निरीह सिंहदरबार र युवायुवतीको गन्तव्य !
दार्शनिक प्लेटो, उनको शिक्षक सुकरात र विद्यार्थी एरिस्टोटलले झन्डै दुई हजार वर्षअघि विश्वमा राजनीतिक शासनको सङ्गठित सिद्धान्तहरू पस्किए, जसले युरोपेली समाजलाई यथास्थितिमा बस्न दिएन । अङ्ग्रेजी दार्शनिक जोन लकको उदारवाद र फ्रान्सेली दार्शनिक भोल्तेयरको ‘तर्क र धार्मिक सहिष्णुता’लाई फ्युजन गर्दै युरोप अघि बढ्न चाह्यो । युरोप शान्त रहन सकेन । त्यहाँ ठुला-ठुला क्रान्ति सुरु भए । युरोप त्यति बेलासम्म अशान्त बनिरह्यो जबसम्म उनीहरूले राजनीतिक सिद्धान्तलाई आर्थिक उन्नतिसँग जोड्न सकेनन् । युरोपेली समाज, विचार र क्रान्तिलाई नजिकबाट अध्ययन गरेका अमेरिकी राजनीतिज्ञहरूले औद्योगिक क्रान्तिलाई अगाडि बढाए, जसले अमेरिकी जनताको जीवनस्तरमा देखिने परिवर्तन ल्यायो । फलस्वरुप व्यक्तिगत स्वतन्त्रता, लोकतन्त्र र पुँजीवादी विचारबाट अमेरिका कहिल्यै विचलित हुनु परेन । रुसी नेता लेनिनले ‘मार्क्स’को वर्ग सङ्घर्ष र क्रान्तिको बाटो पछ्याउँदै सन् १९१७ मा अक्टोबर क्रान्ति गर्न सफल भए । तथापि, उनको क्रान्तिपश्चात् स्थापना भएको सोभियत सङ्घ र समाजवादी क्रान्तिले रुसी जनताको चाहनालाई सम्बोधन गर्न सकेन । अन्ततः ७३ वर्षमा बिदा लिन बाध्य भयो ।
कम्युनिस्ट व्यवस्थालाई साइनबोर्डमा जीवित राख्दै बजार-अर्थतन्त्रलाई पछ्याउने देङ स्याओपिङको विचारले चिनियाँ जनताको जीवनस्तर उकासियो । मेरिटोक्रेसी, व्यावहारिकता र स्वच्छ शासनको बलमा ली क्वान यूले आधुनिक सिङ्गापुरको निर्माण गरे । यसैबीच हिन्दुत्वको विचारलाई पुनर्जीवित गर्ने उद्घोषको साथ उदाएका नेता नरेन्द्र मोदीले आधुनिक भारत निर्माण गरिरहेका छन् । राजनीतिक सिद्धान्त र विचारलाई वास्तविकतामा अनुवाद गर्ने मुलुकहरू राजनीतिक र आर्थिक रूपले सफल भए ।
‘मलाई लाग्छ- म धेरै जान्ने छु, तर जब तिमीसँग भेट्छु, आफूलाई केही जानकारी नभएको थाहा पाउँछु ।’ हो, सिंहदरबार र हाम्रो लोकतन्त्रको हालत उल्लेखित भनाइसँग ठ्याक्कै मेल खाँदैछ । लोकतन्त्रमा तर्क र तर्कमाथि प्रश्न उठ्छ र, उठाउन सकिन्छ । यद्यपि उचित प्रक्रिया आवश्यक छ । प्रक्रियाबाहिर गएर उठाइने प्रश्नलाई सत्ताले आफ्नो पक्षमा पार्ने असफल कोसिस गर्दै आएको छ, गरिरहने छ । परिवर्तनको ब्याज खाएर सुस्त बनेको नेतृत्वसँग कर्मचारीतन्त्रले विचित्रको फाइदा उठाइरहेको हुन्छ । आफ्नै विगत बिर्सिएको नेतृत्वले औचित्य सकिएको समयमै बुझ्न सक्दैनन् । उनीहरू सत्ता जोगाउन कायरताको प्रदर्शन गरिरहन्छन् । अधिक बल प्रयोग गर्न हौसिन्छन् । दार्शनिकहरूको विचार, अनेकौँ क्रान्ति, युरोप, अमेरिका, चीन, सिङ्गापुरको राजनीतिक, आर्थिक परिवर्तनलाई कण्ठस्थ गरेका नेतृत्वले पटके राजनीतिक परिवर्तनका बाबजुद मुलुकवासीलाई सुशासन, विकास र समृद्धिको स्वाद चखाउन सकेनन् । फलस्वरुप हामी असफलतातर्फ उन्मुख छौँ । हामीले प्राप्त गरेका स्वतन्त्रताले हाम्रो भविष्य सुनिश्चित गर्न सकिरहेको छैन ।
