‘जेनेरेसन जेड’को अग्निपरीक्षा !

अक्सफोर्ड डिक्सनरीअनुसार सन् १९९० र २०१० को बिचमा जन्मिएका मानिसहरूको समूहलाई ‘जेनेरेसन जेड’ भनिन्छ । जसलाई Zoomers पनि भनिन्छ । अझ सटिक विश्लेषण गर्नेहरूले सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएको समूह या पिँढीलाई ‘जेनेरेसन जेड’ भन्ने गरेका छन् । यो पिँढीले डिजिटल र भिजुअल सिकाइलाई अपनाएको छ । जेनेरेसन जेडले आधुनिक प्रविधि, स्मार्टफोन र हाइस्पीड इन्टरनेटसँग खेल्दै हुर्किएको छ, जसले उनीहरूलाई अलग महसूस गराएको छ । जेनेरेसन जेडलाई अवास्तविक चाहना र इच्छामा रुमल्लिने आरोप लाग्दै आएको छ । अचम्मको कुरा ! पश्चिमी मिडियाको विशिष्ट रणनीति बुझ्ने तागत मुलुकको जेनेरेसन जेडले राख्दैन । इन्टरनेट र सोसल मिडियालाई सर्वस्व मान्ने र ठान्ने यो पुस्ताले मर्मतमा विश्वास गर्दैन, तत्काल नयाँ लिन हौसिन्छ । पुर्खा र मुलुकको इतिहास सुन्न रुचाउँदैन । भविष्य पर्खेर बस्न पनि रुचाउँदैन । उनीहरूको नजरमा ‘बस्तु र सम्बन्ध’को मूल्य सस्तो छ ।

प्रविधिले ‘ग्लोबल भिलेज’लाई ‘ग्लोबल स्ट्रिट’मा परिणत गर्न कम्मर कसेर लागेको छ । ग्याजेटरीको अत्यधिक प्रयोगले ‘टेक नेक’ निम्त्याउन सक्ने खतरा जेन जेडर्सले बुझ्न चाहेको देखिँदैन । भर्चुअल संसारमा Gen Z-ers को ग्रुमिङ र ब्लुमिङले युवालाई ‘स्क्रोल एन्ड ट्रोल’को पुस्ता बनाएको छ । टिकटक, छोटो रिल मार्फत सेलीब्रेटी बन्दै तत्काल सन्तुष्टिको भोक मेटाएको वर्गले गहिरो सिकाइ र दीर्घकालीन परियोजनामा ध्यान केन्द्रित गरेको भेटिँदैन । सोसल मिडियामा Gen Z-ers को निर्भरता र सक्रियताले नक्कली समाचारको बिगबिगी बढाएको छ । साथै गलत जानकारीलाई सनसनीपूर्ण बनाउँदा समेत जेनेरेसन जेडको नजरमा सोसल मिडिया लोकप्रिय बनिरहेको छ ।

पछिल्लो कालखण्डमा सर्वसाधारण नागरिकको नजरमा ‘बिबिसी र सिएनएन’को सामाग्री भन्दा युट्युब, टिकटक, इन्स्टाग्राम्, एक्स, फेसबुकमा पोस्ट भएका असत्य विषय र सामग्री चर्चित बनिरहेका छन् । युके आधारित इन्स्टिच्युट फर स्ट्र्याटेजिक डायलगको अनुसार सोसल मिडिया व्यक्तित्व र आउटलेटहरूले नियमित रूपमा सनसनीपूर्ण सामग्रीलाई बढवा दिन्छन्, यसलाई द्रुत रूपमा विशाल दर्शकहरूमा फैलाउँछन् । यसैगरी बिबिसीले द गार्डियनलाई उद्धृत गर्दै लेखेको छ, ‘एक्स (ट्विटर) एक विषाक्त प्लेटफर्म हो भन्ने अमेरिकी चुनावले प्रमाणित गरेको छ । यसका मालिक एलन मस्कले राजनीतिक वातावरणलाई प्रभावित गरेका छन् । तथापि, एउटा गज्जबको तथ्यले उजागर गरेको छ, सोसल मिडिया कन्टेन्टले विकसित देशमा जनआक्रोशको ज्वाला दन्काउन सकेन, तर गरिब र कमजोर मुलुकमा डरलाग्दो प्रभाव देखाउन सफल हुँदैछ ।

