सोसल मिडिया, टेक्नोलोजी र एक्लोपनको महामारी
पछिल्लो समय मुलुकमा ६५ वर्ष माथिका मानिसको सङ्ख्या बढ्दै गएको छ । परिवारको प्रमुख पात्रले ‘मुसा दौड’मा अत्यधिक समय खर्च गर्न विवश हुँदा ज्येष्ठ नागरिकले बहुमूल्य समय पाउन सकेका छैनन् । जसले गर्दा वयस्कहरूलाई एक्लोपन र सामाजिक एक्लोपनले सताउँदै छ । एक्लोपनको महामारी चुलिएको राज्यले स्वीकार नगरे पनि सामाजिक रूपमा एक्लो महसुस गर्नेहरू मुलुकमा दिन-प्रतिदिन थपिँदै छन् । फलस्वरूप ज्येष्ठ नागरिकको दैनिकी टिठलाग्दो बन्दैछ ।
मानवता मर्दै गरेको वैश्य युगमा ‘एक्लोपन एक ‘पश्चिमी’ समस्या मात्र होइन, आधुनिक जिन्दगीमा रमाइरहेका सबै ठाउँका मानिसलाई सताउने एउटा गम्भीर महामारी पनि हो ।’ विश्व पुँजीवादले आम नागरिकलाई केवल उपभोक्तामा सीमित गर्दा एक्लोपनको बारेमा सोच्ने र उचित समाधान पस्किने जाँगर र ल्याकत नीति निर्मातासँग रहेन।फलस्वरूप मानवजाति समाज, भाषा, संस्कृति, परम्परा भन्दा टेक्नोलोजीको अधीनमा जिउन विवश छ । उपभोक्तावादको डरलाग्दो साम्राज्य कायम भएको पछिल्लो समयमा आम मानिसको पीडा सोसल मिडियामार्फत पोखिँदै छ ।
यतिबेला मुलुकमा एक्लोपनको महामारी चलिरहेको छ । ‘वास्तविक’ जीवनलाई बुझ्न नसकेको पछिल्लो पुस्ता लक्ष्य र गन्तव्यबाट भड्किएको छ । ‘सहयोगी र सहयात्री’ शब्दको अर्थ र महत्त्व बुझ्न अलमलिएको पुस्ता प्रविधिको दास बन्न हौसिएको छ । प्रविधि एउटा साधन मात्र हो।मानव जीवनमा प्रविधि पदक वा ट्रफी होइन । हत्केलामा अत्याधुनिक प्रविधि बोकेर आफूलाई अर्कै ग्रहको मानव सम्झिने सोचले इन्टरनेट पुस्तालाई मानसिक रोगी बनाउँदै छ।जीवनमा कुनै समस्या नहोस् भन्दै जिम्मेदारीबाट भाग्न चाहने पछिल्लो पुस्ताको आफ्नै गतिविधि समस्या बनिरहेको छ । उनीहरू समस्या नहोस् भन्दै विवाह गर्छन् तर छोटो समयमा विवाहलाई समस्या मान्दैछन् ।
वैश्य युगमा सोसल मिडिया महामारी बनेर फैलिएको छ । यसले युवायुवतीको रचनात्मक र सिर्जनात्मक शक्ति समाप्त गरिरहेको छ । खराब कुरा भरेर दिमागलाई ‘डम्पिङ साइट’ बनाउँदै छ । एक्लोपनबाट जोगिने चाहनामा मानसिक रोगी बनाउँदै छ । बहुमुल्य समय र उर्जा बरबाद गर्दै छ।परिवारको उत्तरदायित्वबाट कोसौँ टाढा पुगेका उनीहरूको फेसबुकमा ५ हजार साथी छन् तर उनीहरू नितान्त एक्लो छन् । अपवादमा बाहेक परिवारहरू भत्किँदै छ । नक्कली हाँसो र अन्तरक्रियाको झुटो दैनिकीमा पलपल मरेर बाँचिरहेका छन् ।
शारीरिक निकटताका बाबजुद पतिपत्नीबिच भावनात्मक निकटता नाम मात्र बाँकी छ । व्यक्तित्व द्वन्द्व, भावनात्मक असन्तुष्टि, पुस्ताको भिन्नता र आर्थिक समस्याले सम्बन्धहरू बनावटी बनिरहेको छ । फिटनेस, स्टाइल, डाइटमा लोभिएका युवायुवती समाज, सरकार र राजनीतिलाई दुस्मन देख्दै छ।मानिससँग अन्तरक्रिया गर्नुभन्दा ‘एआई र च्याटबट’लाई अभिन्न मित्र मान्दैछ।सोसल मिडिया र प्रविधिले अमुक पात्रलाई ‘दयालु’ देखाएकोमा खुसीले झुम्दैछन् । ‘धैर्य’ हराएको पछिल्लो पुस्ता ‘कला र कलाकार’लाई एकमात्र सत्य देख्दैछ । किशोर किशोरीहरू आफ्ना समस्या आमा बुवालाई बताउन रुचाउँदैन । आफ्ना वास्तविक र स्वतन्त्र रुचिसमेत ‘एआई र च्याटबट’सँग पोखिरहेका छन् ।
