अब मर्ने पालो विश्वविद्यालयको !

वैश्य युगमा आम मानिसको जिन्दगी आर्थिक कारणले भताभुङ्ग हुँदैछ । राजनीति नाफामुखी उद्योगमा रूपान्तरण भएको विश्वमा युवायुवतीको दिमागलाई भौतिकवादले गज्जबले आकर्षित गरिरहेको छ । ‘पेपल’को सह-संस्थापक ‘पिटर थिएल’ले उच्च शिक्षालाई रचनात्मकता र स्वतन्त्र सोचाइमा बाधा पुऱ्याएको आरोप लगाउँदै भनेका छन्- ‘शिक्षाभन्दा वास्तविक संसारको अनुभव बढी मूल्यवान् छ ।’ उनी युवाहरूलाई विश्वविद्यालय छोड्न र आफ्नै व्यवसाय सुरु गर्न प्रोत्साहित गर्दैछन् । फलस्वरुप विश्वव्यापी उद्योगका ‘टाइकुन’हरू औपचारिक डिग्रीलाई महत्त्व दिन छोडिरहेका छन् । कृत्रिम बौद्धिकता (AI) को रणनीतिक विकासले धेरै कामहरूबाट मानिसहरूलाई विस्थापित गरिरहेको नजिकबाट महसूस गरेका उनीहरूले कलेज र विश्वविद्यालय शिक्षालाई अनुपयुक्त र समयको बरबादीको रूपमा देख्न थालेका छन् । बिजनेस टाइकुनहरूको आधुनिक धारणा छ- ‘एलोन मस्क, टेस्ला र स्पेसएक्सका सिइओले सैद्धान्तिक ज्ञानभन्दा विशिष्ट सीपहरू र समस्या समाधान गर्ने क्षमता राख्छन् । कलेज मूलतः रमाइलोको लागि हो र तपाईं आफ्नो काम गर्न सक्नुहुन्छ भनेर प्रमाणित गर्न हो, तर वास्तविक संसारमा के गर्ने भनेर सिकाउनु आवश्यक छैन ।’

भारतीय कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्तिले बिना कुनै हिचकिचाहट जवाफ दिएका छन्- ‘शिक्षाको अर्थ प्राथमिक र माध्यमिक विद्यालयका बालबालिकाको दिमागमा स्वतन्त्र सोच, आलोचनात्मक सोच, सकारात्मक प्रश्न र, कक्षाकोठामा सिकेका कुराहरूलाई हाम्रा वरपरका समस्याहरूसँग जोड्न सक्षम बनाउनु हो ।’ यस्तो लाग्दैछ कि मुलुकको राजनीति र शिक्षाविदहरू अप्रत्यक्ष ढङ्गले पिटर थिएल, नारायण मूर्ति र अमेरिकी पुँजीपतिको धारणा र भावनासँग हिँड्न चाहँदै छन् । विश्व पुँजीवादको आफ्नै स्वार्थ र समस्या छन् । उनीहरूको स्वार्थ र समस्याको बोझ उठाउने सामर्थ्य हामीसँग थिएन/छैन । हाइब्रिड परिवर्तनको जगमा मुलुक छिरेको नवऔपनिवेशिक शक्तिले चालेको रणनीतिक स्वार्थले मुलुकको कलेज र विश्वविद्यालय बचाउन नसक्ने अवस्था छ । विगतमा हामीले पढ्न नपाएको सजाय भोग्यौँ । अहिले कहीँ नबिक्ने शिक्षा लिएर/दिएर बरबाद हुँदैछौँ । नाङ्गो पुँजीवादको चक्रब्युहमा फसेको मुलुकको पछिल्लो दुर्भाग्य इन्जिनियरिङ कलेजको विद्यार्थी खोज्ने पटके सूचनासम्म पुगेको छ । उल्लेखित तथ्य र तथ्याङ्कले मुलुकको शिक्षानीति, कलेज र विश्वविद्यालय डरलाग्दो जोखिममा फसेको बुझ्न सकिन्छ ।

