‘नयाँपन’बिनाको ‘नयाँ शक्ति’ !
परिस्थितिले परिवर्तन खोजिरहेको छ । यसलाई स्वघोषित नयाँ शक्तिले आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन् । जसले गर्दा मुलुकमा ‘नयाँ र पुरानो’ शक्तिको आन्तरिक प्रतिस्पर्धा चर्किएको छ । यद्यपि नयाँ र पुरानोको आधार कस्तो विषयलाई मान्ने भन्ने बहस सुरु नभएको अवस्थामा सोसल मिडिया पुस्ताले ‘अनुहार र उमेर’लाई नयाँ मान्न हौसिएको छ, जसलाई सोसल मिडियाले इन्धन भर्ने काम गरिरहेको छ ।
यतिबेला मुलुकमा चुनौतीहरू थपिएका छन् । भ्रमहरू सशक्त बन्दैछन् । भ्रमको खेती गर्दै मौलाएका स्वघोषित शक्तिले चुनौतीसँग लड्ने नयाँ कार्यक्रम पस्किएको मुलुकले देख्न पाएको छैन । पश्चिमीकरण, सांस्कृतिक आक्रमण, अश्लीलता र इसाइकरणको आक्रमणबाट थलापरेको मुलुकको परिस्थिति अत्यन्तै कठिन छ । राष्ट्रिय सुरक्षा नीति, ‘दक्षिण, उत्तर र पश्चिम’बीचको सम्बन्धमा अर्थपरक प्रगति, सीमा-सुरक्षा, मुलुकमैत्री शिक्षा, गाउँ-पाखा जोगाउने कार्यक्रम, आत्मनिर्भर अर्थतन्त्र, लगानीमैत्री वातावरण, न्याय र नागरिकसँग जोडिएको आधुनिक कानुन, ‘भाषा, परम्परा र संस्कार’ जोगाउने कार्यक्रम, पर्यावरण र वातावरण सुधारका एजेन्डा देखाउन सक्ने शक्तिलाई मुलुकले कुरिरहेको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक भ्रष्टाचार रेकर्ड तोड्ने अवस्थामा पुगेको छ । मुलुक छोड्ने युवायुवतीको ताँती अन्तर्राष्ट्रिय विमानस्थलतर्फ बढ्दै छ । मुलुकमा आफ्नो भविष्य सुनिश्चित छैन भन्ने नागरिकको सङ्ख्या उकालो चढ्दैछ । कृषिप्रति आममानिसको सकारात्मक धारणा विकास भएको कतै देख्न/सुन्न पाइँदैन । मुलुकसँग उपलब्ध प्राकृतिक साधन र स्रोतको दोहन रोकिएको छैन । व्यापार घाटा कम गर्ने सार्थक योजना मुलुकले सुन्नसमेत पाएको छैन । केवल पुराना दललाई गाली गरेर नयाँ बन्ने ‘रहर’ चम्किँदै छ । बेरोजगार युवाहरूको अपेक्षा थपिएको छ । उपभोक्तावाद र बजारवादले युवा दिमाग खलबलिएको छ । मार्क्सवाद, लेनिनवाद, माओवाद, प्रजातान्त्रिक समाजवाद, उदारवादले अवसरवादसामु आत्मसमर्पण गरिसकेको छ । यस्तो परिस्थितिमा नयाँ बनेर देखापरेको ‘झिल्केवाद’ आफैमा रित्तो भएको युवायुवतीले बुझ्न नसक्नुले मुलुकमा ‘दुर्भाग्यवाद’ प्रवेश गरेको मान्न सकिन्छ ।
आफूलाई नयाँ र वैकल्पिक दाबी गर्ने शक्तिले लिएका विचार, सिद्धान्त, कार्यक्रम, व्यवहारमा समाजले नयाँपन खोजिरहेको छ । मुलुकले कर्मचारीतन्त्रको आधुनिकीकरण, विकासमा टाइमकार्ड, पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि, पारदर्शिता र जवाफदेहितामा आक्रामक उपस्थिति खोजिरहेको छ । मुलुकले गफ, हल्ला, स्टण्ट भन्दा काम देख्न र सुन्न चाहेको छ । हाइब्रिड परिवर्तनको कारण पातलो बनेको देशभक्ति जगाउने देशभक्तहरू मुलुकले पर्खिरहेको छ । बजारवाद र उपभोक्तावादको दलदलबाट मुलुकवासीलाई जोगाउने कार्यक्रम खोजेको छ । अरूलाई गाली गरेर नयाँ बन्ने खल्लो ध्वनि प्रदूषणप्रति देशवासीको चर्को असहमति छ । डुङ्डुङती गन्हाएका व्यक्ति, शक्ति र दलहरूको विकल्पमा आउने ‘व्यक्ति र शक्ति’ दागरहित भएको हेर्ने चाहना देशवासीको छ ।
