सङ्कटै सङ्कट !

विकट गाउँमा ५० घरधुरी थियो । झण्डै २५० मानिस बसोबास गर्ने उक्त गाउँमा राज्य पुग्न सकेको थिएन । आवधिक निर्वाचन गर्नैपर्ने व्यवस्थाको आगमनपश्चात् सडकलगायतको पूर्वाधार माग्न दलीय नेतृत्वसामु गाउँलेहरू पटक-पटक डेलिगेसन गए । अन्ततः सरकारले गाउँमा सडक पुऱ्यायो । विद्यालय र पिउने पानी समेत पुऱ्यायो । दुर्भाग्यवश पूर्वाधार पुगेको एक वर्षपछि ४० घर बसाइँ सऱ्यो । नीतिनिर्माता सोच्न बाध्य भए, आखिर उनीहरूले किन गाउँ छाडे ? गहिरो अध्ययनपश्चात् पत्ता लाग्यो, आफ्नो पुर्खौली सामान सार्न गाउँलेले सडक मागेका रहेछन् ।

माथि उल्लेख गरिएको ब्यङ्ग्यको राजनीतिक र सोसल इन्जिनियरिङ अर्थ खोज्दा हाइब्रिड उपलब्धि, सोकल्ड नेतृत्व र नीतिनिर्माताको असफलता, औकात र हैसियत सजिलोसँग भेटिनेछ । हाइब्रिड लोकतन्त्रको ढलानपश्चात् मुलुकमा जनताले गाउँ छाड्ने, नेताले सिद्धान्त छाड्ने, युवाले देश छाड्ने, कर्मचारीले कर्म छाड्ने, अदालतले न्याय छाड्ने होडबाजी चलेको छ । तमाम सकारात्मक विषय र वस्तुले मुलुक छाड्ने प्रतिस्पर्धा गरिरहेको पछिल्लो समयमा सङ्कट मात्र मुलुकवासीको मित्र बनेर उदाएको छ ।

‘विकास र लोकतन्त्र’ मध्ये के चाहन्छौ भनेर जनतासँग कहिल्यै नसोधिएको राजनीतिक परिवर्तन जोगाउँदा मुलुक र जनता दुब्लाउँदै छ । प्रजातन्त्रदेखि लोकतन्त्रको अभ्यास गर्दा मुलुकवासीको थाप्लोमा झन्डै २६ खर्व ऋणको भारी बोकाइएको छ । साधारणतर्फको खर्च बढ्दै जाँदा वित्त पुँजीवाद, डिप-स्टेट, छिमेकी मुलुक र सोकल्ड नेतृत्व खुशीले झुम्दैछ । पूर्वाधार निर्माणतर्फ गरिएको खर्चको अवस्था पङ्तिकारले उल्लेख गरेभन्दा फरक छैन । मुलुकका गाउँपाखामा पुऱ्याइएका सडक, विद्यालय, पिउनेपानी, सिँचाइ, अस्पताल लगायतका आयोजना प्रयोगविहीन बन्दैछन् । युवायुवतीलाई आफ्नै जन्मभूमिमा रोक्न नसक्ने अवस्थापश्चात् गाउँमा सम्पन्न पूर्वाधारबाट मुलुकले कसरी फाइदा उठाउँछ ? सिंहदरबार र नीतिनिर्मातासँग कुनै जवाफ छैन । ‘हाइब्रिड लोकतन्त्र’लाई फगत कुर्सीप्राप्तिको औजार बनाइएको कथित राजनीतिमा भूतपूर्व इमान्दारहरूको अन्तिम भोज चलिरहेको छ ।

लोकतन्त्र एक गतिशील प्रक्रिया हो । दुर्भाग्यवश मुलुकको लोकतन्त्र ‘फोहोर पानीको आहाल’ जस्तो भएको छ । राजनीतिक प्रतिस्पर्धाको स्थान सुरक्षित छ भनिएको हाइब्रिड लोकतन्त्र जनता लुट्ने साधन बनिरहेको छ । जसलाई नजिकबाट नियालेको ‘राजनीतिक चेतना शून्य विचार’ले सोसल मिडियामार्फत युवापुस्ताको ब्रेनवास गर्दै घातक ढङ्गले फाइदा उठाउने असीमित कोसिस गरिरहेको छ । ‘हिंसा र भ्रष्टाचार’ नियन्त्रण गर्ने भन्दै सार्वभौमसत्ता हातमा लिएको तत्कालीन दरबारले गठन गरेको ‘शाही आयोग’ सर्वोच्च अदालतद्वारा खारेज हुँदा कुनै वकिलले पिटाइ खान नपरेको मुलुकमा ‘हाइब्रिड लोकतन्त्र’ बचाउन राजनीतिक मैदानमा ओर्लिएको ‘कथित विकल्प’ वकिल कुट्न कस्सिएको छ । जसले गर्दा भ्वाइसलेस जनताको जीवन थप कष्टकर बन्दैछ ।

