‘अपिल’ सकिएको हाइब्रिड राजनीति !


पटके परिवर्तनको दौरान र परिवर्तनपश्चात् मुलुकमा बाँडिएका तमाम सपनाहरूको औपचारिक मृत्यु भइसकेको छ । मुलुकमा सोकल्ड नेतृत्वको तिलस्मी वाचा र विकास त परको कुरा केवल शुद्ध हावा समेत लिन नपाएको अवस्था छ । उकालो लागेको वायु प्रदूषणले गरिब नागरिकको आयु घटाउँदै छ । शहरमा रोगीको सङ्ख्या थपिँदै छ । अकाल मृत्यु भोग्नेहरू थपिँदै छन् । हावा सफा गर्ने महत्त्वपूर्ण जिम्मेवारीसमेत मनसुनपश्चात् भित्रिने वर्षालाई सुम्पेर ‘तर’ मारिरहेका कथित सरकारहरूले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दैआएका छन् ।

‘निष्ठा र पारदर्शिता’ बिसाएको सिंहदरबारसँग देशवासीको कुनै अपिल बाँकी छैन । घृणा, आक्रोश र षडयन्त्रको फाइदा उठाउँदै कुर्सीमा पुगेको/पुऱ्याइएको कथित सहकार्य आँखा चिम्लेर अपराधको ढाकछोपमा जुटेको छ । लोकप्रियता खस्केको झोँकमा कडा कानुनमार्फत भविष्य सुनिश्चित गर्न मरिहत्ते गर्दै छ । सिर्जना, गतिशीलता, सुरक्षा, पारदर्शिता र जवाफदेहिता जस्ता शब्दलाई मिल्काउँदै हाइब्रिड लोकतन्त्रको अन्तिम भोज खान ब्यस्त छ । बजारको विकास, नवप्रवर्तन र आर्थिक उत्पादकत्वलाई बढावा दिने रणनीतितर्फ आक्रामक ढङ्गले अघि बढ्नुको सट्टा दलाल र बिचौलियाको सेवा-सुविधामा दिनरात एक गर्दै छ ।

असीमित स्वतन्त्रता उपभोग गर्न चाहने युवापुस्ता अवसरवादी बनेकोमा कथित ‘सहकार्य’ खुसीले झुम्दै छ । ‘देशभक्त र क्रान्तिकारी’ बन्नुपर्ने युवा पुस्ता मुलुक र राजनीतिबाट पलायन भएकोमा ३५वर्षे ‘कथित लोकतान्त्रिक जुका’हरू प्रफुल्ल छन् । सिद्धान्त र त्याग बिसाउँदै मोजमस्तीमा डुबेको कथित नेतृत्वले युवा पुस्तालाई देशभक्ति र नैतिकताको पाठ पढाउन नपरेकोमा अट्टहास गर्दै छ । अन्तरनिहीत कमजोरी सच्च्याउँदै सर्वसाधारण नागरिक र ‘जेनेरेसन जेड’सँग हातेमालो गर्नुको सट्टा दलाल/बिचौलियाको सेवामा मरिहत्ते गरिरहेको शासकले नागरिकसँग अपिल गर्ने जनादेश र मतादेश गुमाएको छ ।

सत्ताको कमजोरी उकालो चढ्दै छ । सोसल मिडियासँग असन्तुष्ट सत्ता सोसल मिडिया युजरलाई हराउन असफल कोसिस गरिरहेको छ । असम्भव साझेदारहरूको तथाकथित सहकार्यमार्फत कार्यपालिकाको हातमा अथाह शक्ति केन्द्रित गर्ने कोशिस गरिएको छ । न्यायपालिकाको स्वतन्त्रतालाई कमजोर बनाउने प्रयास रणनीतिक ढङ्गले चलाइएको छ । कृषि क्षेत्रको उत्पादकत्व घट्दै छ । निजी क्षेत्रले कम मूल्य अभिवृद्धि वस्तुहरू उत्पादन गरिरहेको छ । अर्थमन्त्रीको असक्षमता र कुशासनको कारण अर्थतन्त्रको क्षमता थप खस्किँदै छ । समाज खण्डित र ध्रुवीकृत छ । सामाजिक विभाजनहरू गहिरो हुँदै गइरहेको छ । युवाहरूलाई मूल्य, मान्यता र नैतिकताले सताउन छोडेको छ ।

पाइला-पाइलामा हार्दै गएको सत्ता विजयी महसूस गरिरहेको छ । उनीहरूले बुझ्न सकिरहेका छैनन्- शक्तिको प्रक्षेपण उल्टो दिशामा चलिरहेको छ । असन्तुष्टिको मुहानहरू थपिँदै छन् । सत्ताले खडा गरेको चुनौती फरक नाम, फरक ब्यानरमा देखा पर्दैछन् । यद्यपि चुनौतीलाई रोक्ने पर्याप्त बल सत्ताले विकास गरेको देखिँदैन । प्रजातन्त्रको बुई चढेर मुलुक प्रवेश गरेको ‘दलाल पुँजीवाद’ले पुर्खाको सिप र व्यापारलाई भत्काउँदै छ । एकरूपताले विविधतालाई खतरामा पार्छ भन्नेहरू नै एकरूपता स्थापित गर्न मरिहत्ते गरिरहेका छन् । अमेरिकी समाजशास्त्री जर्ज रिटजरले द म्याकडोनाल्डाइजेसन अफ सोसाइटीमा नयाँ पुस्ताको दुविधाको व्याख्या गरेका छन् । दुर्भाग्यवश सोही शक्ति हाइब्रिड लोकतन्त्रमार्फत सांस्कृतिक भूमण्डलीकरणको सिद्धान्तलाई ढलान गर्न निरन्तर ‘नियन्त्रित अस्थिरता’ मच्चाउँदै छ ।

