सोसल मिडिया र ‘प्रचण्डको’ रणनीतिक प्रयोग !

यतिबेला राजनीतिको भाषा नाटकीय रूपमा परिवर्तन भएको छ । कुर्सी नसामा मतदातासँग जोडिने सम्पूर्ण कार्यक्रम त्यागेको कथित नेतृत्वले राजनीतिको हुर्मत लिन मरिहत्ते गरिरहेको छ । वर्तमानलाई कुरूप बनाएर भविष्यको सम्भावना बिसाएका तथाकथितहरू नाङ्गो नाच नाच्दै छन् । कुर्सीकेन्द्रित राजनीतिले सांस्कृतिक र नैतिक अपिल गर्ने ल्याकत गुमाएको छ । पीडित र पीडकको बारेमा सामान्य दृष्टिकोणसमेत बनाउन नसक्ने नालायकहरूलाई मुलुकको जिम्मा लगाएर समाज सोसल मिडियामा क्रान्ति खोजिरहेको छ ।

मुलुकमा विचित्रको अराजकता मौलाएको छ । विश्व-राजनीतिको तीन फ्याक्टर जसले मुलुकको लोकतन्त्रमाथि गम्भीर चासो व्यक्त गरिरहेका छन् । अमेरिकी राष्ट्रपति बाइडेन अमेरिकाको पक्षमा लोकतन्त्रका आधारभूत मूल्य र मान्यता बिर्सन तयार छन् । बेलायतले भारत छाडेपछि पहिलो पटक शुद्ध भारतीय नेता बनेर प्रधानमन्त्री मोदी उदाएका छन् । उनी भारत र भारतीय जनताको निम्ति मरिहत्ते गरिरहेका छन् । त्यसैगरी चिनियाँ राष्ट्रपति सीले चीनलाई शक्तिशाली मुलुक बनाउन दिनरात एक गरिरहेका छन् । दुर्भाग्यवश राजा महेन्द्रपछि मुलुकले मुलुकको बारेमा सोच्न सक्ने नेता नै पाउन सकेन । विश्वमा राष्ट्रवाद र देशभक्ति मौलाउँदै छ । षडयन्त्र सिद्धान्तमा प्राप्त पटके परिवर्तनले हाम्रो राष्ट्रवाद र देशभक्तिमाथि निरन्तर आक्रमण गरिरहेको छ ।

अन्यथा दाबी नगरौँ, हाइब्रिड परिवर्तन ‘नयाँ’ व्यवस्था थिएन/होइन । वर्तमान व्यवस्था प्रभावकारी हुने छैन भन्ने यसका जन्मदाताले बुझेको विषय थियो । संविधानको ड्राफ्ट गर्दै गर्दा मुलुकमा राजनीतिक स्थिरता नआओस् भन्नेतर्फ ठुलो मिहिनेत गरिएको संविधानसभाले बुझ्नै पाएन । ‘गठबन्धन’ राजनीति निर्वाचनपूर्व कि निर्वाचनपश्चात् भन्ने रणनीतिक प्रश्नको जवाफ लुकाएर जारी गरिएको संविधान मुलुकले पाल्न कठिन मात्र हैन बोझ बन्ने निश्चित थियो । राजनीतिक सङ्कटको गहिराइको प्रतीक बनेको/बनाइएको पश्चिमा लगानीमा निर्मित संविधानको रक्षार्थ प्रचण्डको रणनीतिक प्रयोग अनिवार्य थियो ।

मुलुकलाई नियन्त्रित अस्थिरतामार्फत शासन गर्ने ‘दक्षिण-पश्चिम’को रणनीतिअनुरूप जनताको झुपडीमा जन्मिएका भूतपूर्व क्रान्तिकारीहरूलाई रातारात ‘भ्रष्ट शासक’मा रूपान्तरण गरियो । जनताको अभिमतको खिल्ली उडाउँदै दक्षिण-पश्चिमको आशीर्वादमा शासक बन्न सफल अवसरवादीहरू ‘मौन’ बस्न राजी हुँदा सोसल मिडिया अराजकता सर्वसाधारण नागरिकको ऊर्जा बनाइयो । तत्पश्चात् डिजिटल युगमा नागरिकलाई राजनीतिले गाइड गर्न नसक्ने बनाउँदै कसैलाई निन्दा गर्नु र निन्दनीय कार्य गर्नु फरक कुरा हुन भन्ने नबुझ्ने अवस्थामा पुऱ्याइयो । फलस्वरुप लोकतन्त्र कुलिन वर्गको घेरा तोडेर जनतासम्म पुग्नै सकेन/पाएन । यी तमाम कार्यको निम्ति प्रचण्ड अवसरवादको डरलाग्दो प्रयोगमा मुलुकलाई होमियो । जसले गर्दा मुलुकमा सोसल मिडिया र प्रचण्ड अवसरवादको प्रतिस्पर्धा समेत लोकप्रिय बनिरहेको छ ।

