लोकतान्त्रिक प्रतिगमन !

पञ्चायत फालियो, प्रजातन्त्र ल्याइयो । प्रजातन्त्रले दक्षिण-पश्चिमको स्वार्थलाई सम्बोधन गर्न मानेन । प्रजातन्त्र फालियो, लोकतन्त्र ल्याइयो । लोकतन्त्रको सम्पूर्ण फाइदा नेता, कार्यकर्ता, शीर्ष कर्मचारी र पश्चिमले चाहेजति उठाए । जेनेरेसन ‘वाई र जेड’ले मुलुक छोडेर जान पाएको विषयलाई लोकतन्त्रको देन भनियो । दुर्भाग्यवश हाइब्रिड उपलब्धिले सिर्जना गरेको असीमित चुनौतीलाई बुझ्न नागरिक तयार देखिएनन । शिक्षित युवायुवती स्मार्ट भविष्यको सपना देख्दैछन् । मुलुक असीमित समस्याको च्यामबर बनिसकेको छ । गरिबको दैनिकी डरलाग्दो अवस्थामा पुगेको छ । दिगो विकास एकादेशको कथा बनिसकेको छ । सीमित स्रोतको असीमित दोहन भइरहेको छ । भ्रष्टाचारले पञ्चायतलाई उछिनेको छ । हाइब्रिड पञ्चहरूले पञ्चायतको भाग-२ सुरु गरेका छन् ।

मुलुक युवा सोचभन्दा पछाडि छ । सिंहदरबारले स्वीकार गर्नुपर्छ, विश्व राजनीति, विकास र प्रविधि नाटकीय रूपमा परिवर्तन भएको छ । मुलुकले अन्तर्राष्ट्रिय राजनीति सँगसँगै हिँड्न छोडेको धेरै भइसकेको छ । अस्थिर मान्यता र राजनीतिक अस्थिरताले राष्ट्रको अस्तित्व खतरामा परेको छ । लादिएका उपलब्धिले मुख देखाउन नसक्ने भएको छ । स्मार्ट भविष्य खोज्ने युवा पुस्ताले प्रविधि, बढ्दो वित्त परनिर्भरता र राजनीतिक हस्तक्षेपलाई बुझ्न चाहेको देखिँदैन । विशिष्ट वास्तविकतासँग अनविज्ञ युवा पुस्ताको हल्का शैलीले समस्याहरू थप कचल्टिएका छन् । रणनीतिक विषयमा ध्यान केन्द्रित गर्न नसक्दा स्मार्ट भविष्य र राजनीतिक विकल्प सोसल मिडियामा सीमित भएको छ ।

परिवर्तन विकल्प होइन, अनिवार्यता हो भन्दै मुलुक विरुद्ध रणनीतिक षडयन्त्र गरिएको छ । पटके परिवर्तनले मुलुकको राजनीतिक इतिहासलाई अपमान गरेको छ । युवापुस्ताले मुलुकको इतिहास बुझ्न सकिरहेको छैन । हाइब्रिड पञ्चहरूको तथाकथित गतिविधि र नालायकी छोप्न स्मार्ट भविष्यको अस्त्र फ्याँकिएको छ । आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय मुद्दालाई पन्छाएर भ्रमहरूको खेती चलाइएको छ । नागरिक समाज र निजीक्षेत्रले आफ्नो जबाफदेहिता बिर्सेको मुलुकमा हाइब्रिड पञ्चहरूको बोलवाला हुनु स्वाभाविक छ ।

ऐतिहासिक रूपमा प्रविधि, उत्पादन र सेवाहरूको निर्माता नभएको मुलुकले अमेरिका, बेलायत, जर्मनी, जापान जस्ता दिग्गज देशको अत्याधुनिक प्रविधि र उत्पादनको विषयमा कुरा गरेर समय खेर फाल्नु मनासिब मान्न सकिँदैन । अनुमान र अवास्तविक कुरा गरेर मुलुक कहीँ पुग्न सक्दैन । उत्पादन बिनाको वितरणको कुरालाई बुद्धिमानी मान्न सकिँदैन । चुनौतीहरू बुझ्ने र समयमा सम्बोधन गर्ने यथार्थपरक नीति र कार्यक्रम निर्माणमा दिमाग खर्च गर्न जरुरी छ । विश्वव्यापी प्रगतिहरूको लाभ उठाउन आफ्ना कमीकमजोरी हटाउन जरुरी छ । सामाजिक विज्ञान बुझ्दै व्यवस्थापनलाई ध्यान दिन जरुरी छ । युवा आवश्यकता पूरा गर्न नवीनतालाई बढवा दिनु पर्नेछ । उदीयमान विश्वव्यापी वास्तविकतालाई मनन गर्दै मुलुकको राष्ट्रिय क्षमतासँग पङ्क्तिबद्ध गर्न जरुरी छ । सीमित स्रोतबाट अधिकतम नतिजा निकाल्न ढिला भइसकेको छ ।

