मुलुक बिर्सिएर खोजिएको स्वतन्त्रता !
२००७ सालमा पाल्पाको बडाहाकिम रुद्र शमसेर जबरालाई मनाउँदै सुवर्ण शमसेर जबराले राजा त्रिभुवनलाई पाल्पा लिएर जाने योजना बनाए । उक्त कार्य सम्पन्न गर्न महावीर शमसेर मार्फत हेलिकप्टर खोज्ने कार्यमा समस्या आउँदा कार्यक्रम स्थगित गरियो । तत्पश्चात् जर्मन नागरिक एरिका लिउटयाग (पेशाले फिजियो थेरापिस्ट)द्वारा बनाइएको सम्पर्क सूत्र प्रयोग गर्दै राजा त्रिभुवन स-परिवार (तीन वर्षीय बालक ज्ञानेन्द्र बाहेक) काठमाडौंस्थित भारतीय दूतावास प्रवेश गरे । केही दिन दूतावासमा बिताउँदै भारतबाट ल्याइएको स्पेसल विमानबाट दिल्ली प्रस्थान गरे ।
बेलायतको फिर्तीपश्चात् रणनीतिक स्वार्थवश दिल्ली पुऱ्याइएका राजा त्रिभुवन राणा शासनको पिँजडाबाट मुक्त हुने मूल्यमा सार्वभौम सत्ता धरौटी राखेर काठमाडौं फर्किए । ‘संविधानसभा’को चुनावमार्फत दीर्घकालीन सत्ता कब्जा गर्ने रणनीतिअनुरूप फर्काइएका राजा त्रिभुवनको असामयिक निधनले दिल्लीको चाहना धकेलियो । तत्कालीन काङ्ग्रेस नेतृत्वले दिल्लीको चाहना अनदेखा गर्दै ‘कुर्सी’सँग सम्प्रभुता साट्न चाहेको राजा महेन्द्रको बुझाइपश्चात् संविधानसभाको सट्टा संसद्को निर्वाचन गराइयो ।
भीमकाय संसदीय अङ्कगणितपश्चात् नेता बीपीले दिल्लीको स्वार्थ र राजा महेन्द्रको राष्ट्रवादप्रतिको धारणालाई खासै महत्त्व दिएनन् । प्रधानमन्त्री बीपीले राष्ट्रियताभन्दा आयातीत प्रजातन्त्रलाई महत्त्व दिएको राजाको बुझाइलाई समयमै सम्बोधन गर्न सकेनन् । भारतीय प्रजातन्त्र हुर्किंदै गए मुलुकको सार्वभौम सत्ता समाप्त हुने राजा महेन्द्रको निचोडले प्रधानमन्त्री बीपीसँग राजनीतिक द्वन्द्व चुलियो । अन्ततः बीपीलाई स-सम्मान सुन्दरीजल जेलमा राख्दै राजा महेन्द्र नेता बन्न हौसिए । पञ्चायतलाई लोकप्रिय बनाउँदै गरेको समयमा नेता महेन्द्रको मृत्युले देशको राजनीति बरालियो । कश्मीर, हैदरावाद, जुनागढ अतिक्रमणको राजनीतिक कथा बिर्संदै भारतमा राजनीतिक शरण लिएका नेता बीपीको आँखा सिक्किम प्रकरणपश्चात् खुल्न गयो । मुलुक रहेमात्र सङ्घर्ष गर्न सकिने निचोडपश्चात् नेता बीपीले राजासँग सहकार्य गर्न चाहे । दुर्भाग्यवश दरबारभित्र मौलाएको कथित शक्तिले मुलुकलाई बलियो बन्न दिएन ।
