भिजन क्राइसिस
हाइब्रिड परिवर्तनपश्चात् युवायुवतीलाई राजनीतिबाट सफलतापूर्वक अलग गरिएको छ । विद्यार्थी आन्दोलन सेलाएको लामो समय भइसकेको छ । सरकार र माउ पार्टीको गुलामीमा भविष्य देखेका युवाहरू ‘राजनीतिक र वैचारिक’ कुरामा दिमाग खर्च गर्न रुचाउँदैन । सीमान्तकृत वर्गसँग सरोकार राख्ने मुद्दाहरू युवा प्राथमिकतामा पर्न छोडेको छ । अपवादको रूपमा राजनीतिक उद्योगमा हामफालेका युवाहरू विचारको सट्टा सोसल मिडियालाई राजनीतिको जरा मान्दैछन् ।
विगतको तमाम विकृति, विसङ्गति, भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद विरासतमा सुम्पेर नागरिक झुक्क्याउँदै मुलुक प्रवेश गराइएको हाइब्रिड लोकतन्त्रले व्यक्ति बदलेर चलाखीपूर्वक शासन गरिरहेको छ । पञ्चायत, प्रजातन्त्र र राजसंस्थाको बिदाइ गराउने शक्तिले आर्थिक क्रान्तिलाई रोकेको छ । ध्वंस, पुत्ला दहन, राँके जुलुस, तोडफोड, बन्द, हडताल, चक्काजाम, नेपाल बन्दले मुलुक बनेन/बन्दैन भन्दै हाइब्रिड उपलब्धि जोगाउन मैदानमा उत्रिएको/उतारिएको कथित वैकल्पिक शक्ति ‘राजनीतिक संस्कार र भिजन’ले टाट पल्टिएको मुलुकले देख्न र भोग्न पाएको छ ।
सहकारी ठगीको पर्दाफासपश्चात् युवाहरूको लोकप्रिय नेतृत्व पखालिएको छ । जसले गर्दा युवायुवतीलाई एकताबद्ध गर्दै बेचिएको सोसल मिडिया कथा, राजनीतिक बयानबाजी र कथित शैलीको बजार मूल्य घटेको छ । जसको फाइदा विदेशीसँग सम्झौता गरेका मूलधारका दलहरूले उठाएका छन् । विचारको औपचारिक हत्या गर्दै उदाएका व्यक्तिप्रति नागरिकको व्यापक असन्तुष्टि चुलिएको छ । जनसमर्थनको बाबजुद चलिरहेको सत्ता राजनीतिको असर सोसल मिडियामा पोखिएको छ । आत्मविश्वास घटेको युवायुवतीको आक्रोश गालीमा बदलिएको छ, जसले नेपाली समाजको चरित्रमा व्यापक स्खलन ल्याउँदैछ । पार्टी राजनीतिमा इमानदार मानिसको उपस्थिति घट्दै जाँदा मुलुक थप बरबाद हुँदैछ । कथित नेतृत्वसँग विश्वास गुमाएको युवाहरूको क्षमता उकालो चढेको देखिँदैन । युवाहरूको रचनात्मक क्षमता बिना परिवर्तन सम्भव छैन । दुर्भाग्यवश ‘भिजन क्राइसिस’बाट गुज्रिएका युवाहरू सत्ताधारी वर्गको कमजोरीमा भविष्य खोज्दैछन् ।
मुलुकको परिस्थिति सुधार्ने जिम्मा सिंहदरबारको हो भन्ने युवाले बुझ्न/बुझाउन छोडेको छ । भिजनविहीन युवाहरूले राजनीतिक गतिविधिलाई ब्यर्थ मान्न हौसिएका छन् । उनीहरू आफ्नो वास्तविक शक्तिबाट अनविज्ञ छन् । निजी महत्त्वाकाङ्क्षा हासिल गर्न अवसरवादको पछि भाग्दैछन् । सबैखाले हिंसाले गैरलोकतान्त्रिक शक्तिलाई मात्र बलियो बनाउन सक्छ भन्ने भुल्दै छन् । राजनीतिक भिजनलाई भन्दा सोसल मिडियालाई अधिक विश्वास गर्ने उनीहरू तथाकथित ‘स्टण्ट’बाट मुलुक परिवर्तन गर्न कस्सिएका छन्, जसले गर्दा मुलुकमा सोसल मिडिया अराजकता चुलिँदैछ ।
पुँजीको अमानवीय स्वार्थहरूले मानवीय क्षेत्रहरूमा गम्भीर प्रभाव पारिरहेको छ । मानवीय सरोकारहरूमा पुँजीको भ्रष्ट प्रभावको अन्त्य अनिवार्य छ, यद्यपि यसको प्रभाव बढ्दो छ । जसले राजनीति र युवालाई सङ्कटतर्फ धकेल्दै छ । मानवीय क्षेत्रहरूमा पुँजीवादको प्रवेश डरलाग्दो बनिसकेको छ । ठुला पुँजीका मालिकहरूले चलाखीपूर्वक फैलाएको विचार र उच्च असमानताले युवाहरूलाई मुसादौडमा सीमित गरेको छ । दैनिकी खल्बलिएका युवाहरूले राजनीति बुझ्न नसक्दा हाइब्रिड लोकतन्त्र मुलुकको बोझ बन्दैछ । संरक्षण, सम्पत्ति, सीप र सामाजिक सेवा भताभुङ्ग बनाउनेहरू सिंहदरबारमा अट्टहास गर्दैछन् ।
