‘प्रलय’को पर्खाइमा मुलुकवासी !
भनिन्छ, जीवित मुलुकसँग एउटा ऐतिहासिक शक्ति हुन्छ । इतिहास हुन्छ । देशभक्ति र राष्ट्रियता हुन्छ । धर्म, भाषा, संस्कृति, परम्परा, भूगोल हुन्छ । जसलाई जीवित राख्ने क्षमता हुन्छ । आन्तरिक र बाह्य खतराबाट बच्ने आन्तरिक सुरक्षा नीति हुन्छ । जसले वास्तविक स्वतन्त्रता र नागरिक अस्तित्वको ग्यारेन्टी गर्दछ । दुर्भाग्य ! ‘प्रलय’को पर्खाइमा रहेको मुलुकमा उल्लेखित विषयहरू गौण बनेको छ । कुशासन, असमान आर्थिक वितरण, नीतिगत भ्रष्टाचार, गरिबी, अनियन्त्रित बसाइँसराइ, डरलाग्दो युवा पलायन, अव्यवस्थित शहरीकरण र पातलिएको देशभक्तिले मुलुकसामु जटिल चुनौती थपिएको छ ।
आधारभूत सेवा र सुशासनबिनाको लोकतन्त्रमा अराजकता मोटाएको छ, जसले गर्दा मुलुकले सुरक्षा चुनौतीको सामना गरिरहेको छ । यसैबीच ‘भूमण्डलीकरण’को ज्वरो थपिएको छ । साथै, सामाजिक सञ्जालको गलत सूचना र ‘इन्क्रिप्टेड’ सञ्चारले सिंहदरबारलाई असहाय बनाउँदा आन्तरिक सुरक्षा र प्रशासनिक सुधारको महत्त्वपूर्ण अभियान तुहिएको छ ।
वैश्य युगमा स्वतन्त्रता र स्वाधीनता बिस्तारै शब्दमा सीमित हुँदैछ । विश्व राजनीतिमा ‘कानुन र प्रणालीहरू’ ऐतिहासिक रूपमा विकसित हुँदैछन् । प्रलयकारी परिवर्तनले फौजदारी न्याय प्रणाली, सुशासन, संस्थागत विकासलाई भताभुङ्ग बनाएको छ । रणनीतिक मिडिया स्वतन्त्रता र मौलिक मानव अधिकारको नारामार्फत सर्वसाधारण नागरिकलाई बेकामे बनाइएको छ । मुलुकको आत्मनिर्भर अर्थतन्त्र र मुलुकवासीको आर्थिक अवस्था सत्यानाश बनाउन सफल हाइब्रिड परिवर्तनलाई जोगाउने तयारी गज्जबले लुकाइएको छ । सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग गर्दै सर्वसाधारण नागरिकको ‘ब्रेनवास’ गरिएको छ । प्रलयकारी परिवर्तनपश्चात् विज्ञान, धर्म, उद्योग, दर्शन, कानुन र न्यायशास्त्रका क्षेत्रमा दिगो विकास गर्ने कार्य चलाखीपूर्वक रोकिएको छ । नियन्त्रित अस्थिरता कायम राख्दै आन्तरिक सुरक्षा नीति ध्वस्त बनाइएको छ । व्यक्तिगत र संस्थागत नैतिकताको उच्च मापदण्डहरू स्थापित गर्ने पश्चिमी शक्तिले सोकल्ड लिडरसिपलाई अनैतिक बनाउन रणनीतिक लगानी गरिरहेको छ ।
हाम्रो न्यायपालिका सामन्तवादी व्यवस्थाको गर्भबाट निस्किएको हो । दुःखको साथ भन्नु परिरहेको छ, यसको विकास र स्वतन्त्रता राजतन्त्रको समयभन्दा माथि उक्लिन सकेको देखिँदैन । अनेकौँ तथ्यले चिच्याएर भनिरहेको छ, विगतभन्दा अलोकप्रिय बन्दै छ । प्रलयकारी परिवर्तनपश्चात् दलीय भागबन्डामा न्यायाधीश नियुक्ति गर्दै न्यायपालिकाको स्वतन्त्र अस्तित्व खोसियो । फलस्वरुप न्यायाधीशहरू जनताको अधिकार र स्वतन्त्रता भन्दा व्यक्तिगत अधिकार र सेवा सुविधामा केन्द्रित हुन पुगे । जसले गर्दा न्यायक्षेत्रको चरित्र, कार्यशैली, भूमिका र