प्रचण्ड प्रयोगपश्चात् मुलुकमा बलिदान, आदर्श, नैतिकता र विचार नजन्मिने वातावरण बनाइयो । विचारको भिन्नताले विवादहरू निम्त्याउँछ । विचारहरूको विविधतालाई बुझ्न, सहन गर्न र अस्वीकार गर्न पनि विचार नै चाहिन्छ भन्ने प्रचण्ड अवसरवादले निलिदियो । दुर्भाग्यवश विश्व पुँजीवादले विचारको स्थानमा सोसल मिडियालाई प्लान्ट गर्न सफल भयो । जसले महत्त्वाकाङ्क्षी, अवसरवादी र गृहिणीलाई विचारविहीन प्राणीमा रूपान्तरण गरिदियो । दण्डहीनताको फाइदा उठाउने युट्युबरहरूले आफ्नो धारणाको समर्थनमा तर्कहरू सिर्जना गरिरहे । व्यक्तिहरूको समस्याको मार्केटिङ गर्दै नयाँ-नयाँ अराजकता सिर्जना गरिरहे । सामाजिक र राजनीतिक एकता केवल कुर्सीमा सीमित गरियो । जसले गर्दा मुलुकको आन्तरिक शक्ति घट्दै गयो । आन्तरिक एकता, नागरिक स्वतन्त्रता, स्वतन्त्र सञ्चारमाध्यम र लोकतन्त्र नेतृत्वको प्राथमिकतामा पर्नै पाएन । जसले गर्दा अवसरवाद र अनैतिकताबीच गज्जबको कार्यगत एकता चलिरह्यो । जसको पेटेन्ट राइट प्रचण्डले कब्जा गरिरहे ।

वैश्य युगमा न्याय, समानता र निष्पक्षताका सिद्धान्तहरूलाई सुकेनास लागेको छ, जसले गर्दा मानिसबीचको द्वन्द्वलाई अनिवार्य र स्वाभाविक बनाएको छ । द्वन्द्वको पहिचान गर्न र व्यवस्थापन गर्न नदिने विषय राजनीति बनेर मुलुकमा ताण्डव मच्चाउँदै छ । समाधान लुकाइएको द्वन्द्वको आक्रोश समाजमा फैलिँदै छ । शान्तिपूर्ण वातावरण र मानिसहरूका बीच सद्भाव सिर्जना गर्ने तन्तुहरू भत्काइएका छन् । मतभेदहरू समाधान गर्ने आदर्श पद्धति गायब पारिएको छ । गल्ती महसूस नगरीकन सम्झौता गर्ने पटके गल्तीले नयाँ-नयाँ गल्तीलाई जन्म दिँदैछ । शान्तिलाई निष्पक्ष रूपमा स्थापित गर्नुपर्छ भन्नेहरूले निर्दोष मानिसलाई वैधानिक अधिकार त्याग्न दबाब दिँदै छन् । समाजमा बढ्दो असहिष्णुताले परिवार टुक्रिँदै छ । आफन्तहरू एक अर्काको सहयोग गर्न चाहँदैनन् । यस्तो स्थितिमा मुलुक कसरी अगाडि बढ्छ भन्ने जवाफ कसैसँग पाइँदैन ।

असभ्य भाषा र आक्रामक प्रस्तुति दिन सक्नेहरू मिडिया र सोसल मिडियामा छाएका छन् । मुलुकको सुधार, योजना र कार्यान्वयनको बारेमा ‘क ख’सम्म नबुझेका टपरटुँइयाहरू मुलुक हाँक्न निस्किएका छन् । व्यक्तिगत सम्पत्ति र शक्ति बढाउन मनलाग्दी बोल्नेहरूलाई सांसद बन्ने अवसर दिने नागरिक साँच्चिकै जनार्दन बनेका छन् । आफूमात्र मयुर, अरू सबै ब्वाँसो देखाउने तथाकथित लफ्फाजी समेत राजनीतिक सिद्धान्त र कार्यक्रम बन्दै गरेको मुलुकमा जनता जनार्दनहरूले थप दुःख पाउनुको विकल्प देखिएन ।