वैश्य युगको सत्ताले आम मानिसको महत्त्वपूर्ण मुद्दालाई सकारात्मक अवलोकन गरेको भेटिँदैन । मध्यम वर्गको आर्थिक पतनको बीचमा उकालो चढेको असमानताले आम नागरिकको दैनिकी पहुँचबाहिर पुग्दै छ । आयातित उपलब्धिले समाजको विखण्डन, राजनीति र सामाजिक संरचनालाई असर गरिरहेको छ । सत्तामा रहेका तथाकथित खेलाडीहरू यथास्थितिमा परिवर्तन होस् भन्ने चाहँदैनन् । तथापि, डिजिटल टेक्नोलोजी र सोसल मिडिया युजर मार्फत आउँदै गरेको परिवर्तनले आतङ्कित बन्दै छन् ।

जीवनयापनमा बढ्दो लागत, शिक्षा र स्वास्थ्यमा चुलिएको असमानताले नागरिकमा गम्भीर हलचल ल्याउँदै छ । पछिल्लो समयमा शिक्षित युवायुवतीको बुझाइमा नागरिकको समस्याको समाधान प्रविधिको प्रयोगमार्फत गर्न सकिन्छ । दुर्भाग्यवश आश्चर्य र अचम्म यो छ कि प्रविधिले हाम्रो जीवन र सोचलाई नष्टगरिरहेको छ । रणनीतिक ढङ्गले सङ्कलन गरिएको मेटा डाटाले मुलुक बरबाद भइरहेको छ । नागरिकको गोपनीयतामा आक्रमण गरिरहेको छ । निकट भविष्यमा मानव स्वयंले कृत्रिम बुद्धिमत्ता नियन्त्रण गर्न सक्षम हुनेछ कि छैन भन्ने डर बढ्दै छ ।

वर्तमान पुस्ता टेक्नो सामन्तवादको सिकार भएको छ । उनीहरू सीमित विकासमा सन्तुष्ट भएर बस्न राजी छैनन् । युवा पुस्ताको सोच, शैली र भावनाको सम्मान गर्ने, आफ्ना कुरा सुन्ने, युवा धारणालाई आत्मसाथ गर्ने राजनीतिक नेतृत्व र दलको खोजी गर्दैछन् । उनीहरू असीमित स्वतन्त्रताको उपभोग गर्न रुचाउँछन् । परिवार, राजनीतिक दल र देशको महिमा गाएर बस्न तयार छैनन् । राजनीतिमा आएको बदलावभन्दा प्रविधिलाई मुलुक निर्माणको आधार ठान्दैछन् । किसान, मजदुर र भुइँमान्छेको हितमा बोल्नुको सट्टा हल्काफुल्का आलोचना, टालटुले स्टण्टमा बहुमूल्य समय बरबाद गर्दैछन् ।

विश्वसँग हाम्रो प्रमुख भिन्नताहरू व्यक्तिगत र सामाजिक मूल्यसँग जोडिएका छन् । हाम्रो स्वायत्तता र स्वतन्त्रतालाई नियन्त्रण गर्नको लागि डिजिटल प्रविधिको प्रयोग भइरहेको छ । स्मार्टफोनको विस्तारित निर्भरताले हाम्रो जटिल प्रकृतिलाई प्रतिबिम्बित गरिरहेको छ । वैश्य युगमा मुलुकको हैसियत कहाँ छ ? चाखलाग्दो कुरा के छ भने सम्भ्रान्त वर्गमा अविश्वासको कुरा आउँदा हामी दक्षिण-पश्चिमको साथमा भेटिन्छौँ । यद्यपि आधुनिक प्रविधिको युगमा हाम्रो चुनौतीको समाधान गर्न उनीहरूको सकारात्मक साथ र सहयोग पाएको देखिँदैन ।

