कर्मचारीतन्त्र, वामदेव, किसिन्जर र मुलुकले नभेटेको नेता !
संसद्, सांसद, संसदीय समिति, संविधान र सडकसमेत आइएनजिओको सेवामा लागेको मुलुकमा ढिलोचाँडो गम्भीर सङ्कट आउने नै छ । सबैलाई थाहा छ- नेपाली सेनाको सङ्ख्या, शक्ति, सामर्थ्यले उत्तर र दक्षिणको सामरिक शक्तिसँग प्रत्यक्ष युद्ध लड्न सक्दैन । यद्यपि आइएनजिओमार्फत मुलुकमा लादिएको रणनीतिक द्वन्द्वलाई नियन्त्रणमा लिन नेपाली सेनालाई सशक्त र मजबुत बनाउन जरुरी छ । त्यतिबेला मुलुकले नेपाली सैनिकको महत्त्व बुझ्ने छ । जतिबेला आन्तरिक द्वन्द्व नियन्त्रणमा लिन सेनाले महत्त्वपूर्ण भूमिका निभाउने छ ।
सामन्तवादको सेवामा भुत्ते भएको, निम्न पुँजीवादी चिन्तनले हुर्किएको कर्मचारीतन्त्रले ‘प्रजातन्त्र र लोकतन्त्र’मा कसरी नागरिकको सेवा गर्ने भन्ने छेउटुप्पो पाएन । मुलुकको सट्टा श्रीमती, छोराछोरी र आफ्नो निम्ति बाँचेको कर्मचारीको कारणले कर्मचारीतन्त्र पूर्णरूपमा निष्क्रिय छ । सीमान्तकृत समुदायको सेवा गर्न पटक्कै नरुचाउने मुलुकको कर्मचारीतन्त्र सत्ताको ढोकामा पुगेर थचक्क बस्छ । आम नागरिकको दुर्दशा बुझेर आफूलाई सुधार गर्न रुचिसमेत राख्दैन, जसले गर्दा सार्वजनिक सेवाको वास्तविक अवस्था चिन्ताजनक छ ।
पटके परिवर्तनपूर्व कर्मचारीतन्त्र परम्परागत भए पनि मस्तसँग सुत्न सक्ने थिएन । फोनको घण्टी बज्नासाथ कर्मचारीतन्त्रमा विचित्रको रक्तसञ्चार हुन्थ्यो । उसले अनुरोध होइन आदेशमात्र सुन्न पाउँथ्यो । ‘हाइब्रिड परिवर्तन’पश्चात् फोनको घण्टी नबजेसम्म सक्रिय नहुने कर्मचारीतन्त्र अहिले अनुरोध सुन्न रुचाउँछ । सत्ता र समाजको शीर्ष तहमा पुगेका व्यक्तिको दलाली र गुलामी गरेर उसले आफ्नो कर्तव्य, अधिकार र मर्यादाको धज्जी उडाउँदैछ ।
मुलुकको कर्मचारीतन्त्रले ‘सार्वभौम नागरिक’को अर्थ बुझ्दैन । उनीहरू कर्तव्य बिर्सिएर नागरिकबाट टाढा पुगेका छन् । उनीहरूमा सार्वजनिक सेवाको वास्तविक भावना मरिसकेको छ । मुलुकमा नेता नजन्मिएको बहानामा आफ्नो उत्तरदायित्वसमेत भुलेका छन् । आम जनतासँग टाढिएर जीवन बिताउँदै छन् । प्रत्येक मानिस समान छन्, उनीहरू सम्मान र मर्यादाको योग्य छन् भन्ने दास कर्मचारीले बिर्सिएका छन् । उनीहरूको नजरमा सामान्य नागरिकको कुनै मूल्य छैन । मुलुकको कर्मचारीतन्त्रले पीडितलाई पीडा दिनुमा पुरुषार्थ सम्झिन्छ । सीमान्तकृत नागरिकलाई सेवा दिँदै मुलुकवासीमा आफ्नो छवि उज्यालो बनाउनुको सट्टा राष्ट्र दोहन गर्न पाएकोमा गर्व गर्दैछ ।
