फेक न्युज र मिडिया ट्रायलमा झुमेको पुस्ता !
सन २०२५ को प्रारम्भमा ट्रम्प अन्तर्राष्ट्रिय अतिथिगृहमा एलन मस्कको साइबर ट्रक विस्फोट गराइयो । आधुनिक प्रविधिको दुरुपयोग गर्दै गराइएको घटनामा सात जना सर्वसाधारण घाइते भए । घटनाको अनुसन्धानपश्चात् अमेरिकी अधिकारीले भने- टेस्ला साइबर ट्रकमा आक्रमणको योजना बनाउन ChatGPT प्रयोग गरिएको थियो । ३७ वर्षीय म्याथ्यू लिभल्सबर्गरले साइबर ट्रक विस्फोट गर्न कति विस्फोटक पदार्थ चाहिन्छ भन्दै ChatGPT सँग सहयोग मागेको घटनाले अमेरिकी अधिकारीलाई गम्भीर बनाएको छ । ChatGPT ले व्यक्तिलाई विशेष उपकरण बनाउन मद्दत गरेसँगै अमेरिकी सरकारको चिन्ता बढाएको छ । openAI ले अनुसन्धानमा ChatGPT को भूमिकालाई डरलाग्दो मानेको छ, जसले पछिल्लो पुस्ताको स्वतन्त्रता र सोचमा गम्भीर विचलन आएको नीति निर्माताको बुझाइ छ ।
सम्भावना अपार भएको मुलुकमा युवाको चुनौती डरलाग्दो बनिसकेको छ । निजी विद्यालयबाट उत्पादन भएको युवा पुस्ताले फराकिलो सामाजिक वास्तविकतालाई ध्यान दिएको देखिँदैन । देशलाई केन्द्रबिन्दुमा राख्न छोडेको शैक्षिक उत्पादनले मुलुकलाई डुबाउँदै छ । सामाजिक गतिशीलतामा गहिरो अन्तर्दृष्टि हुन्छन् । इन्टरनेट पुस्ताको चेतना स्तरले चुनौतीलाई पहिचान गर्न नसकेको समयमा उनीहरूको गतिविधिलाई सूक्ष्म अध्ययन गरिरहेको पश्चिमा शक्ति दङदास छन् । दुर्भाग्यवश openAI र ChatGPT जस्ता प्रविधि ‘डाइनामाइट’ बनेर उदाएको समयमा ‘स्वतन्त्रता र अराजकता’ बीच फरक छुट्ट्याउन नसक्ने युवा पुस्ताले मुलुक जोगाउन नसक्ने पश्चिमा शक्तिको निचोड छ ।
अज्ञानता ! निष्क्रियताको बहाना हुन सक्दैन । दुर्भाग्यवश पैसाले पैसा कमाउने ‘वित्त पुँजीवाद’ले सर्वसाधारण नागरिक र इकोसिस्टमलाई आफ्नो इच्छामा नचाएको छ । उज्यालो भन्नासाथ ‘दिन’ हो भन्ने बताइएको छ । सर्वसाधारण नागरिकलाई आँखा बन्द गरेर ताली बजाउन विवश बनाएको छ । पुर्खाको ‘ज्ञान र सिप’को विकल्प पश्चिमा विचार बनाउने कथित शक्तिले युवा-युवतीको दिमाग चाटेको छ । श्रम, पुँजी, प्रविधि र स्रोतहरूको गम्भीर दुरुपयोग गर्दै विकास र समृद्धिको कथा छरिएको छ । दशकौँको अनुसन्धानले देखाएको छ, नागरिकको चुलोमा नपुग्ने राजनीतिक परिवर्तनले प्रतिक्रान्तिलाई स्वागत गर्नेछ । जसलाई पुष्टि गर्न मुलुकले हतार गरिरहेको बुझ्नासाथ पश्चिमा शक्तिले डिपफेक, उपभोक्तावाद, माफियावाद, मिडिया ट्रायल, कथित स्वतन्त्रता र सामाजिक अराजकता युवा-युवतीको दिमागमा प्रवेश गराइएको छ ।
परिवर्तन खोज्दै गरेको नयाँ पुस्ता विचित्रको गडबडीमा रमाएको छ । उनीहरू विश्वमा भएको परिवर्तन खोजिरहेका छन् । मुलुकको आर्थिक, राजनीतिक, सामाजिक हैसियतलाई अनदेखा गर्दै विकसित विश्वसँग एकाकार हुन चाहेको पछिल्लो पुस्ता ‘फेक’लाई ‘सत्य’ मान्न हतारिएको छ । उनीहरू डिसइन्फर्मेसन, मिसइन्फर्मेसन, घृणा, कुण्ठा, गाली बेइज्जती, मिडिया ट्रायललाई उन्नति र प्रगतिको आधार मान्दैछन् । अमेरिकी लेखक एवम् आर्थिक समाजशास्त्री योशिहिरो फ्रान्सिस फुकुयामाले प्रख्यात तर्क गरेका छन्- ‘उच्च विश्वास भएको समाजले बलियो संस्था र कर्पोरेट संरचना निर्माण गर्छन् ।’ फेक न्युजलाई सत्य मानेको आधुनिक पुस्ताले ‘नैतिक पुँजी’को शक्ति र महत्त्व बुझ्न सक्दैन । नैतिक पुँजी बिना नीतिनिर्माताले लिने महत्त्वपूर्ण निर्णयले स्रोतको सही परिचालन गर्न सक्दैन ।
