ट्रम्प राष्ट्रवादको साइड इफेक्ट !
नाजी यातना शिविरका प्रमुख प्रशासक Oswald Pohl भन्ने गर्थे- ‘समस्या हत्या होइन; शवहरूको व्यवस्थापन हो’ । हिट्लरको पराजयपश्चात् समातिएका ओस्वाल्ड पोहल मानवता विरुद्धको अपराधमा कानुन अनुसार मारिए । दुर्भाग्यवश हिट्लरलाई हराएको उन्मादमा अमेरिका आफै ‘ओस्वाल्ड’हरू जन्माउन हौसियो । रणनीतिक स्वार्थको निम्ति विश्वभर जन्माइएका ओस्वाल्डहरुको ‘अपराध र अर्थ’को व्यवस्थापन गर्दागर्दै खोक्रो भएको अमेरिकी अर्थतन्त्र सपार्ने अभियानमा राष्ट्रपति ट्रम्प निस्किएका छन् ।
ट्रम्प राष्ट्रवादको आँधीले अस्थिर विश्व-व्यवस्थालाई थप अस्थिर बनाइरहेको छ । उनको एक्सनले विश्व राजनीति ‘प्रसव पीडा’मा छ । नाजी विचारको पराजय पश्चात् युरोपलाई विशेष महत्त्व दिँदै आएको अमेरिका विगतको धारणामा आमूल परिवर्तन गर्न हतारिएको छ । राष्ट्रपति ट्रम्पद्वारा जान अनजानमा लिएका नीतिले पुरानो युगलाई बिदा दिँदै छ । ‘मेक अमेरिका ग्रेट अगेन’को नारा दिएर पुनः उदाएका राष्ट्रपति ट्रम्पले राष्ट्रवादको मदिरा पिएका छन् । उनको पछिल्लो गतिविधिले विश्वलाई ‘राष्ट्रवाद’को मदिरा पिउन बाध्य पार्दैछ ।
फ्रान्स, बेलायत र जर्मनीले अमेरिकी प्रभुत्वबाट मुक्त हुन रणनीतिक कसरत गर्दै आएको छ । फ्रान्सले पश्चिमी गठबन्धनभित्र बस्दै आफ्नै आणविक क्षमता विकास गर्न मरिहत्ते गरिरहेको छ । अमेरिकी गुप्तचर सङ्कलनमा मात्र निर्भर नहुने फ्रान्सको निर्णय दूरदर्शी साबित भएको छ । विगतको प्रभाव कायम राख्न युरोपलाई ठुलो सैन्य शक्ति र भूराजनीतिक सहयोग चाहिन्छ । सौभाग्यवश युरोपको भ्रम र औपनिवेशिक पूर्वाग्रहहरू कायमै राखेर अगाडि बढ्न कठिन छ भन्ने दिव्यज्ञान राष्ट्रपति ट्रम्पभित्र पलाएको छ ।
राष्ट्रपति ट्रम्प अमेरिकी उत्पादनलाई घर फिर्ता ल्याउन दृढ छन् । जसलाई सफल बनाउन विदेशी उत्पादन माथि अतिरिक्त ‘कर’ लगाउँदै छन् । जसले गर्दा विभिन्न देशमा छरिएका ‘अमेरिकी प्लान्ट’लाई घर फर्किन बाध्य पार्नेछ । अमेरिकाले ‘अत्यधिक विशेषाधिकार’को फाइदा उठाउँदै आएको छ । जसले गर्दा अर्थतन्त्रमा ठुलो धक्का लाग्न रोकेको छ । अमेरिकामा उत्पादन लागत चीन या युरोपको तुलनामा धेरै छ । अतिरिक्त कर र डलरको बलियोपनले व्यापारमा लागत थपिँदा सम्भावित लाभलाई हानी गर्नेछ । यद्यपि राष्ट्रपति ट्रम्पको साहसी नीतिले अर्थतन्त्रलाई अपूरणीय क्षति पुऱ्याउन सक्छ भन्ने अनदेखा गरिरहेका छन् ।