सामाजिक रूपान्तरण रोकिएको मुलुकमा कर्मचारीतन्त्रले लोकप्रिय काम गर्न सक्दैन । मुलुकको कर्मचारीतन्त्र र नेतृत्वको टीठलाग्दो कार्यशैलीबाट आँखा खोलेका पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले वास्तविक कुरा नागरिकसामु पस्किएका छन् । अन्तरवार्ताको दौरान प्रस्ट भाषामा सम्पूर्ण मुलुकवासीले बुझ्न सकिने ढङ्गले उनले भनेका छन्- मुलुकमा राजा महेन्द्रपछि नेतृत्वको खडेरी परेको छ । वर्तमान नेतृत्वसँग मुलुक निर्माणको कुनै भिजन छैन, कार्यक्रम छैन । उनीहरू राजनीतिमा रहेसम्म मुलुक बन्दैन ।
भनिन्छ, नेता भनेको परिवर्तनका एजेन्ट हुन् । राजा महेन्द्र, बीपी र मदन भण्डारीको असामयिक निधनपश्चात् मुलुकमा नेता जन्मिन बन्द भएको छ । नितान्त कुर्सीप्राप्तिको एकल अभियानमा मुलुकलाई आँधीबेहरीमा झोस्नेहरूलाई मुलुकले नेता मानेर बसेको छ । कथित नेताको अराजनीतिक स्वार्थ र गतिविधिले नागरिक र युवायुवतीको अवसर खोसेको छ । मुलुकको भविष्य अन्धकारतर्फ मोडिएको छ । नेपाल निर्माणको अभिभारा स्थगित गरिएको छ । कर्म र भाग्य अनिश्चित बनेको छ । सङ्कटबाट फर्केको मुलुकमा कुशासन चलाइएको छ । समृद्धिको नाममा थपिएको आन्तरिक र बाह्य ऋणले सिर्जना गरेको वित्तीय सङ्कटमा मुलुक डुबेको छ । मुलुकमा नालायकहरूको ताण्डव चरम उत्कर्षमा पुगेको छ । दुर्भाग्यवश नेताको स्थानमा कुशल प्रबन्धकसमेत कर्मचारीतन्त्रले जन्माउन सकेन । प्रबन्धकले यथास्थितिलाई कायम राख्न आफ्नो बलबुता प्रयोग गरिरहेको हुन्छ । यतिबेला मुलुकले देखेको, भोगेको ‘नेता र नेतृत्व’ले दलाल र बिचौलियासँग मिल्दै मुलुक लुटिरहेको छ । राष्ट्रको स्रोत र साधनको दोहनलाई काम, कर्तव्य र अधिकार ठानेको छ । मुलुकमा सङ्कट र चुनौती सिर्जना गर्ने अभिभारा सफलतापूर्वक निभाउँदै छ ।
झन्डै ७० वर्ष राजनीतिमा गोता खाएपछि सामान्य नागरिक बनेका पूर्व नेता वामदेवले बुझेका छन् । मुलुक बनेन÷बन्दैन । नेता के हो, नेता र नेतृत्वसँग कस्तो गुण हुनुपर्छ भन्ने बहससमेत सुरु नभएको मुलुक बन्दैन । राजनीतिक नेता या नेतृत्वसँग मानिसलाई एकताबद्ध गर्ने, देशलाई रूपान्तरण र परिवर्तन गर्ने योग्यता, क्षमता र भिजन हुनुपर्छ । नेतासँग दृष्टि हुन्छ । अदम्य साहस हुन्छ । गज्जबको आत्मविश्वास हुन्छ । मुलुक र जनताको निम्ति जोखिम मोल्छन् । सामूहिक स्वार्थको निम्ति आवाज बुलन्द गर्छन् । आफ्नो काम र कर्मले इतिहास बनाउँछन् ।
