ट्रम्प युग : वरदान कि अभिशाप ?!

चार वर्ष कानुनी झमेला सहँदै इस्पात बनेका नेता ट्रम्प अमेरिकी जनताको जनादेशमार्फत सत्तामा फर्किएका छन् । २० जनवरी २०२५ देखि औपचारिक सत्ता सम्हालेका राष्ट्रपति ट्रम्प ‘जिम्मेवारी र त्याग’लाई अनुपयुक्त विषय ठान्दैछन् । विश्वव्यापी महत्त्वाकाङ्क्षा पाल्दै ‘ट्रम्प युग’ सुरु गर्न हौसिएका उनी अमेरिकी अखण्डताको नयाँ मिसाल कायम गर्न चाहन्छन्, जसले विश्व राजनीतिमा अत्यासलाग्दो हलचल ल्याउँदैछ । ‘ग्रिन न्यु डिल’ स्थगित गर्दै ‘ड्रिल बेबी ड्रिल’लाई आक्रामकरूपमा अगाडि बढाउँदैछन् । जसले जलवायु परिवर्तनमा सुनामी ल्याउँदैछ ।

विश्वको वास्तविक चुनौती सोचेजस्तो सामान्य छैन । प्रविधि र राजनीतिमा आएको परिवर्तनबीच सन्तुलन कायम गर्न कठिन हुँदै छ । नागरिकलाई शिक्षित बनाउन सोसल मिडियाको निर्माण गरिएको थिएन/होइन । रणनीतिक ढङ्गले जन्माइएको सोसल मिडिया प्लेटफर्मले निम्त्याएको द्वन्द्वले आफ्नो ‘लक्ष्य र उद्देश्य’मा नसोचेको सफलता हासिल गरिरहेको छ । जसको फाइदा उठाउन ट्रम्प प्रशासनले कुनै कसर नराख्ने वातावरण निर्माण गरिरहेको छ ।

जलवायु परिवर्तनको राजनीति सुस्त छ । ठोस कार्यक्रमसहित विश्वव्यापी सहमतिको माग गरिरहेको हरितगृह ग्यास नियन्त्रण गर्ने पेरिस सम्झौताबाट भाग्ने ट्रम्प घोषणाले गम्भीर परिणाम ल्याउनेछ । विद्युतीय गतिशीलता र नवीकरणीय ऊर्जा सङ्क्रमणको विपरीत दिशामा हिँड्न विश्वलाई बाध्य पार्नेछ । जसले गर्दा गरिब मुलुकलाई जलवायु परिवर्तनले डरलाग्दो हमला गर्नेछ । पेरिस सम्झौताबाट जबर्जस्ती निस्कने ट्रम्प-रणनीतिभित्र गहिरो अर्थ लुकेको छ । जलवायु परिवर्तनको स्वीकृतिमा आधारित ‘ग्रीनल्याण्ड’ राजनीति विश्वले बुझ्न केही समय लाग्नेछ । नयाँ व्यापार कोरिडोर र बहुमूल्य प्राकृतिक स्रोतहरू नियन्त्रण गर्ने खेल ट्रम्पको नेतृत्वमा सम्पन्न हुनेछ । त्यसैगरी पनामा नहर कब्जा गर्ने ट्रम्प सोच जलवायु परिवर्तनले ल्याउँदै गरेको ‘सुक्खा’सँग सम्बन्धित रहेको बुझ्न आवश्यक छ ।

राष्ट्रपति ट्रम्प प्रशासनको गहिरो बुझाइ छ, ‘जलवायु परिवर्तनको मुद्दा र राजनीतिक मुद्रास्फीति नियन्त्रण गर्ने विषय होइन ।’ मानवता र प्रकृतिबीचको अटुट टकराबलाई नगदमा बदल्दै अमेरिकी ढुकुटीमा पुऱ्याइएको स्रोत खर्च गरेर विश्वको कल्याण गर्न ट्रम्प-राजनीति इच्छुक छैन । ‘यहुदी र इसाई’को मात्र विश्व बनाउन रणनीतिक तयारीमा रहेको ‘ट्रम्प अभियान’ विश्वको तापक्रम उकालो चढेकोमा दङ्दास छ । उसले बुझेको छ, प्रकृतिले निरन्तर प्रतिक्रिया जारी राख्नेछ । जसलाई जित्न सकिँदैन । अमेरिकाको सहयोग बिना अनियन्त्रित बन्दै गरेको विश्व तापक्रम थप उकालो चढ्ने छ । आफ्नो दीर्घकालीन लक्ष्यनजिक आएकोमा हर्षित छ । जसलाई सूक्ष्म अध्ययन गर्दै क्यानडा, ग्रीनल्याण्ड र पनामा नहरमाथि रणनीतिक धावा बोल्ने ट्रम्प-राजनीति सुविचारित छ ।

