबुझेसम्म हाम्रो अस्तित्व खतरामा परिरहने छ । यसको अर्थ छिमेकीसँग कुस्ती खेल्नु होइन, बहादुरीपूर्वक नेपाल-नीति बनाउनु हो । भ्रष्टहरूलाई राजनीतिबाट बिदा दिनु हो । आत्मनिर्भर अर्थतन्त्रसहितको नेपाल निर्माणमा लाग्नु हो । तबमात्र भारतीय सत्ताले मुलुकको पहिचानलाई सम्मान गर्न बाध्य हुनेछ । कथित व्यवहारलाई सच्याउन मजबुर हुनेछ ।

मुलुकले अनपेक्षित परिणामहरू भोगिरहेको छ । छिमेकी राजनीतिको बढ्दो दबाब -प्रभावले आधुनिक पुस्ताभित्र देशभक्ति र आत्मविश्वासको नयाँ भावना जाग्दैछ । यद्यपि युवावर्गले आफ्ना कमजोरी घटाउन अझै सुरुगरेको छैन । धेरै कठिनाइलाई बोक्दै बलियो, आधुनिक र परिष्कृत मुलुक बनाउने युवासोचले आफ्नो उपस्थिति देखाएको छैन । मुलुकको वास्तविकता युवाले अपेक्षा गरेअनुरूप नभए पनि विशाल दुई छिमेकीको प्रभाव भने देखिनेगरी परेको छ । चाखलाग्दो कुरा के छ भने नाकाबन्दीको बहानामा मोदी-सत्ताले सिंहदरबार र युवा पुस्तालाई अस्थायी रूपमा चीनतर्फ धकेलेको आरोप लगाउन सकिन्छ । भारतीय सत्ताको असली चरित्रलाई उजागर गर्दै बाजले शान्तिको परेवा उडाउँदैन भन्ने जानकारी गराएकोमा मोदी-सत्तालाई धन्यवाद दिन जरुरी छ ।

आयातित परिवर्तनसँग नागरिकको भाग्य बदल्ने कुनै कार्यक्रम थिएन । खतरनाक लक्ष्य वा उद्देश्य बोकेको परिवर्तनलाई मुक्तिदाताको रूपमा प्रस्तुत गरियो । निन्दा, घृणा, तर्कहीनता र फोस्रो भाषणलाई राष्ट्रिय अभियान बनाइयो । स्वार्थी कथाको मार्केटिङ गर्दै मुलुक लुट्ने अभियान चलाइयो । नागरिकको दृष्टिकोण, प्रविधि, व्यावसायिकता, अनुशासन, सिकाइ र सीपलाई समाप्त गरियो । प्रणाली र संस्थालाई बदनाम गराइयो । स्थापित मूल्य र मान्यता समाप्त गरियो । परिवर्तनको नाममा मुलुकलाई प्रयोगशाला बनाइयो । कार्यसम्पादनमा कुनै परिवर्तन गरिएन । अनुहारहरू परिवर्तन गरियो तर प्रक्रिया यथावत् राखियो । सरकारी अक्षमतालाई निरन्तरता दिइयो । अर्थपूर्ण, वैज्ञानिक र व्यावसायिक सुधारबाट मुलुकलाई वञ्चित गरियो ।

राजनीतिक नेतृत्व र परिवर्तनले ‘अग्लो र गर्व’ गर्नलायक काम देखाउन सकेन । आफ्नै विगतको व्यापार गर्दै बदनाम भएको नेतृत्वसँग आम नागरिकको विश्वास टुटेको छ । बलियो प्रणालीको निर्माण गर्न नसकेको या नपाएको परिवर्तनले मुलुकको अस्तित्व सुरक्षित राख्न नसक्ने पुष्टि भइसकेको छ । निष्क्रिय र नोकरशाही प्रणाली बोकेर सुधार र पुनर्निर्माण असम्भव देखिएको छ । निराशा र उदासीनताको खरानीबाट उठ्ने मौका मुलुकले गुमाएको छ । नम्रता, सरलता र तपस्या सकिएको राजनीति मुलुकबाट गायब भइसकेको छ । करदाताको पैसामा मोजमस्ती गरिएको, ठुला सुधारको बन्ध्याकरण गरिएको, सरकारी संस्थाको आमूल परिवर्तन रोकिएको, एकीकृत डिजिटल प्रविधिलाई रोक्दै परम्परागत पद्धतिमार्फत शोषणलाई निरन्तरता दिएको, नातावादको संस्कृतिलाई मलजल गरिएको, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा र डेटा व्यवस्थापन बरबाद गर्ने सर्तमा लादिएको परिवर्तनले आफ्नो काम गरिरहेको छ ।