आयातित उपलब्धिको निम्ति मुलुकले ‘भविष्य’ बिसाएको छ । परिवर्तनको नाममा मुलुक कङ्गाल बनाइएको छ । राष्ट्रिय अनुसन्धान, प्राकृतिक विज्ञान र इन्जिनियरिङ विषयको महत्त्व नबुझेका हाइब्रिड पञ्चहरूले भाषण, कुशासन र पञ्चायतीकरण मार्फत ‘समृद्धि’ ल्याउने अभियान छेडेका छन् । मुलुकको दीर्घकालीन अस्तित्व खतरामा परेको समयमा युवापुस्ताले चमत्कारमा विश्वास गर्नु हुँदैन । ‘भाषण र वाचा’मा बहुमूल्य समय खेरफाल्नु हुँदैन । दिगो सफलताको बाटो लामो हुनेछ । आफ्नो क्षमता भन्दा अरूको कमजोरीमा उठेका व्यक्तिले मुलुक निर्माण गर्दैन । लोकतान्त्रिक व्यक्तिले प्रतिस्पर्धालाई सरल र सहज बनाउन अधिकतम कोसिस गरिरहेको हुन्छ । दुर्भाग्यवश हाइब्रिड पञ्चहरू ‘पार्टी र प्रणाली’ कब्जा गर्दै प्रतिस्पर्धाको खल्लो नाटक प्रस्तुत गरिरहेका छन् । जसलाई लोकतन्त्र मान्ने र ठान्ने नागरिकको छनौट पटक-पटक असफल भएको छ । जसको ऋण मुलुकले तिरिरहेको छ ।

राजनीतिक वैधता बिर्सेका थकित नेतृत्वले लोकप्रिय देखिने चरण पार गरिसकेको छ । सोकल्ड वैकल्पिक शक्तिले मच्चाएको ध्वनि प्रदूषणको फाइदा नेतात्रयले उठाउने अभियान तीव्र बनाइएको छ । सुधार गर्नुको सट्टा अर्थतन्त्र ‘ठिक’ गर्न हतारिएको असफल शक्तिले मुलुकलाई थप बरबाद गर्ने निश्चित छ । हाइब्रिड पञ्चहरूको डरलाग्दो पञ्चायतीकरणपश्चात् मुलुक र नागरिकको भविष्य भयावह बन्दैछ । पटके परिवर्तनले कसैलाई सन्तुष्ट राख्न नसकेको, डेलिभरी दिन पूर्णतया असफल भएको, दलाल र बिचौलियाको इच्छाबिना पाइला चाल्न नसक्ने कथित सहकार्य मुलुकलाई असफल घोषणा गर्ने साइत कुर्दैछ ।

वास्तवमा नेतात्रयले आदर्श राजनीतिलाई मन पराउन छोडेको लामो समय भइसकेको छ । ’नेतात्रय’बीच को बढी बदनाम हुने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । लोकप्रियता उनीहरूको रुचिको विषय रहेन । जनताको कठिनाइमा आनन्द महसुस गर्ने नेतात्रय ‘स्मार्ट बदनामी’लाई सफलता मान्दै छन् । लोकतान्त्रिक गणतन्त्रको नाममा मच्चाइएका ‘धूर्त योजना’ बदनाम बन्दै छ । स्मार्ट ठगी नयाँ चरणमा प्रवेश गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पार्दै प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरिएको घटनालाई सरकारले उपलब्धि मानेको छ । नागरिकको खिल्ली उडाउँदै मुलुकको बहुमूल्य समय बरबाद गरिरहेको ओली/देउवा सहकार्य ‘लोकतान्त्रिक प्रतिगमन’लाई गणतन्त्रको सौन्दर्य बनाउन मरिहत्ते गरिरहेको छ ।

अपारदर्शी सम्झौताले सताएको राजनीतिमा सार्वजनिक सम्पत्तिको चाखलाग्दो बाँडफाँडको इतिहास मुलुकसँग छैन । लगानीकर्ताको हितलाई सन्तुलनमा राख्ने, कानुनको मस्यौदा गर्ने र लागू गर्ने प्रक्रिया चिन्ताजनक छ । समुदायको अविश्वास गहिरो बन्दै छ । निषेधको जोखिम बढ्दैछ । नागरिकबीच विभाजनको रेखा कोरिँदै छ । असन्तुष्टि अराजकतातर्फ लम्किँदै छ । पारदर्शिता, जबाफदेहिता र सामुदायिक अधिकारलाई खिल्ली उडाउँदै नाङ्गिएको सहकार्य बोझ बनिसकेको छ । राजनीतिक रूपमा पर्दाफास भएका व्यक्तिले ‘पटके परिवर्तन र युवा चाहना’को बोझ उठाउन नसक्ने पुष्टि भइसकेको छ । कानुनी र न्यायिक संयन्त्र भताभुङ्ग बनाइएको छ । पुरातन कानुनहरू र प्रक्रियागत गडबडीले नागरिकको साझा असुविधालाई प्रतिबिम्बित गरिरहेको छ । गरिबीको अपराधीकरण गरिएको छ । ’दलाल र बिचौलिया’को चाहना पुरा गर्न रातारात अध्यादेश ल्याउने ‘कथित सहकार्य’ सहकारी पीडित, शिक्षकहरूको समस्या र नागरिकले भोगिरहेका समस्या समाधान गर्न सक्रियता देखाउँदैन । जिब्रो मात्र चलाउने, शब्दहरू मार्फत पीडितहरूको हुर्मत लिने र ‘पर्फमेन्स नदिने स्थिरता’ लोकतान्त्रिक प्रतिगमन मार्फत भविष्य खोज्दै छ ।

