सुगौली सन्धिपछिको कठिन अवस्थामा देश !
दृष्टि र दृष्टिकोणबिनाको राजनीतिले मुलुकको भविष्य अनिश्चित तुल्यारहेको छ । उत्पादनका साधनहरूको सामाजिकीकरण नभएको मुलुकमा षडयन्त्रहरू मौलाइरहेको छ । वास्तविक राजनीतिले ‘षड्यन्त्र सिद्धान्त’को सामु आत्मसमर्पण गरिसकेको छ, जसको चपेटाबाट मुक्ति पाउन मुलुकले क्रान्ति गर्नुको विकल्प देखिँदैन ।
दुर्भाग्यवश विकल्पको सम्भावनासमेत देखानपरेको समयमा षडयन्त्र नै राजनीतिको विकल्प बनाइँदैछ । स्वदेशी ‘भिजन र ज्ञान’को बन्ध्याकरण गरिएको मुलुकमा आयातित सिद्धान्त र प्रयोगले गम्भीर नोक्सानी पुऱ्याइरहेको छ । भूगोल, संस्कृति र स्वदेशी ज्ञान नचिन्ने सिद्धान्तको प्रयोगमार्फत पुर्खाले निर्माण गरेको इतिहास मेट्ने अभियान तीव्र बनाइएको छ । समाधानबिनाको सिद्धान्तको प्रयोग पीडादायी भएको पुष्टि भइसक्दा पनि त्याग्ने हिम्मत मुलुकले गर्न सकिरहेको छैन । निर्मम रूपमा भन्ने हो आयातित सिद्धान्तले हामीलाई समाप्त गर्न मात्र बाँकी छ ।
मुलुकको असली अर्थतन्त्र पुर्खाको ‘ज्ञान’ थियो । जसलाई राजनीतिक परिवर्तनको नाममा धुजा-धुजा पारियो । स्वदेशी ‘ज्ञान’का विरोधीहरूको भाषणमा राजनीतिक पदार्थको कमी छ । परम्परा र स्वदेशी ज्ञानको उद्देश्य सहमति, आशावाद र गति सिर्जना गर्नु हो । यस तथ्यलाई गहिरोसँग बुझेका शक्तिले मुलुकको वास्तविकतासँग गम्भीर खेलबाड गरिरहेका छन् । प्राथमिकताहरूको रूपरेखा र भविष्यका पहलहरूको बन्ध्याकरण गर्न चाहने शक्तिले स्वदेशी ज्ञानको समूल नष्ट गर्ने अभियान चलाएका छन् । छोटो अवधिमा मुलुकविरुद्ध महत्त्वपूर्ण धोका सम्पन्न गरिएको छ ।
प्राविधिक विकास र भूमण्डलीकरणले परम्परागत सामाजिक संरचनालाई चुनौती दिएको बुझ्न मुलुकको राजनीति तयार देखिएन । सोसल मिडियाको डरलाग्दो प्रयोग गर्दै मुलुकको असली तागतलाई कमजोर बनाउने अभियान रणनीतिक ढङ्गले छेडिएको छ । जसको प्रभाव दलित र आदिवासी समुदायमा परिसकेको छ । सामाजिक सांस्कृतिक एकता भत्काउने कार्यक्रम अभियानको रूपमा चलाइएको छ । परिदृश्यहरू सन्तोषजनक छैनन् । हाइब्रिड परिवर्तनको आडमा संस्कार, रीतिरिवाज र परम्परामाथि ठाडो आक्रमण चलाइएको छ । युवायुवतीलाई राजनीतिक उदारवाद र आधुनिकतातर्फ धकेल्ने बहानामा पुरानो पुस्ताको तागत र ज्ञानलाई अपमान गर्ने कोसिस गरिएको छ । पुरातन जटिलतालाई देखाउँदै वर्तमान ध्वस्त गर्ने खेल चलाइएको छ ।
