विकल्प साँघुरिएको सत्ता-राजनीति !

मुलुकमा राजनीतिक सङ्कट चुलिएको छ । मुलुक राजनीतिक झडपतर्फ लम्किँदै छ । ठुलो हल्लाखल्ला गर्दै जारी गरिएको संविधानले राजनीतिक स्थिरता दिन असफल भएको छ । हरेक क्षेत्रमा राज्यको उपस्थिति थप निरीह बन्दैछ । आर्थिक, सामाजिक, राजनीतिक अराजकता मौलाएको छ । सुशासन, आर्थिक वृद्धि र रोजगारीलाई रोक्ने ‘विचार र शक्ति’ले मुलुकमा ताण्डव मच्चाइरहेको छ । समाज र दलीय राजनीतिले अपराध र अपराधीलाई संरक्षण र पुरस्कृत गर्दा सिंहदरबारले आँखा चिम्लेको छ । जसले गर्दा सिंहदरबारले शासन गर्ने वैधता गुमाउँदै छ ।

सिद्धान्त, नीति, विचार र कार्यक्रमको आधारमा चलेको नैतिक राजनीतिले मात्र भन्न सक्छ, मुलुकको आगामी दिन कता जाँदैछ ? तमाम अनुभव र कुनै पनि विश्लेषणले काम नगर्ने अवस्थामा पुगेको मुलुकको राजनीतिले वास्तविकतालाई हेर्न र पढ्न सक्दैन/चाहँदैन । भ्रष्टाचारको दलदलमा फसेको राजनीतिले मुलुकवासीको पक्षमा सामान्य कदम समेत चाल्न नसक्नु स्वाभाविक छ । राजनीतिक उद्योगमा जमेका भ्रष्टाचारीहरूले राजनीतिक ‘स्थिरता’लाई अनुपयुक्त विषय मानेको समयमा राजनीतिक र आर्थिक प्रणाली धर्मराउनु जायज र अनिवार्य देखिन्छ ।

पटके राजनीतिक परिवर्तनपश्चात् सिंहदरबारले राजनीतिको ‘भिटो पावर’ गुमाएको छ । रक्षात्मक राजनीतिक प्रणालीसहित मुलुक प्रवेश गरेको हाइब्रिड परिवर्तनले ‘अस्थिरताको कम्पन’लाई महसूस गरिसकेको छ । नेपाल प्रहरी, अदालत र आसेपासे पुँजीवादको जगमा कुर्सी जोगाएका सोकल्ड लिडरसिपले ‘प्रलय’को कल्पना नगर्नु रहस्यमय र रोचक छ । समानुपातिक निर्वाचन प्रणालीको त्रुटिपूर्ण व्यवस्थाले थला परेको मुलुकमा राजनीतिक स्थिरता एकादेशको कथा बनिसकेको छ । राजनीतिक स्थायित्व र अस्थिरतालाई व्याख्या गर्ने चस्मासमेत फरक-फरक भएको या बनाइएको मुलुकमा अन्तर्राष्ट्रिय स्वार्थको रणनीतिक प्रयोग नयाँ चरणमा प्रवेश गरेको छ । चर्को ध्वनि प्रदूषण गर्दै आएका नयाँ खेलाडीलाई राजनीतिमा स्थापित गर्ने प्रयास खल्लो सावित भइसकेको छ । फलस्वरुप मुलुकले द्वन्द्वलाई स्वागत गरिरहेको छ ।