जतिसुकै अप्रिय लागे पनि हाइब्रिड उपलब्धिले भरिएको राजनीतिक परिवर्तनपश्चात् मुलुकभित्र मौलाएका नाफामूलक उद्योगहरू ‘राजनीति, शिक्षा र स्वास्थ्य’ नै हुन् । तिनै उद्योगमा चाहिने जनशक्ति वर्तमान शिक्षाले उत्पादन गर्न सकिरहेको छैन । गरिब मुलुकले शिक्षाक्षेत्रमा गरेको लगानी कामै नलाग्ने अवस्थामा पुगेको आरोप सिंहदरबार र पाठ्यक्रम निर्माण गर्ने शिक्षाविदहरूलाई अप्रिय लाग्न सक्छ । दुर्भाग्यवश उनीहरूले मुलुकको आवश्यकता र विश्वबजारमा आएको उतारचढाव बुझ्ने ल्याकत राखेनन् । जसको ऋण मुलुकले बरबाद भएर तिरिरहेको छ, तिरिरहने छ । सामन्तवादको औपचारिक बिदाइपश्चात् सिंहदरबार छिरेको दलाल पुँजीवादले मुलुकको शिक्षालाई कप्लक्क निलेको मुलुकले बिस्तारै बुझ्दैछ ।

शिक्षित जनशक्ति मुलुक छोडेर हिँडे आफ्नो राजनीतिक आयु लम्बिने सोच राख्नेहरू यतिबेला कलेज र विश्वविद्यालयमा विद्यार्थीको न्यून उपस्थितिले रन्थनिएका छन् । व्यक्ति र राज्यको बहुमूल्य समय र पैसा नष्ट गरेर ज्ञान र सीप नभएका जनशक्ति उत्पादन गर्दै नवऔपनिवेशिक शक्तिको सेवा गरिरहेका उनीहरू भर्खरै बिउँझिँदै छन् । एउटा रणनीतिक परिवर्तनपश्चात् सभ्य, शान्त र सम्भावना बोकेको मुलुक छोटो समयमा युद्ध नलडीकन कसरी बरबादीतर्फ लम्किन्छ भन्ने कथित नेतृत्वले अझै स्वीकार गरेको छैन । यद्यपि, विश्व राजनीतिमा मुलुकको नाम एउटा उदाहरण बनिसकेको छ । औपचारिक रूपमा युद्धमा नफसेको मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था यस्तो देखिन्छ, हामी खतरनाक युद्ध भोगिरहेका छौँ । यसबाट ज्यान जोगाउन छिटोभन्दा छिटो मुलुक छोड्न आतुर छौँ । दुर्भाग्यवश कथित सपना पूरा गर्न विदेशीभूमिमा मर्न/मारिन तयार छौँ ।

नव औपनिवेशिक शक्ति आफ्नो रक्षार्थ समाजमा चरम विचार पस्किन्छन् । यो आफैमा राजनीति हो, व्यापार हो । उनीहरू यो स्थान अरूलाई खाली गर्न तयार छैनन् । विश्व पुँजीवाद रोजगारदाताहरूमा सीप, लचकता, कार्य नैतिकता र रचनात्मकता खोजिरहेका छन् । एप्पल र टेस्ला जस्ता कम्पनीहरू पछिल्लो समय अन्तर्वार्ताको लागि कलेज डिग्रीको भर पर्दैनन् । अधिकांश कम्पनीले उम्मेदवार छनौट र मूल्याङ्कनका लागि आ-आफ्नो परीक्षा नीति र विधि तय गरेका छन् । तथापि उनीहरूको लहलहैमा लागेर शिक्षाको अवमूल्यन र अपमान गर्नु हतार र बेवकुफी हुनेछ । पुँजीपतिले खोज्ने सिपमूलक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयका कक्षाकोठा र प्रयोगशालाबाट निस्कने ‘प्रविधि र ज्ञान’को महत्त्व बिर्सनु अर्को ‘ब्लन्डर’ हुनेछ । साथै ऐतिहासिक रूपमा सामाजिक परिवर्तनको इन्जिन बनिरहेको विश्वविद्यालय बन्द गराउने कार्यमा सहयोग पु¥याउनु महाभूल हुनेछ ।