राणा शासन, पञ्चायतहुँदै लोकतान्त्रिक गणतन्त्रसम्म पुग्दा मुलुक झन्-झन् कमजोर किन भयो ? कमजोर भएको या पारिएको मुलुकलाई कसरी आत्मनिर्भर र स्वतन्त्र बनाउन सकिन्छ भन्ने कार्यक्रम र योजना नखोज्ने युवापुस्ता ‘झिल्केवाद’लाई सर्वस्व ठान्न हतारिएको छ । केवल प्रश्न गर्न जानेको, विपक्षीको जवाफ सुन्ने धैर्यता नभएको पछिल्लो पुस्ता आफूले नपाएकोमा खासै चिन्ता गर्दैन, तर अरूले पाए/खाएकोमा आक्रोशित छ, परनिन्दक र परपीडक बन्दैछ । आफूलाई मन नपर्ने कुरा सुन्न चाहँदैन । विषयवस्तु नबुझीकन, शीर्षक हेरेको भरमा कमेन्ट गर्न हौसिन्छ । विषय र प्रसङ्गबिनाको देवत्त्वकरण या राक्षसीकरण गर्दै जीतको उत्सव मनाउँछ । इमोसनल ब्ल्याकमेलिङ गर्ने व्यक्ति र शक्तिको मार्केटिङ गर्न हौसिन्छ । ‘फेक’लाई सत्य मान्ने वर्तमान पुस्ता प्रविधिको दुरुपयोगमा सन्तुष्टि खोज्दै छ । फास्ट ट्र्याकमा सकारात्मक परिवर्तन खोज्न, नकारात्मक बाटो रोज्दैछ ।
मुलुक निर्माणको सबैभन्दा ठुलो शक्ति र सम्पत्ति युवा हुन् । फेक न्युजमा रमाएको युवा पुस्ता राजनीतिसँग सम्बन्ध बनाउन चाहेको छ । दुर्भाग्यवश उसको अभद्र शैलीले नागरिक र राजनीतिसँग सम्बन्धविच्छेद भएको छ । आलोचनात्मक सोच, नैतिकता र सीपहरूमा केन्द्रित हुनुको सट्टा सोसल मिडियामा रमाउँदै छ । पछिल्लो पुस्ता भ्रष्टाचारविरोधी छ । भ्रष्टाचार केवल आर्थिकमात्र हुँदैन । यसको सामाजिक र सांस्कृतिक रूप पनि हुन्छ भन्ने बुझ्न सक्दैन । भ्रष्टाचारले राष्ट्रको नैतिक आधार कसरी भङ्ग गर्छ भन्ने बुझ्न नसकेको यो पुस्ता मिडिया ट्रायलमार्फत समाधान खोज्दैछ । परिवर्तन र सुशासनको सुरुवात पारदर्शिता, निष्पक्षता र जवाफदेहिताबाट सुरु हुन्छ । जुन कुरा व्यक्तिगत र सामूहिक हुन्छ भन्ने सोसल मिडिया पुस्ताले अझै बुझ्न सकेन ।
‘आधुनिक अर्थतन्त्र’ प्राविधिक नवप्रवर्तन र कुशल पूर्वाधारमा मात्र फस्टाउँछ भन्ने बुझेको शक्तिले मुलुकको राजनीति कब्जा गरेको छ । कृषि र आधुनिक पूर्वाधारमा लगानी रोकेको शक्तिले युवा पुस्तालाई भुत्ते बनाएको छ । सामाजिक एकतालाई बेवास्ता गरेको सोसल मिडिया पुस्ताले विभाजनकारी राजनीतिमा इन्धन भरिरहेको छ । शाब्दिक घृणाले सामाजिक संरचनालाई कमजोर बनाउँदै छ । फेक न्युजलाई आँखा चिम्लेर पत्याउने सोसल मिडिया पुस्ताले अझै बुझ्ने कोसिस गरेको देखिँदैन । प्रामाणिक पत्रकारिता महँगो हुन्छ । इलेक्ट्रोनिक र सोसल मिडियामार्फत प्रसारित झुट्टा कथाले मुलुकको ‘भाग्य र कर्म’माथि गम्भीर खेलबाड गरिरहेको छ । रणनीतिक कारखानामा उत्पादन गरिने फेक न्युजलाई सर्वस्व ठान्ने र मान्ने इन्टरनेट पुस्ताले मुलुकलाई डुबाउँदै छ ।