सोभियत सङ्घको पतनपश्चात् सरकारले मूल्य नियन्त्रण गर्ने काम बजारलाई छोड्नुपर्छ भन्ने आवाजको बोलवाला छ । उल्लेखित विचारलाई ०४६ सालको राजनीतिक परिवर्तनपश्चात् बनेको जन निर्वाचित सरकारले सहर्ष स्वीकार गऱ्योे । उदारवादको जगजगीपश्चात् सरकारको घाटालाई रोक्न आईएमएफले दिने सुझाव या औषधी भनेको मूल्य बढाउने प्रस्ताव र सार्वजनिक दायित्वबाट सरकारले हात झिक्ने मात्र हो । बजार प्रणालीलाई सक्रिय पार्न र ‘स्थानीय स्रोत र साधन’को अधिकतम प्रयोगलाई साथ दिन विदेशी सामानको आयात रोक्न आईएमएफले कहिल्यै सहयोग गरेको भेटिँदैन । सरकारी अधिकारीहरू पारदर्शी प्रणालीलाई खासै रुचाउँदैनन् । सरकारले मूल्य नियन्त्रण गर्न छोड्दै निजीकरणलाई सहर्ष स्वीकार गरेको विषयमा आईएमएफ प्रफुल्ल रहँदै आएको छ ।‘नगद र तलब’को सट्टा आवास र विदेशी असाइनमेन्ट जस्ता सुविधाबाट लाभान्वित हुन मरिहत्ते गरिरहेको कर्मचारीतन्त्रप्रति आईएमएफको विशेष आशीर्वाद रहँदै आएको छ ।

प्रजातन्त्र र हाइब्रिड लोकतन्त्रको आगमनपश्चात् पारदर्शी बन्न नचाहेको सरकारी अधिकारी र राजनीतिक उद्योगमा जमेका व्यक्तिको आवास र भौतिक सम्पत्तिको निष्पक्ष मूल्याङ्कन गर्ने हो भने नागरिकले सुनेका र लगाएका आरोप भन्दा विकराल अवस्था छ । कर्मचारीतन्त्रभित्र शक्तिको चरम केन्द्रीकरण जब्बर बनेर बसेको छ । शिक्षा, ऊर्जा र पूर्वाधार जस्ता क्षेत्रको वृद्धिलाई कमजोर पार्दै सीमित कर्मचारीले नियन्त्रण गरिरहेका छन् । खुला बजार अर्थतन्त्र चाहने शक्तिद्वारा कब्जा गरिएको अर्थनीतिले नागरिकको पक्षमा खासै काम गर्न नसक्दा मुलुक ‘उथलपुथल र असाधारण अशान्ति’बाट गुज्रिरहेको छ । यद्यपि नयाँ पुस्ता भविष्यवाणी र उपदेशको पछि दौडिन आवश्यक छैन । विज्ञहरूले पहिले नै पत्ता लगाएका छन् कि सोसल मिडियामा पोखिएको असन्तुष्टिले समस्याको सम्बोधन गर्न सक्दैन ।

भिटोइङ ह्युमनिटी नामक प्रतिवेदनको सारांशमा भनिएको छ, ‘विश्व जनसङ्ख्याको २५ प्रतिशत मात्र प्रतिनिधित्व गर्ने तर आणविक बटन समात्ने मुट्ठीभर शक्तिशाली राष्ट्रहरूले आफ्नो भूराजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न विश्वव्यापी शान्ति र सुरक्षा प्रणालीलाई धेरै पटक हेरफेर गरेका छन् । ‘सामाजिक रूपान्तरणले परम्परागत राजनीतिक नेतृत्वलाई अप्रासङ्गिक बनाएको छ । ऐतिहासिक र पुर्खाको गहिरो जराहरू चुँडाउन मरिहत्ते गरिरहेका शक्तिले विद्रोहको इन्धन प्रदान गरिरहेका छन् । पटके परिवर्तनले आफ्नै विकास रणनीति बनाउन असमर्थ हुँदै आएको छ । आर्थिक नीतिले कुशल लगानीलाई निरुत्साहित गरिरहेको छ । विस्तारित भूमिका र जनादेशको तौल घटेको छ । तार्किक निष्कर्षमा पुग्ने क्षमता मुलुकले गुमाएको छ ।

पछिल्लो कालखण्डमा आमाबाबुको शैली परिवर्तन हुँदै गएको छ । विगतमा बच्चाहरूको जीवनमा अत्यधिक अभिभावकको संलग्नता र नियन्त्रण रहेको थियो । यतिबेला जेनेरेसन ‘जेड’ले अभिभावक र शासकलाई हिटलर मान्न थालेको छ । सांस्कृतिक भूमण्डलीकरणले स्वचालित बैङ्किङ सेवाहरू, अनलाइन किनमेल र सेल्फ-चेकआउट मार्फत युवा पुस्तालाई प्रभाव पारिरहेको छ । यद्यपि अत्यधिक स्वचालनको नकारात्मक पक्षले युवालाई दिएको तनावको बारेमा औचित्यपूर्ण बहस भएको पाइँदैन । ‘एक्लो पुस्ता’ या ‘जेनेरेसन ‘जेड’ले आर्थिक अनिश्चितता र आक्रामक प्रविधिको सामना गरिरहेको छ । अघिल्लो पुस्ताको लोभलाग्दो जीवनशैली र उनीहरूले बिताएको सामाजिक उपस्थितिलाई बुझ्ने ल्याकत गुमाउँदै छ । दुर्भाग्यवश सोसल मिडिया पुस्ता इमोजी र कथित अन्तरक्रियाहरूमा हराइरहेको छ । उनीहरू आफ्नै सोच, रहर र गतिविधिबाट पीडित भएका छन् । आफैबाट आफै हराएको युवा वर्ग या सोसल मिडिया पुस्ता बाउ, आमा या नातेदारबिना बाँच्न सक्छ तर फोन र इन्टरनेटबिना बाँच्न नसक्ने अवस्थामा पुगेको छ ।