राजनीतिक खेलाडीहरू नितान्त निजी स्वार्थको निम्ति कथित क्षमता प्रदर्शन गरिरहेका छन् । अङ्कगणितको खेल हाबी भएको लोकतन्त्रमा ‘भिटो प्लेयर’को कथित महत्त्वाकाङ्क्षा र व्यक्तिगत कमजोरीले सिंहदरबार ‘पेन्डुलम’ जस्तो बन्दै छ । जसले गर्दा राजनीतिक प्रणालीमा ‘स्थिरता-अस्थिरता’को परिभाषा बदलिएको छ । फलस्वरुप राजनीतिको प्रभाव क्षेत्रहरू खुम्चिएका छन् । नयाँ रेखाहरू कोर्ने कोसिस जोडतोडले चलिरहेका छन् । राजनीतिक ‘स्थिरता’को नाममा रणनीतिक काण्डहरूको मञ्चन गरिँदै छ । नयाँ नयाँ स्टण्ट र झडपहरू तयार गरिँदै छ । नयाँ खेलाडीले पुरानो सन्तुलनमा गडबडी निम्त्याउने कोसिस गर्दैछन् । राजनीतिक प्रणालीमा शक्तिको विषम बाँडफाँड यथावत छ । जसलाई सच्याउने तागत मुलुकले गुमाइसकेको छ । राजनीतिक नेतृत्वको स्खलित छवि र असङ्ख्य गडबडीको बोझले थिचिएको लोकतन्त्रमा बाहिरी शक्तिद्वारा लादिने तथाकथित प्रस्तावलाई सिंहदरबारले बिनासर्त स्वीकार गर्ने खतरा चुलिएको छ ।

राजनीतिक स्थिरता, आर्थिक उन्नति र प्रगति प्राप्त गर्ने लोभमा मुलुकले ठुलो कुर्बानी गर्दा पनि मुलुकवासीको दुर्गति रोकिएन । त्यसैगरी पटक–पटकको चुनावी नतिजाले सर्वसाधारण नागरिकको पक्षमा कुनै काम गर्न सकेन । फलस्वरुप पटके परिवर्तनपश्चात् पहिलो पटक राजनीतिक दलहरूको वास्तविक परीक्षा सुरु भएको छ । तमाम समस्याको दीर्घकालीन समाधान गर्न असफल हुँदै गर्दा सिंहदरबारको कुर्सीमा विराजमान मुखियाले ‘उथलपुथल’लाई समाधान ठान्न थालेको छ ।

वास्तवमा, त्रिशङ्कु संसद्ले राजनीतिक स्थिरताको बारेमा सोच्ने कष्ट गर्दैन । उसले केवल शक्तिको खेल खेल्नेहरूको पक्षमा अमूल्य योगदान मात्र निभाउन सक्छ । तसर्थ, संसद् र संविधानले सिर्जना गर्ने अस्थिरतालाई रोक्ने तागत र सोच केवल ‘नैतिक र सैद्धान्तिक’ राजनीतिले मात्र गर्न सक्छ । दुर्भाग्यवश मुलुकमा ‘नैतिक र सैद्धान्तिक’ राजनीतिको खडेरी परेको छ । जबसम्म वर्तमान संविधानलाई व्यापक सुधार गर्दै काम लाग्ने बनाउन सकिँदैन । तबसम्म राजनीतिक स्थिरता केवल शब्दमा सीमित हुनेछ । दिगो र निर्बाध राजनीतिक स्थायित्व प्राप्त गर्न निषेधको राजनीति समाप्त गर्न जरुरी छ । लोकतान्त्रिक प्रणालीको सर्भिसिङ गर्न संसदमा रहेका र नरहेका सबै राजनीतिक दलका साथै न्यायपालिका, निर्वाचन आयोग, सेना, गुप्तचर निकाय, निजामती कर्मचारीतन्त्रलगायतका प्रमुख निकायहरूको सोच र कार्यशैलीमा आमूल परिवर्तन जरुरी छ ।

