भारतीय मिडियाको मिसन ‘इराक’ !
३० बैशाख २०८२, मंगलबार
वैश्य युगमा शक्ति, सत्ता र कुर्सीलाई सम्पूर्ण सत्य मान्ने, देशको सुरक्षा हितलाई देखाउँदै राज्यको स्रोत र साधनको अन्तहीन दोहन गर्न चाहने शक्तिले राजनीति कब्जामा लिएको छ । सत्ताको धज्जी उडाउने बहानामा मिडिया दुरुपयोग बढ्दै छ । सत्ताको डरलाग्दो शोषणमा राजनीति थप बरालिएको छ । शक्तिशाली बनेर उदाएको इलेकट्रोनिक मिडिया शासन गर्न हौसिएको छ । अपवाद बाहेक सम्पूर्ण इलेक्ट्रोनिक मिडियाको प्रस्तुति पछिल्लो समयमा उन्मादपूर्ण बन्दै गएको छ । अनुसन्धानबिना सतही आरोप लगाउने, प्रतीक्षा नगरी भ्रमपूर्ण समाचार पस्किने, स्वार्थ समूह र ठुला व्यापारिक घरानाद्वारा नियन्त्रित मिडियाले सर्वसाधारण नागरिकलाई दिग्भ्रमित गर्दै आएको छ । विषय बस्तुको सत्यता बुझ्न भन्दा मिडियाको इच्छाअनुसार आम नागरिक धारणा बनाउन हतारिएका छन् ।
यतिबेला मोदी-सत्ताले युद्ध बिसाएको छ । ‘बाध्यात्मक युद्धविराम’पश्चात् भारतीय मिडियाले युद्ध लडिरहेको छ । भारतीय राजनीतिमा मिडिया-उन्माद मौलाउँदै छ । राजनीतिक वातावरण बिगार्न सम्पूर्ण ऊर्जा लगाउँदै छ । मिडियामा देखिएको उग्र राष्ट्रवाद र हेजेमोनिक दृष्टिकोण भारतीय अभिव्यक्ति बनेर उदाएको छ । यसै समयमा ‘पेड’ पत्रकार र मिडियाहरू सत्ताको हतियार बनिरहेका छन् । कट्टरतालाई बढावा दिन धर्म र मिडियाको गम्भीर दुरुपयोग गरिएको छ । मिडिया पागलपनको सीमा नाघेको छ । घृणा फैलाउने र प्रतिद्वन्द्वी देशविरुद्ध बदलाको माग गर्ने टिभी च्यानलहरूले विचित्रको युद्ध लडिरहेका छन् । पत्रकारिताको न्यूनतम मूल्य र मान्यताको धज्जी उडाउँदै सम्पूर्ण सीमा पार गरेका छन् ।
उग्र राष्ट्रवादको चपेटमा भारतीय पत्रकारिता दुब्लाउँदै छ । पूर्वाग्रहरहित समाचार, सूचनाको सङ्कलन र प्रसार व्यापक रूपमा उठाउने वातावरण धुमिल भएको छ । निष्कर्षमा पुग्ने अवस्था भारतीय मिडियाले रोकेको छ । ‘अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यता’ पश्चिमी देशहरूले आफ्नो शक्ति बिस्तारको निम्ति जन्माएका हतियार हुन् । अप्रमाणित रिपोर्टहरू तयार गर्दै कमजोर देशविरुद्ध सैन्य कारवाहीको वातावरण निर्माण गर्न प्रयोग गरिएको आधुनिक मिडिया सञ्जाल आफैमा डरलाग्दो हतियार हो । स्वतन्त्रताको आनन्द उठाउने नाममा पश्चिमी शक्तिले उत्पादन गरेको मिडिया षडयन्त्र गरिब मुलुकले बुझ्न र थेग्न सक्दैन । ‘राष्ट्रिय सुरक्षा र विदेश नीति मामिलामा’ संवेदनशील मानिने विषयलाई मिडिया स्वतन्त्रताको नाममा खुला छुट दिन सकिँदैन । निश्चित रूपमा केही प्रतिबन्धहरू अनिवार्य जरुरी छ । दुर्भाग्यवश स्वतन्त्रताको नाममा ढोकाबाट छिरेका आधुनिक मिडियाले भारतीय नागरिकको ब्रेनवास गरेको मोदी-सत्ताले लुकाएको छ ।
