हाइब्रिड पञ्चहरूलाई नबिझाउने प्रश्न : अब के बेच्छौ ?
करिब २० वर्षको खल्लो अभ्यासपश्चात् हाइब्रिड लोकतन्त्रको ‘स्याक्सोफोन’बाट मिठो धुन निस्कन छोडिसकेको छ । हाइब्रिड लोकतन्त्रको हुर्मत लिन सफल सोकल्ड नेतृत्वको कथित सहकार्यले नागरिकमा विश्वास जगाउन सकेको छैन । जसले गर्दा भूतपूर्व क्रान्तिकारीहरू चौबाटोमा पुगेका छन् । परिस्थितिले राष्ट्रिय मेलमिलापको माग गरिरहेको छ । भ्रष्टाचार र अराजनीतिको कथित सहकार्य चम्किएको समयमा संविधान संशोधनको रणनीतिक अलाप स्थगित गरिएको छ ।
Steven Levitsky / Daniel Ziblatt ले आफ्नो पुस्तक Tyranny of The Minority मा लेखेका छन्, ‘पार्टीहरूले हार स्वीकार गर्न सिकेपछि लोकतन्त्रले जरा गाड्न सक्छ । एकपटक जरा गाडेपछि परिवर्तन नियमित हुन्छ ।’ चुनावमा हार्नु लोकतान्त्रिक प्रक्रियाको एउटा पाटो हो । हार स्वीकार गर्नेहरू अर्को चुनाव जित्ने अभियानमा लाग्छन् । ‘लेभित्स्की र जिब्लाट’को बुझाइमा दुई कारणले ‘हार’लाई स्वीकार गरिन्छ । पहिलो, उनीहरूले भविष्यमा फेरि जित्न सक्छन् या जित्ने मौका छ भन्ने विश्वास गर्छन् । हार स्विकार्नुको दोस्रो सर्त भनेको आफूले हार्दा विपत्ति आउँदैन भन्ने विश्वास हो । आफूले हार्दा जब सबै गुम्ने डर हुन्छ तब हार्ने दलले सत्ता त्याग्न हिच्किचाउँछ । उनीहरूको निष्कर्ष छ- ‘राजनीतिज्ञ वा दलीय घटकहरूले जब अस्तित्वको खतरा जस्तो महसूस गर्छन्, उनीहरू यसबाट बच्न हतास हुन्छन् । यतिबेला मुलुकमा ‘लेभित्स्की र जिब्लाट’को निष्कर्षलाई स्वीकार गर्ने होडबाजी चलेको छ । हाइब्रिड पञ्चहरू मिलेर अस्तित्व जोगाउने खेल खेल्दैछन् ।
ऐतिहासिक रूपमा, परिवारहरू आदिवासी र सामन्ती समाजको आधारशिला थिए । असीमित आन्दोलनपश्चात् अयोग्य व्यक्तिलाई पुरस्कृत गर्दै मुलुकको आधारशिला भत्काइयो । सौभाग्यवश सोसल मिडिया, व्यापारवाद, प्रविधि, आविष्कार, पारिवारिक गतिशीलता र अधिकार आन्दोलनले पारिवारिक भूमिका र सम्बन्धहरू परिवर्तन गरेका छन् । जसलाई आधुनिक पञ्चहरूले अनदेखा गरिरहेका छन् । गैरजिम्मेवार राजनीतिले समस्यालाई जटिल बनाएको छ । गरिबी र आर्थिक अवरोधले सम्बन्धलाई तनावपूर्ण बनाउँदै लगेको छ । संयुक्त परिवार प्रणाली भताभुङ्ग भइसकेको छ । बसाइँसराइ, शिक्षा र रोजगारीले पारिवारिक बन्धनलाई खुकुलो बनाउँदै छ ।
राजनीतिक अवसरवाद र नेतृत्वको व्यक्तिपरक कमजोरीले हाइब्रिड परिवर्तन परिपक्व, स्थायी र लोकप्रिय हुन पाएन । हाइब्रिड परिवर्तनभित्र अन्तर्निहित कमजोरी र मुलुक निर्माणको भिजन बन्ध्याकरण गरेका कथित नेतृत्वको कार्यशैलीले राजनीतिक तापक्रम बढाउँदै छ । पटके परिवर्तनले ‘परिवर्तन’ खोजिरहेको छ । परम्परागत राजनीतिबाट वाक्कदिक्क भएको युवा जनशक्तिले सोसल मिडियामार्फत स्वाद फेर्दैछ । ‘भूमण्डलीकरण र मिडिया’ले व्यक्तिवादलाई केन्द्रबिन्दुमा राखेको छ । व्यक्तिगत स्वतन्त्रतामा केन्द्रित गतिविधिले परम्परागत मापदण्ड भत्काउन मरिहत्ते गरिरहेको छ । वास्तविक लडाइँ र परिवर्तनको चाहना रोकिएको छैन । विगतमा न्यायको पक्षमा लड्नेहरू आफै बदलिएका छन् । सकारात्मक विषयमा अकल्पनीय ढिलाइ भएको छ तर परिवर्तनको ‘भोक’ रोकिएको छैन ।
