सत्ताच्युत राजालाई नमागेको सल्लाह !
सर्वसाधारण नागरिक प्रायः सोच्ने गर्छन्- राजनीतिक परिवर्तनपश्चात् सुखका दिन आउने छ, शक्ति र अधिकार प्राप्त हुनेछ ! दुर्भाग्यवश सुशासन, शान्ति र प्रगति नल्याउने सर्तमा गराइएको पटके परिवर्तनले तोडफोड, हिंसा, हत्या, जुलुस, भाषण, गाली, बेइज्जतीलाई कुशलतापूर्वक जोगाएको छ । प्रवृत्ति यथावत् राख्दै व्यवस्था र व्यक्ति बदलेको मुलुकको राजनीति यथास्थितिमा नचल्ने अवस्थामा पुगेको छ । सुरक्षा, स्थिरता र राज्यको वित्तीय स्थायित्व थप कमजोर बनेको समयमा मुलुक कसरी स्वतन्त्र भएर बाँच्न सक्छ भन्ने गम्भीर अवस्था सिर्जना भएको छ ।
यतिबेला लोकतान्त्रिक गणतन्त्रको रङ्ग खुइलिएको, प्रणालीको उपलब्धि नागरिकको जीवनमा पुग्न नसकेको, कुशासनले सीमा नाघेको, वर्तमान नेतृत्वप्रति ‘जेनेरेसन जेड’को भरोसा टुटेको, मुलुकको परिवर्तन विदेशी लगानीमा गरिएको खुलेको अवस्था, युवा पलायन, नागरिकमा रहेको व्यापक आक्रोश र असन्तुष्टि, पटके लखनउ भ्रमण, भुटानी राजासँग सम्पन्न रणनीतिक भलाकुसारीपश्चात् सत्ताच्युत राजालाई लागेको हुनसक्छ- समय आएको छ…, यही मौकामा गुमेको विरासत फर्काउन सकिन्छ ! यद्यपि सत्ताच्युत राजाले दक्षिणको स्वार्थलाई बुझेको देखिँदैन ।
‘मैले गल्ती गर्दा तिमीहरू आउन पायौ, तिमीहरूले गल्ती गर्दा म आउन किन नपाउने ?’ भन्ने प्रकारको सत्ताच्युत राजाको कुटनीतिक अपिलपश्चात् मुलुकमा राजनीतिक द्वन्द्व र उत्सुकता चुलिएको छ । दलमाथि प्रतिबन्धबिना २०६१ साल माघ १९ गते माओवादी ध्वंश नियन्त्रण गर्ने भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले तीन वर्ष मागे । दुर्भाग्यवश नेपाली जनताले राजालाई विश्वास गरेनन् । जब-जब उनले देशवासीसँग सहयोग मागे, जनताबाट खासै सहयोग पाएनन् । यतिबेला उनलाई लागेको हुनसक्छ- विदेशीको सहयोग भएमा राजसंस्था पुनर्स्थापित हुनेछ । राष्ट्रपति ट्रम्पको आगमनपश्चात् स्थगित भएको अमेरिकी कार्यक्रमको फाइदा उठाउँदै ‘लैनो भैँसी किन्दा पाडो/पाडी आउँछ’ भन्ने दक्षिणको आश्वासनमा अन्तिम जुवा खेल्न सत्ताच्युत राजा हौसिएको गणतन्त्रवादीको बुझाइ छ ।
माथि उल्लेखित घटना र मुलुकको अवस्था, ६५ करोड नागरिकले नुहाएको भव्य र सभ्य कुम्भ मेलाको अपार सफलतपश्चात् मोदी/योगीमा जागेको हिन्दु अभिमान र भूराजनीतिक चहलपहलपश्चात् सक्रिय भएका सत्ताच्युत राजालाई पङ्क्तिकार नमागेको सल्लाह दिने जमर्को गर्दैछ । राजा महेन्द्रको देहावसानपश्चात् उमेर बढ्दै गएका मानिस राजा र राजसंस्थाको पक्षमा खुल्दै थिए भने अधिकांश युवायुवती काङ्ग्रेस/कम्युनिस्टतर्फ आकर्षित हुँदै गए । सत्रवर्षे लोकतान्त्रिक गणतन्त्रको खल्लो अभ्यासपश्चात् राजसंस्था र सत्ताच्युत राजाप्रति युवाहरूको आकर्षण बढ्दैछ । दुर्भाग्यवश आफ्नै नालायकीले खुइलिएका लोकतान्त्रिक गणतन्त्रवादीको समर्थनमा वृद्धहरू देखिएका छन् । यस्तो चाखलाग्दो तथ्यलाई नगदमा बदल्न सत्ताच्युत राजाले डाक्टर जगमान गुरुङ, नवराज सुवेदी, डाक्टर प्रकाशचन्द्र लोहनी, शास्त्रदत्त पन्तको सक्रिय समर्थन भन्दा लोकतान्त्रिक गणतन्त्रको आगमनपश्चात् रोजगारीको खोजीमा मुलुक छोड्न बाध्य ‘जेनेरेसन वाई’ र आँखा, जिब्रो एवम् छालाको निम्ति बाँचेको ‘जेनेरेसन जेड’को आक्रामक सहयोग लिन सक्नुपर्नेछ ।