सेवाग्राहीको भागदौडलाई उल्लेखनीय रूपमा कम गर्न नसकेको परिवर्तन आजसम्म भ्रष्टाचार, ढिलाइ र कर्मचारीको शासन जोगाउन मरिहत्ते गरिरहेको छ । पारदर्शी डिजिटल प्रणालीमार्फत नागरिकसम्म पुग्न नचाहेको सिंहदरबार मुलुकको बोझ बनिरहेको छ । नागरिकले सरकारी कार्यालयमा अनन्त रूपमा भ्रमण गर्नुपर्ने र पर्खने बाध्यता हटाउन नचाहने परम्परागत सोच र कार्यशैलीले परिवर्तनलाई निल्दैछ । नागरिकलाई बैंक वा मोबाइल फोनमार्फत कारोबार गर्न सक्षम बनाउनुको सट्टा ‘लुपहोल’लाई जीवित राख्न सम्पूर्ण ऊर्जा लगाएको छ । सरकारी संस्था एवम् शासनका हरेक पक्षमा प्रविधि, तालिम, योग्यता, सुधार र कागजविहीन प्रक्रियामा ध्यान केन्द्रित नगरेर कार्यकर्ता, दलाल र बिचौलियाको निम्ति बदनाम हुन मन्जुर सोकल्ड नेतृत्वले मुलुकलाई डुबाएको छ ।

सार्वजनिक संस्थामा कट्टर पेशेवरहरूको सट्टा साथीभाइ, आफन्त र पार्टीका मानिसहरूलाई विभाग प्रमुखको रूपमा राख्ने अभ्यासले परिवर्तनको औचित्य सकिएको छ । मानवता, अनुशासन, कर्तव्य, नैतिकता, सार्वजनिक सेवा, तपस्या मुलुकबाट गायब पारिएको पछिल्लो शासनमा निजामति कर्मचारीहरूको उन्नतिबाहेक केही फेला पर्दैन । अपर्याप्त ज्ञान, सिप र डिजिटलरूपमा कमजोर कर्मचारीहरू आधिकारिक इमेलको जवाफसमेत दिन नसक्ने अवस्थामा नागरिकलाई सेवा दिने पद कब्जा गरेर बसिरहेका छन् । उनीहरूको रूपान्तरण वा सम्मानजनक प्रतिस्थापन गर्न नसक्ने सिंहदरबारले कस्तो परिवर्तनलाई उपलब्धि भनिरहेको छ, जो आफैमा शङ्कास्पद छ ।

सुधारको लागि कुनै पनि अभियान सुरु गर्न नचाहेको वर्तमान नेतृत्वले मुलुकलाई खोक्रो बनाउन सम्पूर्ण तागत लगाएको छ । सीमान्तकृत समुदाय र समाजको उत्थान गर्न नचाहेको राजनीतिप्रति नागरिकको आशा र भरोसा सकिएको छ । असफल भएको वर्तमान प्रणाली बचाउन न्यायाधीश, राजनीतिज्ञ र कर्मचारीबाहेक कसैको रुचि देखिँदैन । ‘जुका’हरूको निम्ति ल्याइएको आयातित उपलब्धिलाई जोगाउन नागरिकको खोजी मतदानको दिन गरिने तारतम्य मिलाइएको छ । एक अद्वितीय अवसरले धन्य भएका नागरिक लोकतन्त्रको नसामा कैद भएका छन् ।

अन्तमा, पाब्लो नेरुदाको कविताले चिच्याएर भनिरहेको छ, ‘तपाईं सबै फूलहरू काट्न सक्नुहुन्छ, तर वसन्तलाई आउनबाट रोक्न सक्नुहुन्न ।’ मुलुकवासीले बुझ्नुपर्ने छ- समस्याभित्रै समाधान लुकेको छ । समस्याको गहिराइभित्र एक अजय गर्मी छ । नागरिक प्रतिरोधको उचित समय आएको छ । प्रायोजित कथाहरूको पासोबाट मुक्त हुँदै सत्तासीनहरूको दाबीलाई अस्वीकार गर्न जरुरी छ । पुर्खाले यही गर्दै र सिकाउँदै आएका छन् । राजनीति जतिसुकै भत्केको किन नहोस्, मुलुकको वसन्त फर्कनेछ ।