राजनीति जादु होइन । जादुमा विश्वास गर्नेले राजनीति गर्दैन । भगवानमा विश्वास गर्नेले चमत्कारमा विश्वास गर्न सक्छन्/पाउँछन्, तर जनताको जनादेश र मतादेश चमत्कार होइन । विश्व राजनीति ‘प्रजातन्त्र र लोकतन्त्र’को द्वन्द्वमा फसिरहेको छ । अमेरिकी लोकतन्त्र र बेलायती प्रजातन्त्र बीच गज्जबको समानता छ । दुर्भाग्यवश मुलुकले एकसाथ अमेरिकी र बेलायती स्वार्थको अभ्यास गर्न हौसिएको छ । ‘शक्तिद्वारा शान्ति’ ल्याउने अमेरिकी रणनीति हाइब्रिड लोकतन्त्र बनेर विश्व भ्रमण गर्दैछ । अल्छी, महँगो र सुस्त गतिविधिमार्फत बेलायती प्रजातन्त्रले जनतालाई गरिबीमा फसाउँदै छ । दुर्भाग्यवश ‘काङ्ग्रेस-कम्युनिस्ट’ नामका खेतालाहरू पश्चिमा शक्तिको गुलामीमा चुलो बाल्दैछन् । जसको पुष्टि राष्ट्रपति ट्रम्पका थिङ्कट्याङ्क इलोन मस्कले ‘युएसएड एक आपराधिक सङ्गठन हो, अब यसलाई बन्द गर्ने समय आइसकेको छ’ भन्दै गरिदिएका छन् ।
अस्पष्ट र फराकिलो परिभाषाले पीडितलाई थप पीडा दिँदैछ । समान घटनामा असमान व्यवहार गर्ने कथित न्याय प्रणालीले अपराधीकरणलाई मलिलो जमिन प्राप्त हुँदै छ । वैधता र आवश्यकताको परीक्षण गर्न नसक्ने व्यवस्थामा हिरोको खोजी हुनु स्वाभाविक छ । झुटो र नक्कली जानकारीले ‘अपराध’लाई प्रोत्साहन गरिरहेको छ । अपराध भएको विश्वास गर्ने पर्याप्त कारण भएको अवस्थामा कानुन र पीडितको बुझाइ फरक-फरक हुनु स्वाभाविक छ । पीडित पक्षबाट आफ्नो विचार राख्दा पीडकको आवाज चर्को हुने व्यवस्थालाई लोकतन्त्र भन्न मुस्किल हुँदैछ । प्राकृतिक व्यक्तिले न्याय पाउन मुस्किल भएको मुलुकमा ‘राजनीतिक या संस्थागत’ व्यक्तिले अपराधमा अधिकतम छुट पाउने ‘हाइब्रिड लोकतन्त्र’ सर्वसाधारणको जीवनमा अफापसिद्ध हुँदैछ ।
विश्वव्यापी अर्थतन्त्रमा आएको परिवर्तनले रोजगारी सृजना र रोजगारी विस्थापनलाई देखाएको छ । कृषि, सफ्टवेयर विकास र शिक्षामा अपेक्षित परिवर्तन हुँदैछ । विश्वबजारमा नेपाली श्रमिकको अवस्था टिठलाग्दो छ । विश्वव्यापी रोजगार बजारमा आएको परिवर्तनले सिंहदरबारलाई जगाउने सम्भावना तुहिएको छ । आधुनिक प्रविधिले व्यवसाय, उद्योग र व्यक्तिलाई प्रतिकूल प्रभाव पारिरहेको छ । विश्व बजारलाई हेर्दै नयाँ रणनीतिहरू तयार गर्न जागरूकता, इच्छाशक्ति, लचिलोपन सिंहदरबारसँग देखिएको छैन । मुलुकलाई नभइनहुने जनशक्ति उत्पादन गर्न नसकेको मुलुकको चुनौती डरलाग्दो बन्दैछ । सीप विकास र द्रुत परिवर्तनलाई प्राथमिकतामा राख्न छोडेको व्यक्ति र शक्तिलाई हाइब्रिड शक्तिले संरक्षण गरिरहेको छ । संरचनागत परिवर्तन गर्ने ल्याकत नभएको सरकार विदेशी मुद्रा सञ्चिति देखेर मस्त छ, जसलाई नागरिकले सरकार भनिरहेका छन् ।
निक्षेपको ब्याजदरमा भारी कटौती भएको समयमा बैङ्कहरूबाट राष्ट्रबैङ्कले पटक-पटक पैसा खिच्नु परेको अवस्थाले मुलुकको अर्थतन्त्रको बारेमा बोलिरहेको छ । उल्लेखित विषयमा सरकार परिवर्तनले कुनै फाइदा पुऱ्याउन सकेन । ब्याजदरमा ठुलो गिरावटको बाबजुद व्यावसायिक विश्वास ओरालो लाग्नुले हाइब्रिड लोकतन्त्र थप दबाबमा पर्दैछ । सरकार अर्थतन्त्र स्थिर भएको खुसीमा झुम्दै छ । अस्थिर आधारमा सत्तामा आएको वर्तमान सरकारलाई परिणाम देखाउनैपर्ने दबाब छ । यद्यपि गरिबीमा तीव्र वृद्धि, आक्रोशित मध्यम वर्ग र बेरोजगारीको सामना गरिरहेका युवाहरू विकासको प्रलोभन र सरकारको गुलाबी बाचाहरूलाई जोक ठान्दैछ ।
