हाइब्रिड पञ्चहरूको अन्तिम भोज !
पञ्चायती व्यवस्थासँग आकर्षक नाराको कमी थिएन । शोषणरहित समाजको परिकल्पना, मुलुकलाई एसियाली मापदण्डमा पुऱ्याउने पञ्चायतको लक्ष्य कम आकर्षक थिएन । यद्यपि उत्पादन र वितरणबिनाको नाराले पञ्चायतलाई जोगाउन सकेन । दुर्भाग्यवश पञ्चायतको कमजोरीबाट सिक्न नचाहेका हाइब्रिड पञ्चहरू बिनाआधार उन्नति, प्रगति, विकास, सुशासन जस्ता सदाबहार सपना बाँडिरहेका छन् । यस्तो अवस्थामा विदेशमा रहेका श्रमिकहरू, मुलुकभित्र रहेका बेरोजगारहरू, देशभक्त नागरिक, शिक्षित युवायुवती र न्यायप्रेमी नागरिकको विश्वास ओली, देउवा, दाहाल, नेपाल, लामिछाने नामका ‘आधुनिक पञ्च’हरूबाट उडिसकेको छ । जसले गर्दा हाइब्रिड पञ्चहरूको छटपटी रोचक मोडमा प्रवेश गरेको छ ।
यतिबेला ‘बहुदलीय पञ्चायत’ मुख देखाउन नसक्ने अवस्थामा पुगेको छ । दलीय पञ्चहरूको तथाकथित गतिविधिले मुलुकको शिर झुकेको छ । तीस वर्षसम्म नागरिकलाई कैदी समान व्यवहार गर्ने पञ्चायतको सिको टिप्दै ३४ वर्षदेखि दलीय पञ्चहरूले बहुदलीय पञ्चायतको इज्जत लुट्दै छन् । नागरिकलाई रैतीबाट मुक्ति दिएको अभिमानमा मुलुक र मुलुकवासीको भविष्यमाथि खेलबाड गर्दैछन् । पाल्न नसक्ने व्यवस्था लादेर मुलुकलाई कङ्गाल बनाउँदै छन् । तीसवर्षे पञ्चहरूले राजाको गुलामीमा भविष्य देखेकै शैलीमा हाइब्रिड पञ्चहरूले विदेशीको गुलामीमा भविष्य देख्दैछन् । सर्वसाधारण नागरिकसँग सम्बन्ध तोड्दै दलाल र बिचौलियाको सेवामा जुटेका हाइब्रिड पञ्चहरू डुङ्डुङ्ती गन्हाएर सोसल मिडियालाई खुराक पस्किँदै छन् ।
सूचना प्रविधिको व्यापक विकासलाई उन्नत पञ्चहरूले अनदेखा गरिरहेका छन् । बढ्दो राजनीतिक अस्थिरता र एक इन्च पनि नसुध्रिएको कर्मचारी प्रशासनको कमजोरीले नागरिकलाई सत्ताप्रति नकारात्मक बन्न बाध्य बनाउँदै छ । माओवादी द्वन्द्वबाट मुक्ति दिएको भन्दै भिडाइएको हाइब्रिड उपलब्धिले जनताको विश्वास गुमाउँदै छ । यस्तो अवस्थामा राजनीतिक स्थायित्व एकादेशको कथा बन्दै छ । सत्ताले सबै खराबीहरूको दोष सोसल मिडियाको थाप्लोमा हालेर उम्किने असफल कोसिस गर्दै छ । सोसल मिडिया प्लेटफर्ममार्फत छरिने झुटा समाचार र नकारात्मक प्रचारलाई रोक्ने वैज्ञानिक उपाय भनेको सत्ताले आफ्नो कार्यशैली परिवर्तन गर्दै नागरिकसामु पुग्नु हो भन्ने भुलेको छ ।