असफल नेतृत्व, दाता–संस्कृति र ‘आइएनजिओ’को भरपर्दा मुलुकको सङ्कट चुलिएको छ । मूलधारको मिडियासँग युवा पुस्ताको विश्वास पातलो बन्दैछ । सरकारी दबाब र ‘डिप-स्टेट’को रणनीतिक दबाबले मूलधारका मिडियाले ‘सत्य’ बोल्दैन भन्ने सर्वसाधारणको बुझाइ छ । ‘सेलिब्रेटी एङ्कर’ र ‘टक शो’लाई युवापुस्ताले आँखा चिम्लेर समर्थन गर्दैछ । फलस्वरूप सत्तासँग असन्तुष्ट जमातले सोसल मिडियालाई एकमात्र समाधान ठान्दैछ । सोसल मिडियाको रणनीतिक दुरुपयोगपश्चात् सङ्कटको किनबेच हुँदैछ । जसले गर्दा मुलुकमा सङ्कटले सङ्कटलाई जन्माउँदैछ ।

आधुनिक श्रोताहरू टेलिभिजनको परम्परागत शैलीबाट उम्किन खोज्दैछन् । पोडकास्टमा उपलब्ध गम्भीर कुराकानीमा झुम्मिँदैछन् । राज्यनियन्त्रित सञ्चारमाध्यमले ल्याउने सूचना र रिपोर्टिङमा नागरिकको विश्वास र उपस्थिति घट्दैछ, जसको फाइदा अराजकतावादीले उठाउँदा निडर भएर स्वतन्त्र विचार पोख्ने अवस्था घट्दैछ । कथित ‘नार्सिसिस्ट’को फन्दामा परेको सोसल मिडिया पुस्ता ‘नार्सिसिज्म’तर्फ लम्किँदैछ । जसले गर्दा प्रगतिशील र उदारवादी मिडियामाथि सोसल मिडियाको रणनीतिक आक्रमण चुलिएको छ । ‘दोषी र कथित’लाई सेलिब्रेटी मान्दै अपराधलाई विजय मान्ने अवस्था स्थापित गरिएको छ । न्यु योर्क टाइम्सले बनाएको ट्यागलाइन ‘डेमोक्रेसी डाइज इन डार्कनेस’को वीभत्स रूप कथित विकल्पको बुई चढेर मुलुक प्रवेश गर्दा पुर्खाको मूल्य र मान्यता दुष्ट अराजकहरूको निसानामा पर्दैछ ।

कथाहरू बिकिरहेको मुलुकमा अमेरिकी हास्यअभिनेता, लेखक, निर्माता, निर्देशक एवम् राजनीतिक टिप्पणीकार Jon Stewart को एउटा गम्भीर प्रश्नले घचघचाउँदै छ- ‘के मिडिया आफ्नै मृत्युको वास्तुकार हो ?’ बिक्रीलाई सफलता मानेका मिडियालाई थाहा छैन, उनीहरू के बेचिरहेका छन् । Stewart तर्क गर्छन्, मिडियाले केही प्रयास गरेका छैनन् । सार्वजनिक चासोलाई लत्त्याउँदै व्यापार मात्र हेरिरहेका छन् । पुराना दल र त्यस दलसँग सम्बन्धित नेतृत्वप्रति अविश्वास हुर्काउने, बढाउने र फैलाउने काम डिजिटल मिडियाले गरिरहेका छन् । सामाजिक असन्तुष्टिको आगोमा घ्यु थप्ने काम सोसल मिडियाले गरिरहेको छ । नागरिकको भावनासँग कुशलतापूर्वक खेल्न माहिर व्यक्ति र शक्तिले अपराध र झुटलाई ‘सत्य र न्याय’ बनाएर पस्किँदैछ ।

शहरकेन्द्रित मिडिया हाउसले नागरिकको प्रतिनिधित्व गर्न सकेको छैन । मुलुकको मिडियाले आफूलाई एक जातिको रूपमा हेर्दै आएको छ । सम्भव भएसम्म आफ्नो समुदायको सुरक्षामा सम्पूर्ण हद पार गर्दैछ । त्यस वर्गले जारी राखेको कडा परिश्रमले भूराजनीतिक तनावमा घ्यु थप्दैछ । अनियन्त्रित भ्रष्टाचार र आर्थिक स्रोतको अभावमा सरकार दिन-प्रतिदिन रक्षात्मक बन्दैछ । सोसल मिडियाको अकल्पनीय विकाससँगै परम्परागत मिडिया नयाँ समस्या भोग्दैछ । यथास्थितिबाट बाहिर जान नरुचाएको परम्परागत सञ्चारमाध्यमले आम नागरिकको आवाज र विचारलाई कभरेज गर्न कञ्जुस्याइँ गरेको सर्वसाधारण नागरिकको आरोप छ । समस्या, सन्दर्भ र सूचनाको व्यापार गर्दै आएका मिडियाले मुलुकको विश्वसनीय सङ्कटलाई उजागर गरिरहेको छ ।