वर्तमान शिक्षाले युवायुवतीलाई सही निर्णय लिनबाट वञ्चित गरिरहेको छ । उनीहरूको तर्क क्षमतालाई ध्वस्त पारेको छ । वास्तविक सिकाइ, अवधारणात्मक स्पष्टता समाप्त गरिरहेको छ । विश्वविद्यालयहरूको खराब शिक्षण पद्धति र गुणस्तरको बाबजुद वितरण गरिएको औपचारिक ‘डिग्री’ डिप्रेसनको माध्यम बनिरहेको छ, तथापि पारिवारिक प्रतिष्ठा र व्यक्तिगत इज्जतको निम्ति लिन बाध्य पारिएको शिक्षाले उसको सोच खल्बलिएको छ । दुर्भाग्यवश भन्नु परिरहेको छ, मुलुकका विश्वविद्यालयहरू राजनीतिक विद्रोहलाई पछाडि धकेल्न सहयोग पुऱ्याइरहेका छन् । कहीँ कतै प्रयोग नहुने या राज्यले गर्न नचाहने अनुसन्धानपत्र तयार गर्न बाध्य स्नातक र डिग्री कोर्सहरूले तिरिरहेको मूल्य कम रोचक छैन । व्यवसायीकरण हासिल गर्न नचाहेको सीप, ज्ञान, आविष्कारमा भन्दा प्रक्रियामा अल्झेको शिक्षा नीतिमा आमूल परिवर्तन नगर्नुको पछाडि कसको हात छ र कस्तो स्वार्थ छ भन्ने खोज्न ढिला भइसकेको छ ।

युवायुवतीहरू विज्ञान र इन्जिनियरिङ पढ्न अनिच्छुक बनिरहेका छन् । राजनीति र नालायक नेतृत्वको कारणले विश्वविद्यालयको सुशासन र शैक्षिक अवस्था मृत्युको मुखमा छ । यो भनिरहनु जरुरी छैन कि शिक्षा ज्ञानमूलक हुनुपर्छ । यसले समाज र व्यक्तिलाई योगदान दिने किसिमको हुनु पर्दछ । सबैलाई थाहा छ, शिक्षित व्यक्तिको शैक्षिक योग्यता बजारमा बिक्ने किसिमको हुनुपर्छ । नीति निर्माता र शिक्षाको व्यापार गर्नेले झनै बुझेको हुनुपर्छ, विश्वव्यापी रोजगार बजारले वास्तविक ज्ञान र सीपहरूलाई मात्र खोजिरहेको हुन्छ । हो यही कुरालाई बुझ्ने अभिभावकहरू आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिने कोशिस गरिरहन्छन् । यही प्रयासमा उनीहरूको जिन्दगीको सम्पूर्ण कमाइ डुबिरहेको छ, जसले मुलुक र अभिभावकलाई एकसाथ पिरोल्दै छ ।

पैसा र समयको बरबादी, भविष्य अन्धकार देख्ने युवायुवती मात्र हैनन्, उनीहरूको अभिभावक समेत सन्तानलाई विदेश पठाउन मरिहत्ते गर्दैछन् । नयाँ प्रविधि, नयाँ अवधारणा र औचित्यपूर्ण सुधार रोक्न सफल शक्तिको रणनीतिमा मुलुक फसेको वर्तमान राजनीति र युवा पुस्ताले बुझ्न सकेनन् । गणितीय, विश्लेषणात्मक र समस्या समाधान गर्न नसक्ने शिक्षाको समेत निजीकरण गराउने विश्व पुँजीवादले मुलुकको बरबादीमा सोकल्ड लिडरसिपको डरलाग्दो प्रयोग गरेको प्रमाणित भइसकेको छ । वर्तमान शिक्षा र जनशक्तिलाई आवश्यकता र चुनौतीहरूको सम्बोधन गर्न नसक्ने आरोप लगाउँदै विश्व पुँजीवाद र पुँजीपतिको पछि दौडिए आगामी दिन थप भयावह बन्ने छ ।