यतिबेला मुलुकवासी महासङ्टमा फसेका छन् । उनीहरू विकल्प खोजिरहेका छन् । पार्टीभन्दा मुलुकलाई माथि राख्ने राजनीतिक शक्तिको खोजीमा छन् । लोकतन्त्रलाई आफ्नो बाटोमा हिँड्न दिने, उत्पादन र निर्यात बढाउने, व्यापारघाटा रोक्ने, बेरोजगारी र गरिबी घटाउने आधुनिक कार्यक्रम सहितको नेतृत्व मुलुकले खोजेको छ । प्रत्यक्ष देख्ने, भोग्ने र महसूस गर्ने कामको तीव्र प्रतीक्षामा मुलुकवासी छन् । विकल्प अनुहारमा हैन, कार्यक्रममा खोज्दैछन् । बोलीमा हैन, व्यवहारमा खोज्दैछन् ।
ऋण गरेर घ्यु खाने सरकार अतिरिक्त ऋणको दीगो विकल्पमा रमाइरहेको छ । विकास, शिक्षा, स्वास्थ्यतर्फ सार्वजनिक लगानी घट्दो छ । सीमान्तकृत वर्ग, लोपोन्मुख र अल्पसङ्ख्यक जाति, बालबालिका, ट्रान्सजेन्डर, ज्येष्ठ नागरिक र विशेष व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सार्थक कार्यक्रम मुलुकले खोजिरहेको छ । यी तमाम कुरालाई सकारात्मक ढङ्गले सम्बोधन गर्ने सोच, कार्यक्रम र जोश मुलुकले खोजिरहेको छ । दुर्भाग्यवश आफूलाई वैकल्पिक शक्ति मान्ने र ठान्ने शक्तिले उल्लेखित विषयलाई कोट्याउनसम्म नचाहेको देख्दा पुराना शक्ति मक्ख र ढुक्क छन् ।
यतिबेला मुलुकमा कथाहरू बिकिरहेका छन् । मिडियाले प्रभावकारी रूपमा श्रोताको धारणालाई आकार दिँदै आएको छ । सोसल मिडिया प्रयोगकर्ताको भावनासँग खेल्ने अभियान तीव्र बनाइएको छ । सबै कथाहरूबाट सिक्ने र ध्यान सुरक्षित गर्ने नागरिकको सङ्ख्या अत्यन्त न्यून छ । जनतालाई जागरूक बनाउने बहानामा गलत शैलीको अभ्यास गरिएको छ । जसले समाजको संवेदनशीलतामाथि ठाडो आक्रमण बढाएको छ । ‘खराब व्यवहार र भ्रष्टाचार’लाई देखाउँदै आफ्नो दुनो सोझ्याउने खेल खेलिएको छ । राम्रो देख्ने र सुन्ने चक्करमा सोसल मिडिया युजरहरू डरलाग्दो भ्रमको सिकार बनेको पत्तै पाउँदैनन् । जसले गर्दा सोसल मिडिया युजरहरू मनोवैज्ञानिक युद्धको सिकार बन्दैछन् ।
हाम्रो समाज अलिक बढी नकारात्मक छ । यसले भ्रमहरूलाई छिटो विश्वास गर्दै आएको छ । सर्वसाधारण नागरिकको छिटो बिर्सने बानी छ । हामी सानो कुरामा रमाउँछौँ । राजनीतिक दलहरूको घोषणापत्र पढ्दैनौँ, किनकि पढ्ने हाम्रो आदत छैन । झन्डै ७० वर्षदेखि अनेक पात्र र प्रवृत्तिको भाषण सुन्दै आएका छौँ । नेपाली समाजले बुझिसकेको छ, राजनीतिक नेता र उनीहरूको दृष्टिकोण खल्लो छ । सतही छ । सर्वसाधारण नागरिकको मानसिकतासँग खेल्न माहिर छ । अनेक फुलबुट्टा भरेर ल्याइने घोषणापत्रलाई झुटको पुलिन्दा ठान्ने मतदाता र राजनीतिक दलहरूबीच गज्जबको समझदारी छ । जसले गर्दा कुर्सीकेन्द्रित राजनीतिको लोभमा राजनीतिक उद्योगमा हामफाल्ने स्वघोषित वैकल्पिक व्यक्ति र शक्तिलाई सजिलो मैदान उपलब्ध छ ।