अति केन्द्रीकृत राजनीतिले नागरिकलाई निरुत्साहित गरिरहेको छ । राजनीतिक निरङ्कुशता र आर्थिक अनुत्पादकताले मुलुकलाई दुःखमात्र दिएको छ । अचम्मको कुरा ! विचार र सिद्धान्त त्यागेका हाइब्रिड पञ्चहरू समाजवादको सपना बाँड्दैछन् । नागरिकको कम आम्दानीका कारण आन्तरिक बजार सानो छ । ठुलो लगानी गर्दै नागरिकको आम्दानी बढाउन नसकेसम्म राष्ट्रिय बजार र उत्पादकहरूको नाफा विस्तार हुनेछैन । गरिबहरूको आम्दानी बिस्तार गर्न स्थानीय स्रोतमा आधारित उत्पादन नीति बनाउनु पर्नेछ । जसले स्थानीय नागरिकको बचतलाई आर्थिक परिचालनमा जोड्न मद्दत गर्नेछ । ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन भूमिका खेल्नेछ ।
मुलुकको ‘राजनीतिक नेतृत्व’ र ‘कर्मचारीतन्त्र’ भ्रष्ट मानसिकताले थलिएको छ । उनीहरू फुर्सदमा छन् । मुलुक बनाउन नसकेकोमा पश्चात्ताप छैन । कुनै आत्मग्लानी छैन । मुलुकलाई यथास्थितिमा राख्न सकेकोमा गर्व गरिरहेका छन् । आफ्नो कथित ‘ज्ञान र अनुभव’लाई व्यक्तिगत फाइदामा प्रयोग गर्न पाएकोमा प्रफुल्ल छन् । परिवर्तन रोकेर बसेको नेतृत्व र कर्मचारीतन्त्र युवायुवतीलाई निराश बनाउँदै मुलुकबाट लखेट्न सकेकोमा अट्टहास गरिरहेका छन् । आधुनिक प्रविधि, विकसित देशको विकास मोडेल पछ्याउन चाहेको युवावर्ग ‘अनुभवको अर्थ, तागत र महत्त्व’ बुझ्दैन । हरेक क्षेत्रमा आफूलाई मात्र अब्बल देख्ने यो वर्ग अनुभवसँग सहकार्य गर्दै मुलुक निर्माण गर्न तयार छैन । जसको प्रत्यक्ष फाइदा तथाकथितहरूले उठाइरहेका छन् ।
शिक्षा, स्वास्थ्य र अन्य सामाजिक सेवाहरूमा राज्यको लगानी बढाउँदै नागरिकको सुरक्षा र कल्याण गर्ने ‘नर्डिक मोडेल’को महत्त्व बुझ्न नसक्ने युवाहरू हाइब्रिड व्यवस्था जोगाउन मरिहत्ते गर्दैछन । नर्डिक मोडेल निजी पुँजीमा बनेको एउटा ढाँचा हो भन्नेसम्म नबुझ्ने कथितहरू वैकल्पिक राजनीतिको धज्जी उडाउँदै छन् । ‘शिक्षा’ राष्ट्र निर्माण र उच्च उत्पादकत्वको साधन हो भन्दै गफ दिन्छन् तर दिगो आर्थिक वृद्धिको लागि कस्तो शिक्षा भन्ने भिजन पस्किन सक्दैनन् । आर्थिक, सामाजिक असमानतालाई निमिट्यान्न पार्ने कार्यक्रमबिना राजनीतिमा हामफालेका युवाहरू कुहिरोका काग बनिरहेका छन् । दिगो खाद्य प्रणाली र सार्वजनिक कल्याणको विषयमा उनीहरूले बोलेको आजसम्म सुनिएको छैन । आर्थिक वृद्धि र मानवपुँजी वृद्धि गर्न मुलुकले लिनुपर्ने आर्थिक नीति समेत सार्वजनिक गर्न सकेका छैनन् ।
युवाहरूमा बढ्दै गरेको नकारात्मक प्रवृत्तिलाई रोक्ने समय आएको छ । राजनीतिक चेतना विकास गर्दै अरूको कमजोरीबाट उठ्ने परम्परागत शैली त्याग्न जरुरी छ । मुलुकभित्र रहेका युवा युट्युबरलाई गोलबद्ध गर्दै उनीहरूलाई देशभक्ति र नेपाली इतिहास पढाउन आवश्यक छ । मुलुकमा घटेका तमाम नकारात्मक घटनाको प्रचार-प्रसार गर्नुको सट्टा सिर्जनात्मक विषयमा बहस चलाउनुपर्ने छ । युवाहरूले मुलुक र नागरिकको आवश्यकता बुझ्दै परिवर्तनको आधार निर्माण गर्नुपर्ने छ । कमिसनमा आधारित योजना, सामान्य नागरिकले लाभ लिन नसक्ने तमाम आयोजना र परियोजना बन्द गर्नुपर्ने छ । आइएनजिओद्वारा पालिएका तथाकथित व्यक्ति र अभियन्ताको धारणाबाट मुलुकलाई जोगाउने भिजनको विकास गर्नुपर्ने छ ।