‘साझा राष्ट्रिय लक्ष्य र उद्देश्य’ नबनाउने सर्तमा प्राप्त भएको लोकतन्त्रको शक्ति ‘हाइब्रिड उपलब्धि’ जोगाउन खर्च भइरहेको छ । समाजवाद उन्मुख संविधान जन्माएको हल्ला गर्ने सत्ताले ‘सुशासन र लोककल्याणकारी कार्यक्रम’ निर्माण गर्न नसक्ने या नपाउने कुरा चलाखीपूर्वक लुकाइएको छ । आधारभूत लोकतन्त्रको अर्थ महसूस गर्न नपाएका युवायुवती केवल देशभक्ति, स्वतन्त्रता र लोकतन्त्र भन्दै मुलुकमा बस्ने छैनन् भन्ने बुझेको शक्तिले राजनीतिक स्थिरताको ‘साँचो’ आफ्नो मुट्ठीमा लिन सफल भएको छ । यही तथ्यलाई राम्रोसँग बुझेको सोकल्ड लिडरसिपले विदेशीको गुलामी गर्दै सत्तामा विराजमान हुने र टिक्ने असफल कोसिस गरिरहेका छन् । मुलुकलाई अन्तहीन द्वन्द्वतर्फ जान बाध्य पार्ने तमाम कारणलाई जीवित राखेर सत्ताको ‘तर’ मार्ने सत्ताधीशहरूले प्रश्नको समाधान खोज्नुको सट्टा बन्दुकको दुरुपयोग गर्न हौसिनु स्वाभाविक छ । कायरहरू बन्दुकलाई शक्ति सम्झिन्छन् । दुर्भाग्य ! बन्दुकले सदैव शक्तिको अगाडि आत्मसमर्पण गर्दै आइरहेको बुझपचाइँदै छ ।
सर्वसाधारण नागरिकले आर्थिक उन्नति देख्न र भोग्न नपाउने मुलुकमा लोकतन्त्र मौलाउन सम्भव छैन । दलाल पुँजीवादसँग आत्मसमर्पण गर्दै समाजवादमा छलाङ मार्ने नेतृत्वको तथाकथित सिद्धान्तमा युवाहरूको कुनै आशा र भरोसा देखिँदैन । फलस्वरुप युवायुवती छिटोभन्दा छिटो सुरक्षित हुन चाहिरहेका छन् । आर्थिक सुनिश्चितताबिना उनीहरू लोकतन्त्र, परिवर्तन, देशभक्ति र राष्ट्रवादको मिठासमा रमाउन तयार छैनन् । राजनीतिक परिवर्तनलाई आँखा, जिब्रो र छालाले महसूस गर्न चाहन्छन्, जसको निम्ति मुलुक छोड्न चाहन्छन् । किनकि, उनीहरूले सिंहदरबारसँग विश्वास गुमाएका छन् । गुणस्तरीय जीवन बिताउन अवसरको खोजीमा छन् । नागरिक र राष्ट्रिय सुरक्षा नीति भन्दा कुर्सी प्यारो भएको लोकतन्त्र आफ्नै बोझले थला परिसकेको छ । सरकारैसरकार भएको मुलुकले सुशासन शब्दको सम्मान गर्न नसक्दा सर्वसाधारण जनताको दृष्टिमा अराजकता नै लोकतन्त्र हो भन्ने परिरहेको छ ।
भनिन्छ, भिखारी कहिल्यै टाट पल्टिँदैन । तर, नैतिकरूपले टाट पल्टेका भिखारीहरू राजनीतिक उद्योगमा हामफाल्दै लोकतन्त्रको हुर्मत लिन कस्सिएका छन् । यस्तो अवस्थामा प्रहरीको महत्त्व अत्यधिक हुने गर्दछ । सर्वसाधारणको सुरक्षामा उनीहरूको उपस्थिति अनिवार्य हुने गर्दछ । प्रहरीको कार्यशैली र छविले लोकतन्त्रको अनुहार चम्किने छ । भिड नियन्त्रण र अनुसन्धान कार्यमा चुस्तदुरुस्त प्रहरी सङ्गठनले मात्र सर्वसाधारण नागरिकलाई लोकतन्त्र आएको महसूस गराउन सक्छ । भिड, अराजकता, अपराधमा भएको वृद्धिले प्रहरीको काँधमा बोझ थपिएको छ । अधिकृत प्रहरीको सोच, अतिरिक्त बोझ, पक्षपातपूर्ण वृत्तिविकास, रोकिएको आधुनिकीकरण, पुरानो मानसिकता, सत्ताको अतिरिक्त दबाबका कारण खास मौकामा नेपाल प्रहरी चुकेको देखिन्छ ।