वैकल्पिक शक्ति बन्ने लालसाले ‘नयाँ हुँ’ भन्नेहरू शक्तिको क्रुर खेलमा फसिसकेका छन् । लोकतान्त्रिक किराहरूले खोक्रो बनाएको प्रणाली जोगाएर नयाँ बन्ने खल्लो प्रयास नहुर्किंदै ककर्किएको छ । वैश्ययुगको बोझले युवायुवती गम्भीररूपले थला परिरहेका छन् । असीमित इच्छा, आकाङ्क्षा, आवश्यकता र आम्दानीबीच अर्थपरक भेटघाट हुन नसक्दा युवायुवती मानसिक रोगी बन्दैछन् । मुलुकवासी मानसिक स्वास्थ्य र औषधि सेवनमा राज्यको उपस्थिति खोजिरहेको छ । मानसिक स्वास्थ्य केन्द्रहरू खोल्ने र मानसिक रोगीलाई सामाजिक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता चाहिएको छ । मुलुकले अनिवार्य स्वास्थ्य बिमा, जनसङ्ख्या र प्रजनन स्वास्थ्य, व्यापक इलेकट्रोनिक स्वास्थ्य रेकर्ड प्रणाली, आधुनिक खोप कार्यक्रम, रोग रोकथाम र स्वास्थ्य शिक्षा जस्ता कार्यक्रमले नयाँपन खोजिरहेको छ ।
मुलुकमा भ्रष्टाचार नयाँ रोग हैन । विश्व राजनीतिमा भ्रष्टाचारको विरोध नगर्ने कुनै राजनीतिक दल फेला पर्दैन । दुनियाँको सबैभन्दा खुँखार ‘भ्रष्ट’ले समेत आफूलाई भ्रष्टाचार विरोधी हुँ भन्न पछि पर्दैन । मानव सभ्यताको विकाससँगै उत्पन्न भएको भ्रष्टाचारले विकसित, विकासशील र विकास उन्मुख मुलुकमा आफ्नो उपस्थिति कायम राख्न अनेक ढङ्गले कोसिस गरिरहेको छ । जनताको चेतना स्तर, विज्ञान र प्रविधिको लोभलाग्दो विकास, न्याय र स्वतन्त्रताको लोभलाग्दो चाहना, समानता र समतामूलक समाजको परिकल्पनाले भ्रष्टाचारलाई शत्रु मानिसकेको छ । यस्तो कटु यथार्थलाई चटक्क बिर्सेर केवल भ्रष्टाचारको विरोध गरेको भरमा ‘नयाँ’ बन्ने असफल कोसिस समेत युवायुवतीको नजरमा लोकप्रिय बन्नुको अर्थ पुराना दलहरूले सत्ता नसामा गरेका तमाम गडबडी जिम्मेदार रहेको मान्न सकिन्छ ।
मुलुकमा सोसल मिडिया आतङ्क सिर्जना गर्दै सामाजिक एकता भत्काउने, डर पैदा गर्ने, सर्वसाधारण नागरिकको भावनासँग खेल्ने अभियान तीव्र बनाइएको छ । जनताको इच्छा ओझेलमा परेका छन् । दलभित्रको लोकतन्त्र सङ्कटमा परेको छ । आफ्ना इच्छालाई जनताको इच्छा भन्ने र बनाउने खेल जबरजस्ती खेलिँदै छ । पारिवारिक मर्यादा र निजी गोप्यता सोसल मिडियाको खुराक बनाइएको छ । व्यक्तिगत जीवन समाप्त गरिएको छ । आफूलाई नयाँ हुँ भन्नेले डरलाग्दो भाष्य सिर्जना गरेका छन् । आफूबाहेक सबै भ्रष्ट, अयोग्य, नालायक भन्ने अभियान छेडिएको छ । विगतमा गलतबाहेक केही नभएको, उनीहरूमार्फत वर्तमान बर्बाद पारिएको र भविष्य आफूले मात्र बनाउन सक्ने आवाज मुखरित गरिएको छ । दुर्भाग्य ! यी तमाम दाबीलाई समर्थन गर्ने आधारहरू खोक्रो छन् । आर्थिक, सामाजिक, राजनीतिक कार्यक्रम शून्य छन् । अझ दुःखलाग्दो कुरा, त्यस्तो भन्ने दल र मानिस समेत दागरहित छैनन् ।