मुलुकको अवस्था सङ्कटग्रस्त छ । निःस्सन्देह राजनीति र सोकल्ड नेतृत्वले अनगिन्ती गल्ती गरेको छ । सोसल मिडियासँग प्रतिस्पर्धा गरिरहेको डिजिटल मिडियाले नागरिकको ध्यान खिचिरहेको छ । आर्थिक सङ्कटबाट मुलुकलाई निकाल्न नसक्ने सिंहदरबारको असफलता अक्षम्य छ । उपलब्धि, उन्नति, प्रगतिको नाममा मुलुक प्रवेश गरेको ‘हाइब्रिड शासन’ले नागरिकलाई थप कमजोर बनाएको छ । महत्त्वाकाङ्क्षा र निहित स्वार्थले प्रेरित सोकल्ड नेतृत्वको कथित कार्यले संसद्, न्यायपालिका र कार्यपालिका निरीह बनेको/बनाइएको छ ।

न्यून आर्थिक वृद्धि र लगानीले थला परेको मुलुकले आशा जगाउन सकेको छैन । मुलुकको संस्थागत क्षमता घट्दै गएको छ । गम्भीर आर्थिक सङ्कटको बीच राज्यले भरोसायोग्य कार्यक्रम पस्किन सकेको छैन । राज्यको आम्दानी घट्दै गएको छ । सरकारी लगानी सम्भव छैन । निजी क्षेत्रले अवसर सिर्जना गर्न छोडेको छ । प्रतिस्पर्धा केवल नराम्रो काम र कुर्सीकेन्द्रित छ । मुलुक विचित्र ढङ्गले चलिरहेको छ । आर्थिक सिद्धान्त र राजनीतिका विश्वव्यापी मूल्य र मान्यता कोमामा पुऱ्याइएको ओली-देउवा सहकार्य शासन पद्धतिको नयाँ मोडेल स्थापित गर्न मरिहत्ते गर्दैछ ।

‘परिस्कृत लोकतन्त्र’को मूल विचार मानवता हो । यसमा ‘रूप र वस्तु’ दुवै हुन्छ । चुनावमा यसको प्रकट पनि हुन्छ । उन्नत लोकतन्त्रमा स्वतन्त्र र निष्पक्ष निर्वाचनको प्रक्रियामार्फत शान्तिपूर्ण र व्यवस्थित परिवर्तन हुन्छ । जनतालाई सशक्तीकरण गर्दै नागरिक बनाउने काम आफ्नै देशमा जन्मिएको लोकतन्त्रले मात्र गर्न सक्छ । यसको उत्कृष्ट रूप नागरिकलाई मानव बनाउने हो । जनतालाई नागरिक बन्न नदिने ‘डिप-स्टेट’ रणनीतिले युवालाई फाँसीवादतर्फ धकेल्दै छ । जसले गर्दा संवैधानिक उदारवाद या मूल्यमा आधारित प्रणाली, कानुनको शासन र समतामूलक सामाजिक व्यवस्था एकादेशको कथा बन्दैछ । हाइब्रिड लोकतन्त्रको आवरणमा हुर्किंदै गरेको ‘मास फ्रस्टेसन’, त्यसले सिर्जना गरेको कुण्ठा, आक्रोश, अराजकताले न्याय खोज्ने मानिस र मुलुकको आत्मा मार्दैछ । ‘फासीवाद’को स्वागत गर्दैछ ।

राष्ट्रहरू किन असफल हुन्छन् भन्दै डरोन एसेमोग्लु र जेम्स रोबिन्सनद्वारा गरिएको गहिरो अनुसन्धानले पत्ता लगाएको छ- ‘भूगोल वा संस्कृतिको कारणले राष्ट्रहरू सफल वा असफल हुने होइन, उनीहरूभित्रको उत्खनन वा समावेशी संस्थाहरूको उदयको कारणले राष्ट्र असफल हुनेछ ।’ उल्लेखित तथ्यको गहिरो विश्लेषण गर्दै पश्चिमा शक्तिले मुलुक प्रवेश गराएको हाइब्रिड उपलब्धिमार्फत डरलाग्दो उत्खनन् र समावेशी संस्थाहरूको उदय गराउने अभियान तीव्र गतिमा चलाइएको छ । कसैलाई निषेध नगरिएको शासन मिल्काउँदै सामाजिक न्याय, आर्थिक न्याय, मानव सुरक्षा, मर्यादा र भविष्यको हत्या गर्दै मुलुक लुट्ने प्रतिस्पर्धा चलाइएको छ । ‘सडक पुगेपछि गाउँ खाली हुने, हाइब्रिड उपलब्धिको प्रवेशपश्चात् देश खाली हुने’ अवस्थामा मुलुक र न्यायको पक्षमा मुख खोल्नेविरुद्ध रणनीतिक आक्रमण चलाइएको छ, जसले गर्दा मुलुक र मुलुकवासीको आगामी दिन सङ्कटै सङ्कटमा बित्ने देखिएको छ ।