विश्व–राजनीतिमा यतिबेला मिडिया दुरुपयोगको अन्तिम युद्ध चलिरहेको छ । कथाको प्रमुख र महत्त्वपूर्ण विषय काटेर पस्किने गरिएको छ । उदाहरणको निम्ति सन् २००० को सुरुवातमा ‘न्यु योर्क टाइम्स’ले पुलित्जर पुरस्कार विजेता पत्रकार जुडिथ मिलरद्वारा इराकमा आम विनाशकारी हतियार भएको विस्तृत रिपोर्ट प्रकाशित गऱ्यो । उक्त रिपोर्ट प्रकाशन प्रसारण गर्नुको एक मात्र उद्देश्य अमेरिकाद्वारा इराकमा आक्रमण गर्नु थियो । आफ्नो आक्रमणलाई औचित्य प्रदान गर्न गरिएको एउटा रणनीतिक बदमासी थियो । ततपश्चात् युद्ध लादियो । लाखौँ मानिस मारिए । एउटा शान्त मुलुक बरबाद पारियो । इराकलाई उठ्नै नसक्ने गरी ध्वस्त पारियो । अमेरिकाद्वारा गरिएको युद्ध अपराधलाई पत्रिकाले पूर्ण रूपमा समर्थन गऱ्यो ।
‘इराकमा जैविक, रासायनिक र आणविक हतियारको विवरण कहिल्यै स्वतन्त्र रूपमा प्रमाणित नभएको अवस्थामा न्यु योर्क टाइम्सले लेख्यो ।’ जब इराक ध्वस्त पारियो, सन् २००४ मा रिपोर्टिङ शङ्कास्पद बुद्धिमत्तामा आधारित थियो भन्दै न्यु योर्क टाइम्स आफैंले स्वीकार गऱ्यो । अमेरिकामा बसिरहेका विवादास्पद इराकी नेता अहमद चालबीको भ्रमित स्रोतमाथि भर पर्दै विश्वको प्रभावशाली पत्रिकाले बलण्डर गऱ्यो । ‘द टाइम्स एन्ड इराक’ शीर्षकमा प्रकाशित एउटा नोटमा सम्पादकहरूले स्वीकार गरे कि ‘धेरै घटनाहरू कभरेज जति कठोर हुनुपर्ने थियो त्यति कठोर थिएनन्’ । उनीहरूले ‘इराकमा हस्तक्षेप गर्ने अमेरिकी अधिकारीहरू’को दाबी घुमाएर स्वीकार गरे ।
यतिबेला विश्वले बुझ्न पाएको छ- इराकमाथिको आक्रमण झूटा आधारमा गरिएको थियो । न्यूजवीकका तत्कालीन सम्पादक फरीद जकारियाले सन् २००३ मा इराकमाथिको आक्रमणलाई समर्थन गरेका थिए । इतिहास दोहोरिएको छ, आधुनिक मिडिया युद्धको नाममा अत्यन्तै क्रूर देखिएका छन् । दुर्भाग्यवश भारतीय इलेकट्रोनिक मिडियालाई युद्धको हतियार बनाइएको छ । सन् १९३० को दशकदेखि गुन्जिरहेको उग्र राष्ट्रवाद, जातीय राष्ट्रवाद, धार्मिक राष्ट्रवाद र छिमेकी विरुद्ध फैलाइने घृणा राजनीति भारतीय राजनीतिमा लोकप्रिय र अत्यावश्यक बनिरहेको छ । सन् १९३०-१९४० को दशकमा यहुदीलाई स्वीकार गर्न अनिच्छा देखाउने अमेरिका दोस्रो विश्वयुद्धको सफलता पछि इजरायल जन्माउन बेलायतलाई उक्साएको घटना भारतीय मिडियाले अनदेखा गरे पनि मोदी सत्ताले बुझ्न जरुरी छ ।