तथाकथित राजनीतिक प्रतिस्पर्धा, साम्प्रदायिकता, युवा पलायन, नागरिक असन्तुष्टिले आसन्न सर्वनाशलाई रोक्नसक्ने देखिँदैन । विश्वविद्यालयको डिग्री भएका तर सीप नभएका निराश युवाहरूको आवश्यकता र मागलाई कसरी सम्बोधन गर्ने भन्ने कुनै अन्तर्दृष्टि नभएका पार्टीले मुलुक जोगाउन सक्ने देखिएन । न्यायपालिका, कर्मचारीतन्त्र र प्रहरीलगायतका निकायमाथिको विश्वास घट्दै गएको नदेख्ने या देखे पनि अनदेखा गर्ने सत्ताले मुलुकको सार्वभौम सत्ताको सुरक्षा गर्न सम्भव देखिँदैन । डरलाग्दो इसाइकरण, धार्मिक कट्टरता र कुरूपतासँग गाँसिएको विदेशी हस्तक्षेप रोक्ने तागत पनि मुलुकसँग देखिएन । दुर्भाग्यवश उल्लेखित समस्यालाई बुझ्नसमेत नसक्ने व्यक्तिलाई नायक बनाउन मरिहत्ते गर्ने जनताजनार्दन समेत ‘मुलुक डुबाउने कच्चापदार्थ’ बन्ने खतरा चुलिँदै छ ।

मुलुकमा परिवर्तन अपरिहार्य थियो । दुर्भाग्य ! परिवर्तन मुलुकमैत्री भएन/हुन दिइएन । परिवर्तनको नाममा सामाजिक आन्दोलन गराइयो । पुर्खाको ज्ञानको स्वामित्व र सामाजिक एकताको धारणामाथि रणनीतिक प्रहार गरियो, जसले समाजको शक्ति क्षीण गराउन अहम् भूमिका निभायो । कानुनको शासन, शिष्टता र सार्वजनिक सेवामा प्रतिबद्ध व्यक्तिहरू राजनीतिबाट हैरान छन् । निर्वाचनले आफ्नो उद्देश्य पूरा नगरेको मुलुकमा रोजगारी र स्रोतहरूको बाँडफाँड जस्ता मुद्दाहरू अलपत्र बनाइयो । नगरेका अपराधको सजाय भोग्न नागरिकलाई बाध्य पारियो । केवल बाँच्नकै निम्ति अवसरवादीहरूलाई मुक्तिदाता मान्न र ठान्न मजबुर बनाइयो । जसको नेतृत्व ‘प्रचण्ड’ले गरिरहे भने काङ्ग्रेस-एमालेले सहयोगीको भूमिका सफलतापूर्वक निभाइरह्यो ।

राजनीतिक परिवर्तनको आडमा पश्चिमा शक्तिले काङ्ग्रेसलाई प्रयोग गर्दै आर्थिक उदारीकरण सुरु गरायो । एमालेलाई प्रयोग गर्दै आइएनजिओकरण गरियो । तत्कालीन माओवादी हालको माओवादी केन्द्रलाई प्रयोग गर्दै जातीय विखण्डन र विभाजनको खेती चलायो । मिडिया र सोसल मिडिया प्रयोग गर्दै अराजकता मच्चाइयो । तथापि मुलुक ढलेन । झन्डै ५००० वर्ष पुरानो सभ्यता, संस्कृति, भाषा, धर्म,परम्पराले मुलुकवासीलाई अझै बाँधिराखेको पश्चिमा शक्तिले बुझ्नासाथ प्रचण्डको अन्तिम प्रयोग गरिहाल्यो । जसलाई दक्षिणले नरुचाएको स्वयम प्रचण्डले स्वीकार गरिसकेका छन् ।

