सिकारी सरकार र निराशाको गहिराइ !
अमेरिकी लेखक एवम् हास्यकार लियो रोस्टेनका अर्थपूर्ण शब्दहरू बुझ्ने हैसियत सिकारी सरकारसँग देखिएन । रोस्टेनको सिकाइमा ‘कमजोरहरू क्रूर हुन्छन्, र कोमलताको अपेक्षा केवल बलियाहरूबाट मात्र गर्नुपर्छ ।’ दुर्भाग्यवश पश्चिमी उपलब्धि जोगाउन असफल कोशिस गरिरहेको ‘कमजोर सरकार’ नागरिकको इच्छा-चाहना र असन्तुष्टि सुन्नसमेत अनिच्छुक छ । पटके परिवर्तनलाई कब्जा गर्दै लुट, भ्रष्टाचार र कुशासनमार्फत दलाल र बिचौलियाको सेवामा जुट्दैछ, जसले गर्दा मुलुकको अस्तित्व खतरामा परेको छ । तमाम तथ्यलाई अनदेखा गर्दै सिकारी सरकार ‘क्रूरता’मा भविष्य खोज्दैछ ।
सत्रवर्षे कुशासनले रोगी बनेको लोकतान्त्रिक गणतन्त्र टिकाउनपर्ने अवस्थामा पुगेको छ । बाटो हिँड्ने युवायुवतीले गोली खानु परेको छ । नेतात्रयको मलिलो उद्योग जोगाउन सामान्य नागरिकले मृत्युवरण गर्नु परेको छ । मुलुक शोकमा डुबेको छ । औचित्य सकिएका नेता र सरकारको अलोकतान्त्रिक गतिविधिले लोकतान्त्रिक गणतन्त्र उजाड बनेको छ । नागरिकको जीवन नर्कमा परिणत भएको छ । असमानता, भ्रष्टाचार, विकृति र अन्यायले तमाम सीमा नाघेको छ । खेतीपातीको नियमअनुसार रोपेकै अन्न फलेको छ । पटके परिवर्तनको नाममा रोपिएका बाली काट्न नागरिक बाध्य भएका छन् ।
लोकतान्त्रिक गणतन्त्रको सङ्कटलाई टार्न बनाइएका गणतन्त्रवादीका कार्यक्रमले परिवर्तनलाई थप ऊर्जा मिल्दैछ । सञ्चारप्रविधि र सामाजिक सञ्जालको हानिकारक प्रभावले ‘नागरिक र सरकार’को बीचमा भावनात्मक सम्बन्ध टुट्दैछ । शहरीकरणको लहर, नवउदारवादको दबदबा, कृत्रिम बुद्धिमत्ता, क्रोधित युवा, सामाजिक सञ्जाल र स्मार्टफोनले परम्परागत राजनीति र शक्ति सन्तुलनमा हलचल ल्याएको छ । ‘डिजिटल विचलन’, ट्रोलिङ र आपत्तिजनक अनलाइन व्यवहार राजनीतिको आधुनिक सङ्कट बनेको छ ।
वास्तवमा, जब कुनै सरकारले आफ्नै जनताविरुद्ध अधिक शक्ति प्रयोग गर्न बाध्य हुन्छ । सरकार कमजोर र असुरक्षित भएको सङ्केतको रूपमा बुझ्नु उचित हुनेछ । असुरक्षित राज्यले सामान्य नागरिकलाई शत्रुको रूपमा देख्ने गल्ती गर्दछ । नागरिकसँग डराएको सरकार हरेक दमनलाई विजयको आधार देख्न हौसिन्छ । जसले गर्दा आफ्नै अस्तित्वलाई खतरामा पार्दछ । सरकारको अलोकप्रिय गतिविधि राज्यको विघटनको कारण बन्न सक्छ । जसलाई असफल सरकारले बुझेको देखिँदैन । बुझेको उदाहरण छैन । जुन कुरा असफल राज्यको लक्षण हो ।
राजनीतिक सिद्धान्त बुझेको सेनाले सदा सदैव मजबुत देशको वकालत गरिरहेको हुन्छ । सरकारको अपारदर्शी र अलोकप्रिय कार्यक्रमले राजनीतिक अस्थिरतालाई निम्त्याउँछ । जसले शासकलाई कुशासनतर्फ लम्किन बल प्रदान गर्दछ । अन्ततः नागरिकले बलिदान दिनुपर्ने अवस्थातर्फ धकेल्छ । राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पुऱ्याउँछ । दुर्भाग्यवश खल्लो दम्भमा बाँचिरहेको सरकारले मुलुकलाई विद्रोह र द्वन्द्वको भुमरीमा पार्दैछ । मुलुकको अस्तित्वलाई खतरामा पार्दैछ ।
