ओलीको मिसन र देउवाको सपना !

कमरेड ओलीको बाल्यकाल अभावमा, जवानी जेलमा बित्यो । जेलबाट निस्कँदा थोरै बचेको जवानी र प्रौढ अवस्था एमालेमा स्थापित हुँदैमा बित्यो । वृद्धावस्था आफ्नै मिसनलाई सफल बनाउन षडयन्त्रमा बित्दै छ । जसको चपेटामा मुलुक, राजनीति र उनको पार्टी एमाले परिरहेको छ । कमरेड ओलीसँग मुलुक निर्माणको कुनै योजना र कार्यक्रम थिएन/छैन । खुला राजनीतिमा आएदेखि आजसम्म उनले व्यक्त गरेका तमाम धारणा, भाषण, कार्यपत्र, रिपोर्ट, गुटबन्दी, कार्यशैलीको सूक्ष्म अध्ययन गर्दा उनीभित्र विचित्रको छलकपट, धोका, षडयन्त्र र नाम राख्ने भोकमात्र फेलापर्छ, जसलाई बुझ्न एक पटक विगततिर फर्किन जरुरी हुनेछ ।

१४ वर्ष जेलजीवन बिताएर खुला आकाशमुनि आएका उनी २०४४ सालमा बनिबनाउ पार्टी नेकपा मालेको केन्द्रीय सदस्यमा मनोनीत भए । मदन भण्डारीको अकल्पनीय देहावसानपश्चात् पार्टीमा निरन्तर प्रतिपक्षी राजनीति गरेका उनी ‘प्रतिपक्षी र फरकमत’लाई फडानी गर्दै महाअभियानमा निस्किए । रोगी शरीरलाई बेवास्ता गर्दै ‘तेज र धूर्त’ दिमागको अधिकतम् प्रयोग गर्दै व्यक्तिगत मिसनमा निरन्तर लागिरहे । तत्कालीन सोभियत सङ्घको गुप्तचर संस्था केजिबीको जागिरे भ्लादिमिर पुटिन वर्तमान रुसको महानायक बनेको रोडम्यापलाई अर्जुनदृष्टि बनाउँदै हिँडिरहे । जसलाई पूरा गर्न उनले भारतसँग गहिरो सम्बन्ध कायम गरे । चीनको आँखामा धुलो हाले । पश्चिमा शक्तिलाई विश्वास दिलाए । उनको मिसनमा अवरोध बनेर ‘प्रचण्ड-माधव’ देखा परे, जसले गर्दा तत्कालीन प्रधानमन्त्री ओलीलाई संसद्को हत्या गर्न विवश बनायो ।

तत्पश्चात् सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीको कुर्सी गुमाउँदै डरलाग्दो घेराबन्दीमा परे । आफ्नै कारणले सत्ताच्युत भएका उनले पार्टीसमेत जोगाउन सकेनन् या चाहेनन् । संसद् विघटनको कलङ्क, प्रचण्ड-माधवको बदलाको भावना, दक्षिणको छिमेकी चिढिएको अवस्थापश्चात् सिंहदरबार प्रवेश उनको निम्ति औँसीको रातमा चन्द्रमा खोजेजस्तो बन्दै थियो । त्यस्तो अवस्थामा सम्पन्न भएको निर्वाचनमा उनको पार्टीले नराम्रो धक्का खाने चर्चाले मतदातालाई गम्भीर प्रभाव पार्दै थियो । उनको सौभाग्य नै भनौँ, उक्त निर्वाचनमा गठबन्धनले चाहेजस्तो धक्का दिन सकेन । निर्वाचनको नतिजाले नेता ओलीलाई संसदीय राजनीतिमा गज्जबले खेल्ने प्लेटफर्म प्राप्त भयो ।

संसद्को अस्थिर बनावटको गहिरो अध्ययनपश्चात् नेता ओलीले देउवा, प्रचण्ड, माधव र लामिछानेको आन्तरिक कमजोरी एवम् महत्त्वकाङ्क्षालाई मिहीन ढङ्गले केलाए । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र नयाँ सरकार बनिसक्नु पर्ने संविधानको बाध्यात्मक धारा या अवस्थालाई देउवाले चलाखीपूर्वक खेल्न चाहेको ओलीले नबुझ्ने विषय थिएन । तत्कालीन समयमा ७६ (२) को सरकार बन्न नदिने, सुरुमै ७६(३)मा जाने तत्कालीन प्रधानमन्त्री देउवाको आन्तरिक चाहना बुझेका ओलीले प्रचण्डलाई २०७९ साल पुस १० गते राष्ट्रपतिले दिएको अन्तिम समयमा बालकोट बोलाएर आफूविरुद्धको घेराबन्दीलाई धक्का दिन सफल भए । देउवाको हुस्सुपनको फाइदा उठाएका ओलीले भर्खरै खाटा बसेको संसद् विघटनको घाउ कोट्याएर उनी आफ्नो ‘मिसन’बाट पछि नहटेको सङ्केत संसद्मै पोखे । सर्वसाधारणको नजरमा प्रचण्डलाई अस्थिर नेता बनाउने ओलीको जालबाट उनी फुत्किन सकेनन् ।