कार्यसम्पादन यथास्थितिमा हुर्किरह्यो । सोकल्ड लिडरसिपले भन्ने गरेको परिवर्तन बाटैमा बिलायो । व्याख्या र न्यायशास्त्रमा दलीय गन्ध चुलिँदै जाँदा ‘हाइब्रिड’ व्यवस्था जोगाउने र चलाउने उत्तराधिकारीहरूको पक्षमा उभिन बाध्य हुँदैछ । व्यापक संवैधानिक सुधार गर्न संस्थागत यन्त्रहरूलाई झक्झकाउन पछि परेको न्यायपालिकाले ‘हाइब्रिड उपलब्धि’को रक्षा गरिरहन सक्दैन । यद्यपि जनआक्रोशलाई अलमल्याउने काम भने गर्न सक्नेछ ।
तमाम परिवर्तन मुलुकले गरेको दाबी गर्नेहरू यतिबेला रन्थनिएका छन् । आफ्नै कार्यशैली र अराजनीतिक गतिविधिले थला परेका उनीहरू जनताको विश्वास कसरी प्राप्त गर्ने भन्ने अवस्थामा पुगेका छन् । प्रलयकारी परिवर्तनलाई यथावत् राखेर आफ्नो राजनीतिक उद्योग जोगाउन चाहन्छन् । व्यवस्था र प्रणालीले खोजेको परिमार्जन सच्याउने तागत गुमाएर रन्थनिएका उनीहरू सामाजिक विद्रोहको फन्दामा पर्दैछन् । सत्ताद्वारा सिर्जित समस्या, दमन र प्रतिबन्धले आमजनतालाई मुक्ति युद्ध लड्न विवश बनाउँछ । स्वतन्त्रताको नाममा उत्पन्न हुने आकस्मिकताले उनीहरूको वास्तविक क्षमता सत्ताले देख्न पाउने छ । हटाउन नसकिने या नसकिएको असमानताले निरन्तर परिवर्तनको वकालत गरिरहन्छ, जसले राजनीतिक परिवर्तन र संविधानलाई रक्षात्मक बनाउँछ । वास्तवमा ‘शक्ति पृथकीकरण’को सिद्धान्तले आफ्नो औचित्य स्थापित गर्न नसकेको मुलुकको परिवर्तनले ल्याउने भनेकै ‘प्रलय’ हो भनिरहनु परेन । काण्डैकाण्डले थला परेको हाइब्रिड लोकतन्त्रले मुलुकलाई कानुनी शून्यतातर्फ लिएर गइरहेको छ । जटिल आधुनिक राजनीतिले ल्याएका अप्रत्याशित चुनौतीहरूको सामना गर्ने तागत वर्तमान संविधानसँग नरहेको पुष्टि भइसकेको छ ।
मुलुकवासी अत्यन्त अस्थिर बन्दा राजनीति सधैं तरल बनिरहेको छ । राजनीतिमा प्रचुर सम्भावना देख्नेहरूलाई हामीले सजिलै पत्याउँछौँ । हामी अत्यन्त सतही छौँ । हाम्रो मूल्याङ्कन पद्धति हलुका ढङ्गको छ । हामीलाई सिद्धान्तसँग सरोकार छैन । उम्मेदवारको कार्यक्रम, योजना, सङ्कल्प, लगनशीलता र कार्यकुशलतासँग कुनै लेनादेना छैन । हामीलाई सिर्फ विकल्प चाहिएको छ । उनीहरूको शाब्दिक विद्रोह हाम्रो निम्ति काफी छ । सोकल्ड लिडरसिपप्रति जसले आक्रामक प्रस्तुति, जति धेरै आलोचना र गाली गर्ने योग्यता देखाउन सक्छ, उनीहरूमा प्रचुर सम्भावना देख्न हौसिन्छौँ । विदेशमा पढेका, सामाजिक सञ्जालमार्फत चर्चित बनाइएका, कुनै विधामा अस्थायी चर्चा कमाएका, चर्को र ठाडो शैलीमा मनलाग्दी बोल्नासाथ उनीहरूलाई अनेक उपाधि दिन हौसिन्छौँ । अझ रमाइलो कुरा… हामी अस्थिरताको विरोध गर्छौं र, अनजानमा अस्थिरताको कारण बन्दैछौँ । विश्व पुँजीवादले डाइनामाइटको रूपमा उत्पादन गरेको सामाजिक सञ्जालमार्फत नयाँ मन्त्रिमण्डल बनाउन तत्काल तयार भइहाल्छौँ । घटनैपिच्छे अनेकौँ व्यक्तिलाई प्रधानमन्त्री बनाउन भ्याइसकेका छौँ । यस्तो डरलाग्दो मानसिकता बोकेर हामी राजनीतिक सङ्क्रमण निम्त्याउँदैछौँ । जसले हामीलाई थप बरबाद पारिरहेको छ ।