राष्ट्रपति ट्रम्पको दोस्रो इनिङले विश्वमा हलचल सुरु गरिसकेको छ । कागजबिना अमेरिका बसिरहेका र छोटो समयको भिसामा रहेका मानिस ट्रम्प-नीतिले आतङ्कित बन्दैछन्, जसले दक्षिण एसियामा बिचित्रको प्रभाव पार्दैछ । भारतको निर्यात मुख्यतया सेवाक्षेत्र, अर्थात् आइटीमा आधारित छ । विज्ञहरूका अनुसार भारतको ठुलो विदेशी मुद्रा बचत यिनै क्षेत्रबाट हुँदै आएको छ । ठुलो सङ्ख्यामा अमेरिका छोड्न बाध्य पारिने आइटी जनशक्तिलाई भारतले तत्काल काम दिन सक्ने अवस्था देखिँदैन । सँगसँगै हजारौँको सङ्ख्यामा नेपालीहरू घर फर्किन बाध्य पारिने छ । भर्खरै वामे सर्दै गरेको मुलुकको आइटी उद्योगमा अमेरिका रिटर्न भारतीय आइटी जनशक्तिको नकारात्मक प्रभाव तुरुन्त आइपुग्ने छ, जसको प्रत्यक्ष असर अर्थतन्त्र र राजनीतिमा पोखिने छ ।

यतिबेला एलोन मस्क राष्ट्रपति ट्रम्पको महत्त्वपूर्ण थिङ्क ट्याङ्क बनेर उदाएका छन् । उनको सोसल मिडिया प्लेटफर्म ‘X’ले स्वतन्त्र अभिव्यक्तिको प्रतिबद्धता पटक-पटक दोहोऱ्याए पनि ‘मुक्त पहुँच’ सुनिश्चित गर्ने कुनै वाचा गरेको छैन । ट्रम्प २.० मा शक्तिशाली मुद्दाहरूको व्यवस्थापन, सोसल मिडिया सामग्री, स्वतन्त्र डाटा र सूचना प्रवाहको रणनीतिक प्रयोग या दुरुपयोग एलोन मस्कले गर्नेछन्, जसलाई व्यवहारमै बुझ्न इजरायलद्वारा मच्चाइएको गाजा नरसंहारले आक्रामक स्थान नपाउनु नै काफी छ । अमेरिकाको स्वामित्व र नियन्त्रणमा रहेको सोसल मिडिया प्लेटफर्महरूमा ट्रम्पको चाहना पोखिँदैछ । ट्रम्पविरोधी सामग्री ब्लक गर्न एल्गोरिदमको प्रयोग गरिँदैछ ।

चीनले राजनीतिक अधिकार छोडेर आर्थिक विकासमा ध्यान केन्द्रित गरेको छ । बेइजिङले विगत ४० वर्षमा ८० करोडभन्दा बढी मानिसहरूलाई गरिबीबाट बाहिर निकालेको छ । विश्व बैङ्कले अप्रिल २०२२ मा निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ, ’चरम गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्यामा चीनले विश्वव्यापी कमीको झन्डै तीन चौथाइ योगदान गरेको छ । ‘विडम्बना के छ भने, अमेरिकाले चीनको राजनीतिक प्रणालीलाई अलोकतान्त्रिक भन्दै आएको छ । दुर्भाग्यवश अरब संसारका तानासाहलाई संरक्षण गर्न हौसिन्छ । यसै सन्दर्भमा प्रधानमन्त्री मोदीलाई हिन्दुत्वको राजनीति गरेको आरोप लगाउँदै ‘अछुत’को व्यवहार गर्दैछ÷गरिरहनेछ ।

गम्भीर प्रश्नको जवाफ खोज्ने मुलुकको इतिहास छैन । स्थायित्व र विधिको शासनले नागरिकको भविष्य सुनिश्चित गरेको छैन । विरोधका शान्तिपूर्ण उपायमा विश्वास नगर्ने कलङ्कित राजनीतिविरुद्ध जनताले आफ्नो अधिकार र स्वतन्त्रता कहिल्यै सुनिश्चित गरेन् । विगत सात दशकदेखि हरेक पुस्ताले सोधिरहेका छन्- न्यायपूर्ण र वैध राजनीतिक व्यवस्था स्थापना गर्न मुलुकले किन पाएन ? अचम्म मान्नु पर्दैन, मुलुकको राजनीतिक इतिहास षडयन्त्र, द्वन्द्व र अस्थिरताको डरलाग्दो गाथाले भरिएको छ । मुलुकले अभ्यास गरिरहेको राजनीतिक प्रणाली वैधानिकताको सङ्कटबाट गुज्रिरहेको छ । परिणामस्वरूप मुलुक अस्थिरताबाट पीडित छ । वास्तवमा वर्तमान उपलब्धि पश्चिमा शक्तिको इच्छा हो, जनताको होइन । जसले गर्दा सरकारको निरन्तरता वा पतनको ‘मास्टर प्लान’ ट्रम्प प्रशासनले निर्धारण गर्दैछ । जसको जिम्मेवारी राष्ट्रपति ट्रम्पको विशेष मिसनका लागि नियुक्त दूत ‘रिचर्ड ग्रेनेल’ले गर्नेछन् । कसलाई बचाउने, कसलाई बिदा दिने उनकै चाहनामा भर पर्नेछ ।