सोकल्ड नेतृत्वले आफूलाई महान् भन्दै आएका छन् । झूटो आशाको मार्केटिङ गर्दा-गर्दा बदनाम बनेको नेतृत्वसँग राजनीतिक अपिल सकिएको छ । आधुनिक व्यापार र अर्थशास्त्र बनेर उदाएको ‘सोसल मिडिया र एआई’को रणनीतिक फाइदा उठाउने ल्याकत उनीहरूसँग देखिँदैन । एआईले असमानतालाई गहिरो बनाउन सक्छ भन्ने एआईका गड फादर ‘जेफ्री हिन्टन’को चेतावनीसँग उनीहरूको गोरु बेचेको साइनो छैन । ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स अध्ययनअनुसार ‘एआई’ले २०३० सम्म विश्वव्यापी अर्थतन्त्रमा १५.७ ट्रिलियन डलर योगदान गर्ने प्रक्षेपण गरिएको छ । ‘एआई’आधारित रोजगार तत्काल सुरु हुँदा मुलुकमा कस्तो असर पर्न सक्छ भन्ने जवाफ उनीहरूको शब्दकोषमा छैन । ट्रम्प-आगमन र एआई-क्रान्तिपश्चात् विश्व ‘नयाँ शीतयुद्ध’मा फस्ने खतरा चुलिएको छ । यद्यपि प्राविधिक शिक्षा, स्वतन्त्रता प्रवर्द्धन, प्रतिभा विकास र पलायन रोक्न एआईको भूमिका हुनसक्छ भन्ने बुझ्दै नयाँ शीतयुद्धको फाइदा उठाउने उपयुक्त समय आएको छ ।

डिजिटल अधिकार २१औँ शताब्दीमा मानव अधिकारको पर्यायवाची बनेर उदाउँदै छ । ट्रम्प-आगमनपश्चात् अभिव्यक्ति स्वतन्त्रताको नाममा सोसल मिडिया अराजकता मच्चाउने खर्च रोकिएको छ । विकसित देशको चमकधमक र व्यक्तिकेन्द्रित समाज मन पराउने वर्तमान पुस्ताले मुलुकको हैसियत र सम्भावना बुझ्न सकेको छैन । कमाउँदै पढ्न चाहेको पछिल्लो पुस्ता ‘हाइब्रिड राजनीति’को अपिलमा रम्न इच्छुक छैन । उनीहरूको भावना बुझ्न नसक्ने नेतृत्वप्रति गम्भीर अविश्वास जाहेर गर्दै छ । राजनीतिक नेतृत्व र राजनीतिसँग ‘अपिल’ हुन्छ र हुनुपर्छ भन्ने नबुझेको युवापुस्ता तथाकथित स्टण्टबाजीलाई राजनीति ठान्दै छ । फेरिएको आर्थिक, सामाजिक ‘हैसियत र महत्त्वाकाङ्क्षा’ले युवायुवतीको निर्णय क्षमता घटाउँदै छ । नागरिकको भविष्य र भावना लत्त्याउँदै वैदेशिक सहायता र आन्तरिक स्रोतको लुटमा व्यस्त व्यक्ति र संस्थालाई आदर्श ठान्दै छन् ।

मुलुक नबनाउने सर्तमा कसैले भारतको खाए, कसैले चीनको खाए । पाउन्ड, युरो र डलर खानेले घर पोलेर खरानीको व्यापार गरे । मुलुकले सम्मान गरेका नामचिन कथितहरूले ‘युएसएड’को खेताला बन्दै सनातन धर्म, भाषा र संस्कृतिमाथि आक्रमण गरिरहे । सौभाग्यवश राष्ट्रपति ट्रम्पको आगमन पश्चात् ‘युएसएआइडी’को स्वतन्त्र अस्तित्व खोसिएको छ । ट्रम्प प्रशासनले औचित्यहीन खेतालाहरूलाई थप नपाल्ने अस्थायी निर्णय गरेको छ । जसले गर्दा ‘युएसएआइडी’को कथित लगानीमा हुर्किंदै गरेको सङ्घीयता र धर्मनिरपेक्षता मृत्युशय्या पुग्दै छ । ट्रम्प प्रशासनको अवरोधका बाबजुद क्यानडा, नर्वे, युरोपियन युनियन र दक्षिण कोरियाको बाटो हुँदै आउने कथित सहयोगले राजनीतिक अपिल सकिएका तथाकथितहरूको धुकधुकी केही समय चल्ने छ ।

अन्तमा, बलियो सार्वजनिक सेवाहरू विलासिता होइन, सामाजिक आवश्यकता हुन् भन्ने ‘हाइब्रिड राजनीति’ले महसूस नगरेको सजाय मुलुकले भोगिरहेको छ । पीडित मुलुकवासीले पटक-पटक मुलुक, प्रजातन्त्र र सरकार खोजिरहेका छन् । दुर्भाग्यवश नागरिकले खोजेको ‘व्यवस्था र सरकार’ कथित व्यापारीको सेवामा व्यस्त छ । सरकार बनेको/बनाइएको ६ महिनामा ८० अर्ब राजस्व छुट दिने/दिलाउने कार्यले सुशासनको धज्जी उडाएको छ । भ्रष्ट र ठगहरूलाई छानी-छानी बचाउन विवश सरकारले अपारदर्शी ‘करछुट’लाई सामान्य ठानिरहेको छ । अर्थतन्त्र टाट पल्टिए पनि हुने, निर्दोष नागरिक देश-विदेशमा मर्दा/मारिँदा फरक नपर्ने तर राजनीतिक अपराधीलाई बचाउनैपर्ने सरकार र व्यवस्थाको बाध्यताले ‘हाइब्रिड राजनीति’को अपिल सकिएको छ ।