मुलुकको शिक्षा स्व-सिकाइमा आधारित छ । युवायुवतीलाई सिकाइएका अनगिन्ती विषयले उनीहरूको बहुमूल्य दिमागमा नकारात्मकता मात्र भर्ने काम गरिरहेको छ । हाइब्रिड परिवर्तनले ‘एजुकेसन टेक्नोलोजी’ मुलुक प्रवेश गर्न रोकेको छ । उसले बुझेको छ, राज्यको समर्थन र संरक्षणबिना आधारभूत शिक्षा मौलाउन सक्दैन । आधुनिक पद्धतिसहित विज्ञान र गणितलाई मुलुकको मेरुदण्ड बनाउन नसकेसम्म हाम्रो जीवनस्तर उकासिने छैन । अमेरिकी सोच, धारणा र पुँजीपतिले चाहेकै शैलीमा नीतिनिर्माताले गणित र विज्ञानको हत्या गर्न सफल भएका छन् । जसले उच्चशिक्षा हासिल गर्ने विद्यार्थीको जाँगर मार्दैछ । उनीहरू अध्ययनलाई बोझ ठान्न विवश छन् । राम्रो अङ्कसहित प्लस टु पास गरेका युवायुवती स्वदेशमा पढ्न इच्छुक छैनन् । प्रतिभाशाली व्यक्ति र वैज्ञानिकहरू समेत राज्यबाट अपहेलित भएको अवस्थामा विदेशमा उन्नत डिग्री हासिल गरेर स्वदेश फर्किनु बेवकुफी ठान्दैछन् । साँच्चिकै वैज्ञानिक र इन्जिनियरहरूको महत्त्व मुलुकले बुझेको भए वर्तमानको युवा पलायनसमेत मुलुकको पक्षमा हुन सक्थ्यो । अध्ययनपश्चात् उनीहरू फर्किने सम्भावना उकासिन्थ्यो ।

युवायुवतीको जिज्ञासा र चासो जगाउन नसकेसम्म शिक्षाको अर्थ रहँदैन । इन्जिनियरिङ र चिकित्सा शिक्षाको मास्टर प्लान नभएको मुलुकको भविष्य सदैव अनिश्चित हुने छ । बजारमा बिक्ने कार्यक्रम जति धेरै पढाउन सकिन्छ त्यति नै मुलुकको हैसियत माथि उक्लिनेछ । गणित र विज्ञानको विकास र विस्तारले अन्य विषयको महत्त्व झल्किने छ । ततपश्चात् पर्याप्त मात्रामा उच्चस्तरमा पढ्न विदेश जाने र राम्रो गुणस्तरको शिक्षा लिएर मुलुक फर्किने वातावरण निर्माण हुनेछ, जसले शिक्षित युवायुवतीलाई करियर छनोट गर्न सक्षम बनाउने छ । विश्वविद्यालयहरूले सञ्चालन गरेका कार्यक्रमहरूले विद्यार्थीको महत्त्वकाङ्क्षालाई सम्बोधन गर्न सकिरहेको छैन । इन्जिनियरिङ र कम्प्युटर विज्ञानका कार्यक्रम तर्फ युवायुवतीलाई आकर्षित गर्न नसक्ने मुलुकको समस्यालाई सामान्य मान्न सकिँदैन ।

भनिन्छ, विचार र कामको स्वतन्त्रता नभएसम्म विज्ञान र प्रविधिको विकास हुन सक्दैन । साथै राज्यले प्रभावकारी भूमिका निर्वाह नगरेसम्म विज्ञान र प्रविधिको विकास हुन सक्दैन । राजनीतिक परिवर्तनपश्चात् शिक्षाको नियोजन गरिएको छ । निश्चित र रणनीतिक आन्दोलनहरूले हाम्रो शिक्षा क्षेत्रलाई ‘कोमा’मा पुऱ्याउँदै छ । विश्वविद्यालयको उपकुलपति र सङ्काय प्रमुख नियुक्त गर्ने तरिका, कार्य प्रोत्साहन र बढुवालाई नजिकबाट हेरिरहेका शक्तिले अधिकांश सार्वजनिक क्षेत्रको चीरहरण गरिसकेका छन् । मुलुकको पक्षमा काम गर्ने क्षेत्र, निकाय र संस्थाको सुशासन संयन्त्र भताभुङ्ग बनाउन सक्रिय शक्तिले शिक्षातर्फ विशेष ध्यान केन्द्रित गर्नुको रहस्य खुलिसकेको छ । विश्वविद्यालयलाई जीवित राख्न उसलाई स्वायत्तता चाहिएको छ । बौद्धिक मृत्यु भएको प्रणालीले त्यस्तो हुन रोकिरहेको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय पुँजीपतिहरूको धारणा र केवल कुर्सीमुखी नेतृत्वको कथित सोचले हामी थप बरबाद हुँदैछौँ । मुलुकलाई प्लस टु उत्पादनको कारखानामा सीमित गर्ने नवऔपनिवेशिक शक्तिको रणनीतिले हाम्रा विश्वविद्यालयहरू मर्दैछन् । ततपश्चात् हामी ‘आधुनिक दास’मा परिणत हुने छौँ ।