सरकारले राजनीतिक समाधान खोज्नुको सट्टा उत्ताउलो बन्दैछ । खल्लो र असफल उपायहरू अपनाउँदै छ । जसले बढ्दो सार्वजनिक असन्तुष्टिलाई बढाउँदै छ । सरकार दिन प्रतिदिन गैरजिम्मेवार बन्दैछ । जनताको विश्वास गुमाउँदै छ । जबरर्जस्ती शक्तिको प्रयोगले अस्थायी शान्ति सुनिश्चित मात्र गर्न सक्छ । दीर्घकालीन शान्तिको कल्पना गर्नु मूर्खता र मुलुकविरुद्ध धोका मात्र हो । विगतमा धेरै मुलुकले गर्दै आएको गल्ती मुलुकले दोहोऱ्याउँदै छ । यसले परिस्थितिलाई अझ बिगारेको छ । सरकारद्वारा सम्पन्न कुशासनले सिर्जना गरेको डढेलो मुलुकमा फैलिएको छ । जबर्जस्ती शक्ति प्रयोग गरेर यसलाई निभाउन असम्भव छ ।
शहीदको रगत बिर्सिएको सरकार विचारहीन र दमनकारी नीति अँगाल्न न्वारनदेखिको बल लगाउँदै छ, जसको मूल्य मुलुकले चुकाइरहेको छ । सरकारसँग जनताको विश्वास जित्ने स्पष्ट नीति र कार्यक्रम हराएको लामो समय भइसकेको छ । सिकारी राज्यले लोकतान्त्रिक गणतन्त्र दिएको बहानामा जनताको हितलाई तिलाञ्जली दिएको छ । मतादेशको दम्भ देखाउँदै बहुमूल्य समय बरबाद गरिरहेको छ । खल्लो शासकीय अभिव्यक्ति र उन्मत्त व्यवहार देखाउन मरिहत्ते गरिरहेको सरकारले नागरिकको भावना र चाहनाको खिल्ली उडाइरहेको छ ।
वास्तवमा, सार्वजनिक असन्तुष्टिलाई कानुनको बलमा नियन्त्रण गर्ने दम्भले सरकारलाई रक्षात्मक बनाएको छ । भ्रष्टाचार र उत्पीडन विरुद्ध बढ्दो जन-असन्तोषको सम्बोधन गर्नुको सट्टा कथित लफ्फाजीको प्रयोग गर्न हौसिएको छ । व्यवस्था र प्रणालीको खुस्किएको पेच किला कस्न असफल भएको सरकारले राजनीतिक जिम्मेवारीलाई अनदेखा गरिरहेको छ । त्यागलाई चटक्क बिर्सेको सत्ताले मुठभेड र हिंसालाई स्वागत गरिरहेको छ । नालायकी र कथित व्यवहारले भयानक रूप लिएको बिर्सेर जबर्जस्ती गरिरहेको छ । जसले गर्दा ‘गणतन्त्रका श्री ३’हरू थप बदनाम बन्दैछन् ।
मुलुकमा जे भइरहेको छ, नागरिकको पक्षमा नरहेको खुलिसकेको छ । नागरिक र लोकतान्त्रिक गणतन्त्रको ‘आधारभूत मूल्य र मान्यता’लाई राज्यले इन्कार गर्दाको परिणाम हो । छुच्चो बोली र अलोकतान्त्रिक गतिविधि कमजोर शासनको सङ्केत हो । कुनै पनि सरकारले आफ्ना नागरिकको मन तब मात्र जित्न सक्छ, जब नागरिकको प्रतिनिधित्व र इच्छाको सम्मान गर्दछ । दुर्भाग्यवश दमनकारी राज्यले उल्लेखित विचारलाई बुझ्न सक्दैन । फलस्वरूप नागरिकको विश्वसनीयता गुमाउँदै लोकतान्त्रिक मागलाई दबाउन उत्रिन्छ ।
‘सिकारी राज्य र सरकार’ले नागरिक समर्थनको आशा गर्न सक्दैन । नागरिकको मौलिक अधिकार हडपेर लोकतन्त्रको अभ्यास गरिरहेको सिंहदरबार आजसम्म जवाफदेही बन्न चाहेन । राज्यको गैरजिम्मेवार गतिविधिले आफ्नै जनताको विश्वास गुमाउँदा मुलुक नयाँ द्वन्द्वमा फस्दैछ । सुरक्षा चुनौतीलाई थेग्न नसकेको राज्यले जनताबीचको बढ्दो खाडललाई पुर्न सक्दैन । वास्तवमा वर्तमान सत्ता, शासक र प्रणालीले नागरिकलाई सन्तुष्ट राख्ने सम्भावना लगभग टुटेको छ ।
