अमेरिकी सङ्कट र ट्रम्प कार्ड !
‘ट्रम्पयुग’ सुरु हुनासाथ अमेरिकी डेमोक्र्याटहरू भन्दैछन्- ‘अमेरिकी-सङ्कट डरलाग्दो चरणमा प्रवेश गरेको छ !’ डिडलराइजेसन, बढ्दो सुरक्षा खर्च, अनियन्त्रित व्यापारघाटा, रणनीतिक सहायताको नाममा मच्चाइएको भ्रष्टाचार, घटाउन नसकिएको वैदेशिक ऋण, घट्दै गरेको आम्दानीपश्चात् अमेरिकाको आर्थिक हैसियत विश्वले सोचेभन्दा खराब बनिसकेको छ । यही रफ्तार कायम रहे अमेरिकी प्रभाव र पुँजीवाद पूर्व सोभियत सङ्घको समाजवादको अवस्थामा पुग्ने छ । यस्तो गम्भीर अवस्थामा पुगेको अमेरिकी सङ्कटलाई टार्न पटक-पटक गरिएको/गरिरहेको असीमित कोशिस बुझ्न एकपटक इतिहासको विद्यार्थी बन्न जरुरी छ ।
४ नोभेम्बर १९७९ मा इरानी विद्यार्थीहरूले तेहरानमा अमेरिकी दूतावास कब्जा गरे । उनीहरूले ६६ अमेरिकी कूटनीतिज्ञ र कर्मचारीलाई हिरासतमा लिए । उक्त घटनामा चौध जना भाग्न सफल भएका थिए । ५२ जना व्यक्ति ४४४ दिनसम्म बन्धक बनाइए । तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टरले सक्रियतापूर्वक उद्धार अभियान चलाउन आदेश दिए, जुन असफल भयो । अमेरिकाअनुकूल इराकले सन् १९८० को सेप्टेम्बरमा इरानमाथि आक्रमण गऱ्यो । त्यसको ठिक दुई महिनापछि कार्टरले राष्ट्रपतिको चुनाव लडे । दुर्भाग्यवश रोनाल्ड रेगनसँग पराजित हुन पुगे । रेगनले पदभार ग्रहण गरेलगत्तै इरानीहरूलाई गम्भीर धम्की दिए । राष्ट्रपति रेगनसँग इरानी विद्यार्थीहरूले जोखिम मोल्न चाहेनन्/सकेनन् । र, उनीहरूले बन्धकलाई रिहा गरी दिए ।
माथिको घटनासँग हुबहु मेलखाने सत्यकथा ४५ वर्षपछि नयाँ स्वादमा पुनः प्ले गरियो । राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला सन् १९८० को रेगन बनेर उदाएका छन् । निवर्तमान राष्ट्रपति बाइडेन जिमी कार्टरको भूमिकामा देखिएका छन् । बेन्जामिन नेतान्याहू र हमास कथाको मजबुत कडी बनेका/बनाइएका छन् । ७ अक्टोबर २०२३ मा हमासले इजरायलभित्र आक्रमण गर्दै २५० व्यक्ति बन्धक बनायो । ‘डिप-स्टेट’को रणनीतिक स्वार्थअनुरुप राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई हमासविरुद्ध सैन्य आक्रमण गर्न सबै किसिमको सहयोग गरिरहे । १५ महिनाको सैनिक अपरेसनमा हजारौँ प्यालेस्टिनी मारिए । लाखौँ निर्दोष नागरिक घाइते बनाइए । दुर्भाग्य नै भनौँ, निवर्तमान राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाइएका नागरिकलाई मुक्त गर्न÷गराउन सकेनन् । सन् १९८० को इरान घटनाले कार्टर पराजित भएकै शैलीमा तत्कालिन राष्ट्रपति बाइडेन निर्वाचनको दौडबाट पन्छिन बाध्य तुल्याइए ।
सन् १९८० मा डेमोक्र्याटिक पार्टीका नेता कार्टरलाई हराउन इरान काण्ड मच्चाउने र सन् २०२४ मा बाइडेनको राष्ट्रपति उम्मेदवार ‘कमला ह्यारिस’ हराउन हमासको प्रयोग गर्ने इजरायल काण्डको ‘मास्टर माइन्ड’ को थिए ? सर्बियाको नेता स्लोबोदान मिलोसेभिक (Slobodan Milosevic)देखि बोस्नियाको ‘सर्ब नेता’ रादोभान काराजिक (Radovan Karadzic)लाई लाग्ने युद्धअपराध गाजामा युद्धअपराध गर्नेलाई नलाग्ने ग्यारेन्टी कसले