प्रचण्डलाई वाम एकताको हरियो घाँस देखाएर देउवाको गोठ छोडाउन सके एक तिरले बहु सिकार गर्न सकिने निचोडमा ओली थिए । एउटै तिरले प्रचण्डलाई घनघोर अस्थिर र धोकेबाज प्रमाणित गराउने, देउवालाई विकल्प विहीन बनाउने डरलाग्दो रणनीति निर्माण गरे । देउवा त्यागेका प्रचण्डलाई रोजेका मन्त्रालय दिँदै आम नागरिकले देख्दा प्रचण्डलाई सजिलो बनाएको महसूस गराए । माधवको पार्टी फुट्दैछ भन्ने हल्ला पिटाए । उपेन्द्र यादवको पार्टी फुटाएर दोषजति प्रचण्डको थाप्लोमा हालिदिए । फलस्वरुप माधवको प्रधानमन्त्री बन्ने सपना पारिजातको ‘मैले नजन्माएको छोरो’ भनेजस्तो बन्न पुग्यो । यादव प्रचण्डसँग बिच्किए । प्रचण्डसँग बदला लिने देउवाको एकल अभियान असफल हुन पुग्यो, जसले गर्दा देउवा ओलीलाई बोक्न बाध्य बने । यी तमाम षडयन्त्र ओलीको मिसनअन्तर्गत रहेको प्रचण्ड-देउवाले बुझ्नै सकेनन् ।

आफूले लामिछानेलाई बोकेको जस्तो गर्ने, भित्रभित्रचाहिँ गगन-विश्वप्रकाशलाई संसदमा कुर्लिन लगाउँदै काङ्ग्रेस-रास्वपाको सम्बन्ध तितो बनाइदिए । त्यसैगरी उपेन्द्र यादव र सिके राउतबीच राम्रो सम्बन्ध बन्न दिएनन् । प्रचण्डलाई जोगाएको या टिकाएको देखाउँदै देउवालाई गहिरो दबाब दिन लामिछानेलाई स्टण्ट गर्न उकासिरहे । अन्ततः बेचन झा र प्रतीक थापालाई पक्राउ गराउँदै देउवालाई बालकोट आउन बाध्य बनाए । यी तमाम घटना भूमिगत ढङ्गले सम्पन्न गरिरहँदा प्रचण्डलाई सुइँकोसम्म दिएनन् । कोतपर्वको शैलीमा प्रचण्डको राजनीतिक हत्या गर्दै आफूलाई मुलुकको एकमात्र ‘अब्बल षडयन्त्रकारी’ प्रमाणित गरिदिए, जसलाई प्रचण्डले संसद्मै स्थापित गरेका छन् ।

ओलीविरुद्ध प्रचण्डले गम्भीर आलोचना गर्दा अहिलेसम्म कुनै प्रतिवाद नगर्नु र विगतको तथाकथित टिमलाई पुनः बोक्न हौसिनुले उनी खतर्नाक मिसनमा रहेको पुष्टि भइसकेको छ । उनी खुद्रा कुरामा नअल्झिने, बाँकी काम फत्ते गर्न देउवालाई प्रधानमन्त्री बन्न जसैगरी रोक्ने तयारीमा लागिसकेका छन् । जसलाई बुझेर पनि देउवाले केही गर्न नसक्ने अवस्था सिर्जना गर्न मरिहत्ते गरिरहेका छन् ।

विगतमा काम सम्पन्न नभएका विकासे आयोजनाको उद्घाटन गराउने, पशुपतिमा चढाएको सुनको जलहरीमा नाम लेखाउने, राम ठोरीमा जन्मिएको भाष्य जबर्जस्ती स्थापित गर्ने, झापामा भ्यु टावर निर्माण गर्दै शिलालेखमा नाम लेखाउने भोक देखाएर आफ्नो मिसनको सङ्केत दिइसकेका छन् । तत्कालिन अवस्थामा पार्टीमा सामान्य हैसियतमा रहेकी विद्या भण्डारीलाई दुई पटक राष्ट्रपति बनाउन सफल उनी आफ्नो मिसनमा निरन्तर विद्याको प्रयोग गर्ने अन्तिम र निर्णायक अभियानमा निस्किएका छन् । यस्तो अवस्थामा ओली-मिसन थप सशक्त भएर अगाडि बढ्दैछ । यतिबेला नेता ओली आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको ‘सी जिन पिङ’ मान्छन् । त्यसैगरी रुसी राष्ट्रपति पुटिनले दिमित्री मेदवेदेवलाई राष्ट्रपति र प्रधानमन्त्री बनाएर रुसी राजनीतिको बादशाह बनेको भन्दा आफूलाई किमार्थ कम ठान्दैनन् । उनी आफूलाई नेपाली राजनीतिको भ्लादिमिर पुटिन बनाउने मिसनमा लागेका छन् ।

