‘डूमस्डे क्लक’ र भारत-पाकिस्तान टेन्सन
२४ बैशाख २०८२, बुधबार
भनिन्छ, ‘वर्तमान समयमा अमेरिका, चीन र रुससँग मानव सभ्यता नष्ट गर्ने सामूहिक शक्ति छ । ’ तथापि उनीहरूले आफ्नो ‘शक्ति र जिम्मेवारी’लाई गम्भीरतापूर्वक लिएको खण्डमा विश्वव्यापी खतरालाई रोक्न सक्ने छन् । निर्दोष नागरिकले बाँच्न पाउने वातावरण निर्माण गर्न सक्नेछन् । दुर्भाग्यवश विश्व राजनीति त्यसतर्फ नगएको ‘डूमस्डे क्लक’ (Doomsday Clock)ले इसारा गरिरहेको छ । सर्वसाधारण नागरिक टुलुटुलु हेर्न विवश छन् ।
यतिबेला मानव सभ्यता पतनको धेरै नजिक पुगेको छ । वैज्ञानिकहरूले निर्धारण गरेको मापन डूमस्डे क्लक अर्थात् ‘प्रलयको घडी’ केवल ८९ सेकेन्ड बाँकी छ । विश्व खतरालाई मध्यरात निर्धारण गर्दै ८९ सेकेन्ड सेट गरिएको घडीमा एक सेकेन्ड ‘मध्यरात’को नजिक पुगेको छ । जसलाई बुलेटिन अफ द एटोमिक साइन्टिस्ट्सले घोषणा गरेको छ । समाजमा परमाणु हतियारहरूको खतरा मापन गर्न प्रयोग गरिएको डूमस्डे क्लक सन् १९४७ मा निर्माण गरिएको थियो । अमेरिकी म्यानहट्टन परियोजनामा काम गर्ने वैज्ञानिकहरूले विश्वको पहिलो आणविक विस्फोटको दुई वर्षपछि परिकल्पना गरिएको घडीले मानवतामाथि हुने खतराको बारेमा ध्यान केन्द्रित गरेका थिए । मध्यरातको ७ मिनेटपूर्व सेट गरिएको यो घडी संसारको अन्त्य कहिले हुन्छ भन्ने भविष्यवाणी गर्ने उद्देश्यले गरिएको थिएन ।
विश्व-राजनीतिले ल्याउने खतरालाई बुझ्दै संस्थाले प्रत्येक वर्ष घडीको समय निर्धारण गर्दै आएको छ । यो अगाडि, पछाडि वा उस्तै रहन सक्छ । सन् २०१० पछि यथास्थितिमा रहेको घडी पछिल्लो समयमा मध्यरातको नजिक सर्दै गएको छ, जसले विश्व राजनीतिमा डरलाग्दो उतार-चढाव आएको सङ्केत गरिरहेको छ । अनियन्त्रित जलवायु परिवर्तन, आणविक हतियारको आधुनिकीकरण र ठुलो आकारको आणविक हतियारको उत्पादन एवम् भण्डारण बढ्दै जाँदा ‘डूमस्डे क्लक’ मध्यरातको नजिक अर्थात् खतराको नजिक पुग्दैछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा, प्रलयको घडीलाई वैज्ञानिकहरूले तीन पटक मध्यरातको नजिक सारेका थिए । उनीहरूले आणविक हतियारको प्रयोग र प्रसारको बारेमा विचलित पार्ने टिप्पणीहरू गरेका थिए । साथै जलवायु परिवर्तनमा अत्यधिक वैज्ञानिक सहमतिमा अविश्वास व्यक्त गरेका थिए । पछिल्लो समयमा संस्थाले कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न खतराहरूको बारेमा चेतावनी दिएको छ । सैन्य अपरेसनमा एआईको प्रयोग, इन्टरनेटको गलत प्रयोग या अप्रामाणिक र भ्रमपूर्ण जानकारी फैलाउन एआईको प्रयोग गरिएको छ । गलत सूचना पत्ता लगाउन समेत मुस्किल हुँदै गएको छ ।