साँच्चै हामी डाइनामिक छौँ । भावनात्मक पनि छौँ । परिवर्तनलाई छिट्टै स्वीकार गर्छौं । सजिलै पत्याउँछौँ । पहिला नालायकहरूलाई लायक स्थानमा पु¥याउँछौँ, अनि ‘खायो’ भन्छौँ । हरेक दश–दश वर्षमा परिवर्तन खोज्छौँ । अरू केही नभए व्यक्ति फेरेर भए पनि नयाँ पाएको अनुभव लिन चाहन्छौँ । छिट्टै पत्याउने, निराश हुने र परिणाम नहेरीकन विद्रोहलाई समर्थन गर्न हौसिने हाम्रो योग्यताको डरलाग्दो दुरुपयोग भएकोमा चित्त दुखाउँछौँ । एउटा भारतीय अभिनेताले मनलाग्दी बोलेको अपुष्ट भनाइको प्रतिवादमा तत्काल उत्रिन्छौँ । बाध्यात्मक रूपमा अवैधानिक बाटोबाट इराक पुग्न बाध्य पारिएका युवा मारिँदा सार्वजनिक सम्पत्ति तोडफोड गर्दै काठमाडौं पोल्न हौसिन्छौँ । दुर्भाग्य ! संस्कृतिमन्त्रीले मुलुकवासीको मूल्य र मान्यताको खिल्ली उडाउँदा, सनातन धर्ममाथि प्रहार गर्दा, क्रिश्चियन नबने जेल हाल्छौँ भन्दा निरीह वा निकम्मा बनेर सुनिरहन्छौँ । हामी त्यस्तो क्रान्तिकारी हौँ । सनातनको लालपुर्जा खोसिँदा मस्त निदाउँछौँ तर इसाईकरणको ‘बैना’ तिर्न हतियार उठाउँछौँ । किनकि, हामी ‘बहादुर’ हौँ ।
विश्व पुँजीवादले भन्दै आएको छ- ‘समस्या छैनन् भने सिर्जना गर्नुस् !’ दुर्भाग्यवश हामी सोही फर्मुलामा फसिसकेका छौँ । डाक्टर बाबुराम भट्टराईलाई कम्युनिस्ट आइडोलोजीले मुलुकमा काम गर्दैन भन्ने बुझ्न ४० वर्ष लाग्यो । झन्डै ४१ महिना अनियन्त्रित सत्ता हाँकेका नेता ओलीले मुलुकको प्रमुख समस्या युवायुवतीको पलायन हो भन्ने बुझ्न नसकेको स्वीकार गर्न १८ दिन काठमाडौं छोड्नुप¥यो । शिक्षित होस् कि अशिक्षित, जागिरे होस् कि बेरोजगार, गरिब होस् कि स्थापित मध्यम वर्गका युवायुवती मुलुकमा बस्न नचाहनुको प्रमुख कारण आफ्नै नेतृत्वमा लादिएको रणनीतिक ध्वंश थियो र हो भन्ने मान्न प्रधानमन्त्री प्रचण्ड छिट्टै बाध्य हुनेछन् । अशिक्षित, गरिब, सोझा, इमानदार, मिहिनेती जनता भएको मुलुकमा प्रजातन्त्र सीमित व्यक्ति र स्वार्थ समूहले खाइदिने छन् भन्ने राजा महेन्द्रले समयमै बुझे । विदेशीका रणनीतिक स्वार्थ बुझेका राजा महेन्द्रले संविधानसभाको निर्वाचन रोके । तत्कालीन प्रधानमन्त्री बीपीको कार्यशैली मुलुकलाई महँगो पर्ने महसूस समयमै गरे । उनले मुलुक चिने । प्रजातन्त्र स्थगित गर्दै मुलुकको जग बलियो बनाए । पहाडबाट मानिसलाई तराई झार्दै दक्षिणको षडयन्त्रलाई पछाडि धकेले, जसले गर्दा उनी ‘राजा’बाट ‘राजनीतिज्ञ’मा उक्लिए । विडम्बना ! त्यसै समयमा बीपीले प्रजातन्त्रको निम्ति मुलुक छोडे । जब राष्ट्रियताबिनाको प्रजातन्त्र महँगो हुने बुझे, स्वदेश फर्किँदै महान् नेता बन्न सफल भए ।