यतिबेला नेपालको इतिहासलाई सम्मान गर्ने आवाज जोडतोडले चलिरहेको छ । थिलथिलो बनाइएको नेपालको संस्कृति, नेपालीपन र पुर्खाले निर्माण गरेको वैदिक परम्परालाई पुनःस्थापित गर्ने अभियानले महत्त्वपूर्ण स्थान ओगट्दै छ । पटके परिवर्तनपश्चात् भ्रष्टाचारका काण्डहरू मच्चाइयो । असीमित सङ्ख्यामा भइरहेको धर्मान्तरण रोकिएन । बालुवाटारमा बस्ने प्रधानमन्त्री सोल्टी होटेलमा रात बिताएर ‘होली वाइन’ खाने वातावरण सिर्जना गरियो । तमाम गतिविधिले मर्माहत भएको सनातन शक्ति ‘युएसएआइडी’को फिर्ती पश्चात् जुरमुराएको छ । राजा ज्ञानेन्द्रलाई सत्ताच्युत गरेपश्चात् फुक्काफाल भएको सोकल्ड नेतृत्व राजनीतिक भविष्य सकिने चिन्ताले होस गुमाउँदै छ ।
राष्ट्रको नैतिक र राजनीतिक विश्वसनीयता बढाउने समय आएको छ । द्वन्द्वको सैन्य समाधान छैन भन्ने कुराको कटु अनुभव मुलुकसँग छ । राजनीतिक द्वन्द्वको सट्टा राजनीतिक समाधानको आवश्यकतालाई जोड दिने समय आएको छ । मुलुकले शान्तिपूर्ण समाधान खोजिरहेको छ । अन्तर्राष्ट्रिय लगानी र रणनीतिक हस्तक्षेपपश्चात् रक्षात्मक बनाइएको वैदिक सनातन धर्म आफ्नै परिचित ढाँचामा फर्किने कोसिस गरिरहेको छ । नेता मोदीले पटेल डक्ट्रीन नत्यागेको, नेपालको भू-भागसमेत समेटिएको अखण्ड भारतको नक्सा संसदमा राखेको, हिन्दु धर्मलाई भारतीय अर्थतन्त्रसँग जोडेको अवस्थामा मोदी/योगीको भर पर्नु सत्ताच्युत राजाको अर्को ‘ब्लण्डर’ हुनेछ ।
प्रजातान्त्रिक समाजवाद, जनताको बहुदलीय जनवाद र माओवादको नाममा बरबाद पारिएको मुलुकमा कूटनीतिक सीपलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने अवस्था छैन । आर्थिक अवस्था राजनैतिक अर्थतन्त्रको सिर्जना हो भन्ने मुलुकले भुलिसकेको छ । स्रोतहरूको गलत बाँडफाँडमा बहुमूल्य समय खर्च गरिरहेको ‘नेतातन्त्र’ मुलुकको प्रमुख सङ्कट बनेर देखापरेको छ । स्वार्थ समूहको कब्जामा परेको लोकतान्त्रिक गणतन्त्र नीतिगत संयन्त्रमार्फत आफ्नो स्वार्थ पूरा गरिरहेको छ । राजनीतिक अस्थिरता देखाएर सङ्कटको जरा नखोज्ने लोकतान्त्रिक गणतन्त्रको सोचसँग समाजको दृष्टिकोण आजसम्म मेल खाएको छैन । ‘अहङ्कार र टकराव’लाई जीवित राखेर गरिएको राजनीतिक अभ्यास कमजोर बनाउन सत्ताच्युत राजाले मुलुकभित्रै पहल गर्नु पर्नेछ ।
‘उत्तर-दक्षिण’को स्वार्थ, चासो र चाहनालाई अनदेखा गर्दै जारी गराइएको संविधान रहेसम्म नेपालमा राजनीतिक स्थिरता सम्भव छैन भन्ने पश्चिमाहरूले राम्रोसँग बुझेका थिए/छन् । दलहरूले दक्षिणलाई दोष दिएर संविधानभित्र अन्तर्निहीत कमजोरी लुकाउने असफल कोसिस गरिरहे । संविधानभित्र रहेका कमजोरीलाई सच्याउने तागत र चाहना नभएको ओली/देउवा सहकार्य संविधान संशोधनको झुट पस्किँदै जन्माइयो । बाइडेन प्रशासनको अस्तित्व रहेसम्म नियन्त्रित अस्थिरताले निरन्तरता पायो । वर्तमान संविधान रहेसम्म युरोप/अमेरिकाको अघोषित नियन्त्रण भइरहने निचोडपश्चात् छिमेकीहरू रणनीतिक चाल चाल्दैछन् ।