आत्मप्रेम र आत्मसम्मानको भोगले थलिएको पुस्ताले ‘एआई’लाई ‘थेरापी’को रूपमा लिँदैछ । character.ai जस्ता एप र साइटहरूमा जानुअघि सावधानी अपनाउन समेत नचाहने युवा युवतीले आफूलाई थप बरबाद गरिरहेका छन् । प्रविधिमार्फत आफ्ना गोप्य कुराहरू बताउन मरिहत्ते गर्दा उनीहरू थप समस्यामा पर्दैछन् । एक्लोपनको महामारीमा परेको पुस्ताले प्रविधिको व्यापार गरिरहेका ‘एप कम्पनी’हरूलाई आफ्ना गोप्य सूचना उपलब्ध गराइरहेका छन् । सित्तैमा प्राप्त डाटामार्फत आधुनिक कम्पनीहरूले एक्लोपन महामारीको सफल व्यापार गरिरहेका छन् ।
युवायुवतीले सदैव अनदेखा गरिरहेका छन्- एआई सधैँ राम्रो वा सही हुँदैन । यसलाई च्याटजिपिटी प्रयोगकर्ताले सजिलोसँग बताउन सक्नेछन् । एक्लोपनबाट जोगिएको महसुस गरिरहेका उनीहरू वास्तवमा एक्लो बन्दै छन् । युवाहरूको नजरमा क्यारेक्टर एआई लोकप्रिय बटहर मध्ये एक हो । केही बटहरू प्रयोगकर्तासँग दीर्घकालीन सम्बन्धहरू विकास गर्न प्रोग्राम गरिएको छ । व्यापारिक कम्पनीले सिर्जना गरेको अत्याधुनिक एप ‘संवेदनशील र उत्तरदायी’ भावनाले भरिपूर्ण छन् । आधुनिक कम्पनीले यस्तै chatbot मा आधारित अन्तरक्रियाहरू प्रदान गर्दछ, जसको प्रयोगमा झुमेका पुस्ताको गन्तव्य थप अनिश्चित बन्दैछ ।
वैश्य युगका नागरिकले ‘भावनात्मक समर्थन’ खोजिरहेका छन् । दुर्भाग्यवश परिवारमार्फत प्राप्त गर्ने भावनात्मक समर्थनले विश्वास गुमाउँदै छ । फरक व्यक्तित्वका मानिसहरू अवास्तविक खुसी खोज्दैछन् । वास्तविक जीवनमा साथ र समर्थन दिने प्रविधिले प्रयोगकर्ताको इच्छा, चाहना, बोली र व्यवहारलाई गज्जबले समायोजन गर्दैछ, जसले उनीहरूको भ्रम र एक्लोपनलाई साथ दिँदैछ । प्रविधिको पछिल्लो चमत्कारले भ्वाइस सुविधामार्फत रचनात्मक प्रयोगको ढोका खोलिसकेको छ । ‘ओपन एआई’ले ब्लग पोस्टमा भनेको छ, अत्याधुनिक यन्त्रसँग नागरिकलाई एकीकृत गर्ने नयाँ-नयाँ कार्यक्रम समेटिएको छ । दुर्भाग्यवश एक्लोपनको ‘ताई’बाट फुत्किने कोसिसमा इन्टरनेट पुस्ता एप कम्पनीको ‘भुङ्ग्रो’मा पर्दैछन् ।
chatGPT को नयाँ भ्वाइस सुविधाले आम मानिसलाई कथा सुनाएर सुताउन सक्छ।डिनर टेबलमा बहस गर्न पनि सक्छ ।spotify द्वारा प्लेटफर्मको पोडकास्ट सामग्रीलाई विभिन्न भाषामा अनुवाद गर्न सक्छ । Open AI ले भनिसकेको छ, प्रयोगकर्ताले आफ्नो वरपरका चीजहरूको तस्बिरहरू लिन सक्छन् । तपाईंको समस्या निवारण गर्न, खानाको योजना बनाउन, फ्रिजको सामग्रीहरू अन्वेषण सक्छ । तपाईंले चाहे जसरी सहयोग गर्न सक्छ । फलस्वरूप एक्लोपनको महामारीबाट ग्रस्त पुस्ता प्रविधिलाई थप विश्वास गर्न विवश छ । कृत्रिम बुद्धिमत्ताले उनीहरूको आवश्यकता पूरा गरिदिएको छ ।
पछिल्लो समयमा युवायुवतीले रोमान्टिक सम्बन्ध कायम गर्न अनेकौँ ‘एप’ नि:शुल्क पाएका छन् । रोमान्टिक मानव कृत्रिम बुद्धिमत्ता प्लेटफर्ममार्फत एक्लोपनको उपचार गरिरहेका छन् । वास्तविक नामको सट्टा छद्म नाम प्रयोग गर्न सिक्दै छन् । उच्च बेरोजगारीले थला परेका युवायुवती प्रविधिमार्फत जिउन हौसिएका छन् । भर्चुअल प्रेमीसँग कुरा गर्दै समय बिताउन पाएका छन् । नयाँ-नयाँ एप मार्फत एआई साथी फेला पारेका छन् । मिल्ने साथी र प्रेमी पाएका छन् । आवश्यकताअनुसार भर्चुअल क्यारेक्टर सिर्जना गर्न पाएका छन् ।