राजा वीरेन्द्रको वंशनासको अकल्पनीय घटनापश्चात् राजा बनाइएका ज्ञानेन्द्रसमेत राजा महेन्द्रको शैलीमा ‘प्रजातन्त्रभन्दा देश र नागरिक बचाउन’ हौसिए । आत्मनिर्भर अर्थतन्त्रबिना मुलुकको सार्वभौम सत्ता बलियो हुँदैन भन्ने बुझ्न नसकेको दलीय नेतृत्व फगत कुर्सीको निम्ति अनेक घाटको पानी पिउन राजी भयो । नेपाललाई बलियो बन्न नदिने शक्तिले दलीय मुखियाहरूलाई रणनीतिक प्रयोग गर्दै मुलुकको सम्प्रभुतामाथि गम्भीर हस्तक्षेप गरिरहे । नागरिकसँग मिलेर आधुनिक नेपालको जग बसाएको शाहवंशको इतिहास गहिरोसँग अध्ययन गरेका शक्तिले षडयन्त्रमूलक ढङ्गले राजसंस्थालाई बिदा दिन सफल भए । संस्थाभित्र भएको कमजोरी हटाउनुको सट्टा वैदेशिक षडयन्त्रलाई स्वीकार गर्ने परिवर्तनले मुलुकलाई कहाँ पुऱ्याउँदै छ ? – देशभक्तहरूले नबुझेसम्म उनीहरूको ताण्डव चलिरहने छ ।
राजा त्रिभुवनदेखि १२बुँदेसम्मले विदेशीको आशीर्वादमा प्राप्त कथित स्वतन्त्रता मुलुकको क्यान्सर बनिरहेको छ । सम्प्रभुता र सार्वभौम सत्तालाई धरौटी राखेर प्राप्त गरिएको आयातित उपलब्धिले मुलुकलाई दुर्बल बनाउँदैछ । आत्मनिर्भर अर्थतन्त्र निर्माण नगर्ने सर्तमा राष्ट्रिय बोझहरूलाई नेता पदमा स्थापित गरिएको छ । कुर्सीको निम्ति जस्तोसुकै सम्झौता गर्ने व्यक्तिलाई नेता बनाउने खेल सम्पन्न गरिएको छ । मुलुक र नागरिकविरुद्ध गतिविधि गरेवापत दल खोल्न पाउने पद्धतिलाई लोकतन्त्र बनाइएको छ । सबल, सक्षम र दूरदर्शी व्यक्ति राजनीतिमा प्रवेश नगर्ने अवस्था सिर्जना गरिएको छ ।
एकतर्फी निर्णयले मुलुक अस्थिर बन्दैछ । संवेदनशील मुद्दामा छलफल गर्न नचाहने सिंहदरबार लोकप्रिय बन्न सकिरहेको छैन । प्रधानमन्त्रीको उग्र बयानले आयातीत उपलब्धि र सिंहदरबारको पेचकिला खुस्किएको सङ्केत गरिरहेको छ । सडकले भावनात्मक विषय उठाइरहेको समयमा राजनीतिक प्रणाली असफल सावित भएको छ । सिंहदरबारले शक्तिको केन्द्रीकरण कायम राख्न सङ्घर्ष गरिरहेको छ । सडक प्रदर्शनहरू जनविद्रोहमा परिणत हुन मरिहत्ते गरिरहेको छ । सरकारको विवादास्पद कार्यशैली र गतिविधिले नागरिक समाजलाई एकताबद्ध गर्दैछ ।
मुलुकले भोगिरहेका आधारभूत समस्याहरू समाधानको दिन पर्खिरहेका छन् । दुर्भाग्यवश आयातीत उपलब्धि र सत्ताले नागरिकको अपेक्षालाई उपेक्षा गरिरहेको छ । नागरिक बिर्सिएको योजना, दलाल र बिचौलियाकेन्द्रित आर्थिक गतिविधि र आफ्नै सुरक्षामा अल्झिएका नेतात्रयको कुर्सीकेन्द्रित कार्यक्रमले काम गर्न छोडेको छ । सकारात्मक समाचार सुन्न नपाएका नागरिकहरूको आक्रोशले गुणात्मक परिवर्तन कुर्दैछ । मुलुकले सामना गरिरहेका चुनौतीको भार बुझ्ने सक्षम र साहसी नेतृत्वको माग गरिरहेको छ ।