हिन्दु धर्मको पुनर्स्थापना गर्ने भारतीय संस्थापनको पछिल्लो सक्रियता गणतन्त्रवादीको टाउकोदुखाइ बनिरहेको छ । संस्कृति, संस्कार, परम्परा, जातजाति, भाषा, साहित्य र कलाले धनी देश नेपालको दीर्घकालीन अस्तित्व वैदिक सनातन धर्मले अपुरो हुनेछ । यसलाई पूर्ण बनाउन बौद्ध र किराँत धर्मलाई सँगसँगै लैजान जरुरी छ । भारतीय संस्थापनले चाहेकै शैलीमा केवल हिन्दु धर्मको पछि दौडिए मुलुकमा धार्मिक द्वन्द्वको सम्भावना रहिरहने छ भने नेपालको विशिष्ट पहिचान र स्वतन्त्र अस्तित्व समेत धरापमा पर्नेछ । यसलाई बुझ्दै सत्ताच्युत राजाले मुलुकमा बसोबास गर्ने इस्लाम, इसाई, प्रकृति, बोन, जैन, बहाइ र सिख धर्मावलम्बीलाई धार्मिक सुरक्षाको ज्ञारेन्टी गर्ने विश्वास दिलाउन जरुरी छ । नेपाली माटोमा जन्मिएको वैदिक सनातन धर्म, बौद्ध, किराँत र बोन धर्मभन्दा आयातीत धर्मलाई मान्यता दिलाउने पश्चिमा राजनीतिलाई असफल गराउन राजसंस्थाले ‘मियो’को रूपमा काम गर्नेछ भन्ने देशवासीलाई विश्वास दिलाउन जरुरी छ ।
राजनीतिक दलको नुनपानी खाएर हुर्किएका नेताहरू राष्ट्रपति, उपराष्ट्रपति भइसक्दा पनि सम्पूर्ण देशवासीको हुन नसक्ने घटनाक्रमले पुष्टि गरिसकेको छ । राष्ट्रको उपराष्ट्रपति भइसकेका नन्दकिशोर पुन माओवादी केन्द्रको उपाध्यक्ष बन्दा नागरिकको अपमान भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्ष बन्न उचित समय कुर्दैछिन् । यस्तो अवस्थामा सम्पूर्ण देशवासीको बन्न सक्ने एकमात्र व्यक्ति राजसंस्थाले मात्र दिन सक्ने मुलुकले महसूस गरिरहेको छ । दशैँ, तिहार, म्हःपूजा, तीज, पञ्चकन्याको स्वागत, जीवित देवी कुमारीको पूजा, छोरी पुज्ने सनातन संस्कृति र संस्कार जोगाउन राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । नेपालको वैदिक सनातनको विशिष्ट पहिचान बुझेका ‘शक्ति’ले ५५ वर्ष लगाएर बिदा गरेको संस्था फर्काउँदै आफ्नो खुट्टामा बन्चरो हान्ने छैनन् भन्ने सत्ताच्युत राजाले बुझ्न ढिला भइसकेको छ ।
हिन्दु धर्म भनेको के हो भन्दै नेता ओलीले प्रश्न गरेजस्तो पङ्क्तिकारको प्रश्न छैन । भारतीय प्रधानमन्त्री र नेता योगीले कल्पना गरेजस्तो हिन्दु धर्मले नेपालको वैदिक सनातन धर्मको सम्बोधन हुने अवस्था पनि छैन । यतिबेला मुलुकमा राजनीतिक ध्रुवीकरणको डरलाग्दो वातावरण सिर्जना गरिएको छ । तपाईं राजावादी कि गणतन्त्रवादी भन्दै नागरिकलाई कित्ताकाट गर्ने काम गरिएको छ । तथापि, ‘राजावादी’ भन्ने शब्द आफैमा गलत नियतले जन्माइएको खुलिसकेको छ । तमाम तथ्यलाई मनन गर्दै सत्ताच्युत राजाले सार्वभौम सत्ता र राजकीय सत्ता नागरिकमा हुने मान्यता सार्वजनिक गर्न ढिला भइसकेको छ ।
अन्तमा, सत्तापक्षले जतिसुकै ध्रुवीकरण गराउने कोसिस गरे पनि देशभक्त, बौद्धिक जमात, नागरिक समाज र स्वतन्त्र नागरिक राजा ल्याउन सडकमा नजाने तर सत्ताच्युत राजा पारदर्शी सम्बोधनसहित सडकमा ओर्लिए सोच्न सकिने अवस्थामा पुगेका छन् । तीनकुने दुर्घटनापश्चात् फरार दुर्गा प्रसाईं, राप्रपा नेता राजेन्द्र लिङ्देन जस्ता पात्रले राजसंस्था आगमनको माहौल निर्माण गर्छन् भन्ने बुझाइ सत्ताच्युत राजाले त्याग्ने समय आएको छ । साथै ‘अदृश्य शक्तिको स्वार्थ र षडयन्त्र’ बुझ्दै प्रजातन्त्र र शासन-पद्धतिको बारेमा नागरिकलाई कन्भिन्स गर्न जरुरी छ । उल्लेखित तथ्यलाई अनदेखा गर्दै भविष्य खोज्न हौसिए मुलुक गम्भीर दुर्घटनाको सिकार बन्नेछ ।