स्मार्ट फोनलाई एकमात्र सत्य मान्न हौसिएको वर्तमान पुस्ताले फेक न्युजलाई ‘झुट’ मान्दैन । जनविश्वास गुमाएको शासक र विभाजित सोसल मिडिया पुस्ताले सिर्जना गरेको कसिङ्गरले मुलुक र राजनीतिलाई थलापारेको छ । भ्रष्टाचार, अपारदर्शी शासन र नैतिक असफलताले नेतृत्वको सार्वजनिक विश्वास घट्दैछ । निष्पक्षता, जवाफदेहिता र पारदर्शिताको महत्त्व थन्क्याएको राजनीतिले ‘डिप फेक’मा भविष्य खोज्दैछ । प्रिन्ट मिडियाले परम्परागत रूपमा फेक न्युजलाई खासै स्थान दिँदैन । जबकि सोसल मिडियाले फेक न्युजलाई फिल्टरसमेत गर्दैन । इन्टरनेटको आक्रामक विकास र सर्वव्यापी उपस्थितिपश्चात् ‘सत्य’माथि चौतर्फी धावा बोलिएको छ । जसले गर्दा सत्य छुट्ट्याउन कठिन र जटिल भएको छ ।
१९औँ शताब्दीको उत्तरार्धमा जोसेफ पुलित्जरको न्यु योर्क वर्ल्ड र विलियम रान्डोल्फ हर्स्टको न्यु योर्क जर्नलबीचको प्रतिस्पर्धाले जन्माएको सनसनीपूर्ण समाचारले ‘पहेँलो पत्रकारिता’को परिचय दियो । त्यसको आधुनिक रूप बनेर ‘फेक न्युज’ उदाएको छ । फेक न्युजले विश्वलाई पिरोल्दैछ । शक्तिशाली मुलुकले सोसल मिडिया फोहोर गर्ने फेक एकाउन्टहरू निलम्बन गर्न सक्छन् । दुर्भाग्यवश मुलुकले सोसल मिडियालाई नियमन गर्ने ल्याकत गुमाएको छ । फेक न्युजले मुलुकको शान्ति खोस्दैछ । द्वन्द्व बढाउँदै छ । फेक न्युजको कारणले सामाजिक विभाजन बढाएको छ । संवादलाई जटिल बनाएको छ । हिंसालाई उक्साउँदै छ । घृणामार्फत समाजलाई ध्रुवीकरण गराउँदै छ । राजनीतिक प्रक्रियालाई अस्थिर बनाउँदै छ ।
भ्रम छर्न र जनमतलाई हेरफेर गर्न जन्माइएको फेक न्युजले राज्य र संस्थाको विश्वास घटाएको छ । फेक न्युजको विरुद्ध लड्न सरकार र सामाजिक मिडिया कम्पनीबीच अन्तर्राष्ट्रिय सहयोगको आवश्यक छ । युवा पुस्तालाई मिडिया साक्षरता दिन जरुरी छ । आईएनजिओ र एनजिओले फैलाएको भ्रम र प्रभावलाई कमजोर बनाउन युवा पुस्ताले फेक न्युजबाट जोगिनु जरुरी छ । युवाले बुझ्न जरुरी छ- फेक न्युज चाँडै फैलिन्छ । फेक न्युजलाई नियन्त्रण र सम्बोधन गर्न नयाँ कानुनको आवश्यकताबारे जनतालाई शिक्षित गर्नु महत्त्वपूर्ण छ ।
राजनीतिक सोच, प्रवृत्ति र कार्यशैली यथावत् राखेर मुलुकले व्यवस्था बदल्यो । संविधान बदल्यो । निर्वाचन प्रणाली बदल्यो । व्यक्ति बदल्यो । २४०वर्षे राजसंस्थालाई बिदा दियो । अनेकौँ पार्टी र विचारलाई सिंहदरबारमा बसायो । अझ रोचक कुरा भाषा, संस्कार, संस्कृति, धर्मसमेत बिसायो । आयातित धर्म र एजेन्डा स्वीकार गऱ्यो । स्थानीय बिउबिजन, पशुपालन र कृषि प्रणाली समेत त्याग्दै गयो । देश बनाउँछौँ, नयाँ-नयाँ रोजगारी मुलुकभित्रै सिर्जना गर्छौं भन्नेहरूको अगुवाइमा राज्यद्वारा सञ्चालित सीमित उद्योग धमाधम बन्द गरियो । दक्षिण-पश्चिमको आदेश शिरोधार्य गरियो, दुर्भाग्यवश फेरि पनि मुलुक बनेन ।
अन्तमा, तमाम प्रयोगका बाबजुद मुलुक नबनेको अवस्थामा ‘वृद्ध माहुरी भ्रष्ट भए.. अल्छी भए, अब युवा अरिङ्गालले मह पार्छ’ भन्दै कथित स्वतन्त्रता उपभोग गर्ने सोसल मिडिया-पुस्ता गाली, बेइज्जती, घृणा र अराजकतामार्फत मुलुक निर्माण गर्न कस्सिएको छ । दुर्भाग्यवश फेक न्युज र मिडिया ट्रायललाई सर्वस्व ठान्ने युवा पुस्ताको काँचो बुझाइ र गतिविधिले मुलुकलाई गम्भीर सङ्कटतर्फ धकेल्दै छ ।