संस्थाले चुनावलाई उल्ट्याउने, झूट र षड्यन्त्र सिद्धान्तको फैलावटलाई सहयोग गर्ने, विज्ञानलाई बेवास्ता गर्ने र अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारलाई दबाउने विश्वव्यापी राजनीतिक नेताहरूको निन्दा गरेको छ । अन्तिम पटक प्रलयको घडीमा खतराको समय अगाडि बढाइएको बेला ‘बुलेटिन अफ द एटोमिक साइन्टिस्ट्स’को प्रेस विज्ञप्तिले एआईलाई बढ्दो अस्तित्वगत खतराको रूपमा पहिचान गरेको थियो । मध्यरात नजिकिँदै गरेको एक सेकेन्डको टिकटिकलाई ‘चरम खतराको सङ्केत’ मानिनुपर्छ । राजनीतिक नेताहरूलाई आणविक जोखिम, जलवायु परिवर्तन र जैविक रोगहरूको फैलावटलाई नियन्त्रण गर्न कदम चाल्न आह्वान गर्दै गैर-नाफामुखी संस्थाले भनेको छ- आणविक हतियारको प्रयोग, कृत्रिम बुद्धिमत्ता, विश्वव्यापी जलवायु सङ्कट र इजरायल-हमास युद्ध र रुस-युक्रेन युद्ध मानवताका लागि विश्वव्यापी खतरा बनिसकेको छ ।
किथ पेनले सन् २०१० मा लेखेका थिए, ‘प्रलय घडी’ले आणविक परीक्षण र औपचारिक हतियार नियन्त्रणका क्षेत्रहरूमा विकासको प्रभावलाई बढाइचढाइ गरेको छ ।’ सन् २०१८ मा ट्रिस्टिन हपरले स्वीकार गरे, ‘जलवायु परिवर्तनको बारेमा चिन्ता गर्नुपर्ने धेरै कुराहरू छन् तर जलवायु परिवर्तन आणविक विनाशजस्तो हुने छैन ।’ डूमस्डे घडीले आणविक युद्ध वा वातावरणीय पतन जस्ता विश्वव्यापी विपत्तिलाई जनाउने हो, कुनै खास घटनाको भविष्यवाणी गर्ने होइन । वैश्ययुग भयानक परिस्थिति बोकेर आएको छ । सन् २०२५ को प्रत्येक सेकेन्डले विश्वव्यापी प्रकोप र स्पष्ट चेतावनी बोलिरहेको छ । आणविक हतियार, जलवायु परिवर्तन, जैविक विज्ञानको सम्भावित दुरुपयोग र आधुनिक प्रविधिबाट उत्पन्न खतराले विश्वलाई थप पिरोल्दैछ । शक्तिशाली मुलुकहरूको कारणले मानवता विनाशको नजिक पुग्दैछ । स्पष्ट सङ्केतका बाबजुद मुलुकले मार्ग परिवर्तन गर्न आलटाल गरिरहेका छन् । जसलाई बुझ्न नोबेल शान्ति पुरस्कार विजेता जुआन म्यानुएल सान्तोसको भनाई, ‘डूमस्डे घडी गहिरो विश्वव्यापी अस्थिरता र भूराजनीतिक तनावको क्षणमा घुमिरहेको छ’ भन्ने काफी छ ।
बुलेटिन अफ द एटोमिक साइन्टिस्ट्सले जलवायु परिवर्तन, आणविक हतियारको प्रसार, मध्यपूर्वमा अस्थिरता, महामारीको खतरा र सैन्य अपरेसनमा कृत्रिम बुद्धिमत्ताको समावेश जस्ता खतरालाई उद्धृत गर्दै वार्षिक घोषणा गरेको छ । उनीहरूको मूल्याङ्कनमा मानवता अन्त्यको नजिक छ । प्रलयको घडी विगत दुई वर्षदेखि मध्यरातमा ९० सेकेन्डमा उभिएको थियो । आणविक कार्यक्रम विकासमा उत्तर कोरिया, रुस र चीन जस्ता देशहरू बीचको सहकार्य, युक्रेनविरुद्धको युद्धमा रुसले आणविक हतियार प्रयोग गर्ने खतरा थप चुलिएको छ । आणविक हतियारले सम्पन्न राष्ट्रले कुनै पनि समय यसको प्रयोग गर्न सक्छ । दुर्भाग्यवश सन् २०२५ मा पृथ्वी विनाशको नजिक गइरहेको छ । डूमस्डे घडीले मध्यरातसम्म ८९ सेकेन्डमा बढाउँदै भन्यो, जुन अहिलेसम्मकै सबैभन्दा नजिक छ ।
यतिबेला भारत-पाकिस्तान बीचको सङ्कट जटिल मोडमा पुगेको छ । सम्बन्धलाई ट्र्याकमा ल्याउने तन्तुहरू कमजोर भएका छन् । पहलगाम घटनापश्चात् कूटनीतिक सम्बन्ध टुटेको छ । द्विपक्षीय गतिरोध अझ गहिरो बन्दैछ । औपचारिक वार्ता असम्भव देखिएको छ । अवस्था निराशाजनक छ । ‘समग्र संवाद’मा टेन्सन मात्र सुन्न पाइन्छ । चलिरहेको सङ्कटले आणविक छिमेकीहरूलाई खतरनाक टकराब तर्फ धकेल्दै छ । सिन्धु जल सन्धि निलम्बन गर्दै भारतले पानीलाई हतियार बनाएको छ । यसको दूरगामी प्रभाव पाकिस्तानको निम्ति अभिसाप बन्न सक्नेछ । नियन्त्रण रेखामा देखिएको