निःसन्देह राष्ट्रपति ट्रम्पको नेतृत्वमा संसार नयाँ बन्नेछ/बन्दैछ । अमेरिकी अध्यागमन नीतिमा भएका र हुँदै गरेका ठुला परिवर्तनले ‘ट्रम्प युग’ सुरु हुनेछ । जन्मसिद्ध नागरिकतासम्बन्धी नियमलाई ट्रम्प प्रशासनले परिवर्तन गरेको छ । यद्यपि ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशविरुद्ध अदालतले अस्थायी बन्देज लगाएको छ । अमेरिकामा जन्मेको कुनै पनि बच्चाले स्वचालित रूपमा अमेरिकी नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार ट्रम्पको पछिल्लो कार्यशैलीपश्चात् रोक लाग्ने निश्चितजस्तै छ । ठुलो धनराशि खर्च गर्दै अमेरिका पलायन भएका, सन्तान जन्माउनकै लागि अमेरिका गएका, अध्ययनपश्चात् उतै बस्ने सपना पालेका ‘प्लस टु जेनेरेसन’लाई ट्रम्प-नीतिले गम्भीर धक्का दिएको छ । जुनसुकै सर्तमा मुलुक छोड्न हौसिएका प्लस टु जेनेरेसन मुलुकमा रोकिए ओली-देउवाको टाउकोदुखाइ बन्नेछन् ।

राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा चिनियाँ राष्ट्रपतिलाई बोलाउने तर भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणासमेत नदिएर ट्रम्प प्रशासनले ‘दक्षिण-एसिया नीति’को एक झलक चुहाएको छ । चीनलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य बनाउने, ११ डिसेम्बर २००१ मा वर्ल्ड ट्रेड अर्गनाइजेसनको सदस्यता दिलाउने अमेरिकाले चीनसँग एकसाथ ‘द्वन्द्व र सहकार्य’को नयाँ प्रयोग गर्न सक्नेछ । ‘ओली-देउवा’ मिलेकै/मिलाएकै शैलीमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति ‘सी’बीच सहकार्य गराउने डिप-स्टेट नीति कार्यान्वयनमा गए दक्षिण एसियामा भारतको अवस्था कस्तो होला ? ट्रम्प प्रशासनको रणनीतिक लक्ष्यमा पर्ने मुलुकले कसरी अस्तित्व कायम गर्लान्, उत्सुकता बढ्दैछ । अमेरिकी ‘डिप-स्टेट’ले राष्ट्रपति ट्रम्प र उनको प्रशासनमार्फत गरिरहेको नयाँ प्रयोग सफल भए ‘ट्रम्प युग’ अविच्छिन्न चल्नेछ, असफल भए सम्पूर्ण दोष ट्रम्पको थाप्लोमा हालिने छ ।

वैश्य युगमा राष्ट्रपति ट्रम्पको सोच, शैली र व्यवहार सही या गलत हुन सक्दैन । ‘ट्रम्प युग’ समय र परिस्थितिले असल या खराब सिद्ध हुँदै जानेछ । आफ्नो राजनीतिको दोस्रो र अन्तिम इनिङ खेलिरहेका राष्ट्रपति ट्रम्पले विश्वलाई गज्जबको सन्देश दिएका छन्- आफ्नो देश आफै बनाउ ! अमेरिका तिम्रो निम्ति होइन, केवल अमेरिकनहरूको हो । अमेरिकाले चाहे मात्र जो-कोही अमेरिका आउन पाउँछ । कसैको चाहना हाम्रो बोझ बन्न सक्दैन । अमेरिकालाई आफ्नो मुलुक बनाउने, सम्झिने, मान्ने र बुझ्ने कोसिस नगर । मेरो विचारलाई जति छिटो बुझ्नेछौ, तिम्रै भलाई हुनेछ !

अन्तमा राष्ट्रपति ट्रम्पको स्पष्ट सन्देश बुझौँ । कृषि, सुशासन, विपद् व्यवस्थापन लगायत क्षेत्रमा दिँदै आएको आर्थिक सहयोग स्थगित गरेकोमा ट्रम्पलाई धन्यवाद दिन कन्जुस्याइँ नगरौँ । ट्रम्पबाट सिक्दै खुला सिमाना बन्द गरौँ । वर्क परमिट नीति कडाइका साथ लागु गरौँ । अङ्गीकृत नागरिकता नीतिमा कठोर कदम चालौँ । राष्ट्रिय उत्पादन नीतिको विकास गरौँ । ऋण लिँदै पश्चिमा उपलब्धि पाल्न छोडौँ । ऋण नलिएर बाँच्ने व्यवस्था सिर्जना गरौँ । यसो गर्न सकेमा ट्रम्प युग नेपालको निम्ति ‘वरदान’ सावित हुनेछ ।