देशले डाइनामिक नेतृत्व खोजिरहेको छ । नागरिकलाई आशावादी बनाउने र सुनौलो भविष्य सिर्जना गर्ने नेतृत्वको पर्खाइमा मुलुक तड्पिरहेको छ । अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको बुझाइमा ‘सामान्य नेताहरूले तत्काल व्यवस्थापन गर्न खोज्छन्; महान् व्यक्तिहरूले समाजलाई आफ्नो दृष्टिकोणमा उकास्ने प्रयास गर्छन् ।’ नेता त्यो हो, जसले इतिहासलाई आकार दिन्छन् । आफ्नो अघिल्तिरका चुनौतीयुक्त परिस्थितिलाई पार गर्छन् र समाजलाई गन्तव्यमा पुऱ्याउँछन् । दुर्भाग्यवश लोकतान्त्रिक गणतन्त्रको आगमनपश्चात् मुलुक नेतृत्वविहीन भएको छ ।
राजनीति सार्वजनिक उद्देश्यभन्दा शक्तिको बारेमा चिन्तित हुँदै आएको छ । शक्तिको प्रयोगले नेतृत्वमा रूपान्तरण हुँदैन । शासनले शासन उत्पादन गर्दैन । राजनीति बिसाएको नेतृत्वले आफ्नै इतिहासको धार कसरी परिवर्तन गर्छन् भन्ने बुझ्ने समय आएको छ । मुलुकको चुनौतीलाई सामना गर्न प्रभावकारी र दूरदर्शी नेता चाहिन्छ । नागरिकको कल्पनालाई कब्जा गर्ने र भविष्यमा के सम्भव छ भन्ने देखाउने दृष्टिकोण भएको व्यक्तिलाई नेता भन्नुपर्ने हो । प्रभावकारी नेतृत्वको लागि केवल दृष्टिकोण सेट गर्नुमात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने रणनीति र राष्ट्रिय सहमति निर्माण गर्ने गुण हुन आवश्यक छ । नेतृत्वले स्पष्ट दिशा गर्ने, निर्णायक रूपमा काम गर्ने, परिवर्तनको आधार सुनिश्चित गर्ने, जोखिम मोल्न सक्ने, स्वार्थरहित साहस र तत्परता देखाउन सक्नु पर्नेछ ।
वास्तवमा ‘स्मार्ट नेता’ले मात्र सही व्यक्तिलाई प्रयोग गर्न सक्छ । उचित जिम्मेदारी दिने अधिकतम कोशिस गर्न सक्छ । ‘स्मार्ट नेता’ले सेवक, भक्त, बफादार खोजेर बस्दैन । राजनीतिक संरक्षणलाई विचार र सिद्धान्त बनाउँदैन । नागरिकसँग जोडिने, चिन्ता र दुःखमा सहभागी हुने, उनीहरूको इच्छा-आकाङ्क्षा बुझ्ने, सही समयमा निर्णय क्षमता देखाउने व्यक्तिलाई स्मार्ट नेता मान्न सकिन्छ । यसको अर्थ मुलुकमा नेताको अभाव छ । दृष्टिकोण र योजनाको अभाव छ । राजीनामा दिने समय बताउँदै असफल नेतृत्व बहुमूल्य समय खेर फाल्दैछ । समस्यालाई सम्बोधन गर्ने ल्याकत गुमाएको सरकार कामचलाउ बनिसकेको छ ।