टेन्सन भयावह बन्दैछ । भारतद्वारा अरब सागरमा सुरु गरेको क्षेप्यास्त्र अभ्यासले पाकिस्तानलाई नौसेना गतिविधि तीव्र बनाउन बाध्य पारेको छ । आक्रमणकारी र उनीहरूका समर्थकहरूलाई कठोर सजाय दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइले डूमस्डे घडीको सुई मध्यराततर्फ हुइँकिँदै छ । मोदी सरकारले पहलगाम घटनापश्चात् ‘मोड, लक्ष्य र समय’ निर्णय गर्न सेनालाई ‘अपरेशनल स्वतन्त्रता’ दिएका छन् ।
आसन्न सैन्य टकरावले बढ्दो अन्तर्राष्ट्रिय चिन्ता जगाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव, चीन, अमेरिका, साउदी अरेबिया र इरान लगायतले तनाव कम गर्न आग्रह गरेका छन् । विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफ, सीआईए निर्देशक जोन रेटक्लिफ र राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डले आईएसआईका महानिर्देशक जनरल असीम मलिकलाई फोन गरेको घटनाले भारतीय सरकारलाई झस्काएको छ । ऐतिहासिक रूपमा अमेरिकाले सङ्कट कम गर्न सक्नेछ । यद्यपि अमेरिकी स्वार्थ र उसको विगतले त्यस्तो गर्ने कल्पना गर्न सकिँदैन ।
सन् २०१९ मा घटाइएको पुलवामा आक्रमणपछि भारत-पाकिस्तानबीच गम्भीर सङ्कट उत्पन्न भयो । ४० भारतीय सुरक्षाकर्मी मारिएको घटनाले भारतीय सत्तालाई गम्भीर दबाबमा राख्यो । परिस्थिति कहिल्यै एकैनासका हुँदैनन् भन्ने अवस्थामा पुगेको मोदी-सत्ताले विगतको घटनाबाट गम्भीर शिक्षा लिएको हुन सक्छ । बालाकोटमा बम विस्फोट गर्न नियन्त्रण रेखा पार गर्दै ‘आतङ्कवादी तालिम शिविरहरू’ नष्ट गरेको भारतीय दाबीले दीर्घकालीन काम नगरेको पछिल्लो निचोडले अनिवार्य युद्धलाई जन्म दिँदैछ । भारत-पाकिस्तानबीच युद्ध चर्काउन चाहने दुबैतर्फका ‘डिप-स्टेट’हरूको स्वार्थ र चाहना पूरा हुँदैछ ।
पहलगाम घटनामा निर्दोष २६ जना मारिएसँगै उकालो चढेको भारत-पाकिस्तान टेन्सनको गहिरो अध्ययन गर्दा अमेरिका, रुस र चीनको रणनीतिक स्वार्थ भेटिने छ । यस अर्थमा युद्धको असली चाबी भारत-पाकिस्तान बाहिर रहेको बुझ्न सकिन्छ । बिजेपी नेता विजय चौथाइवालेको नेपाल भ्रमण, उनीमार्फत मोदी-सत्ताले खोजेको समर्थन, हामी कसैको समस्यामा लाग्दैनौँ, हाम्रो निम्ति सबै समान छन् भन्दै प्रधानमन्त्री ओलीद्वारा व्यक्त धारणाले ‘भारत-पाकिस्तान’ बीचको टेन्सन आँकलन गर्न सकिन्छ ।
अन्तमा, अस्थिर संसारमा विज्ञहरूले औँल्याएझैँ शक्तिशाली मुलुकहरूले आफ्नो भूमिका तयार गरेका छन् । ‘बलुचिस्तान’लाई कान्छो देश बनाउन ‘पहलगाम’ हत्यालाई प्रयोग गर्ने पछिल्लो रणनीतिक खेल सफलतातर्फ लम्किएको समयमा डूमस्डे घडी मध्यरातको नजिक पुगेको छ । यसक्रममा भारतद्वारा ‘अपरेसन सिन्दूर’ सुरु गरिएको छ । ‘भारत पाकिस्तान’को टेन्सन बढाउने कारण र कारक जेसुकै/जोसुकै भएपनि यसले निम्त्याएको खतरा दक्षिण एसिया राजनीतिलाई थप गिजोल्ने निश्चित छ । रुस-युक्रेन युद्धको मूल्य थेग्न नसकेका नेपालीका टाउकोमा भारत-पाकिस्तानको ऋण समेत थपिने खतरा चुलिएको छ । आणविक हतियारसम्पन्न मुलुकबीचको युद्ध चर्किए मुलुकको आर्थिक र राजनीतिक अवस्था थप दयनीय बन्ने छ ।