सामाजिक संरचना, अव्यवस्था, बढ्दो महत्त्वाकाङ्क्षा, राजनीतिक नेतृत्वको अलोकतान्त्रिक कार्यशैली, आन्तरिक र बाह्य घुसपैठले शान्तिसुरक्षामा चुनौती थपिएको छ । परम्परागत सोच र शैली अपनाएर प्रहरीले अराजक भिडलाई नियन्त्रण गर्न हमेसा मुस्किल हुनेछ । प्रभावकारी कानुन निर्माण र प्रभावकारी कार्यान्वयन नहुँदा नागरिकमा असन्तुष्टि चुलिन्छ । अत्यधिक बल प्रयोग गर्दा नोक्सानी भयावह हुनेतर्फ प्रहरी सङ्गठन सजग हुनु जरुरी देखिन्छ । नारा जुलुस, बन्द, हडताल, तोडफोड, हिंसाबिना सर्वसाधारणको आवाज सरकारले नसुन्ने प्रवृत्ति मौलाएको मुलुकमा सार्वजनिक असन्तुष्टि भयावह बन्दै गइरहेको छ । सत्ताको अलोकतान्त्रिक छवि र कमजोरीको योगफल साम्य पार्न प्रहरी सङ्गठनलाई आधुनिक हतियार, तालिम, आत्मसुरक्षाको सामाग्री समयमै उपलब्ध गराउनु जरुरी छ । दुर्भाग्यवश तमाम चुनौतीलाई सम्बोधन गर्न सरकारको ध्यान अपर्याप्त छ ।
मुलुक रणनीतिक अशान्तिको चपेटामा परिसकेको छ । माओवादी ध्वंशको जगमा रोपिएका विषवृक्ष हुर्किएका छन् । भ्रष्टाचार, कुशासन र बेरोजगारीले ल्याउँदै गरेका हिंसा, अवरोध र सुरक्षा जोखिमले सिंहदरबारको पेचकिला खुस्किएको छ । युवायुवतीले मुलुकमा भविष्य नदेख्दा राजनीतिक र सामाजिक अस्थिरता चुलिएको छ । वैश्ययुगमा युवायुवती भौतिकवादतर्फ आकर्षित छन् । उनीहरूको इच्छा, सोच, चाहना, आवश्यकता पूरा गर्ने ल्याकत सिंहदरबारले गुमाएको छ । नैतिक शिक्षा र अध्यात्म हराएको समयमा आम मानिस स्वार्थी र अवसरवादी बन्न हतारिएका छन् । जसले गर्दा सामाजिक सद्भाव र भाइचारा समाजबाट हराएको छ । युवायुवती अराजक बन्न हौसिएका छन् ।
समाजमा अपराधको सङ्ख्या चुलिएका छन् । शान्तिसुरक्षाको अवस्था कहालीलाग्दो छ । नेपाली जनताको चेतनास्तर ओरालो लागेको विभिन्न तथ्याङ्कले देखाएका छन् । हाम्रो औपचारिक शिक्षा बेकामे बनिसकेको छ । युवायुवती मुलुक छोड्ने परीक्षामा समावेश हुन चाहन्छन् । रोजगारी दिन नसक्ने सरकार वैदेशिक रोजगारीको परीक्षा माग गर्नेलाई ‘गोली’ उपहार दिँदैछ । हाम्रो लोकतन्त्रको जरा कुहिएको छ । यसले प्रश्नहरूको सामना गर्न सक्दैन/रुचाउँदैन । विगतमा हामीले जन्माएका अनेकौँ प्रश्नहरू आजसम्म जवाफ खोजिरहेका छन् । आज तिनै प्रश्नहरू ‘सामाजिक बम’मा बदलिएका छन् ।