सत्तारुढ या सत्तासीन पार्टीका कार्यकर्ताको व्यवस्थापनले राज्य संस्थालाई ध्वस्त पारिरहेको छ । सत्ताको अराजनीतिक गतिविधिको बोझले थलिएको न्यायपालिकाले आफ्नो स्वतन्त्रता र पवित्रता जोगाउन हम्मे-हम्मे परेको छ । न्यायपालिकामाथि लादिएको बोझको छिनोफानो समयमा गर्न नसक्दा मुलुकमा कानुनको शासन रहेको महसूस पातलो बन्दैछ । निःसन्देह मुलुकमा विदेशी हस्तक्षेपको निरन्तरता टुट्न सकेको छैन । बाह्यशक्तिको भूमिकाले चिन्तित नभएका राजनीतिक दलहरू कुर्सी स्वार्थमा सबै अनुपयुक्त विषयलाई बिनासर्त स्वीकार गरिरहेका छन् । राज्यको असफलता देखिने गरी आएको पछिल्लो अवस्थामा विदेशी हस्तक्षेपको लागि अनुकूल परिस्थिति सिर्जना गरेको छ ।
मुलुकको जोखिम महत्त्वपूर्ण स्तरमा पुगेको छ । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सरकारको उपस्थिति घट्दै गएको छ । समाजवादउन्मुख संविधानको मूल्य ओरालो लागेको छ । जनता झुक्क्याउन डिजाइन गरिएको संविधान बचाउनुपर्ने अवस्थामा पुग्दैछ । परिवर्तनको रङ्ग धमिलो भएको छ । निषेधको राजनीतिले द्वन्द्व सम्भव मात्र होइन; अपरिहार्य छ भन्ने अवस्थातर्फ धकेलिएको छ । वास्तवमा लोकतान्त्रिक गणतन्त्र बदनामीको कारण राष्ट्रपति ट्रम्प, प्रधानमन्त्री मोदी होइनन्, यसको प्रमुख कारण ‘गणतन्त्रवादीको कुशासन’ हो भन्ने नागरिकको ठम्याइ छ ।
सिंहदरबारले आफ्नो दृष्टिकोण साँघुरो बनाउँदै छ । युवाहरूमा आक्रोश रोप्दैछ । सम्पूर्ण जनसङ्ख्यालाई समायोजन गर्ने दूरदर्शी नीति त्याग्दैछ । कानुन प्रवर्तनकर्ताद्वारा गरिएको कठोर व्यवहार र सडकमा देखिएको ताण्डवले मुलुक असफल राष्ट्रको मुखैमा छ । सिंहदरबारले सिर्जना गरेका तथाकथित गतिविधि र कार्यशैलीपश्चात् मुलुकले सामना गर्नुपर्ने कठिनाइ अनियन्त्रित बन्दैछ । नागरिक बीचमा ध्रुवीकरण र शत्रुतालाई योगदान पुऱ्याउँदै छ । प्रणालीमा विश्वास पुनर्स्थापित गर्न जवाफदेहिता सुनिश्चित गर्नुपर्नेछ । दुर्भाग्यवश नेतात्रयको ‘लुट’लाई यथावत् राखेर नागरिकको आक्रोशलाई शान्त पार्न सकिँदैन भन्ने लोकतान्त्रिक गणतन्त्रवादीले बुझ्न ढिला भइसकेको छ ।
अन्तमा, समाधान सरल थियो र छ- नेतात्रयको आत्मसमर्पण र राजनीतिक सन्न्यास । अत्याचार, जबर्जस्ती र अतिरिक्त बल प्रयोगले कसैलाई सुरक्षित राख्दैन । कथित नेतृत्वलाई तत्काल विवेकपूर्ण मार्ग अपनाउन नागरिकले अनुरोध गरिरहेका छन् । नेतात्रयले दमनको बाटो रोज्नु भयानक मूर्खता हुनेछ । नागरिकलाई स्वाभिमानी नेपाली भएर बाँच्न नदिने खेल डरलाग्दो अवस्थामा पुगेको छ । भूराजनीतिक शक्तिको रणनीतिक सक्रियता, सिकारी सरकारको कुटिल चाल र नागरिकभित्र उत्पन्न निराशालाई चिर्न असल मानिस सक्रिय राजनीतिमा हामफाल्ने उचित समय आएको छ । मुलुकले भोगिरहेको जटिल परिस्थितिलाई अनदेखा गरिए स्वाभिमानी नेपालीहरूको आगामी दिन ‘नेपाल’ खोज्दैमा बित्नेछ ।