वैश्य युगमा अमेरिकी नीतिको कारणले राज्यहरू कल्याणकारी बन्न सकेनन्/पाएनन् । सामाजिक सेवाहरू देख्न नपाएको झोँकमा युवा क्रोध, जियो पोलिटिक्स र अर्थ पोलिटिक्स जागेर आएको छ । जसको राजनीतिक मूल्य गरिब मुलुकले चुकाउँदै आएको छ । सन्धि, ग्यारेन्टी र ‘सार्वभौम सिमानाहरू’ शक्तिको अगाडि अर्थहीन बन्दैछ । अमेरिकासँग विशाल हतियार उद्योगको बाबजुद राष्ट्रपति ट्रम्प शान्तिको वकालत गर्दैछन् । युक्रेन युद्ध बन्द गर्ने ट्रम्पको सक्रिय प्रयास ‘डिप-स्टेट’को टाउकोदुखाइ बन्दैछ । अमेरिकी/युरोपियन ‘डिप-स्टेट’को उद्देश्यमा भर नपर्न चेतावनी दिने ट्रम्पशैली नयाँ सिद्धान्तको रूपमा उदाउँदै छ । यसै सन्दर्भमा राष्ट्रपति ट्रम्पले सूक्ष्म भूराजनीतिक चालबाजीको प्रयास गरिरहेका छन् । ‘रुस’लाई चिनियाँ गठबन्धनबाट टाढा राख्न खोजिरहेका छन् । जसलाई बुझ्दै चिनियाँ विदेशमन्त्री वाङ भन्छन्; ‘चीन-रुस सम्बन्ध अशान्त संसारमा स्थिर छ, भूराजनीतिक खेलहरूमा परिवर्तनशील होइन ।’
राष्ट्रपति ट्रम्पले महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएका उपराष्ट्रपति जेडी भान्सलाई असफल ओभल वार्ताको दौरान विश्वले चिन्न पाएको छ । भान्स तिनै व्यक्ति थिए, जसले युक्रेनी राष्ट्रपति जिलेन्स्कीलाई पासोमा पर्न उक्साए । अमेरिकी मिडियाको दाबीअनुसार स्क्रिप्ट गरिएको जालमा जिलेन्स्कीलाई पारियो । अर्थहीन युद्धको लागि कुनै लगानी नगर्ने ट्रम्प प्रशासनको नीतिलाई भान्सले सफल बनाए । मार्को रुबियो र माइक वाल्टको तीसदिने युद्धविराम प्रस्तावसमेत विशेष योजनाअन्तर्गत आएको रुसले बुझिसकेको छ । अस्थायी युद्धविरामको बदलामा युक्रेनलाई रोकिएको हतियार र खुफिया सूचना उपलब्ध गराउने अमेरिकी चालको जवाफ राष्ट्रपति पुटिनले सैनिक पोसाक लगाएर दिएका छन् ।
वर्षौं लगाएर जन्माएको ‘नवजात नेता’ (जिलेन्स्की)को बचाउमा अमेरिकी डिप-स्टेट अन्तिम उपाय लगाउँदैछ । केयर स्टामरदेखि इमानुएल म्याक्रोन र पेड्रो सान्चेजदेखि डोनाल्ड टस्कसम्मले राष्ट्रपति ट्रम्पलाई शक्ति देखाउन हतारिएका छन् । रातारात सहकर्मी परिवर्तन गर्न हौसिएको ट्रम्प प्रशासन नेटोको नाडी छाम्दैछ । अप्रत्याशित र अनपेक्षित फाइदा नमिल्ने मुलुकसँग ट्रम्प-राजनीतिको मोहभङ्ग भएको छ । ट्रम्प राष्ट्रवादले ‘ट्यारिफ वृद्धि’लाई अनिवार्य देख्दैछ । विश्वलाई व्यापार युद्धमा होम्दै अमेरिकालाई महान् बनाउने अभियान चलाइएको छ । दुर्भाग्यवश ट्रम्प आँधीको चेपुवामा गरिब मुलुक पर्दैछन् ।