दियो ? त्रुटिपूर्ण अमेरिकी लोकतन्त्रले मानवताविरुद्धको अपराधलाई जायज देख्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत (हेग)लाई खारेज गर्ने घोषणा किन गर्दैछ ? गाजामा ‘लोकतान्त्रिक’ जातीय सफाया सम्पन्न गर्दै राष्ट्रपति ट्रम्पको शपथ ग्रहणभन्दा पाँच दिनअघि हमास र इजरायलबीच सम्झौता कसले गरायो ? हमासले पहिलो चरणमा ३३ बन्धकलाई रिहा गर्दा इजरायलले १००० भन्दा बढी प्यालेस्टिनी बन्दी रिहा गर्न कसरी सहमत भयो ? विश्वभरका बन्धक रिहा गरिँदा नेपाली बन्धक ‘विपिन जोशी’लाई प्राथमिकतामा किन पारिएन ? उल्लेखित घटनाले ‘ट्रम्प कार्ड’को गम्भीर रहस्य उजागर गरिरहेको छ ।
सोभियत सेनालाई अफगानिस्तानबाट लखेट्न जन्माइएको ‘बिन लादेन’ किन र कसरी अमेरिकी सफायामा परे भन्ने हमासले बुझ्न सकेन/चाहेन । राष्ट्रपति ट्रम्पलाई जिताउन र हमासको शीर्ष नेतृत्व नष्ट गर्न रचिएको डिप-स्टेटको षडयन्त्रमा हमास नेतृत्व नराम्रोसँग फस्यो/फसाइयो ।निर्दोष प्यालेस्टिनी जनताको बहुमूल्य रगत पानीजसरी बगाउँदै रचिएको ट्रम्प विजयको ‘मास्टर प्लान’पश्चात् मध्यपूर्वको शान्ति र अस्तित्व जटिल अवस्थामा पुगेको छ । प्यालेस्टिनी निर्दोष नागरिकविरुद्ध बर्बरतापुर्वक प्रस्तुत भएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकामा रणनीतिक स्वागत गर्दै विचित्रको सन्देश दिएपश्चात् ट्रम्प प्रशासनको मध्यपूर्व नीति र अमेरिकी सङ्कट विश्वले देख्न र बुझ्न पाएको छ ।
भनिँदै छ, ‘ट्रम्प र नेतान्याहु त्रुटिपूर्ण लोकतान्त्रिक व्यवस्थाका उत्पादन हुन् ।’ उनीहरू जातीय राजनीति गर्दैछन् । गाजाबाट प्यालेस्टिनीहरूलाई निष्कासन गर्ने र West Bankको विलय गर्ने प्रस्तावले विश्व राजनीतिमा ‘ट्रम्प सुनामी’ ल्याएको छ । मध्यपूर्वमा थप द्वन्द्व र अराजकता फैलाउने ट्रम्प प्रशासनको गतिविधिले त्यस क्षेत्रमा व्यापक आक्रोश फैलिएको छ । राष्ट्रपति ट्रम्पको निन्दा गर्नेहरू थपिँदै छन् । सन् १९७८ को क्याम्प डेभिड सम्झौतामा हस्ताक्षर गर्नु गलत थियो भन्दै इजिप्टका पूर्वराष्ट्रपति अनवर सदातले व्यक्त गरेको धारणा स्मरण गर्न अरब जगत बाध्य हुँदैछ ।
ट्रम्प र बेन्जामिन नेतान्याहूको डरलाग्दो दोस्तीले प्यालेस्टिनी जनताको अधिकार र अस्तित्व खतरामा परेको छ । ट्रम्प-मानसिकताले विश्वशान्ति र स्थायित्व खतरामा परेको छ । गाजामा प्यालेस्टिनी जनताको सार्वभौम अधिकार र अस्तित्वको दीर्घकालीन रक्षा गरिनुपर्छ । अरबहरूले ढोकामा आएको ट्रम्प नामको खतरालाई निस्तेज गर्न थप सतर्क हुनु पर्नेछ । गाजायुद्धपश्चात् ‘इजिप्ट र जोर्डन’ले प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने प्रयासलाई अस्वीकार गरेका छन् । गाजा कब्जा गर्ने राष्ट्रपति ट्रम्पको घोषणापश्चात् इजिप्टले बुझेको छ, प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्नुको अर्थ इजिप्टले इजरायलसँग हस्ताक्षर गरेको १९७९ शान्ति सन्धिको अन्त्य हो । यस तथ्यलाई गहिरोसँग बुझ्नेहरू गम्भीर प्रश्न सोधिरहेका छन्- गाजापछि ‘ट्रम्प सिकार’ को बन्दैछ ?