पारदर्शिता, जवाफदेहिता र कानुनको शासन नागरिकले देख्न र महसूस गर्न सक्ने बनाउनु पर्नेछ । लोकतान्त्रिक मान्यता र आचरणलाई बलियो बनाउन विधिको शासन र योग्यता सुनिश्चित गर्नु पर्नेछ । राजनीतिक स्थायित्वका लागि राष्ट्रिय संवाद आवश्यक छ । नागरिकका सुझाव कार्यान्वयन गर्नु पर्नेछ । आर्थिक स्थायित्व पुनःस्थापना गर्न बहुआयामिक कार्यहरू आवश्यक छ । परराष्ट्र नीतिमा व्यापक समीक्षा गरिनु पर्छ । छिमेकीसँगको सम्बन्ध र भू-अर्थशास्त्रलाई सम्बोधन गर्न जरुरी छ । सम्बन्धित सरोकारवाला, प्राज्ञिक तथा थिङ्क ट्याङ्कहरूको अधिकतम प्रयोग जरुरी छ । युक्रेन र ग्वाटेमालाले कमेडियनलाई राष्ट्रपतिमा निर्वाचित गर्दा मुलुकले पाएको दुःख बुझ्नुपर्नेछ । सोसल मिडियाले उत्पादन गर्ने ‘सेलिब्रेटी’ राजनीतिबाट जोगिनुपर्नेछ । सबै खाले झूट र भ्रमलाई चिन्नु पर्नेछ ।

पछिल्लो समयमा राजनीति अपमानजनक र गम्भीर बन्दै गइरहेको छ । दलहरूले एक अर्कालाई आरोप-प्रत्यारोप गर्ने खल्लो प्रतिस्पर्धा थप मौलाउँदै छ । हाम्रा राजनीतिक नेताहरू राजनीतिमा विश्वास गर्दैनन् । उनीहरू षड्यन्त्रलाई राजनीति बनाउन मरिहत्ते गरिरहेका छन् । राजनीतिजीवी, नीति-निर्माता र मिडिया बेइज्जतीमा रमाइरहेका छन् । नीतिहरू केवल राजनीतिक नारामा सीमित गरिएका छन् । मिडियाले झुटलाई मनोरञ्जनका रूपमा प्रसारण गरिरहेको छ । सेलिब्रेटी र राजनीतिज्ञ अलग कुरा हुन् भन्ने सोसल मिडियाले अझै बुझ्न सकेन । फलस्वरुप सोसल मिडिया ‘भाइरल’ उत्पादन गर्ने कारखानामा परिणत भएको छ । असान्दर्भिकहरू सान्दर्भिक बनाउने सफलता सोसल मिडियाले प्राप्त गरिसकेको छ, जसले मुलुकमा अस्थिरता बिस्तार गर्न महत्त्वपूर्ण योगदान गरिरहेको छ ।

आफ्नै कुरामा जवाफदेही नबन्ने, विचार नभएका, निजी महत्त्वाकाङ्क्षा पूरा गर्न हौसिएका, व्यक्तिगत स्वार्थको निम्ति हदैसम्म गिर्न तयार व्यक्तिहरू राजनीतिक उद्योगमा हाबी हुँदैछन् । पुराना दलहरूको असंसदीय ‘मयल’बाट जन्मिएका ‘नयाँ भ्रम’लाई युवा पुस्ताले सबै समस्याको ‘रामवाण’ सम्झेको छ । यस्तो भूललाई राजनीतिक ढङ्गले समाधान गर्न निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्न जरुरी छ । आफ्नै कर्मको सिकार भएको सोकल्ड लिडरसिपले जाम गरेको ‘राजनीतिको खोलो’लाई आफ्नै बाटोमा बग्न दिन ढिला भइसकेको छ । किसान, मजदुर र गरिबसँग टुटेको सम्बन्ध कायम गर्न दलहरूले आफ्नै घोषणापत्र र विगततर्फ फर्किनु पर्नेछ । तबमात्र औद्योगिक र व्यापारिक वर्गहरू मुलुकप्रति जिम्मेवार हुन बाध्य हुनेछन् । जसले राजनीतिक सङ्कट घटाउन मद्दत गर्नेछ ।