समाज गतिशील र परिवर्तनशील छ भन्दै नथाक्ने नेतृत्व यथास्थितिमा रमिरहेका छन् । सूचना, प्रविधि, मानिसका इच्छा, आकाङ्क्षा, चाहनाको सम्बोधन गर्ने ल्याकत नेतृत्वसँग देखिएको छैन । वैचारिक र राजनीतिक रूपले स्खलित नेतृत्वको अमूर्त कुरामा भुल्न वर्तमान पुस्ता राजी छैन । कठोर आलोचना हुन सक्छ, प्रलयकारी परिवर्तनपश्चात् सिंहदरबारले समाजका विद्यमान समस्याको हल गर्ने तागत गुमाएको छ । विचारको बन्ध्याकरण गरिएको राजनीतिमा रुचाइएको विकल्पले मुलुक जोगाउने कल्पना ‘आगो मरेको चुलोमा खीर पकाए’ जस्तै हुनेछ ।
यतिबेला मुलुक सुगौली सन्धिपछिको कठिन अवस्थामा छ । भीडले इतिहास र राजनीतिको खिल्ली उडाइरहेको छ । समाजले देखेको, बुझेको, पत्याएको नेतृत्व डुङ्डुङ्ती गन्हाएको छ । आर्थिक-सामाजिक एजेन्डा बिसाएको प्रलयकारी परिवर्तनले मुलुकको दीर्घकालीन अस्तित्व मेट्ने जग बसाएको बिर्संदै भीडले विजय उत्सवसमेत मनाइसकेको छ । अर्थ-राजनीतिक आधारबिना विजय उत्सव टिक्दैन भन्ने बुझपचाएको सोकल्ड लिडरसिपले समानता, विकास, समृद्धिको नाममा मुलुकलाई आन्तरिक र बाह्य ऋणमा डुबाएका छन् । जीवनभर राजनीति भन्दै हिँडेका सोकल्ड लिडरसिपको कमजोरीबाट जन्मिएको भीडले ‘खोया’लाई सङ्कल्प, सपना र मार्गदर्शक सिद्धान्त मान्न राजी भए मुलुकमा निराशा, अविश्वास र छटपटी थप चुलिने छ ।
आफ्ना लक्ष्यहरू विदेशीलाई सुम्पिएर दशकौँसम्म रक्तरञ्जित अभियानमा फसेको मुलुक सामान्य अवस्थामा फर्किन सोचेजस्तो सजिलो छैन । अन्तहीन अस्थिरता, हिंसा र पीडा दीर्घकालीन लक्ष्य हुन सक्दैन । जनताका गुनासोहरू सम्बोधन गर्ने ल्याकत र जाँगर गुमाएको नेतृत्वले अस्थिरतालाई रोक्न सक्दैन । राजनीतिक मुक्ति र आर्थिक उन्नतिको निम्ति रगत र पीडा सहेको मुलुकलाई गन्तव्यमा पुऱ्याउन जिम्मेवार र दूरदर्शी नेतृत्व चाहिन्छ । जनइच्छा भन्दा नेतृत्वको इच्छा हाबी भएको लोकतन्त्र सधैं आलोच्य हुन्छ । समाधानबिनाका प्रश्नहरूले प्रणाली, व्यवस्था र संविधानलाई कमजोर बनाउने छ ।
प्रलयकारी परिवर्तनको कडा सीमाभित्र बन्ने/बनाइने सरकारद्वारा आमूल र औचित्यपूर्ण परिवर्तन सम्भव हुने छैन । तथापि, लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्नेहरू आफूलाई विकल्प देख्दै छन् । आफ्नै मूर्खताबाट सिक्नेहरू लोकतन्त्रले फेला पारेको छैन । दुर्भाग्यवश तथाकथित लोकतन्त्रवादीहरू सबै ठिक छ भनेर बहाना गरिरहेका छन् । उनीहरू देख्न चाहिरहेका छैनन्, जनता अर्को बाटो हेरिरहेका छन् । मुलुकले बर्बादीलाई पटक-पटक स्वागत गरेको छ । राजनीतिक बर्बादीलाई उपलब्धि मान्दै चित्त बुझाएको छ । सायद हामी अन्तिम बर्बादीको पर्खाइमा छौँ । जसले हाम्रो दीर्घकालीन अस्तित्व खोसेर बिदा लिनेछ ।