सामाजिक मूल्य र शक्ति संरचनालाई सुदृढ पार्न एउटा सिन्कोसम्म नभाँच्ने शिक्षा प्रणालीले युवायुवतीको मथिङ्गल र जीवन खल्बलिएको छ । सामूहिक कल्याण, सामाजिक उत्तरदायित्वभन्दा व्यक्तिवाद र सम्पत्तिलाई प्राथमिकता दिने हाइब्रिड उपलब्धिले मुलुकमा गम्भीर विचलन र सङ्कट उत्पन्न भएको छ । राजनीतिक परिवर्तनपछि मुलुकको शैक्षिक पाठ्यक्रम औपचारिक रूपमा ‘औपनिवेशिक शक्ति’को कब्जामा पुगेको छ । सांस्कृतिक, ऐतिहासिक र भाषिक सम्पदा जोगाउन मुस्किल परेको अवस्थामा औपनिवेशिक शक्तिको अविच्छिन्न शासन चलिरहेको छ । ज्ञानमाथि नियन्त्रण गर्दै समाज र राजनीतिमा तीनै शक्तिको प्रत्यक्ष प्रभाव कायम भएको छ ।

शिक्षाले ल्याउने गतिशीलता सामाजिक न्यायको साधन बन्न नसकेको मुलुकमा युवाहरूले सम्भावना देख्न सकेका छैनन् । मूल्याङ्कन अभ्यासले ज्ञानको मूल्य निर्धारण गर्दछ । रचनात्मकता, आलोचनात्मक शैली र बौद्धिकतालाई खासै नरुचाएको सिंहदरबारले युवा पलायन नरोक्नुमा आफ्नो भविष्य देख्दैछ । सत्तामा रहेकाहरूले प्राप्त अवसरलाई दुरुपयोग गर्दै सामाजिक उपस्थितिलाई सुदृढ बनाउन मरिहत्ते गरिरहेका छन् । जसले गर्दा विद्यमान असमानताको निरन्तरता ‘ढलान’ भएको छ । हाइब्रिड परिवर्तन र परम्परागत सत्ताले ज्ञानको वितरण रोक्न शक्तिको प्रयोग गरिरहेको छ । ज्ञानलाई नियन्त्रण गर्नेहरूले डिजाइन गरेको पाठ्यक्रम र मूल्याङ्कन विधिले व्यक्ति र समाजलाई चलाएको छ । दुर्भाग्यवश हाइब्रिड लोकतन्त्रको जगमा मुलुकको ‘शक्ति, शिक्षा र ज्ञान’को बन्ध्याकरण सम्पन्न गरिएको छ ।

अनिश्चित भविष्य, सामाजिक दबाब, चिन्ता, आक्रोश, अवसरवाद, आत्मसम्मानको भोक, खराब खानपिन शैली, अपर्याप्त निद्रा भोगिरहेको ‘जेनेरेसन जेड’ हरेक क्षेत्रमा ‘स्मार्ट खोज्ने र बन्ने’ हुटहुटीले थलिएको छ । सिंहदरबारलाई दोष दिँदै मुलुकमा भविष्य सुरक्षित छैन भन्ने यो पुस्ताले बेलारुसी लेखक Evgeny Morozov को बहुमूल्य विचार ‘प्रविधि समाधान होइन, इन्टरनेट टेक्नो सामन्तवाद हो’ भन्ने बुझ्ने बेला आएको छ । साथै राष्ट्रवाद, राजनीति, अर्थशास्त्र, इतिहास र संस्कृतिको बारेमा प्रस्ट हुनु पर्नेछ । नयाँ पुस्ताले व्यक्तिगत र साहसिक जीवनशैली मनपराउँछन् भन्दै युवा लखेट्ने सत्ताको कथित रणनीति समेत बुझ्नु पर्नेछ ।

अन्तमा, गलामा खादा हालेर निदारमा रातो टिका थाप्दै मुलुक छोड्न हौसिएका १८वर्षे युवायुवतीले देउथल युद्धमा ७३वर्षे सरदार भक्ति थापाले किन र कसरी सहादत प्राप्त गरे भन्ने विश्लेषण गर्न जरुरी छ । मुलुकको पक्षमा काम नगर्ने र विदेशीको स्वार्थअनुरूप काम गर्नेलाई ‘सरकार’ मान्न र भन्न छोड्नु पर्नेछ । युवा बेचेर रेमिट्यान्सलाई आम्दानीको प्राथमिक स्रोत मान्ने सिंहदरबारको कथित सोचलाई धक्का दिन जरुरी छ । उल्लेखित तथ्य र कर्तव्य भुल्दै आँखा, जिब्रो र छालाको पछि दौडिएको ‘जेनेरेसन जेड’ले सोकल्ड नेतृत्व र ‘स्वार्थ राष्ट्र’को कथित रणनीतिबाट मुलुकलाई जोगाउन नसके उनीहरूको भविष्य ‘नेपाल’ खोज्दैमा बित्नेछ ।