डोनाल्ड ट्रम्पले आफूसँग असहमत हुने जो-कोहीलाई ‘अति वामपन्थी’, ‘मार्क्सवादी’ या ‘कम्युनिस्ट’को लेबल लगाउने प्रवृत्ति सम्भवतः भारतीय मिडियाले सिकेको हुन सक्छ । सुरुवाती समयमा डोनाल्ड ट्रम्पको व्यापारिक मेन्टोर वकिल रोय कोहनले एक प्रभावशाली युवाको रूपमा म्याकार्थीवादको (म्याकार्थीवाद-कुनै खास सोचका मानिसलाई मिडियाको प्रयोग गर्दै समाजबाट अलगथलग गर्ने नीति) प्रयोग गरेको मोदी मिडियाले रुचाएको बुझ्न सकिन्छ । अमेरिकी सेनाले नाजी शासनलाई पराजित गर्न वास्तवमै महत्त्वपूर्ण भूमिका खेलेको थियो । हिट्लरको अवसान र स्टालिनको उदयपछि युरोपियन मुलुकहरूले गम्भीर ढङ्गले महसूस गरे कि आफ्नो सुरक्षाको निम्ति अमेरिकाको भर पर्न जरुरी छ । यद्यपि युक्रेनको वर्तमान अवस्थापछि युरोपेली नागरिकले राष्ट्रपति ट्रम्पलाई आफ्नो सुरक्षा र स्थिरताको लागि सबैभन्दा ठुलो खतराको रूपमा हेर्न थालेका छन् । इजरायलले नाजीहरूको नक्कल गर्दै हमासको नरसंहार गरेको रुचाउने भारतीय मिडिया राष्ट्रपति ट्रम्पको शरणमा पुगेका छन् ।
भारतीय सर्वोच्च अदालतका पूर्व न्यायाधीश मार्कण्डेय काट्जुले छिमेकी विरुद्ध युद्धको ढोल बजाउनुअघि पहलगाम त्रासदीको अनुसन्धानलाई जोड दिएका थिए । दुर्भाग्यवश आरएसएस प्रमुखले भारतीय पर्यटकहरूको पहलगाम नरसंहारलाई धार्मिक हतियार बनाउन अधिकतम कोसिस गरिरहे । जसलाई भारतीय मिडियाले लोभलाग्दो ढङ्गले प्रस्तुत गरे । पाकिस्तानमाथि औँला उठाउन पर्याप्त प्रमाण सङ्कलन गर्दै प्रमाणित गर्नुको सट्टा युद्धको हावा भर्न उद्यत् देखिए । प्रधानमन्त्री मोदीका अनुयायीहरू उनको देवत्व, दाबी र कार्यक्रमलाई स्वीकार गर्न हतारिए ।
नोभेम्बर २००८ मा घटाइएको मुम्बई आतङ्कवादी आक्रमणपछि, पूर्व आरएसएस प्रमुख के. सुदर्शनले पाकिस्तानमा आणविक आक्रमणको वकालत गर्दै देशलाई तेस्रो विश्वयुद्धको लागि तयार हुन आव्हान गरे । यद्यपि उनको आक्रामक अन्तरवार्तालाई तत्कालीन भारतीय सत्ता र नागरिकले रुचाएनन् । सौभाग्यवश, त्यतिबेला भारतको नेतृत्वमा शान्त नेता मनमोहन सिंह थिए । उनले मुम्बई नरसंहारको लागि आफ्नो गृहमन्त्रीलाई बर्खास्त गरे तर युद्धको ढोल बजाउन अस्वीकार गरे । फगत निर्वाचन जित्न राष्ट्रवादी पागलपनको सहारा लिएनन् । सन् २००९ को चुनाव जित्दै पाकिस्तानसँग शान्तिवार्तामा संलग्न भए ।