मुलुकमा आर्थिक अपराध मौलाउँदो छ । मानव बेचबिखन र सामाजिक अपराध सामान्य भइसकेको छ । साइबर अपराध र बैंकिङ कसुरले मुलुकलाई थप पिरोल्दै छ । चोरी, सङ्गठित अपराध र सोसल मिडिया आतङ्कले मुलुकवासी हैरान छन् । हाइब्रिड उपलब्धिपश्चात् विकास, समृद्धि र सुशासन सुरु हुनेछ भन्ने ‘आयातित कथा’ टुहुरो भइसकेको छ । मुलुक र लोकतन्त्र ‘अनलिमिटेड’ गडबडीले थलापरेको छ । युवायुवती राज्यलाई अभिभावक मान्न तयार छैनन् । मुलुकवासीसँग लाखौँ प्रश्नहरू छन् । सत्तासँग समाधान टाढा-टाढासम्म देखिँदैन । मुलुकको आम्दानी भन्दा खर्च बढी छ । हामीसँग राष्ट्रिय उत्पादन बढाउने अधिकार छैन । पोखरा र भैरहवा विमानस्थल चलाउने अधिकार छैन । उत्पादन लागतको कारण कृषि बाँच्ने अवस्थामा छैन । सरकारको आम्दानी निरन्तर ओरालो लाग्दै छ । दुर्भाग्यवश आन्तरिक र बाह्य ऋणले थला परेको सत्ताले ‘व्यवस्था पाल्ने कि सर्वसाधारण जनता’ ! भन्न सक्ने अवस्थामा छैन ।
मुलुकमा उद्योग, कल-कारखाना नखुल्न सरकारको नालायकी र तीन वटा छिमेकी (भारत, चीन र अमेरिका)का रणनीतिक स्वार्थ जिम्मेवार छन्, जसले गर्दा हामीले चाहेर मात्र रोजगारी सिर्जना हुने छैनन् । जियो पोलिटिक्सको फन्दामा परेको मुलुकले युवायुवतीको बारेमा सोच्नु राजनीतिक र आर्थिक अपराध हुने नीतिनिर्माताले बुझिसकेका छन् । तथापि, उनीहरू मुलुकवासीलाई सत्य बताउन सक्दैनन् । मुलुकको लाइफलाइन बन्न सक्ने ‘फास्ट ट्र्याक’ हामीले चाहेर मात्र नबन्ने खुलिसकेको छ । राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुँदा कहिल्यै नाफा कमाउन नसक्ने अवस्थामा पुग्ने छन् । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले भुसुक्कै बिर्सेको राष्ट्रवाद र देशभक्तिले युवायुवतीलाई मुलुक छोड्न विवश बनाउँदै छ ।
भनिन्छ, अनुपयुक्त लगानी र विचित्रको शिक्षाले दुःखद् परिणाम दिन्छ । पोस्ट औपनिवेशिक उत्पादनले युवायुवतीको मौलिकता समाप्त गरिसकेको छ । फलस्वरुप उनीहरू आत्मसम्मान गुमाउन सजिलै तयार हुन्छन् । अविवेकी शिक्षा प्रणालीका कारण असमानता र अन्याय बढ्दै गएको छ । कथित नीतिहरूले मुलुकको शिक्षा बेकामे बनिसकेको छ । जसले युवायुवतीको भविष्य अनिश्चित बनाएको छ । समाजमा खराब सामाजिक मनोवृत्तिले आकार लिइरहेको छ । युवायुवती आत्मविश्वास गुमाउँदै छन् । राज्यप्रति उनीहरूको अविश्वास चुलिएको छ, जसले उनीहरूलाई हिंसातर्फ डोऱ्याउँदै छ । युवायुवतीमा बढ्दै गएको अनुशासनहीनता, पातलिएको देशभक्ति र डरलाग्दो पलायनले कथित नेतृत्वलाई फाइदा पुऱ्याइरहेको छ । परिवर्तनको नाममा औपचारिक शक्ति गुमाएको सिंहदरबारले युवायुवतीको निम्ति कुनै कार्यक्रम निर्माण गर्न नसक्ने खुलिसकेको छ । यस्तो विडम्बनापूर्ण अवस्थामा सुरक्षित भविष्यको ग्यारेन्टी नगर्ने सत्तासँग प्रश्न गर्दै गोली खाइरहने कि टाट पल्टिएको नेतृत्वलाई विस्थापित गर्दै गन्तव्य मुलुक निर्माण बनाउने भन्न ढिला भइसकेको छ ।