हाइब्रिड परिवर्तनको रक्षार्थ ‘मिसन ८४’ !

भनिन्छ, हरेक राजनीतिक परिवर्तनले स्थायित्व प्राप्त गर्न जनताको आर्थिक हैसियत र जीवनशैलीमा औचित्यपूर्ण परिवर्तनको जरुरी हुन्छ । अन्यथा परिवर्तनको आयु छोटो हुनेछ । शायद यो तथ्यलाई गहिरोसँग बुझ्ने शक्तिले हाम्रो परिवर्तनलाई हाईज्याक गर्न आवश्यक ठान्यो र गऱ्यो । तथापि, ०४६ को राजनीतिक परिवर्तनले हामीलाई जितेको भन्न सिकायो । मुलुकले राजनीतिक युद्ध जितेको विजय उत्सव पनि मनायो । दुर्भाग्यवश रातारात नवऔपनिवेशिक शक्तिको सेवक बन्न हौसिएका परिवर्तनकारी शक्तिहरू फगत कुर्सीको निम्ति तमाम सिद्धान्त र जनपक्षीय कार्यक्रम बिसाउँदै आर्थिक उदारवादको पछाडि दौडिए ।

सन् १९९० को राजनीतिक परिवर्तनपश्चात् औद्योगिक क्रान्तिको बहुमूल्य काम रोक्न जरुरी थियो । ढोकाबाट मुलुक छिरेको उदारवादले बुझ्यो- स्वतन्त्र बजार आर्थिक नीतिहरू हुर्काउन, नव उदारवादी अर्थशास्त्रको गहिराइ र प्रभावलाई दीर्घकालीन रूपले स्थापित गर्न सामन्तवादको प्रतिनिधिमूलक राजसंस्थालाई बिदा दिनु जरुरी थियो । फलस्वरुप राजसंस्थाको औपचारिक बिदाइ गर्न दीर्घकालीन रणनीति सुरु गऱ्यो । जसको निम्ति नवऔपनिवेशिक शक्तिले धर्मनिरपेक्षता, व्यक्तिवाद र लोकतन्त्रको आवरणमा आफ्नो गतिविधि तीव्र बनायो । दुर्भाग्यवश तत्कालीन राजसंस्था नव औपनिवेशिक शक्तिको चक्रब्युहमा फस्न पुग्यो ।

इतिहास र परम्पराको विरोध गर्ने, राज्य र समाजलाई कृत्रिम सङ्गठन मान्ने नवऔपनिवेशिक शक्तिले ०६२/६३ को जनआन्दोलनमार्फत राजसंस्थालाई औपचारिक रूपमा बिदा गर्न सफल भयो । नवऔपनिवेशिक शक्तिको रणनीतिक सफलतामा मुलुक र राजनीतिक दलले सम्पूर्ण शक्ति गुमाएर विजय उत्सव मनायो । राजनीतिक अनिश्चितता र उथलपुथलको बहानामा आर्थिक उदारवादले राजनीतिक नेतृत्वलाई गज्जबले उपयोग गऱ्यो । औद्योगिक क्रान्तिले आम मानिसको सोच र दैनिकीमा हलचल ल्याउने छ । सामाजिक आर्थिक परिवर्तन ल्याउने छ भन्ने बुझेको नव औपनिवेशिक शक्तिले सिंहदरबारलाई कब्जामा लिँदै बीपी र पुष्पलालले देखेका मुलुक कल्याणको अत्यावश्यक कार्यक्रम रोक्न बाध्य बनायो । राजनीतिक परिवर्तनलाई निस्तेज पार्ने दलाल पुँजीवाद जन्माउन ‘आर्थिक उदारवाद’को रणनीतिक कार्यक्रम वीभत्स ढङ्गले लागु गर्न राजी गरायो ।