बेलारूसी लेखक, शोधकर्ता एवम् विद्वान् इभजेनी मोरोजोभ (Evgeny Morozov)को बुझाइमा, ‘इन्टरनेट मानवताको सबै सुन्दरता र कुरूपताको प्रतिबिम्ब हो ।’ उनले व्यक्त गरेको धारणालाई सत्ताले बिस्तारै महसूस गरेको देखिन्छ । बढ्दै गरेको इन्टरनेट पहुँच र प्रयोगकर्तामार्फत सिर्जित महत्त्वपूर्ण चुनौतीले आधुनिक पञ्चहरू हायलकायल हुँदैछन् । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामको बहु आयामिक प्रभावले नागरिकलाई ‘स्वतन्त्र’ बस्न दिँदैन । सोसल मिडिया अराजकता रोक्ने नाममा सरकारको छटपटाहट इन्टरनेट स्वतन्त्रताको निम्ति अवरोध बन्न सक्नेछ । यद्यपि साइबर स्पेसको द्रुत विकासले नयाँ सामाजिक सम्झौताको माग गरिरहेको छ । अनलाइन उत्पीडनको घटनाहरू थपिएका छन् । डाटा सुरक्षा र गोपनीयता उल्लङ्घनले विश्वासको वातावरणमा प्रतिकूल असर गरेको छ । जसको रिससमेत हाइब्रिड पञ्चहरूको थाप्लोमा बजारिँदै छ ।
सिग्मन्ड फ्रायडको भनाइ अनुसार नागरिकको अव्यक्त भावनाहरू कहिल्यै मर्दैनन् । इन्टरनेटको अधिकार र प्रयोगपश्चात् नमरेका अव्यक्त भावनाहरू गज्जबले पोखिएका छन्, जसले सूचना प्रविधिको साथ लिँदै सामाजिक क्रान्तिमा अहम् भूमिका निभाउन थालेको छ । अभिव्यक्ति र अवसरको लागि इन्टरनेटले दिने स्वतन्त्रता परम्परागत सत्तालाई बिझाउनु स्वाभाविक छ । जहाँ नागरिकको गुनासोको सम्बोधन गरिँदैन, त्यहाँ असामाजिक विकारहरू उपचार बनेर झुल्किन्छ । कृत्रिम बुद्धिमत्ताको अकल्पनीय विकास भएको पछिल्लो समयमा मुलुकले सामना गरेका चुनौतीहरू विचित्रका छन् । जीवन र स्वतन्त्रताको सर्वोच्चता सत्ता र हाइब्रिड पञ्चहरूले अस्वीकार गर्दा नागरिकका असन्तुष्टि सोसल मिडियामा प्रतिध्वनित हुँदैछन् ।
भनिँदैछ, ‘अनियन्त्रित र अप्रतिबन्धित अभिव्यक्ति स्वतन्त्रताले समाजमा नैतिक मूल्य र मान्यताको पतन हुँदैछ ।’ सत्ताको असफलताले जन्माएको तमाम कमजोरीलाई ‘डिजिटल आतङ्कवाद’ले इन्धनको रूपमा लिँदैछ । हाइब्रिड लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको नियमन व्यक्ति स्वयमले गर्ने कि कडा कानुनमार्फत गर्ने भन्ने गम्भीर बहसमा मुलुक प्रवेश गरेको छैन । विशेषगरी सोसल मिडियामा गरिएका टिप्पणीले बढाएको चिन्तालाई सम्बोधन गर्न जरुरी छ । यद्यपि हाइब्रिड लोकतन्त्रमा मिडिया स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउनु आत्मघाती हुनेछ । साथै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने र सूचनाको पहुँचलाई रोक्ने प्रयासलाई किमार्थ समर्थन गर्न सकिँदैन ।