ट्रम्पको व्यापार युद्धले सम्पूर्ण आर्थिक रणनीतिलाई पुनः क्यालिब्रेट गरिरहेको छ । विश्व राजनीतिमा महत्त्वपूर्ण परिवर्तन आउँदैछ । ट्रम्प प्रशासनको आर्थिक नीतिले विश्वको दृष्टिकोणमा परिवर्तन ल्याउँदैछ । राष्ट्रपति ट्रम्पको ‘५१औँ राज्य’को बयानबाजीले क्यानडाको जमिन हल्लिएको छ । ट्रम्प प्रशासनको नीतिले आश्चर्यमा परेको क्यानडा स्वतन्त्र अस्तित्व कायम राख्न सम्पूर्ण तागत लगाउँदैछ । सार्वभौमिकता र सार्वभौम सत्ताको सैद्धान्तिक मान्यतामा गर्व गर्ने मुलुकहरुको नजरमा ट्रम्प मान्यता ‘अस्वीकार्य’ छ । दशकौँदेखि चलिआएको मूल्य, मान्यता र विश्वास भत्किँदछ ।
निराशाको र अनिश्चितताको बाबजुद क्यानडा ठिङ्ग उभिएको छ । नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नी, क्यानडाका नागरिक र दलहरूले राष्ट्रवादी जुलुस निकाल्न जरुरी ठान्दैनन् । कुनै तोडफोड, जिन्दावाद र मुर्दावादको नारा लगाउन आवश्यक देखेनन् । क्यानडा शान्त छ । क्रोधको सट्टा व्यावहारिकतामा आधारित आर्थिक राष्ट्रवाद हाबी छ । उनीहरू आत्मसंरक्षण र आत्मसम्मानतर्फ लम्किँदै छन् । अमेरिकालाई व्यापारिक साझेदारमा सीमित गर्दैछन् । उनीहरू विगतको जस्तो छिमेकी हुन राजी छैनन् । मुलुकका कथित राष्ट्रवादीले सिक्न चाहेमा क्यानडा-अमेरिका टसल गज्जबको उदाहरण हुनेछ ।
दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घको शक्तिबाट बच्न युरोपले अमेरिकालाई नेता मान्दै आएको छ । दुर्भाग्यवश ‘युरोप’ले चाहेजस्तो सुरक्षा युक्रेनलाई दिएन । ध्वस्त अर्थतन्त्र र अकल्पनीय मानवीय क्षतिले जिलेन्स्कीलाई ट्रम्प प्रशासनको धुनमा नाच्न विवश बनाएको छ । असफल ओभल वार्तापछि नेता जिलेन्स्की बुझ्दैछन्- ट्रम्प प्रशासन ‘शान्ति’को लागि मध्यस्थता गरिरहेको छैन, आफ्नै हितलाई ध्यान दिँदैछ । युक्रेनको समर्थनमा युरोपले अमेरिकासँग अतिरिक्त सहयोगको अपेक्षा राख्नु जायज छ । सोभियत सङ्घको विघटनपश्चात् युरोपले ‘अमेरिका’लाई साम्राज्यवादी नीतिको मूल्य तिरिरहेको छ । जसलाई गहिरोसँग बुझेका फ्रान्सेली नेता म्याक्रोनले ट्रम्पको हात छोएर सम्झाए । युक्रेन युद्धको लगभग ६० प्रतिशत मूल्य युरोपले चुकाएको छ ।