सोकल्ड नेतृत्व र कर्मचारीलाई भ्रष्ट बनाउने दलाल पुँजीवादले आफ्नो शक्ति हवात्तै बढायो । सर्वसाधारण नागरिकले प्रत्यक्ष महसूस गर्नैपर्ने परिवर्तन मालपोत, यातायात, अदालतमा पुग्नै दिएन । प्रविधिको सामान्य प्रयोग गर्दा जनताले देख्न र महसूस गर्न सक्ने परिवर्तनसमेत हुन दिएन । त्यसैगरी गरिब जनताले प्रत्यक्ष लाभ लिने शिक्षा र स्वास्थ्यको डरलाग्दो निजीकरण गराउँदै राजनीतिको चाबी नवऔपनिवेशिक शक्तिले लियो । राज्यको हस्तक्षेपविरुद्ध स्वतन्त्र बजार नीति बोक्न विवश सिंहदरबार सम्पूर्ण शक्ति गुमाएर जितेको नाटक गरिरह्यो । स्वतन्त्र बजार सिद्धान्त र आर्थिक उदारवादको बाढीले सिर्जना गरेको डरलाग्दो बेरोजगारी र युवा पलायनलाई टुलुटुलु हेरिरह्यो । संरक्षणवाद र समाजवादको कडा विरोध गर्दै विश्वभर फैलिएको आर्थिक उदारवादलाई बचाउन सिंहदरबारले आफ्नै चिहान खन्न हौसियो ।

सन् १९९० को दशकदेखि सुरक्षित, निष्पक्ष र दिगो विकासको वकालत गर्दै मुलुक छिरेको नव औपनिवेशिक शक्तिले लादेको आर्थिक नीतिले हामीलाई कसरी कङ्गाल बनायो भन्ने बुझ्न ‘द होमल्याण्ड इकोनोमिक्स’को रिपोर्ट उपयुक्त हुनेछ । द इकोनोमिस्टले वर्णन गर्दै भनेको छ- सन् २००८ को आर्थिक सङ्कटपछि ‘विश्व नवउदारवाद’ गरिब मुलुकको निम्ति राजनीतिक काल बन्दैछ । यतिबेला विश्वभर चार प्रमुख अवरोधहरू मौलाएको छ । सन् २००८ को वित्तीय सङ्कटको स्थायी प्रभाव र कोभिड-१९ पश्चात् उत्पन्न आर्थिक मन्दीलाई पहिलो अवरोध मानिएको छ । जसले आपूर्ति चेनहरूलाई भताभुङ्ग बनाएको छ । दोस्रो, अमेरिका-चीन आर्थिक प्रतिबन्ध र युक्रेनमा रुसले सुरु गरेको युद्धले ल्याएको भूराजनीतिक तनाव हो । विश्व पुँजीवादले यसलाई तेस्रो अवरोधको कारण मानेको छ, जहाँ रुसद्वारा हाइड्रो कार्बन स्रोतहरूको हतियारकरण, विश्वलाई अन्य ऊर्जाको स्रोतहरू खोज्न बाध्य पा¥यो । चौथो, कृत्रिम बुद्धिमत्ताको आगमन हो, जसले रोजगारी र श्रम बजारमा नयाँ चुनौतीहरू थपिएको छ ।

द इकोनोमिस्टले विश्वव्यापी राजनीति र नेतृत्वको बदलिँदो लहरलाई प्रतिबिम्बित गर्न आफ्नो सम्पादकीय कुशलतापूर्वक समायोजन गरेको छ । पत्रिकाको प्रभावशाली भूमिकाले विश्वभर पुँजीवाद फैलाउन बेलायतको ऐतिहासिक भूमिका थियो भनेको छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी रणनीतिलाई समर्थन गर्दै लगानी प्रवर्द्धन गर्न औपनिवेशिक विस्तारलाई समर्थन गऱ्यो । सन १९७० पछि अमेरिकी पुँजीवाद सावधानीका साथ नवउदारवादतर्फ लम्कियो । स्वतन्त्र बजार नीतिविरुद्ध राज्य हस्तक्षेपको बहसको बीचमा द इकोनोमिस्टले प्रकाशित गरेको विशेष रिपोर्ट आफैमा कम रोचक छैन । अक्टोबरमा प्रकाशित ‘द होमल्याण्ड इकोनोमिक्स’ रिपोर्टले ‘मातृभूमि अर्थशास्त्र’को अवधारणा ल्यायो । सन २००८ को वित्तीय सङ्कटले स्वतन्त्र बजार र राज्यको भूमिकाको पुनः मूल्याङ्कन गर्न प्रेरित गऱ्यो । साथै कमजोर बैंकहरूको सार्वजनिक ‘वेल आउट’को लागि दृढताकासाथ वकालत गऱ्योे । यस कदमलाई ‘धनीहरूका लागि समाजवाद, गरिबहरूका लागि पुँजीवाद’ भन्दै बाँकी विश्वले आलोचना गरे । तथापि, नवउदारवादका समर्थकहरूले उक्त आलोचनालाई अनदेखा गरिदिए ।