विश्व पुँजीवादले बुझेको छ, ‘एउटा शान्त र सम्भावना भएको मुलुक बरबाद गर्न कुनै युद्धको जरुरी पर्दैन । केवल नालायक र महत्त्वाकाङ्क्षी व्यक्तिलाई सत्तामा पुऱ्याउन जरुरी छ ।’ हाइब्रिड लोकतन्त्रलाई जवान बनाउन मुलुकले केवल १० वर्षमा झण्डै २० खर्ब ऋण र कैयौँ भ्रष्टाचारका काण्डहरू बोक्नु परेको छ । २५ वर्षमा पूरा नहुने राष्ट्रिय गौरवको मेलम्ची आयोजना, अझै कति समय लाग्ने अत्तोपत्तो नभएको मुलुकको गेमचेन्जर बन्न सक्ने द्रुतमार्ग, महाकाली सन्धि भएको २८ वर्ष भइसक्दा सिन्कोसम्म नभाँचिएको पञ्चेश्वर परियोजना, बनाउनैपर्ने तर बनाउन नपाउने निजगढ विमानस्थलको दुःख ‘सार्वभौम सत्ता’ खोसिएको राजनीतिसँग गाँसिएको छ । कथित नेतृत्वको कमिसन मोहमा सम्पन्न गरिएको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान अवस्थाले चिच्याइ-चिच्याइ भनिरहेको छ- हाइब्रिड लोकतन्त्र लुटेराहरूको स्वर्गस्थल हो भने मुलुकको अघोषित काल हो ।
मुलुकको वित्तीय स्थिति साँघुरो छ । कछुवा गतिमा निर्माण गरिएका सीमित पूर्वाधारले आर्थिक विकास सम्भव छैन भन्ने बुझेको परम्परागत ऋणदाताहरू ऋण दिन अनिच्छुक छन् । हाइब्रिड लोकतन्त्र केवल अङ्कगणितले मात्र चल्दैन । यद्यपि लोकतन्त्रले अङ्कगणितलाई बिर्सन सक्दैन । सन् १९४७ मा स्वतन्त्र भएको दक्षिणको छिमेकी भारतले सन् २०४७ सम्म १८०० गिगावाट नवीकरणीय ऊर्जा क्षमताको लक्ष्य राखेको छ । सन् १९४९ मा राजनीतिक क्रान्ति सम्पन्न गरेको उत्तरको छिमेकी चीनले DeepSeek (गहिरो खोज) को विकास गर्दै अमेरिकालाई चुनौती दिएको छ । दुर्भाग्यवश सन् १९५० मा प्रजातन्त्र पाएको मुलुक ७० वर्ष लगाएर DeepSick (गहिरो बिरामी) भएको छ । आरोप होइन, कटु यथार्थ हो- जब-जब काङ्ग्रेस/कम्युनिस्ट मिलेका छन्, तब-तब मुलुकको सार्वभौम सत्ता दुब्लाएको छ । विदेशी स्वार्थ मोटाएको छ ।
अन्तमा, मुलुक बन्छ/बनाउँछौँ/बनाइन्छ भन्दै ज-जसले पैंतीस वर्ष कठिन सङ्घर्ष गरे, दुर्भाग्यवश तिनै व्यक्ति कुर्सीमा बसेरै आर्यघाट जान हौसिए/हौसिँदै छन् । लोकतन्त्रवादीको कथित कवच देखाउँदै योग्यता, क्षमता र ल्याकतले भ्याएसम्म मुलुक बरबाद गर्न महान् योगदान गरे/गर्दैछन् । ३५ वर्षदेखि मुलुकलाई भ्रष्टाचार, कुशासन र ऋणको आहालमा डुबाएर आफू चैँ उडुसजस्तो मोटाए । विकास र न्याय रोकेर नकारात्मकताको मिसाल कायम गर्न सिद्धान्त बेचे । सार्वभौम सत्ता बेचे । सपना बेचे । मुलुकलाई जोगाउने सबै मूल्य र मान्यता बेचे । प्रजातान्त्रिक समाजवाद, जबज, माओवाद, ध्वंश, शान्ति, राष्ट्रवाद, नैतिकता, इमान बेचे । सबैभन्दा बहुमूल्य कुरा ‘विश्वास’ बेचे । फेरि पनि ‘हाइब्रिड उपलब्धि’को औचित्य पुष्टि गर्न सकेनन् । तमाम बिक्रीपश्चात् आम नागरिकको मनमा गम्भीर प्रश्नले जन्म लिएको छ- अब के बेच्छौ ?