पटक-पटक बन्ने र भत्किने औचित्यहीन गठबन्धनलाई ‘कोर्स करेक्सन’को नाम दिइएको छ । वास्तवमा परिवर्तित सत्ता गठबन्धन कोर्स परिवर्तन नभएर केवल ‘प्रश्न पत्र’ परिवर्तन गरिएको मात्र हो । पछिल्लो समयमा भएको या गरिएको या गराइएको गठबन्धनको किताब परिवर्तन भएको छैन । पुरानै किताब, उही विद्यार्थी, एउटै परीक्षा केन्द्र रहेको समयमा केवल प्रश्न पत्र परिवर्तन गर्नुलाई कोर्स करेक्सन भन्न मिल्ने देखिँदैन । विगतमा वाम आन्दोलनको खिल्ली उडाउँदै, मुलुकको आसा र भरोसा भत्काउँदै बहुमूल्य अवसर खेर किन फालेको भन्ने जवाफ नदिएरै बनाइएको गठबन्धन कोर्स करेक्सन हुँदै होइन । फगत आयातित ‘गुन र नुन’को कमाल मात्र हो ।

पुर्खाको ‘ज्ञान’ थिलथिलो बनाइएको पछिल्लो अवस्थामा सर्वसाधारण नागरिकसँग धेरै टाढा पुगेका छन् । जिउँदो भुक्तभोगीले र पीडितले आफू बलात्कार भएँ भन्दा आम मानिस मान्न तयार देखिदैनन । मृतकसँग सम्बन्धित अनेकौँ तथ्य र प्रमाणले आत्महत्या हो या दुर्घटना हो भन्दा नागरिक विश्वास गर्न तयार छैनन् । अपवादमा बाहेक तथाकथित युट्युबरहरू आफूलाई ‘सञ्जय’ ठान्दैछन् । प्रहरी र प्रमाणले नदेखेको कुरा सोसल मिडिया र युट्युबरले देखिसकेको हुन्छ । आम नागरिक प्रहरी र तथ्यलाई मान्न तयार छैनन् । उनीहरू आफै आरोप लगाउँछन् । आफै फैसला सुनाउँछन् । अझ डरलाग्दो कुरा सोसल मिडिया र मिडियाले निर्दोषलाई या जो कसैलाई अपराधी बनाउन चाह्यो भने अपराधी बनाउन सक्ने र नागरिकले सजिलै पत्याउने वातावरण सिर्जना भएको मुलुकमा राजनीतिक परिवर्तन, सत्ता परिवर्तन या गठबन्धन परिवर्तनले नागरिकको ध्यान खिच्ने अवस्था रहेन । सर्वसाधारण नागरिकले सरकारप्रति चरम अविश्वास गर्ने मुलुकमा सोसल इन्जिनियरिङ चकनाचुर भएको या पारिएको सजाय मुलुकले लामो समय भोग्ने निश्चित जस्तै छ ।

मुलुकमा तथाकथित चतुरहरूको बिगबिगी छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय ठगहरूको चरम सत्ता लिप्साले राजनीति डुङडुङती गन्हाएको छ । ‘संसदीय फोहरी खेल, वर्तमान व्यवस्था, प्रणाली र संविधान’ मुलुकको ‘काल’ बन्दै छ । ‘संविधान र लोकतन्त्र’को रक्षाको निम्ति भन्दै विगतमा बनाइएको गठबन्धन भत्काउँदा ‘ठुलो उथलपुथल’ भन्ने र मान्ने प्रचण्ड-अभिव्यक्तिले ‘संसदीय अवसरवाद’समेत लज्जित छ । आफू नमर्दासम्म मुलुकमा उथलपुथल भइरहन्छ भन्ने प्रचण्डलाई बोक्ने ओली-स्वार्थ र बाध्यताले राजनीतिलाई थप बदनाम बनाउँदै छ । जीवनभर नैतिकता, आदर्श राजनीति र प्रजातन्त्रको वकालत गर्ने सर्वमान्य नेता गणेशमान सिंह बारम्बार भन्ने गर्थे, ‘राजनीतिमा नैतिकता थपियो भने त्यो मानिस प्रजातान्त्रिक हुन्छ । राजनीतिबाट नैतिकता झिकिदियो भने त्यो मानिस तानासाह हुन्छ ।’ सोसल मिडिया र प्रचण्डको घिनलाग्दो प्रयोग पश्चात् गणेशमान सिंह जीवित रहेका भए शायद आफ्नै भनाइलाई परिमार्जन गर्दै भन्ने थिए- राजनीतिबाट नैतिकता झिकिदियो भने त्यो मानिस ‘प्रचण्ड’ बन्नेछ, राजनीतिलाई सोसल मिडियाले ड्राइभ गरे मुलुक समाप्त हुनेछ !