वैश्ययुगमा मध्यम वर्ग तीव्र रूपमा असन्तुष्ट छ । यस वर्गको सोसल मिडियामा डरलाग्दो उपस्थिति देखिन्छ । यो वर्ग नयाँ खोज्न हौसिएको छ । दुर्भाग्य ! नयाँको परिभाषा उनीहरूसँग छैन । उनीहरू हल्लाको पछि दौडिएका छन् । राजनीतिक प्राथमिकता र सामाजिक विकल्पको बारेमा मध्यम वर्ग सधैँ दुविधामा रहँदै आएको छ । कम विकसित देशमा मध्यम वर्ग ठुलो सङ्ख्यामा हुने गर्दछ । जसले राजनीतिलाई अस्थिर बनाउन अप्रत्यक्ष योगदान पुऱ्याइरहेको हुन्छ, यद्यपि उनीहरू आफ्नो कारणले भएको दुर्दशाको जिम्मेवारी लिन हिच्किचाउँछन् । अभिजात वर्ग र मध्यम वर्गका नागरिकबीच निरन्तर चलिरहने सङ्घर्षमा ‘लोकतन्त्र’ले अभिजात वर्गलाई अधिक सुरक्षा दिँदै आएको छ, जसले गर्दा अभिजात वर्ग सत्ता परिवर्तनको विरोधी बन्दै आएको छ । आजका पुराना शक्ति हिजोका नयाँ थिए भन्ने भर्खरै नयाँ बन्न हतार गरेका शक्तिले बुझ पचाएका छन् ।
‘राजनीतिक र आर्थिक स्थिरता, विकास, समृद्धि, सुशासन र शान्ति’ मुलुकवासीले सदैव खोजिरहेका छन् । केवल भ्रष्टाचारले मात्र उल्लेखित विषयहरू मुलुकमा ओझेल परेका होइन भन्ने ‘नयाँ’ हुँ भन्नेले बुझ्न जरुरी छ । नागरिकको तागत र अभिजात वर्गको स्वार्थमाथि पुँजीवादी विकासको प्रभाव परिरहेको छ । सोसल मिडियाको हावाहुरी र पुँजीवादी विकासले ल्याएको असमानताले सिर्जना गरेको असन्तुष्टिको भरमा ‘नयाँ शक्ति’ बन्न सकिँदैन । लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्दै दीर्घकालीन उपस्थिति जनाउन ऐतिहासिक मूल्य, मान्यता, देशको आर्थिक हैसियत, सामाजिक चेतना स्तर, कर्मचारीतन्त्र, भूराजनीति, कानुन र राजनीतिक विकासको जरोसम्म पुग्नु अनिवार्य छ ।
फगत अनुमानित ‘कारण’लाई दोष दिएर मुलुक बन्दैन । वैश्ययुगमा राजनीतिको ‘वर्णमाला’ नपढीकन ‘नयाँ शक्ति’ बन्न निस्किएका व्यक्तिसँग नैतिक आचरण, समाज परिवर्तनको आधुनिक एजेन्डा र कार्यक्रम अझै देखिएन । नयाँ भन्नेहरूको सिद्धान्त, कार्यक्रम र कार्यशैलीसँग अभिजात वर्ग नझस्केसम्म, वर्तमान न्याय प्रणाली र निर्वाचन प्रणाली रहेसम्म, साउदी/कतार/मलेसिया पलायन भएका मिहिनेती युवायुवती स्वदेश नफर्केसम्म, भ्रष्ट र नालायकहरूको विभागीय कारबाही ‘सरुवा’मा सीमित गरिँदा टुलुटुलु हेर्ने नागरिक मुलुकमा रहेसम्म सत्ता उन्मादमा आफ्नै एजेन्डा र जनता बिर्सेका पुराना दलहरूले कथित नयाँ शक्तिबाट थ्रेट महसूस नगर्नु स्वाभाविक छ ।