शीतयुद्धको समाप्तिपछि खुला बजार रणनीति र भूमण्डलीकरणले मनाएको विजय उत्सवबाट मुलुकको राजनीति जोगिन सकेन । विश्वव्यापी रूपमा मौलाएको नवउदारवादी आर्थिक नीतिसँग आत्मसमर्पण गर्दै फगत कुर्सीमा टिक्ने चाहनाले बदनाम भएको ‘सोकल्ड लिडरसीप’ले नवऔपनिवेशिक शक्तिको चाहना र स्वार्थलाई पूरा गरिरहन सक्ने अवस्था रहेन । फलस्वरुप नवऔपनिवेशिक शक्तिले स्थापित गरेका हाइब्रिड परिवर्तन जोगाउन नयाँ पात्रको उत्पादन जरुरी थियो । फलस्वरुप मुलुकलाई जोगाउने र युवा पलायन रोक्ने कुनै कार्यक्रम नभएका झिल्केहरूको पक्षमा सोसल मिडिया आतङ्क र ‘क्राउड फन्डिङ’ सुरु गराइयो । पुँजीवादको विश्वव्यापी प्रवृत्ति, राजनीतिक दलहरू बीचको अन्तरसम्बन्ध, विश्व बैंक, आइएमएफको रणनीतिक दाउपेचलाई बुझ्न नसक्ने झिल्केहरूको मार्केटिङ तिनै शक्तिले गरिरहँदा पुराना जोगीहरूको छटपटी रोचक बनिरहेको छ । राष्ट्रिय उत्पादनको नीति पस्किन नचाहने, आयातमा आधारित राजस्व प्रणाली समाप्त गर्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ डिपार्चर सुरु गर्न सामान्य अन्तरक्रिया नगर्ने, आर्थिक उदारवादले नियोजन गरेको राष्ट्रिय अर्थतन्त्रलाई पुनर्जीवन दिने विषयमा राष्ट्रिय बहस नचलाउने, दलाल पुँजीवादको विरुद्ध ‘चुँ’सम्म नगर्ने, आर्थिक नीतिलाई राजनीतिक एजेन्डासम्म बनाउन नचाहने र नसक्नेहरू मिसन ८४ भन्दै हिँड्नुले हाइब्रिड परिवर्तनको मुखिया खुसीले झुम्नु स्वाभाविक छ ।

भूमण्डलीकरणको सुरुवात, चीनको उदय र सूचना प्रविधिको आगमनपश्चात् दक्षिण एसियामा नवऔपनिवेशिक शक्तिले दिगो रणनीतिक र सुरक्षा चासो देख्न थालेको छ । भारतसँग रणनीतिक सम्बन्ध स्थापित गर्दै यस क्षेत्रमा चिनियाँ प्रभावलाई नियन्त्रण गर्ने आशा राखेको छ । जसको निम्ति नेपालको भूगोल खोजिरहेको छ । नवऔपनिवेशिक शक्तिको खुला सक्रियताले भूराजनीति र क्षेत्रीय राजनीति झनै जटिल बन्दै गएको छ । नवऔपनिवेशिक शक्तिले बुझेको छ- सिद्धान्त, कार्यक्रम, एजेन्डा, विश्वसनीयताबिना सम्पन्न हुने निर्वाचनले थप राजनीतिक अनिश्चितता सिर्जना गर्नेछ, जुन अर्थतन्त्रको लागि घातक हुनेछ र, जसले मुलुकको राजनीतिक/सामाजिक वातावरणलाई थप धमिल्याउने छ । राष्ट्रिय कठिनाइ बढ्दा राजनीतिक उथलपुथलको वातावरण मौलाउने छ । अपरिपक्व र गलत समयमा चलाइएका मिसनहरूले मुलुकलाई कमजोर बनाउने छ । भू-अर्थशास्त्र र भू-राजनीतिबीचको भिन्नतासम्म नबुझ्ने मिसनवाजहरूको खल्लो प्रस्तुतिले सोसल इन्जिनियरिङ भत्किने छ । विश्वव्यापी आर्थिक प्रभावबाट बच्ने र मुलुकवासीलाई बचाउने कुनै कार्यक्रम नभएका व्यक्ति र समूहलाई मिसन ‘चुनाव’मा होम्न सफल भए हाइब्रिड परिवर्तनको आयु लम्बिने छ ।