इन्टरनेट, स्मार्टफोन र सोसल मिडियाको युगमा जन्मिएका बालबालिकाको बाल्यकाल अघिल्लो पुस्ताको जस्तो नहुनु स्वाभाविक छ । वर्तमान समयमा हुर्किएका बच्चाहरूले सामाजिक रूपमा कम समय बिताएका छन् । उनीहरूले ठुला परिवार र प्रौढ पुस्तासँग कम अन्तरक्रिया गरेका छन् । उनीहरू शारीरिक गतिविधिमा कम व्यस्त छन् । बालबालिकाहरू अनलाइनमा धेरै समय बिताउँछन् । माटोसँग खेल्न नपाएको, इनडोर गतिविधिमा हुर्किएको पुस्ताको साथी र सामाजिक सर्कलसमेत अनलाइनले सिर्जना गरेको छ । भर्चुअल संसार नै उनीहरूको नजरमा ‘वास्तविक समाज’ हो । सोसल मिडिया उनीहरूको ‘समुदाय’ हो ।
सोसल मिडियाको उद्गम भूमि अमेरिका हो । उसको उत्पादन र व्यापारलाई जोगाउन १३ वर्षका बालबालिकालाई सोसल मिडियामा विचरण गर्न खुला छुट दिएको छ । कम्पनीहरूले १३ वर्षको उमेरका अभिभावकसँग सामान्य प्रक्रिया अपनाउँछन् तर विशेष जाँच गर्दैनन् । जसले गर्दा टिन एजमा बच्चाहरू सोसल मिडियामा रमाउन पाएका छन् । सोसल मिडियाको नकारात्मक पक्षलाई गहिरो अध्ययन गरेको अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाको लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कट्टरपन्थी कदम चालेको छ । उनीहरूको अध्ययनअनुसार बयस्कता सुरु हुने उमेरमा सामाजिक सञ्जालले निकै नकारात्मक प्रभाव पार्छ । दुर्भाग्यवश नेपाल जस्तो अल्पविकसित, गरिब, विधिको शासन भताभुङ्ग भएको मुलुकमा सोसल मिडियाको फाइदा या बेफाइदाको बारेमा ‘बहस’सम्म सुरु भएको छैन ।
नि:सन्देह, मुलुकमा सोसल मिडिया आतङ्क मच्चिरहेको छ । सोसल मिडिया कम्पनीहरूले सञ्जालका सकारात्मक पक्षलाई हाइलाइट गर्दै आएका छन् । नकारात्मक प्रभावहरूको जानकारी लुकाउँदै आएका छन् । त्यो उनीहरूको व्यापारिक धर्म नै हो । मुलुकमा युवाहरूमाझ उच्च स्तरको चिन्ता र तनाव देखाउँदछ । युवाहरूलाई इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालले कस्तो प्रभाव र असर गरिरहेको छ, जसको अनुसन्धान गर्न ढिला भइसकेको छ । इन्टरनेट प्रवेश अहिलेसम्म हरेक नागरिकको पहुँचमा पुगिसकेको छैन, यद्यपि यसको प्रयोग समयसँगै बढ्दै छ । शक्तिशाली देशका रणनीतिक जुत्ता लगाउन हौसिँदा अन्तहीन समस्याको सामना गरिरहेका छौँ ।
शक्तिराष्ट्रको रणनीतिक र व्यापारिक उत्पादनले इन्टरनेट पुस्ताको भावनासँग कुशलतापूर्वक खेलिरहेको छ। सोसल मिडिया प्लेटफर्मका उत्पादन र आधुनिक प्रविधिले एक्लोपन ल्याउन /जन्माउन बहुमूल्य योगदान गरिरहेको छ । एक्लोपनको महामारीले थलिएका नागरिकले वरदान ठानेर/मानेर रमाइरहेको छ । उच्चस्तरको ‘चिन्ता र तनाव’मा परेको नबुझ्ने पुस्ता सोसल मिडियाको २४ घण्टे उपस्थितिमा विचित्रको जिन्दगी जिउँदै छ । डिप्रेसनको सिकार भएको समेत थाहा नपाएको पुस्ताले ‘परिवार र राज्य’सँग दूरी बढाउँदै छ । मानवीय सम्बन्ध त्याग्दै प्रविधिको भरमा बाँच्न हौसिएको इन्टरनेट पुस्तालाई कन्भिन्स गर्ने कार्यक्रम राज्यसँग नरहेको खुलिसकेको छ । यस्तो विडम्बनापूर्ण अवस्थामा ‘एक्लोपन महामारी’ले काम फत्ते गरेर विश्राम लिने निश्चित छ ।