मुलुकको भूगोल, इतिहास, स्रोत, अवसर, नागरिकको चेतना स्तर र चुनौती बुझेको नेताले मात्र प्रभावकारी नेतृत्व प्रदान गर्न सक्छ । वर्तमान र भविष्य प्रतिको दृष्टिकोणलाई कार्यान्वयन गर्न राष्ट्रिय सहमतिसहितको रणनीति आवश्यकता पर्छ भन्ने देशभक्त नेताले मात्र बुझेको हुन्छ । नेतामा हुनैपर्ने महत्त्वपूर्ण गुण भनेको आम मानिसलाई उत्प्रेरित गर्ने क्षमता र कला हो । चुनौतीलाई सहर्ष स्वीकार गर्ने, चरित्र, नैतिक बल, प्रतिबद्धता र निष्ठाको मार्गमा हिँड्दै परिवर्तनको वकालत र नेतृत्व गर्ने हो । मुलुकवासीलाई उत्साहित र एकताबद्ध गर्दै मुलुकको सम्मान र पहिचान बढाउनु हो । नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक भविष्यको ग्यारेन्टी दिलाउनु हो । नीतिगत लक्ष्यलाई नागरिकसँग जोड्दै विश्वास कमाउनु हो । उल्लेखित मापदण्डलाई खोज्ने हो भने मुलुकमा ‘नेता’ भन्ने तत्त्वको खडेरी परेको छ, जसले गर्दा मुलुक हरेक परीक्षामा पटक-पटक अनुत्तीर्ण भएको छ
अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले ऐतिहासिक धारणा, सार्वजनिक अनुभव, व्यक्तिगत ज्ञान र विश्व व्यवस्थाको अध्ययन गर्दै आकर्षक पुस्तक ‘Leadership: Six Studies in World Strategy’मा लेखेका छन्, नेताले आफूलाई थाहा भएको कुरालाई सन्तुलनमा राख्नु पर्दछ, जुन आवश्यक रूपमा विगतबाट लिइएको किन नहोस् । नेताले भविष्यको बारेमा के बुझ्छन्, जुन स्वाभाविक रूपमा अनुमानित र अनिश्चित छ । यो दिशाको सहज ज्ञान हो जसले नेतालाई उद्देश्यहरू सेट गर्न र रणनीति बनाउन सक्षम बनाउँछ ।
नेतृत्वलाई लिएर लेखक किसिन्जरले ६ वटा असाधारण नेताहरूको बारेमा विशिष्ट रणनीतिमार्फत विश्लेषण गरेका छन् । दोस्रो विश्वयुद्धपछि, कोनराड एडेनाउरले पराजित र नैतिक रूपमा दिवालिया जर्मनीलाई राष्ट्रहरूको समुदायमा फिर्ता ल्याए । जसलाई किसिन्जरले ‘विनम्रताको रणनीति’ भनेका छन् । चार्ल्स डी गालले फ्रान्सलाई विजयी सहयोगीहरूको छेउमा राखे र ‘इच्छाको रणनीति’द्वारा यसको ऐतिहासिक भव्यतालाई नवीकरण गरे । रिचर्ड निक्सनले संयुक्त राज्य अमेरिकालाई शीतयुद्धको समयमा ‘सन्तुलनको रणनीति’मार्फत भू-रणनीतिक लाभ दिलाए । पच्चीस वर्षको द्वन्द्वपछि, इजिप्टका राष्ट्रपति अनवर सादातले मध्यपूर्वमा ‘अतिरिक्त रणनीति’मार्फत शान्तिको दर्शन ल्याए । बाधाहरूको विरुद्ध, ली क्वान यूले ‘उत्कृष्टताको रणनीति’द्वारा एक पावर हाउस सिङ्गापुर सिर्जना गरे । सत्तामा आउँदा बेलायतलाई ‘युरोपको बिरामी मानिस’ भनेर चिनिन थाले पनि मार्गरेट थ्याचरले ‘विश्वासको रणनीति’द्वारा आफ्नो देशको मनोबल र अन्तर्राष्ट्रिय स्थितिलाई नवीकरण गरिन् ।