यतिबेला विश्व समुदायले द्वन्द्व होइन सहयोग खोजिरहेको छ । आधुनिक विश्वव्यापी अर्थतन्त्र ‘आर्थिक अन्तर निर्भरता’मा निहित छ । ट्रम्प प्रशासनको संरक्षणवादी नीतिले विश्वव्यापी आपूर्ति शृङ्खलाहरू अवरुद्ध पार्दैछ । दुर्भाग्यवश ट्रम्पको पुनरोदय विश्वशान्ति र स्थिरताको निम्ति खतरा बन्दैछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले बारम्बार चेतावनी दिँदै आएको छ । बढ्दो व्यापार तनावले सन् २०२५ को अन्तसम्म विश्वव्यापी जिडिपीमा ०.८ प्रतिशत कम गर्न सक्छ । वार्षिक ७०० बिलियन डलरबराबरको घाटा हुने अनुमानलाई ट्रम्प गतिविधिले थप सहयोग पुऱ्याउँदै छ । अमेरिकी उपभोक्ताले उच्च मूल्यको मार भोगिरहेका छन् । विश्वव्यापी आर्थिक स्थायित्वमाथि जोखिम बढेको समयमा राष्ट्रपति ट्रम्पको मानसिकता र लक्ष्य प्रस्ट छ । अमेरिकी एजेन्सी खारेज गर्ने, संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट बाहिरिने, संयुक्त राष्ट्रको राहत कार्य र एजेन्सीलाई दिइने रकम रोक्ने र विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने ट्रम्प निर्णय अल्पकालीन सङ्कट टार्न चालिएको जरुरी कदम मान्न सकिन्छ ।
वैश्य युगमा बहुमत जनसङ्ख्या ज्ञान, डर र चिन्ताले थलिएका छन् । उनीहरूमा आक्रोश भरिँदै छ । रचनात्मक काम गर्ने ऊर्जा घट्दैछ । आम मानिसलाई उत्प्रेरित गर्ने तत्त्व जीवनबाट गायब हुँदैछ । यसै समयमा ट्रम्प सङ्कट थपिएको छ । उनको बहुलठ्ठीपूर्ण व्यवहारले विश्वमा नयाँ हलचल ल्याउँदैछ । ट्रम्प प्रशासन अमेरिकी सङ्कटलाई ओझेलमा पार्न ‘व्यापार युद्ध’को तयारी गर्दैछ । अकस्मात् लादिएको ट्यारिफ युद्धले विश्व बजारलाई मन्दीतर्फ धकेल्दै छ । ‘ट्यारिफ युद्ध’ले कुनै पनि विजेता उत्पादन गर्दैन भन्ने चीनको भनाइ ट्रम्प प्रशासनले अनदेखा गरिरहेको छ ।
फेब्रुअरी १ देखि चिनियाँ उत्पादनमा १० प्रतिशत, क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत कर लगाइएको छ । अमेरिकी उत्पादकहरूको लागि थपिएको १० प्रतिशत ट्यारिफ उत्पादन लागत बनेर उपभोक्ताको थाप्लोमा हस्तान्तरण हुँदैछ, जसले सर्वसाधारण जनताको क्रयशक्ति घटाउने र मुद्रास्फीति बढाउनेछ । रुस-युक्रेन युद्ध, हमास-इजरायल युद्ध, कोभिड १९ को महामारीले सिर्जना गरेको महँगीलाई उछिन्दै ट्रम्प-सुनामी विश्व भ्रमणमा निस्कँदै छ । ट्यारिफ युद्धको असर ‘नयाँ महामारी’ बनेर मुलुकवासीको भान्सासम्म आइपुग्नेछ ।
राष्ट्रपति ‘रेगन र जर्ज एच डब्ल्यु बुस’को १२वर्षे कार्यकालमा ओरालो लागेको अमेरिकी सङ्कट जो बाइडेनको चार वर्षे कार्यकालमा अनियन्त्रित ढङ्गले उकालो चढ्यो । त्रुटिपूर्ण विचार र सिद्धान्तलाई स्थापित गर्दै एकल आधिपत्य कायम राख्न गरिएको कथित लगानीमार्फत उत्पादित व्यक्ति र शक्तिले अमेरिकी सङ्कट घटाउन सकेन । अझै स्पष्ट भएको छैन, एजेन्सीमार्फत विश्वभर बगाएको अथाह डलरले अमेरिकालाई कति नोक्सान भयो ? अमेरिकाले सोचेजस्तो फाइदा महसूस नगरेको सहायताले क-कसलाई प्रभावित गर्दैछ ? लामो समयदेखि खाइपाइ आएको रणनीतिक सहायता रोकिँदा विश्वभरका खेतालाहरू गम्भीर ढङ्गले प्रभावित हुँदैछन् । अमेरिकी सङ्कटको व्यवस्थापन ट्रम्पको इच्छामा निर्भर हुँदैगर्दा ‘डिप-स्टेट’सँग ट्रम्प प्रशासनको नयाँ द्वन्द्व चर्किएको छ । ‘ट्रम्प कार्ड’ असफल भए अमेरिकी सङ्कट भयावह अवस्थामा पुग्नेछ । डिप-स्टेट र ट्रम्प-नीतिले सिर्जना गरेको शून्यता बेइजिङले भर्न नसक्ने अवस्थामा अमेरिकी सङ्कट विश्व-राजनीतिमा नयाँ अवसर बन्न सक्नेछ ।