नेपाली समाजको बनावटको गहिरो अध्ययन गर्ने हो भने गज्जबको तथ्यहरू फेला पर्छन् । हिमवत खण्डमा बसोबास गर्ने मानिसहरू कहिल्यै वर्गीय रहेको फेला पर्दैन । कर्ममा विश्वास गर्ने समाज अत्यन्त मिहिनेती रहेको पाइन्छ । यहाँ ऋषिमुनीहरूबाट प्रतिपादित व्यवहारिक सिद्धान्तको भण्डार छ । हिमवत खण्ड प्राकृतिक, सांस्कृतिक मात्र हैन ज्ञान र बुद्धिको अथाह स्रोतले धनी छ । दुर्भाग्यवश तथाकथित राजनीतिक नेतृत्वद्वारा उल्लेखित तथ्य र सत्यलाई बारम्बार बेवास्ता गरिएको छ । स्वदेशी ज्ञान, सामूहिकपन, विचारधारा, रीतिरिवाज, जीवनशैली र मूल्य मान्यतालाई बोझ मान्ने र ठान्नेहरूको कथित सिद्धान्तको अतिक्रमणमा मुलुक फसेको छ । संरक्षण र निरन्तरतालाई बोझ मान्ने शक्तिले संस्कार, कथन र व्यक्तिगत अनुभवहरू मेटाउने काममा मरिहत्ते गरिरहेका छन् ।
भूमि र वातावरणसँग बाँधिएको वर्ग राजनीतिक परिवर्तनको नाममा लोप हुने अवस्थामा पुगेका छन् । स्थानीय स्रोत व्यवस्थापन र परम्परागत ज्ञानलाई भताभुङ्ग बनाउन सफल परिवर्तनले मुलुकलाई थला पारेको छ । जलवायु संरक्षणको लागि प्रयोग गरिँदै आएको प्रभावकारी स्वदेशी ज्ञान समाप्त पारिएको छ । स्थानीय बोटबिरुवा र जनावरको व्यवहारमा सूक्ष्म भिन्नता देख्न सक्ने मानिसलाई गाउँबाट बाध्यात्मक पलायन गराउने शक्तिले हाम्रो तागत खोसिसकेको छ । पुर्खाले सुरु गरेको जैविक कृषि प्रणाली आर्थिक उदारीकरणको नाममा समाप्त गरिएको छ । कीटनाशक औषधी, रासायनिक मलको प्रयोगमार्फत कृषि प्रणाली ध्वस्त पारिएको छ । विषादीयुक्त फलफूल, तरकारी र अनाज खुवाउँदै पछिल्लो पुस्तालाई रोगी बनाउने सफलतापश्चात् तिनै शक्ति जैविक कृषि प्रणाली सिकाउन आएका छन् ।
स्वदेशी बीउहरू सङ्कलन, भण्डारणको संरक्षण गर्ने व्यक्ति र समुदाय अस्तित्व रक्षाको लडाइँ लड्दै छन् । भावी पुस्तालाई दिनुपर्ने परम्परागत बीउ, ज्ञान र सिप लोप पारिएका छन् । माटोको क्षय रोक्न, जैविक विविधता बढाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न र दिगो कृषिलाई अगाडि बढाउन पुर्खाले विकास गरेका ज्ञान माथि हमला गरिएको छ । परम्परागत र जैविक खेती करिब समाप्त पारिएका छन् । लोपोन्मुख प्रजातिहरू बचाउन र जैविक विविधता संरक्षण गर्ने समुदाय मुलुकबाट विस्थापित हुँदै छन् । पानीको उपलब्धता र माटोको उर्वरतामा आएको कमीले उनीहरूको जीवन जोखिममा परेको छ । जलवायु परिवर्तनलाई बुझेका ज्ञानीहरूले विकास गरेको बर्सातको पानी सङ्कलन प्रणाली ध्वस्त पारिएको छ । जसले गर्दा पानीसम्बन्धी कठिनाइ थपिएको छ । मुलुकसुहाउँदो परम्परागत विधि ध्वस्त पारिँदा पशुपालन र कृषि पेसा दुब्लाउँदै छ ।