५६औँ अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले नेपालको इतिहास पढ्न भ्याएनन् या पढेनन् । उनकै शैलीमा या उनको अवधारणामा मुलुकको नेताको बारेमा निष्पक्ष मूल्याङ्कन गर्दै इतिहास लेख्ने हो भने आधुनिक नेपालको जन्मदाता एवम् कुमारीको हातबाट टीका लगाएर जनतामा सार्वभौम सत्ता हस्तान्तरण गर्ने पहिलो नेता पृथ्वीनारायण शाह थिए । परेको ठाउँमा झुक्ने तर आफ्नो दीर्घकालीन अस्तित्व कायम राख्न जङ्गे पिलरको अवधारणा लागु गराउने जङ्गबहादुर राणा, भाषा संस्कृति परम्परा कायम राख्दै विकासको ‘ब्लु प्रिन्ट’ निर्माण गर्ने राजा महेन्द्र, नागरिकलाई प्रजातान्त्रिक विचारधारामा हिँडाउने बीपी कोइराला, विश्व कम्युनिस्ट राजनीतिमा आएको बदलाव समयमा बुझ्दै युवायुवतीलाई हिंसाबाट मतपत्रमा विश्वास दिलाउने मदन भण्डारीलाई मुलुकले ‘नेता’को सम्मान दिनु उचित हुनेछ ।
आफ्नो विचारशील पुस्तक, ‘लिडरशिप : सिक्स स्टडीज इन वर्ल्ड स्ट्राटेजी’मा दिवङ्गत अमेरिकी नेता हेनरी किसिन्जरले लेखेका छन् कि विश्वमा उनले देखेका नेताहरूले रणनीतिक नेतृत्व प्रदान गरेका थिए । उनको नजरमा ती नेताहरू साहसी, निर्णायक, शक्तिशाली दृष्टिकोण र बलियो भावना भएका थिए । यदि केवल नेपालकेन्द्रित हुँदै ‘लिडरशिप : फाइभ स्टडीज इन नेपाल स्ट्राटेजी’ लेखेको भए ‘दूरदर्शी नेता एवम् कुशल योद्धा पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, राजा महेन्द्र , बीपी र मदन भण्डारी’लाई उल्लेख गर्ने थिए भन्ने अड्कल काट्न सकिन्छ । साथै ‘Six Leaders of Nepal Ruin’ नामक किताब उनले नै लेखेको भए, मुलुकवासीको निम्ति साधारण कामसमेत नगरेर असाधारण गफमात्र दिने, विदेशीको चाहनामा स्वर्णिम अवसरहरूको ‘गर्भपात’ गर्दै मुलुक डुबाउने टपरटुइयाँहरूको नाम र बेलीबिस्तार पढ्न पाइन्थ्यो । यस अर्थ र आधारमा, मुलुकलाई बहु सङ्कटमा डुबाउने तथाकथितहरूको मूल्याङ्कन गर्दा संसदीय व्यवस्थालाई कुरूप बनाउँदै राजनीतिक अस्थिरताको वृक्ष रोप्ने गिरिजाप्रसाद कोइराला, प्याकेजमा विदेशीको दलाली गर्ने देउवा-माधव, फगत कुर्सीको निम्ति १७ हजार नागरिकको बली चढाउँदै मुलुक बरबाद गर्ने प्रचण्ड-बाबुराम, लाखौँ युवायुवतीको वर्तमान र भविष्य स्वाहा बनाउँदै मुर्छित सपनाको खेती गर्ने केपी ओली मुलुकको दुर्भाग्य कहलिन्थे, जसलाई ‘वामदेव र मुलुकवासी’ले स्वागत र समर्थन गर्ने पक्का थियो ।