विगतका क्रान्तिकारीहरू किन र कसरी ‘हाइब्रिड पञ्च’ बन्न राजी भए भन्ने सूक्ष्म अध्ययनको आवश्यक छ । जब-जब क्रान्तिकारीहरू आफ्नो लक्ष्य, उद्देश्य र सिद्धान्तलाई बिसाउँदै निजी महत्त्वाकाङ्क्षा प्राप्तिमा लाग्नेछन्, तब-तब युवाहरूले क्रान्तिको मसाल थाम्न जरुरी छ । भूतपूर्व क्रान्तिकारीहरूको नकारात्मक पाटोमा समय केन्द्रित गर्नुको सट्टा राजनीतिक परिवर्तनमा पुऱ्याएको योगदान सम्झिँदै धन्यवाद दिन जरुरी छ । विरोधको परम्परागत राजनीतिको सट्टा सिर्जनाको बहस छेड्न उचित हुनेछ । साथै ‘प्रचण्ड र ओली, प्रचण्ड र देउवा, ओली र देउवा’ एक आपसमा मिल्दै मुलुक लुट्ने तथाकथित शैलीलाई युवा पुस्ताले बहिस्कार गर्न जरुरी छ । अरूलाई गाली गरेर आफूलाई राम्रो देखाउने सोसल मिडिया शैली त्याग्नु पर्नेछ । हरेक विषय र घटनालाई गम्भीर ढङ्गले अध्ययन र विश्लेषण गर्दै गरिखाने संस्कृतिलाई फर्काउनुपर्नेछ ।
पश्चिमको एमसिसी पुरस्कार र उत्तरको बिआरआई परियोजनाको ‘ऋण र अनुदान’ले मुलुक बन्दैन । त्यसैगरी दक्षिणले सिधै खर्च गर्ने २० करोडको रणनीतिक योजना, आयोजना र परियोजनाले पनि नेपाल बन्दैन । मुलुक निर्माणको निम्ति परिवर्तनको नाममा लादिएका कुविचार र गलत भाष्यलाई चटक्क त्याग्दै बाँझो जमिनलाई हराभरा बनाउने नीति लागु गर्नुपर्ने छ । छिमेकी मुलुकको नीति र व्यवहारको विरोध गर्नुको सट्टा स्वदेशी उत्पादन र उपभोग नीति अनिवार्य गर्न जरुरी छ । भारतीय नाकाबन्दी, कोभिड महामारी, रुस-युक्रेन युद्ध पश्चात् देखा परेको खाद्यान्न सङ्कटलाई बुझ्दै कृषक उत्पादन गर्ने आधुनिक नीति कार्यान्वयन गर्नुपर्नेछ ।
यतिबेला मुलुक गम्भीर ‘भिजन क्राइसिस’मा फसेको छ । नागरिकको दैनिकी लथालिङ्ग भएको छ । यस्तो विकराल अवस्थाबाट मुलुकलाई बचाउन उन्नत बिउबिजन, आधुनिक उपकरण, माटो, हावापानी सुहाउँदो कृषि प्रणालीले मात्र सक्ने छ । माछा, दूध, मासु, तरकारी, फलफूल उत्पादक किसानलाई बचाउन आयात बन्द गर्ने नीति आत्मसात गर्नुपर्ने छ । अधिक राजनीति र जलवायु परिवर्तनले पारेका तमाम असरबाट कृषि पेसालाई जोगाउनुपर्ने छ । दलाल र बिचौलियाको गम्भीर षडयन्त्रलाई अनदेखा गर्दै मुलुकभित्र पेसा र व्यवसाय गरिरहेका नागरिकको संरक्षण र सुरक्षा गर्न जरुरी छ ।
अन्तमा, सिद्धान्त त्याग्न नसकेका देशभक्त र मुलुक त्याग्न नसकेका युवाबीच गम्भीर अन्तर्क्रिया चलाउँदै वर्तमान पुस्ताले आर्थिक क्रान्ति सम्पन्न गर्नुपर्ने छ । राष्ट्रिय उत्पादन, उपभोग र बचत नीतिको आक्रामक विकास गर्दै राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने छ । पटके परिवर्तनको नाममा मुलुक छोड्न बाध्य पारिएका युवालाई स्वदेशमा फिर्ता ल्याउने सशक्त कार्यक्रमको जरुरी छ । सिंहदरबारमार्फत उल्लेखित कार्य गर्न/गराउन युवाहरूको अहम् भूमिका र सक्रियता चाहिन्छ । दुर्भाग्यवश क्रसरोडमा पुगेको मुलुकको राजनीति सही ट्र्याकमा फर्किने सङ्केतसम्म देखिएको छैन ।