मुलुकलाई रणनीतिक ढङ्गले कमजोर बनाउन र सर्वसाधारण नागरिकलाई दीर्घकालीन ढङ्गले विभाजित गर्न ‘धर्म’ जस्तो संवेदनशील विषयमाथि निर्मम प्रहार गरिएको छ । जसको नेतृत्व विश्वको शक्तिशाली मुलुकले गरिरहेको तथ्य खुलिसकेको छ । मिलेर बसेका नागरिकलाई विभाजित गर्दै एकताको कुरा गरिएको छ । मुलुकको बहुमूल्य समय अनुपयुक्त विषयमा खर्च गरिँदै छ । परिवर्तनपश्चात् कुरीति, अन्याय, अत्याचार, रुढीवादीको विरुद्ध आमनागरिकलाई जागरूक गर्नुको सट्टा सनातन धार्मिक विश्वासमाथि आक्रमण बढाइएको छ । भौतिक र आर्थिक सुरक्षाको एजेन्डा कोमामा पुऱ्याइएको छ । सांस्कृतिक पुँजी र स्वदेशी ज्ञानलाई थिलथिलो बनाउँदै आधुनिक सिद्धान्तको वकालत गरिएको छ । उल्टो बाटो हिँडेर सुल्टो नतिजा प्राप्त गर्ने रणनीतिक हल्ला चलाइएको छ ।
यतिबेला मुलुकवासीहरू सबै विषयमा राय दिन सक्ने भएका छन् । जसले मुलुकलाई अगाडि बढ्न रोकेको छ । इमानदार उद्यमी, व्यवसायीहरू गन्तव्यविहीन बन्दै छन् । धोखाधडीपूर्ण व्यापार अभ्यासले इमानदार व्यवसायी निराश छन् । व्यवसायी र उद्यमीलाई चोर, ठग भन्ने र मान्ने वातावरण सिर्जना गरिएको छ । जसले स्वदेशी ज्ञान र सम्भावनालाई गम्भीर क्षति पुगेको छ । आर्थिक अपराधीसँग कानुनको कहिल्यै भेट नहुँदा व्यापार व्यवसाय ओरालो लाग्दैछ । जीवनको हरेक पक्षलाई असामान्य बनाउने, नैतिक स्थिति र नैतिकतामाथि खुला आक्रमण गर्ने, समाजको विश्वासलाई चुनौती दिने र अविश्वास सिर्जना गर्ने कार्यलाई सत्ताले टुलुटुलु हेर्नुले मुलुक गम्भीर रोगले थलिएको पुष्टि भइसकेको छ ।
भनिन्छ, जनादेश चोर्ने अभियान चलेको मुलुकमा राजनीति परिवर्तन हुँदैन । ‘प्रजातन्त्रवादी’ र ‘प्रगतिशील’ शब्द खल्लो भएको लोकतन्त्रमा उस्तै खेल फरक तरिकाले खेलिँदै छ । कुर्सीको भयानक खेलमा नैतिकता बेचेका स्वघोषित शीर्ष नेतृत्वले युवापुस्ताको दुरुपयोग गर्दैछ । भविष्यको साझा दृष्टिकोण बिसाएर वर्तमान बरबाद गरिरहेको पुस्ताले राजनीतिलाई बदनाम गरिरहेका छन् । वैश्य युगमा परिवर्तनको वकालत चाखलाग्दो विषय बनिरहन्छ । अधिकांश युवा मतदाताले ‘विद्रोह’को खेती चलाइरहन्छन्, तथापि प्रणालीगत परिवर्तनमा समय खर्चिन चाहँदैनन् । जसले गर्दा ‘बृहत्तर राष्ट्रिय हित’को नाममा राजनीतिक उद्योग चलाउनेहरू सदैव नाफामा छन् । शब्दमा परिवर्तनको सम्भावना खोज्ने र देखाउने चलखेलपूर्ण प्रहसनलाई युवायुवतीले राजनीति मान्दैछन् । जसले गर्दा मुलुक गम्भीर दुर्घटनातर्फ लम्किँदै छ ।