राजनीति प्रदर्शनी होइन । मुलुक खेल मैदान होइन । राजनीति सिक्ने खेल पनि होइन । उच्चस्तरको नैतिकता, तपस्या र जवाफदेहिता गायब भएको मुलुकमा संविधान र लोकतन्त्र दुब्लाउनु स्वाभाविक छ । जसले गर्दा राजनीतिक स्थिरताको निम्ति व्यवस्थाको सम्पूर्ण अवधारणालाई पुनर्विचार गर्न बाध्य बनाउँछ । प्रविधि र युवा शक्तिको भावनाको फाइदा उठाउँदै उदाएका नयाँ शक्तिसमेत राजनीतिलाई व्यापार बनाउने अभियानमा होमिएसँगै राजनीतिप्रति नागरिकको भरोसा भत्किएको छ । फलस्वरुप व्यवस्था बचाउने नाममा शक्तिका भोका प्राणीहरूलाई मुलुकले नपाल्ने दिन नजिकिएको छ । तमाम अनैतिकहरूलाई पालेर विश्वको कुनै पनि मुलुक बाँच्न सक्दैन । गहिरो निन्द्राबाट नब्युँझिएको सत्ता-राजनीति असफल हुनु अनिवार्य छ ।

भनिन्छ, नैतिकताको अभावमा मानिस खतरनाक प्रजातिमा प्रमोसन हुँदैछ । वैश्य युगले जीवनको नैतिक उद्देश्यलाई सफलतापूर्वक पराजित गरेको छ । नरभक्षी पुँजीवादको नजरमा आधुनिक सभ्यताको बौद्धिक आधार र मान्यता ‘अनैतिकता’ बनेको छ । औद्योगिक क्रान्ति नगर्ने सर्तमा गरिएको पटके परिवर्तनले ल्याएको ‘भौतिकवाद र बजारवाद’ले हाम्रो ‘गतिशील आवेग’को खिल्ली उडाइरहेको छ । भौतिकवादी मेटाफिजिक्समा आधारित भ्रष्ट सामाजिक-आर्थिक संरचनाले मुलुकको सामाजिक जीवनको तीव्र गिरावट र विघटन सुरु गरेको छ ।

मानिसको ‘शक्ति र स्वार्थ’लाई नियन्त्रण गर्न धर्मले मात्र सक्छ भन्ने बुझेको विश्व पुँजीवादले सनातनी सभ्यतालाई समाप्त गर्न दिन रात एक गरिरहेको छ । सनातन ‘धर्म’लाई अवशेषमा सीमित गर्न मरिहत्ते गरेको विश्व पुँजीवादले भ्रष्ट सामाजिक-आर्थिक संरचनाको विचित्र जग बसाएको छ । फगत सम्पन्नताको पछि दौडिने पश्चिमी आधुनिकताले अध्यात्म, नैतिकता र नैतिक छविलाई व्यक्तिमा सीमित गर्न सबैखाले शक्तिको प्रयोग गरिरह्यो । जसले गर्दा युवा पुस्ता पुर्खाको ज्ञान, सभ्यता, नैतिकता बिसाउँदै भौतिकवाद र बजारवादको पछि दौडिन राजी भयो ।

मुलुकको सामाजिक, आर्थिक र राजनीतिक मामिलाहरूमा सनातन धर्मको उपस्थिति घटेसँगै राजनीतिक अस्थिरता मौलाएको छ । धर्म त्यागेको मानव जाति भौतिकवादमा चुर्लुम्म डुबेको छ । आधुनिक मानिसको नैतिक खोक्रोपनले भौतिकवादलाई मुक्तिको मार्ग बनाउन मरिहत्ते गरिरहेको छ । अतृप्त इच्छाहरूको समुद्रमा पौडी खेल्दै गरेको तथाकथित नेतृत्वले औचित्य गुमाउँदै छ । मानव जीवनमा सकारात्मक प्रभाव पार्ने तमाम तत्त्वलाई बजारवाद र भौतिकवादले निलेसँगै मुलुकमा विश्व पुँजीवादको एकल दबदबा चुलिएको छ । जसले गर्दा सत्ता राजनीतिको विकल्प थप साँघुरिँदै छ ।