‘मजबुर’ प्रधानमन्त्री मोदी !

२ जेष्ठ २०८२, शुक्रबार
युद्धविराम जुनसुकै स्वरूपमा भएपनि भारत-पाकिस्तानबीच विश्वासको ठुलो खाडल छ, जसलाई फराकिलो बनाउन चाहने शक्तिहरू सक्रिय बनिरहेका छन् । परिस्थिति जटिल बन्न थप कारण खोजिरहनु नपर्ने अवस्था छ । पछिल्लो युद्धविरामलाई सफलताको रूपमा बेच्न मोदी-सत्तालाई गाह्रो भइरहेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो भूमिकाको दाबी र उत्सव मनाउँदै आएको समयमा भारतीय सत्ता आलोचित बन्नु नपरोस् भन्नेतर्फ केन्द्रित छ । मोदी-सत्ताले युद्धविरामलाई कसरी व्यवहार गर्छ भन्ने कुरा आउने दिनहरूमा महत्त्वपूर्ण हुनेछ । यद्यपि पाकिस्तानको मनस्थिति उत्सवमय छ । यसो हुनुको एकमात्र कारण वर्तमान सङ्कटको सुखद अवतरण हो ।

भारत-पाकिस्तानको वास्तविकता जटिल छ । भारतको आर्थिक वृद्धिदर लोभलाग्दो ढङ्गले बढिरहेको छ । आर्थिक उदारीकरणको कार्यान्वयनपश्चात् आर्थिक प्रगति र असमानता उल्लेखनीय ढङ्गले देखापरेको छ । केवल एक प्रतिशतले राष्ट्रिय सम्पत्तिको लगभग ३३ प्रतिशत ओगटेको छ । विचार व्यक्त गर्न सक्ने ठुलो समूह र सहरी मध्यम वर्गले सत्तालाई रुचाउन छोडेको छ । पाकिस्तानको कथा अलि फरक छ । आर्थिक सङ्कट र भ्रष्टाचारले पाकिस्तानलाई शिथिल बनाएको छ । सरकारले नागरिकप्रति गरेको न्यूनतम सम्झौता पूरा गर्न असफल भएको छ । सरकारले नागरिकको समर्थन प्राप्त गर्न गाह्रो हुँदै गएको छ । गरिबी र आतङ्कवाद सँगसँगै हुर्काउने शक्तिले पाकिस्तानको उन्नति र प्रगति रोकेर बसेको छ । जन्मिँदा प्राप्त गरेको भूभाग (बङ्गलादेश)समेत दुर्भाग्यवश गुमाएको पीडाले उ रन्थनिएको छ ।

हिंसात्मक आक्रमणमार्फत विजयको कल्पना भारतीय दक्षिण पन्थको बाध्यता बनिसकेको छ । राजनीति र सत्ताको आन्तरिक कमजोरी नबुझेका नागरिकको समर्थन प्राप्त गर्न सफल मोदी सत्ताले रणनीतिक मुभ गर्ने उचित समय रोजेकोमा कुनै शङ्का थिएन । प्रधानमन्त्री मोदीको अखण्ड भारत प्राप्तिको दक्षिणपन्थी हतियार भारतीय युवामाझ लोकप्रिय बन्दैछ । रूढिवादी मध्यम वर्गलाई टिकाउन मन्दिरको राजनीति, हिन्दु सांस्कृतिक प्रभुत्वको तड्का मोदी राजनीतिको गहना र शक्ति सावित हुँदै आएको छ । पाकिस्तानको जन्म जसरी र जसले गरेको भएपनि वर्तमानमा उसले सुरक्षा सम्झौता गर्न नचाहेको मोदी–सत्ताको टाउकोदुखाइ बन्दै आएको छ ।

‘आणविक कार्यक्रम र हतियार’ पाकिस्तानको आन्तरिक शक्ति र भूराजनीतिक औजार बनिसकेको छ । दृढतापूर्वक र सम्झौताहीन अडान कायम राख्दै पाकिस्तानले विकास गरेको आणविक क्षमताले अन्तर्राष्ट्रिय महत्त्व प्राप्त गरेको छ, जसले भारतीय सत्ताको मर्ममा प्रहार गरिरहेको छ । नियमित सङ्कट, झडप र सैन्य टकरावका बाबजुद भारत–पाकिस्तान बीच एक किसिमको राजनीतिक सम्बन्ध राख्न बाध्य हुँदै आएको छ । अझ रोचक पक्ष दुवै छिमेकी आणविक शक्तिसम्पन्न भएदेखि आजसम्म पूर्ण युद्धमा होमिएका छैनन् । साथै अन्तर्राष्ट्रिय शक्तिले भारत–पाकिस्तान बीच आणविक युद्ध हुन नदिने अधिकतम कोशिस गरिरहेको छ ।

भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले कुशलतापूर्वक जन्माएको बङ्गलादेशमा ‘राजनीतिक विद्रोह’ रोक्न असफल मोदी–सत्ता पाकिस्तानमा आक्रमण गर्दै राजनीतिक साख जोगाउन चाहन्थ्यो । पहलगाम नरसंहारपश्चात् आइलागेको अवसरलाई नगदमा बदल्ने प्रधानमन्त्री मोदीको चाहना दुर्भाग्यवश पाकिस्तानको आणविक हतियारको कारणले सफल हुन सकेन । भारतको प्रभुत्ववादी महत्त्वाकाङ्क्षालाई बुझी बाह्य सन्तुलन कायम राख्दै निर्माण गरेको आणविक क्षमता र हतियारले अन्ततः भारतीय उद्देश्य र लक्ष्यलाई चक्नाचुर पार्न अहम् भूमिका निभायो । अमेरिकी सत्ताको दाबीअनुसार भारतको अपरेसनले सङ्कटलाई खतरनाक स्तरमा पुऱ्यायो । युद्ध अज्ञात क्षेत्रतर्फ मोडियो । अस्तित्व रक्षाको निम्ति आणविक हतियार प्रयोगको डिलमा पुऱ्यायो । पाकिस्तानलाई सीमित युद्धमा इन्गेज गर्दै वार्तामा आउन दबाब दिनुको सट्टा आणविक युद्धतर्फ धकेलियो ।

फिरोज खानद्वारा लिखित पुस्तक ‘इटिङ्ग ग्रास’ फेरि एकपटक पाकिस्तानी युवाबीच लोकप्रिय बनेको छ । भूरणनीतिक परिवर्तन, राजनीतिक-वैज्ञानिक व्यक्तित्व र रणनीतिक विश्वास कसरी विकास गरियो भन्ने उक्त पुस्तकबाट बुझ्न सकिन्छ । आणविक क्षमताको लागि पाकिस्तानले सामना गरेका चुनौतीहरूको प्रस्तुति आकर्षक ढङ्गले गरिएको छ । सन् १९७१ मा भोगेको पराजय र विखण्डनपश्चात् मुलुकको दीर्घकालीन अस्तित्व आणविक हतियारबिना सम्भव छैन भन्ने पाकिस्तानले बुझ्यो । सुरक्षाको निम्ति अचुक र अनिवार्य मानिएको आणविक हतियारको यात्रामा पाकिस्तानले असङ्ख्य बाधाहरूको सामना गुऱ्यो । पश्चिमी प्रतिबन्ध, आलोचना, अमेरिकी विरोध र निरन्तर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरह्यो । कठिन प्रयासपश्चात् प्रभावकारी सफलता चुमेरै छोड्यो । ठुलो मूल्य चुकाएर प्राप्त गरेको आणविक सफलताले पाकिस्तानको सुरक्षा सुनिश्चित गरेको भारतीय सत्ताको टाउकोदुखाइ बनिरहेको छ ।

भारत-पाकिस्तान राजनीतिले हुर्काउँदै आएको अर्थहीन आक्रोशले निर्दोष नागरिकको रगत पिउँदै आएको छ । विश्वभर आगो लगाउँदै आएको अमेरिकाले पाकिस्तानमा लागेको ‘मोदी आगो’ कम्तीमा अहिलेको लागि निभाएको छ । यद्यपि मध्यस्थता गरिएको शान्तिले पहलगामको त्रासदीलाई ‘शक्ति राजनीति’को संसारसँग जोडेर बिदा लिएको छ । विज्ञानले चमत्कार गरेको पछिल्लो संसारमा चार जना व्यक्तिले पहलगाममा २६ निर्दोष मानिसको हत्या गर्दै जादुमय ढङ्गले गायब भएको घटनाले भारतको आन्तरिक सुरक्षा अवस्था उजागर गरेको छ । मोदी-सत्ताले धर्मलाई पहिचानको राजनीति बनाएको अवस्थामा धर्म सोधेर गरिएको नरसंहार मौलिक रूपमा पाकिस्तानको उत्पादन थिएन भन्ने थुप्रै आधार भेटिन्छन् ।