पञ्चायतको भाग दुई अन्तरगत लिइएको आन्तरिक र बाह्य ऋण झन्डै २७ खर्ब पुग्नुमा भ्रष्टाचार प्रमुख कारण हो भन्न सकिन्छ । सरकारले सम्पन्न गरेका र निर्माण गरिरहेका आयोजनाको लागत दोब्बर तेब्बरले बढनुको प्रमुख कारण भ्रष्टाचार थियो र हो भन्न दार्शनिक बनिरहन जरुरी छैन । वाइडबडी खरिदको लागत र पोखरा विमानस्थल निर्माणको लागतमा देखिएको डरलाग्दो गडबडीले चिच्याएर भनिरहेको छ, प्रजातन्त्र र लोकतन्त्रको नाममा मुलुकको दोहन गरिएको छ । नागरिकलाई चुस्ने जुकाहरूको बारेमा अमेरिकी अदालत र मिडियाले प्रमुखता दिनुले नेतात्रय र लोकतान्त्रिक गणतन्त्रको भ्रष्टाचारविरोधी मान्यता खण्डित भएको छ ।

राजनीति बाहेक अर्को उद्योग नभएका हाइब्रिड पञ्चहरूको नाङ्गो लुटको ऋण तिर्दा तिर्दा उकालो लागेको मूल्यवृद्धिले सर्वसाधारण नागरिक दुब्लाउँदै छन् । संसद्, प्रहरी, सेना, निजामती प्रशासन, शिक्षक, न्यायपालिका कब्जा गर्दै उन्मत्त बनेको नेतातन्त्र मुलुकको अस्तित्वसँग खेलबाड गरिरहेको छ । डुङडुङती गन्हाएको हाइब्रिड पञ्चहरू ‘जेनेरेसन जेड र अल्फा’को भविष्य बरबाद गर्ने अन्तिम अभियान चलाउँदै छन् । नागरिकको चुलोबाट स्वाद र जीवनबाट हाँसो खोस्न सफल ‘हाइब्रिड पञ्च’हरू आफ्नो अपराध छोप्न जस्तोसुकै कुकर्म गर्न तयार छन् । संविधान संशोधन गर्ने ‘स्मार्ट झुट’ पस्किँदै दहीचिउरा खाएर गरिएको खल्लो सहकार्य नकारात्मकताको रेकर्ड बनाउन मरिहत्ते गर्दैछ । कुर्सी पाउँदा ‘प्रतिगमन’ आधा सच्चियो भन्ने हाइब्रिड पञ्चहरू पाएको कुर्सी जोगाउन ‘लोकतान्त्रिक प्रतिगमन’ अनिवार्य मान्दैछन् ।

निःसन्देह मुलुकको राजनीतिमा दक्षिणको दबाब र प्रभावको सिलसिला जारी छ । २००७ सालमा कलकत्ता, २०४६ मा बनारस, २०६३ मा दिल्लीको प्रभाव निर्णायक बनेको अनदेखा गर्दै २०७२ मा पश्चिमको सहयोग पाएको भ्रममा ओली, प्रचण्ड र सुशील कोइराला दक्षिणको ‘पावर सेन्टर’लाई चिढ्याउन हौसिए । ततपश्चात् फुक्काफाल भएको हाइब्रिड पञ्चायतले जनअसन्तुष्टिलाई सम्बोधन गर्न चाहेन । यही तथ्यलाई अध्ययन गरेका आन्तरिक र बाह्य शक्तिले नेपालको राजनीतिमा दीर्घकालीन अस्तित्व खोज्न तम्सिए । कुशासन र अनियन्त्रित भ्रष्टाचारले निम्त्याएको बाध्यात्मक परिवर्तनमा ‘लखनउ’ निर्णायक बन्ने विश्लेषणपश्चात् रन्थनिएका नेतात्रय एवम् हाइब्रिड पञ्चहरू ‘लोकतान्त्रिक प्रतिगमन’को अभ्यासमा व्यस्त छन् । दुर्भाग्यवश गणतन्त्रको त्रुटिपूर्ण हार्डवेयर र नेतातन्त्रको कथित सफ्टवेयर जोगाउन गरिएको निषेधको राजनीतिले भूराजनीतिक हस्तक्षेपलाई खुला आमन्त्रण गरिरहेको छ ।