जुनसुकै सपना परिश्रमबिना पूरा हुन सक्दैन भन्ने बुझेको पुर्खाले जीवनलाई गुलाबको ओछ्यान कहिल्यै मानेनन् । स्वदेशी ज्ञान मार्न सफल आयातित परिवर्तनले सर्वसाधारण नागरिकलाई मुलुकभित्र परिश्रम गर्न रोकेको छ । वैश्ययुगमा कडा परिश्रम गरेर सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा कथामा सीमित हुन पुगेको छ । परिश्रम, धैर्य र नैतिकताबाट सफलता खोज्ने व्यक्तिलाई समाजले नालायक देख्न थालेको छ । सटकट बाटोबाट सफलता प्राप्त गरेका व्यक्तिलाई समाजले सेलिब्रेटी मान्न थालेको छ । परिश्रममा विश्वास गर्ने, चाँडै उठ्ने र ढिलो सुत्ने गरिब किसानलाई सताउने सत्ताले मुलुकवासीको प्रगतिको ढोका बन्द गरिरहेको छ ।
आधुनिक नेपालको अस्तित्व र भिजनलाई पूर्णतया मेटाउन मरिहत्ते गरिरहेको कथित शक्तिले समाजलाई विषाक्त बनाउने अभियान चलाएका छन् । उनीहरूले बुझेका छन्, ‘बलियो वैधता, जनादेश, एकता र विचारहरू समाप्त भएपछि मुलुकले चुनौतीहरूको सामना गर्न सक्दैन । राजनीतिप्रति नागरिकको भरोसा उडाउने सम्पूर्ण कारणहरू उत्पन्न गरेपछि मुलुक आन्तरिक तवरले खोक्रो हुनेछ । ततपश्चात् मुलुकमा उग्र कुराहरू बिक्न थाल्नेछन् ।’ यतिबेला मुलुक डरलाग्दो रणनीतिको चक्रब्युहमा फसेको छ । पटके परिवर्तनमार्फत पुर्खाको ज्ञान, चिन्तन, नैतिकता र अनुभवको सम्पूर्ण हत्या गरिएको छ । तथापि हाइब्रिड उपलब्धिहरू जरा गाड्न सकिरहेको छैन । जसले गर्दा ‘व्यवस्था होइन, अवस्था बदल्ने’ भन्नेहरूको मार्केटिङ गरिँदैछ ।
हाइब्रिड उपलब्धिको रक्षार्थ ‘आत्मसम्मान र स्वाभिमान’ बिसाएका नालायकहरूको ‘उत्पादन र संरक्षण’ गरिँदैछ । पटक-पटक राजनीतिक परिवर्तन गराउन चलाखीपूर्वक लगानी र सहयोग गर्ने, त्यसैको जगमा मुलुकलाई खोक्रो र थिलथिलो बनाउने शक्तिले बचेखुचेको मुलुकको अस्तित्व खोस्ने अन्तिम खेल खेलिरहेको छ । यस्तो गम्भीर अपराधलाई ‘नकाब’ फुस्किएको नेतृत्व र सोसल मिडियामार्फत चम्किएका ‘झिल्के’हरूले डरलाग्दो सहयोग पुऱ्याइरहेका छन् । नालायकहरूलाई मुलुकको जिम्मा लगाएर मिहिनेती र इमानदार युवा पुस्ता ‘मुसा दौड’मा निस्किएको छ । १२बुँदेको औचित्य सकिएको छ । छिमेकीहरू खुलेआम नाङ्गो नाच नाच्दैछन् । दक्षिण, उत्तर र पश्चिमको द्वन्द्वमा मुलुक फसिसकेको छ । ‘स्वदेशी सिद्धान्त र पुर्खाको ज्ञान’ले मात्र मुलुकको समस्याहरू समाधान गर्न सकिन्छ भन्ने सोचको बन्ध्याकरण गरिएको छ । जसले गर्दा मुलुक सुगौली सन्धिपछिको कठिन अवस्थामा पुगेको छ । दुर्भाग्य ! देशभक्तहरूको निन्द्रा खुल्ने सङ्केतसम्म देखिएको छैन ।