सन् १८५७ झन्डै आठ लाख जनताको हत्या गर्दै दबाइएको भारतीय स्वतन्त्रता आन्दोलन र विद्रोह भविष्यमा उठ्न नदिन बेलायती उपनिवेशवादले ‘हिन्दु-मुस्लिम’ धार्मिक राजनीतिलाई दक्षिण एसियामा हुर्काएको थियो । यसलाई उनीहरूले ‘डिभाइड एट इम्पेरा’ भनिरहे । रोचक कुरा पहिचानको राजनीति गर्ने लोकप्रिय भारतीय नेता तत्कालीन समयमा उपलब्ध थिएनन् । पहलगाम नरसंहारले एउटा गम्भीर सङ्केत गरिरहेको छ । विश्वको आर्थिक शक्तिमा तेस्रो स्थान प्राप्त गर्न मरिहत्ते गरिरहेको ब्रिक्स सदस्य राष्ट्र भारतलाई सैन्य गतिरोधमा फसाउन रचिएको पहलगाम घटना समयमा रोक्न नसक्नु मोदी-सत्ताको गम्भीर कमजोरी मान्न सकिन्छ । बहुध्रुवीय संसारका प्रमुख स्तम्भहरू खुलेर आएको विश्व राजनीतिमा भारतको सङ्कट चुलिएको छ । प्रस्ट भाषामा भन्नु पर्दा ब्रिक्सको संस्थापक नेता रुसले बहुध्रुवीय विश्व-राजनीतिमा एउटा कित्ताको नेता बन्न मरिहत्ते गरिरहेको छ । जसलाई रोक्न या विलम्ब गर्न पश्चिमले प्रोक्सी युद्ध जन्माएको आरोप लगाउन सकिन्छ । ब्रिक्स संस्थापक सदस्य भारतले प्रतिद्वन्द्वी देश पाकिस्तानलाई शक्तिशाली समूहमा सामेल गर्न नचाहनु स्वाभाविक छ । यही तथ्यलाई बुझेको शक्तिले भारत-पाकिस्तान युद्धको वातावरण निर्माण गर्दै ‘ब्रिक्स’को बहानामा चीन र रुसलाई रोक्न चाहेको बुझ्न सकिन्छ ।

भारत-पाकिस्तान टेन्सनको बीच मस्कोको रेड स्क्वायरमा सम्पन्न मन्त्रमुग्ध विजय समारोह ब्रिक्सको लागि एक महत्त्वपूर्ण क्षण थियो । रेड स्क्वायरको उपस्थितिमा ग्लोबल साउथका हेवीवेटहरू थिए । क्युबा, भेनेजुएला, ब्राजिल, इजिप्ट, बेलारुस, म्यानमार, भियतनाम, नेटो सदस्य राष्ट्र सर्बिया र स्लोभाकियाका प्रमुख समेतको उपस्थितिले राष्ट्रपति ट्रम्पको खुसी खोस्दै थियो । पश्चिमाहरूको चुनौती बन्दै गरेको ‘ब्रिक्स’लाई बलियो बन्न नदिने ट्रम्प-नीतिको सिकार भारत बन्दै गरेको आरोप सत्यतामा परिणत भएको छ । नेता मोदीलाई मस्को र बेइजिङसँग अतिरिक्त हिमचिम बढाउन रोक्ने षडयन्त्रअन्तर्गत सुरु गराइएको ‘दक्षिण एसिया तनाव’मा अमेरिकी इच्छा र चाहना खुलेर प्रकट भएको छ । पाकिस्तान ब्रिक्समा समावेश हुन तीव्र रूपमा उत्सुक छ, भारतले अवरोध नगरेमात्र पूर्ण सदस्य बन्न सक्छ । गत अप्रिल २२ मा घटाइएको पहलगाम आतङ्कवादी हमलामार्फत पाकिस्तान, ग्लोबल साउथ र ब्रिक्स राष्ट्रबीच कलहको बीउ छर्ने खेल खुलेर प्रकट भएको छ ।

‘अपरेसन सिन्दूर’ सुरु गर्दा प्रधानमन्त्री मोदी अति विश्वासमा थिए । आणविक शक्तिसम्पन्न पाकिस्तानविरुद्ध ब्यालिस्टिक मिसाइल, ड्रोन, हाइब्रिड हतियारसहित सुरु गरेको अपरेसन सिन्दूर वाशिङ्गटनको अतिरिक्त सक्रियतापश्चात् स्थगित गर्न बाध्य पारिँदा उसको छविमा नमिठो धक्का लागेको छ । स्वयम् आतङ्कवाद र आर्थिक सङ्कटले थलिएको पाकिस्तानलाई सबक सिकाउन हौसिएको मोदी-सत्ता सङ्कटलाई गिजोलेर फर्किएको छ । ‘जम्मु र कश्मीर’लाई दिँदै आएको स्पेसल स्ट्याटस आर्टिकल ३७० खारेज गरेर चम्किएका प्रधानमन्त्री मोदी, सन् १९७२ मा सम्पन्न सिमला सम्झौता र शान्ति सन्धि खारेज गराउने पश्चिमी चालमा फस्न पुगेका छन् । पहलगाम नरसंहारविरुद्ध चलाइएको स्पेसल मिसन स्थगित गर्न बाध्य हुँदा मोदी-सत्ता नयाँ सङ्कटमा फसेको छ । रणनीतिक ढङ्गले गिराइएको भारतीय सुरक्षा निकायको मनोबल उकास्न नेता मोदी निर्णायक युद्ध लड्न मजबुर हुनेछन् । अन्यथा उनको राजनीतिक बहिर्गमन छिट्टै हुनेछ ।