न्यु योर्क टाइम्सले पहलगाम नरसंहारमा पाकिस्तानको संलग्नता रहेको भारतको दाबीलाई समर्थन गर्न स्पष्ट प्रमाणको अभाव भएको बताएकै समयमा मोदी सत्ताले पाकिस्तानमा आक्रमण गर्दै युद्धको बिगुल फुक्यो । कश्मीरी आत्मनिर्णयको सन्दर्भमा आतङ्कवादको जैविक जरालाई नदेख्ने मोदी-सत्ताले हरेक घटनामा ‘पाकिस्तानको हात’ देख्ने परम्परागत मान्यतालाई थप आक्रामक ढङ्गले प्रचारप्रसार गर्न हौसियो । यहाँ भारतीय मिडियाले बुझ्न जरुरी छ- शुद्ध आतङ्कवादले जात, धर्म, भूगोल सोधेर/खोजेर नागरिकको हत्या गर्दैन । पहलगाम घटनामा राजनीतिक आतङ्कवाद देखिएको छ, जुन आफैमा मिसनको रूपमा प्रयोग गरिएको भेटिन्छ । इराक र सद्दाम समाप्त गर्ने नाममा रचिएको अमेरिकी कथाले ९/११ जन्मायो । हजारौँ अमेरिकी नागरिकको ज्यान लियो । इराक अफगान नागरिक नरसंहारको कारण बन्न पुग्यो । विश्वको शान्ति खोसियो । नयाँ-नयाँ आतङ्कवादी दस्ता जन्मियो । अमेरिकी दमनले आतङ्कवाद घटेन, झनै मौलायो । उल्लेखित खुला किताब मोदी सत्ताले अनदेखा गर्नु र भारतीय मिडियाले प्रश्न समेत नगर्नुले पहलगाम घटना कतै स्क्रीप्टेड त थिएन भन्ने आवाज युद्धविरामपश्चात् उठ्दै छ ।
निःसन्देह पाकिस्तानभित्र अनेकौँ आतङ्कवादी सङ्गठनको अस्तित्व रहँदै आएको छ । दुर्भाग्यवश आतङ्कवादी सङ्गठनको चपेटमा पाकिस्तान र पाकिस्तानी नागरिकसमेत पर्दै आएका छन् । पाकिस्तानमा मौजुद आतङ्कवादी सङ्गठन कसले, कसरी र किन जन्मायो भन्ने गम्भीर प्रश्नको निष्पक्ष जवाफ खोज्दै नागरिकसम्म सत्य तथ्य पुऱ्याउनुको सट्टा कथित भ्रम छर्ने भारतीय मिडियाको कार्यशैली दुर्भाग्य बनिरहेको छ । पाकिस्तान युद्धमा गम्भीर असफलतापश्चात् भारतीय सत्ताभित्र आन्तरिक कलह बढ्दैछ । जसलाई रोक्ने र छोप्ने जिम्मा मिडियाले उठाएको छ । इराक घटना दोहोऱ्याउन न्वारनदेखिको बल लगाइरहेका भारतीय मिडिया अकस्मात् सम्पन्न युद्धविरामपश्चात् रन्थनिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको सक्रियतामा सम्पन्न युद्धविराम भत्काउने कोसिस जारी छ । ‘दक्षिण एसियामा इराक जन्माउने’ भारतीय मिडियाको मिसन र डिपस्टेटको तथाकथित सक्रियता प्रधानमन्त्री मोदीको सम्बोधनपश्चात् थप डरलाग्दो बन्दैछ ।