आफैले हत्या गरेको एमालेलाई ब्युँताउने सर्तमा संसद् विघटन गरेको ओलीले घुमाउरो ढङ्गले स्वीकार गरिसकेका छन् । भारतीय गुप्तचर सामन्त गोयलसँग कथित भलाकुसारीपश्चात् संविधानमाथि प्रहार गरेका ओलीले एमाले ब्युँताउन संसद् विघटन गरेको बताइसकेका छन् । दुर्भाग्यवश उनले संसद् विघटन गरेको समयमा एमाले भन्ने पार्टी अस्तित्वमा नरहेको बुझपचाएका छन् । नेकपाको हत्या गर्दै षडयन्त्रपूर्वक जन्माइएको एमालेमा विष्णु र शङ्करबीच हुर्किंदै गरेको गुटबन्दीलाई नियन्त्रण गर्न अनिवार्य भइसकेको नेता ओलीले बुझिसकेका छन् । आफ्नो मिसनमा ‘विष्णु-शङ्कर’को गुटबन्दीले नकारात्मक असर पर्ने महसूस गरेका नेता ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रणनीतिक ढङ्गले प्रयोग गर्ने तारतम्य मिलाइसकेको सङ्केत प्रधानमन्त्री नियुक्त हुनासाथ भण्डारीलाई भेटेर दिएका छन् । मनमोहन सरकारमा गृहमन्त्रीको स्वाद चाखेपछि निर्माण गरेको एकल मिसनमा ‘ओट’ बन्न आएका शक्तिसँग मिल्दै र निल्दै यहाँसम्म आइपुगेका नेता ओली देउवाको सहयोग लिन सफल भएका छन् । सत्ता र षडयन्त्रको बलमा राजनीतिक वातावरणलाई अनुकूल बनाउँदै ‘नेपाली पुटिन’ बन्ने अन्तिम तयारीमा छन् । जसलाई देउवाले अनदेखा गरिरहेका छन् ।

शान्तिको नाममा गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई जङ्गलबाट सिंहदरबार ल्याएर जुन गल्ती गरेका थिए, त्यसको भाग दुई अन्तर्गत राजनीतिक स्थिरताको नाममा काङ्ग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएर ब्लण्डर गरिरहेका छन् । चतुर ओली यतिबेला धेरै बलियो बनेका छन् । उनी एकै पटक अनेकौं चाल चाल्न सक्ने अवस्थामा पुगेका छन् । नेता ओली एउटै समयमा भारतविरोधी र भारतको अनन्य मित्र बन्न सक्छन् । बहुलवाद र दुई दलको वकालत गर्न सक्छन् । धर्मको विरोध र सनातन धर्मको उत्पत्ति, संरक्षणको प्रवचन दिन सक्छन् । सगोत्री ‘प्रचण्ड-माधव’को अस्तित्व स्वीकार गर्दैनन् । राष्ट्रियसभाको अङ्कगणितलाई अनदेखा गर्दै संविधान संशोधन र राजनीतिक स्थिरता खोज्ने कपटी कुरा गर्न सक्छन् । कुटिल बहुप्रतिभाका धनी प्रधानमन्त्री ओली देउवासँग मिलेरै देउवाको विकल्प बन्द गर्न अनेकौँ विकल्पमा काम गरिरहेका छन् । सहकार्यको नाममा आरजु, प्रकाशमान र दीपक खड्कालाई बोक्नुपर्दा निश्चित रूपमा उनी बेखुसी छन् । यद्यपि उनी अहिले नै देउवालाई चिढ्याउने पक्षमा छैनन् ।

दुश्मन आफूभन्दा चलाख छ भने उसलाई बेवकुफ बनाउनुपर्छ भन्ने सिद्धान्तलाई ओलीले सफलतापूर्वक प्रयोग गर्दै आइरहेका छन् । हार्ने बाजी खेल्न नचाहने र नखेल्ने नेता ओली पटक-पटक हारेर जितेका छन् । अन्तिम पटक खेलिरहेका उनी जित्दाजित्दै हार्न तयार छैनन् । नेता ओलीले आजसम्म गरेका तमाम सम्झौता लागु नगरेको कटु इतिहास बिर्सिएका देउवालाई खुरुक्क सत्ता हस्तान्तरण गर्छन् भन्दै पत्याउनु र अरिङ्गालले ‘मह’ पार्छ भन्नु उस्तै हुनेछ । नेता ओलीको ‘षडयन्त्रमूलक इतिहास र मिसन’ देउवाको दिमागभित्र घुसाउने ‘आन्तरिक र बाह्य’ दबाबले आकार लिएमा, उनलाई रोक्न प्रधानमन्त्री ओलीले विद्यादेवी भण्डारी, माधव नेपाल र प्रचण्डसँग पावर सेरिङ गर्न सक्नेछन् । साथै वर्तमान संसदबाट वैकल्पिक सरकार बन्नसक्ने बाटो बन्द गर्दै मध्यावधि निर्वाचन रोज्न सक्नेछन् । त्यस्तो अवस्थामा देउवाको सपना चकनाचुर हुनेछ । उनको ‘सपना’को सजाय पूरा मुलुकले भोग्नेछ ।