युरोपलाई ‘हतियार र ऊर्जा बिक्री’ गर्दै ठुलो नाफा कमाएको अमेरिकाले विशेष खनिजतर्फ ध्यान केन्द्रित गरिरहेको छ । जबसम्म अर्को ‘पर्ल हार्बर’ अमेरिकाले भोग्दैन, तबसम्म अमेरिका रुससँग युद्धमा होमिँदैन । आजको संसार अमेरिकाद्वारा धकेलिएको भूमण्डलीकरणमार्फत अझ बढी अन्तरसम्बन्धित हुँदैछ । पुटिनप्रति न्यानो समझदारी कायम गर्न युरोप र जिलेन्स्कीलाई त्याग्न तयार छन् । द्वन्द्वलाई घृणा गर्ने राष्ट्रपति ट्रम्प बेन्जामिन नेतान्याहू र इजरायललाई त्याग्न तयार छैनन् । त्यसैगरी इरानलाई अर्थपरक सन्देश दिन यमनमा सक्रिय ‘हुथी विद्रोही’माथि भीषण आक्रमण गर्दैछन् । साथै पुनर्निर्माणको बहानामा ‘गाजा’ कब्जाको ब्लुप्रिन्ट तयार गर्दै छन् ।
यतिबेला ट्रम्प प्रशासन ‘ग्रिन कार्ड धारक’लाई समेत देशनिकाला गर्न हौसिएको छ । अभिव्यक्ति स्वतन्त्रताको अधिकार ग्रिन कार्ड धारकमा लागू नहुने निर्णयमा ट्रम्प प्रशासन पुग्दैछ । भविष्य बनाउन अमेरिका पुगेका नागरिकलाई राष्ट्रपति ट्रम्पले बुझ्नेगरी भनेका छन्- ‘अमेरिकालाई आफ्नो मान्ने र ठान्ने भूल नगर ।’ पूर्ण समय अमेरिका नबस्नेलाई ग्रिन कार्ड राख्न असम्भव बनाउन ट्रम्प प्रशासनले गतिलो कदम चाल्दैछ । विगतमा मल्टीपल भिसा लिएका तर हाल अमेरिकामा नभएकाहरू नयाँ समस्यामा पर्दैछन् । भिसा भएका तर हाल अमेरिकामा रहेकाहरू भिसाको म्याद नसकिएसम्म त्यहाँ बस्न सक्छन् तर भिसा नवीकरणको झमेलामा पर्न सक्नेछन् ।
अन्तमा, कुशासन र आर्थिक सङ्टमा थलिएको मुलुकलाई थप नपाल्ने ट्रम्प प्रशासनको राष्ट्रवादी निष्कर्षले गणतन्त्रको जग हल्लिएको छ । विदेशी सहयोगमा सास धानिरहेको ‘व्यवस्था र प्रणाली’ आफ्नै बलबुतामा बाँच्न नसक्ने पुष्टि भएको छ । राजस्वले पाल्न नसक्ने व्यवस्था र प्रणाली कसरी उन्नत हुन्छ ? ऋण काढेर घ्यु कहिलेसम्म खाने ? सहयोग गर्नेले ‘फ्रड’ भनिसके । अब ऋण दिनेले फ्रड भनेमा के गर्ने भन्ने अवस्थामा मुलुक पुगेको छ । हाइब्रिड पञ्चहरूले मच्चाएका कथित गतिविधि र कार्यशैलीले जर्जर भएको पश्चिमी उपलब्धिप्रति नागरिकको मन्तव्य बदलिँदैछ । पश्चिम शान्त भएको मौका छोप्दै दक्षिण जागेको छ । मुलुकलाई राजनीतिक द्वन्द्वमा फसाउने तारतम्य मिलाइएको छ । ट्रम्प-राष्ट्रवादको साइट इफेक्टले थलिएको राजनीति ‘मुलुक रोज्ने कि व्यवस्था’ भन्ने अवस्था झेल्न विवश हुँदैछ ।