सिंहरदबार ‘तदर्थ र अल्पकालीन’ सोचले ग्रस्त छ । टीकेप्रथामार्फत स्थापित नेताको ‘कमजोर वैधता’ लोकतान्त्रिक गणतन्त्रको दुर्भाग्य बनेको छ । भक्त, सेवक र असफल खेलाडी चयन गर्दै मुलुकको भाग्यसँग खेलबाड गरिएको छ । लायक पद असक्षम र पारिवारिक पेशेवरले ओगटेका छन् । नागरिकलाई उत्साहित र एकताबद्ध गर्ने तत्त्व मुलुकबाट गायब भएको छ, जसले गर्दा परिवर्तन नागरिकको आवश्यकता र आकाङ्क्षा बन्न सकेको छैन । नागरिक तुच्छ बोली, घृणा, क्रोध र असहिष्णुता पोख्दै सरकार खोज्दैछन् ।
नागरिक भावना भनेको सामाजिक नैतिकता हो । नागरिक भावनाभित्र समाज, मुलुकको जिम्मेवारी र सजगता हुन जरुरी छ । दुनियाँमा कुनै पनि मानिस सभ्य जन्मिएको हुँदैन । सभ्य बन्न मानिसले जीवनभर सङ्घर्ष गरिरहेको हुन्छ । नैतिक शिक्षा र सङ्घर्षले मानिसलाई सभ्य बनाउँछ । असल नागरिक बनाउँछ । व्यक्ति निर्दयी हुनुहुँदैन भन्ने नागरिक भावनाले मात्र महसुस गर्न सक्छ । अरूलाई बाधा नपुऱ्याएर बाँच्ने कला नागरिक भावनाले दिँदै आएको हुन्छ । नागरिकलाई विनम्र बनाउन, विचारशील बनाउन शिक्षामा जोडिदिने काम नागरिक भावनाले बोक्दै आएको छ । दुर्भाग्यवश आयातित उपलब्धि जोगाउने नाममा उपलब्ध नेतृत्वले नागरिक भावनाको हत्या गरिरहेको छ ।
वर्तमान समयमा विदेशीद्वारा लादिएको ‘प्रजातन्त्र’ या ‘लोकतन्त्र’ भनेको विदेशी मूल्य र मान्यतालाई ढोकाबाट स्वीकार गर्ने बाटो हो । राष्ट्रिय सहमति, सम्झौता, मूल्य, मान्यता, संस्कार, परम्परा, संस्कृतिलाई समाप्त गर्ने आधुनिक हतियार हो । व्यापारमार्फत अन्तर्राष्ट्रिय शोषणलाई दीर्घकालिन रूपमा स्थापित गर्ने रणनीति हो । देशभक्त र राष्ट्रभक्त नागरिक जन्मिन नदिने खेल हो । शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, मानव संसाधन समाप्त गर्न भिराइएको डरलाग्दो भाइरस हो । नेता कृष्णप्रसाद भट्टराई जस्ता ‘व्यक्ति र विचार’लाई राजनीतिक संन्यास दिन बाध्य पार्ने खतरनाक मिसाइल हो ।
अन्तमा, विदेशी सहयोगमा सम्पन्न पटके परिवर्तनले मुलुकको सम्प्रभुता र सार्वभौम सत्ताको धज्जी उडाएको छ । देशभक्ति र नागरिक सपनाको हत्या गरिएको छ । गरिबी र पछौटेपन यथावत् राख्ने एकमात्र कार्यभार सुम्पिँदै संरक्षण गरिएको ‘कथित नेतृत्व’ मुलुकको भाइरस बनिसकेको छ । युएसएआइडीको लगानीमा निर्मित संविधानभित्र ‘प्लान्टेड डाइनामाइट’ यथावत् राख्ने अभिभारा नेतात्रयले उठाएका छन् । नागरिक मरे मरुन्, देश गए जाओस् तर कथित स्वतन्त्रता, संविधान र आयातित उपलब्धि बचाउनैपर्छ भन्ने मान्यताले अनिष्ट निम्त्याउँदै छ ।