अराजकता नियन्त्रण र राष्ट्रिय सुरक्षाको नाममा लगाइने बन्देजले हाइब्रिड तन्त्रलाई कप्लक्कै निल्नेछ । त्यसैगरी सोसल मिडिया बन्द गरेर या अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाएर आयातित उपलब्धि जोगाउने कथित कल्पना सरकारको निम्ति ‘तातो आलु’ बन्नेछ । यद्यपि सोसल मिडिया नकारात्मक प्रचार र झुटा समाचार फैलाउनेहरूको कब्जामा परेको विषयमा गम्भीर बहस गर्न ढिला भइसकेको छ । मूलधारका मिडियाप्रति नागरिकको विश्वास खस्केको छ । ‘उन्नत पञ्च’सँग बढेको अस्वाभाविक उठबसले सर्वसाधारण नागरिकको सोसल मिडियाप्रति अतिरिक्त लगाव बढ्दै छ । पछिल्लो समयमा लोकतान्त्रिक क्षेत्रको सङ्कुचन र कथित राजनीतिक खेलले गैरराजनीतिक शक्तिलाई सोसल मिडिया व्यक्तिगत असन्तुष्टि र तनाव बिसाउने चौतारी बनेको छ ।
पछिल्लो समय सोसल मिडिया प्लेटफर्म सत्ताविरोधी विचारहरूको लागि एक प्रमुख स्थान भएको छ । दुर्भाग्यवश आजसम्म सिंहदरबारले नागरिकको चासोलाई बेवास्ता गरिरहेको छ । नागरिक असन्तुष्टिको ‘जरा’सम्म पुग्दै उपचार गर्नुको सट्टा ‘पात’ टिप्दै रोग नियन्त्रण गर्ने असफल कोसिस गरिरहेको छ । सरकारको कार्यशैलीले देशलाई युद्धमा धकेलिरहेको छ । विद्रोहले ल्याउने प्रभाव सकारात्मक नहुन पनि सक्छ । यस तथ्यलाई सोसल मिडिया युजरले बुझ्न चाहेको देखिँदैन । यद्यपि सोसल मिडियामा व्यक्त सभ्य आलोचना सरकारले चाहेमा विद्यमान व्यवस्थाप्रति जनताको बढ्दो असन्तुष्टि र असहमतिलाई नाप्ने औजार बन्न सक्नेछ ।
वर्तमान सूचनाको युगमा अर्थतन्त्रको आधार ज्ञानमा निर्भर हुँदैछ । विश्लेषकहरू भन्ने गर्छन्, उच्च शिक्षा दिने संस्थाहरू जति धेरै नवीन हुन्छन्, त्यति नै राम्रो अर्थतन्त्र हुन्छ । दुर्भाग्यवश राजनीतिक परिवर्तनको जगमा उच्च शिक्षा दिने संस्थाहरू धराशायी बनाइएका छन् । थाहै नपाइ उत्पादन गरिएका स्नातकहरू बजारमा नबिक्ने अवस्था सिर्जना गरिएको छ । अकल्पनीय बेरोजगारीले शिक्षित युवायुवतीमा तनाव बढेको छ । युवायुवतीको सिप, शिक्षा र श्रमको खपत गर्न नसक्दा अर्थतन्त्रमा अतिरिक्त ‘दबाब र भार’ थपिएको छ । हाम्रा विशाल छिमेकी ‘भारत र चीन’को निर्यात निरन्तर बढिरहेको छ । निःसन्देह यसको सबैभन्दा महत्त्वपूर्ण कारण शिक्षा प्रणाली हो । समाजवाद र साम्यवादको तिलस्मी कथा बेच्दै आएका उन्नत पञ्चहरू युवा निर्यात गर्दै रेमिट्यान्समा रमाइरहेका छन् ।