कुलीन वर्गको हातबाट खोसिएको शक्ति परिवर्तनपश्चात् नवउदारवादी शक्तिले कब्जा गर्दा मुलुकको राजनीतिक प्रक्रिया बरालिएको छ । हाइब्रिड परिवर्तनपश्चात् नेताहरू, रणनीतिक समुदाय र जनताको अघोषित कार्यगत एकताको एकलौटी फाइदा दलाल पुँजीवादले लिइरहेको छ । दुई विशाल अर्थतन्त्र र नवऔपनिवेशिक शक्तिको चेपुवामा परेको मुलुकले आफूलाई जीवित राख्दै समृद्धितर्फ लम्किने बाटो बन्द गरिएको छ । व्यवस्था र हाइब्रिड परिवर्तन पाल्न र जोगाउन वर्तमान अर्थतन्त्र र आर्थिक नीतिले नसक्ने बुझेको नवऔपनिवेशिक शक्तिले जनता भुलाउने मिसन चलाइरहेको छ । मुलुकले एमसीसी चाहिँदैन तर लिन्न भन्न नपाउने, एमसीसी चाहिन्छ र चाहिँदैन भन्ने दुवै शक्तिलाई उसैले लगानी गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोल्न उनीहरूको आशीर्वाद चाहिने, अमुक शक्ति र देशले जलविद्युत् उत्पादनमा लगानी गर्न नपाउने, विदेशी सामान बेच्दै दलाल पुँजीवादको सेवा गर्नुपर्ने, रोजगारी सिर्जना गर्ने उद्योग खोल्न नपाउने, वैदेशिक लगानी स्वदेशमा आउन तिनै शक्तिले रोक्ने अवस्थामा मुलुकलाई मुलुकवासीको अवस्था परिवर्तन गर्छौं भन्ने नयाँ जोगीहरूको हैसियत नवऔपनिवेशिक शक्तिले महसूस गरिसकेको छ । दलाल पुँजीवादलाई जीवित राखेर मुलुकको अवस्था बदल्ने, युवायुवतीको पलायन रोक्ने नयाँ जोगीहरूको खल्लो प्रहसन विकेको राजनीति कति भयावह बन्दैछ, सोसल मिडियामा रमाएका युवायुवतीले नबुझे पनि औपनिवेशिक शक्तिले गज्जबले बुझिसकेको छ ।

‘हाइब्रिड परिवर्तन’लाई जनपक्षीय आर्थिक नीतिहरू निर्माण गर्दै लागु गर्न छुट छैन भन्ने नबुझेका सर्वसाधारणले मिसनवाजहरूलाई मुक्तिदाता ठान्दै र मान्दै छन् । घृणा र तिलस्मी कुरा बिक्ने मुलुकमा हुने निर्वाचन केवल अवसरवादीहरूको निम्ति ‘दशैँ’ बन्नेछ । भनिन्छ, भाग्यले बहादुरलाई साथ दिन्छ । दुर्भाग्यवश अनिश्चितताहरू मौलाएको मुलुकमा उल्लेखित भनाइको फाइदा अवसरवादीहरूको पोल्टामा पर्नेछ । आम्दानी भन्दा खर्च धेरै भएको व्यवस्था बचाउनसमेत औपनिवेशिक शक्तिको मुख ताक्नुपर्ने अवस्थामा युवायुवतीले मुलुकमा भविष्य नदेख्नु स्वाभाविक छ । उदारवादको नाङ्गो नाचले थला परेको मुलुकमा मुलुकवासीको अवस्था बदल्न हौसिएका व्यक्ति र शक्तिले सस्तो मनोरञ्जन दिनु रोचक बन्दैछ । ‘मिसन ८४’ भन्दै चिच्याउनुको गर्भमा उनीहरूको असफलता र स्वार्थ लुकेको छ, जसलाई नवऔपनिवेशिक शक्तिले शतप्रतिशत प्रयोग गर्दै छ । कुनै पनि दृष्टिकोणबाट मुलुकमैत्री बन्न नसकेको हाइब्रिड परिवर्तनको रक्षार्थ खडा गरिएको तमाम भ्रमहरूले मुलुक र मुलुकवासीलाई थप पिरोल्ने छ । जनताको चुलोमा नदेखिने र नपुग्ने कथित परिवर्तनलाई जोगाउन गरिएको तथाकथित षडयन्त्र चिन्न ढिला भइसकेको छ । पात्र फेर्दै प्रवृत्ति यथावत राख्ने नवऔपनिवेशिक शक्तिको कथित रणनीति सफल भएमा मुलुक असफल राष्ट्रमा परिणत हुनेछ ।

www.pandeydipendra.com.np