हाम्रा छिमेकीहरूको निर्यात तथ्याङ्कको बारेमा गहिरो अध्ययन गर्न बुद्धिजीवी र नीतिनिर्माताहरू एकै स्थानमा बसेर गम्भीर चिन्तन गर्ने समय आएको छ । विश्वविद्यालयहरू मुलुकमैत्री ‘अनुसन्धान’मा लाग्नुपर्नेछ । हाम्रा विश्वविद्यालयहरूले आर्थिक वृद्धिमा योगदान दिन ढिला भइसकेको छ । कम्प्युटर विज्ञान, सफ्टवेयर इन्जिनियरिङ, एनिमेसन र गेम डिजाइनमा आधारित शिक्षा दिन विश्व विद्यालयले सक्रियता बढाउनुपर्नेछ । साथै उच्च शिक्षा दिने संस्थाहरूले आफ्नो फोकस सही बनाउनु आवश्यक छ ।
सोसल मिडिया युजरहरूले प्रविधिको असीमित शक्तिलाई स्वागत गरिसकेका छन् । उनीहरू ‘कच्चा क्रोध’मा रमाउँदै छन् । राज्यले सोसल मिडिया युजरमाथि गहिरो अविश्वास जाहेर गरेर खुसी हुँदैछ भने राज्य ‘फेक न्युज’विरुद्ध कडा कानुनको मस्यौदा गर्नुलाई महान् उपलब्धि ठान्दैछ । युवाहरूले बन्दुकको सट्टा ह्यासट्याग र ‘सेयर’मार्फत युद्ध लडिरहेका छन् । कथित नेतृत्वले बलिको बोको खोजिरहेका छन् । सौभाग्यवश आजसम्म पाइरहेका छन् । यद्यपि नागरिक, राज्य र युवाहरूबीच उन्नत पञ्चहरूको विश्वास भत्किएको छ । सबैखाले षड्यन्त्रहरू सोसल मिडियामार्फत कोभिड भाइरसभन्दा छिटो फैलिँदै छ ।
युवायुवतीहरू विश्वसनीय स्रोतहरूको खोजी गर्दैनन् । उनीहरू अनियमित र अज्ञात स्रोतमा बहकिन तयार हुन्छन् । अप्रमाणित ट्विटहरू साझा गर्दा युद्ध जितेको महसूस गर्छन् । उन्नत पञ्चहरू डिजिटल युद्धको अन्धकारमा हराउँदैछन् । उनीहरू सूचना इकोसिस्टमको गहिराइमा पुग्न सकेका छैनन् । जसले गर्दा छायासँग लडिरहेका छन् । मुलुकको वास्तविक सङ्कट भुलेका युवायुवती काल्पनिक लडाइँ लडिरहेका छन् । चिच्याइरहेका छन् । जसले गर्दा उनीहरूको गम्भीरता भत्किँदै छ । समाज आधारभूत तथ्यसँग सहमत हुन छोडेको छ ।
अन्तमा, राजा ज्ञानेन्द्रले २४०वर्षे शाहवंशको श्रीपेच बुझाउँदै सामान्य नागरिक भएर बसेको घटना बिर्संदै भूतपूर्व क्रान्तिकारीहरू हाइब्रिड पञ्च बन्न हौसिएका छन् । आफ्नै विगत बिसाएका हाइब्रिड पञ्चसँग बाँकी रहेको एकल एजेन्डा राष्ट्रदोहन मात्र हो । पञ्चायती कालरात्रिमा क्रान्तिको मसाल बोक्ने तमाम सङ्गठनहरू सोसल मिडियालाई कार्यभार सुम्पेर आधुनिक पञ्चऱ्यालीमा सहभागी हुँदैछन् । आयातित लोकतन्त्रको सफल पञ्चायतीकरणपश्चात् ‘नवएलिट’ बनेका हाइब्रिड पञ्चहरू सत्ताको ‘तर’ मार्दैछन् । साथै सत्ता नसामा प्रजातान्त्रिक समाजवाद, साम्यवादको नारा बिसाउँदै ‘व्यवहारवाद’ अँगालेका छन् । जसले उनीहरूलाई पाइला पाइलामा ‘पतित’ बनाउँदै छ । हरेक दिन आउने तथाकथित काण्डहरूले बदनाम बनेका हाइब्रिड पञ्चहरू अन्तिम भोज खान तँछाडमछाड गर्दैछन् ।