सोसल मिडिया एडिक्सन !

भनिन्छ, चुनौतीहरू कहिल्यै समाप्त हुँदैनन् । यस्तो देखिन्छ कि चुनौतीको चेसबोर्डमा उपयुक्त चाल चाल्न सक्ने नेतृत्व मुलुकसामु देखिएन । ओरालो लागेको अर्थतन्त्र र राजनीतिक विश्वसनीयता खस्किएको समयमा समाज डरलाग्दो ध्रुवीकरणतर्फ लम्किँदै छ । राजनीतिक वातावरण आरोपबिना बाँच्न नसक्ने अवस्थामा पुऱ्याइएको छ । स्वतन्त्र नागरिक र स्वतन्त्र पत्रकारिता मात्र हैन स्वतन्त्र पत्रकारसमेत मुलुकबाट लोपोन्मुख छ । यस्तो परिवेशमा सन्तुलित पत्रकारको आवाज नबिक्नु स्वाभाविक छ । महत्त्वपूर्ण, औचित्यपूर्ण, शिक्षामूलक विषय भन्दा गाली, घृणा र झुटको बोलवाला छ । संस्कार, परम्परा र विश्वसनीयतासँग समाजले सरोकार राख्न छोडेको छ ।

कुनै पनि दृष्टिकोणले सामान्य अवस्थामा नरहेको मुलुक ‘पोस्ट ट्रुथ’ (post-truth) राजनीतिको सिकार बन्दै छ । सोसल मिडियाको दुरुपयोगबिना लोकप्रिय बन्न सकिँदैन भन्ने मान्यता स्थापित गरिएको छ । कुशासन र राजनीतिक नेतृत्वको कमजोरीको फाइदा उठाउँदै नेता बन्न सफल या सेलीब्रेटी बन्न सफल व्यक्तिले आफ्ना अनुयायीहरू सिर्जना गरेका छन् । सोसल मिडियाको रणनीतिक प्रयोग गर्दै सामाजिक मर्यादाको धज्जी उडाउने कार्यक्रम चलाइएको छ । सर्वसाधारण मानिसको निराशा र कुण्ठासँग खेल्नु सामान्य र अनिवार्य बनाइएको छ । सन्तुलित विचार पस्किनेहरू बिक्न छोडेका छन् । समाजमा भ्रमको खेती गर्नेहरू पुरस्कृत हुँदै छन् । सोसल मिडिया प्लेटफर्महरूले ‘मानव जिज्ञासा र प्रदर्शनीवाद’को लागि मानव पूर्वाग्रहलाई हतियार बनाएका छन् । दुर्भाग्यवश मुलुकवासी सोसल मिडिया प्लेटफर्मको सिकार बनेको महसूस समेत गर्न सकिरहेको छैन ।

वैश्य युगमा सोसल मिडिया विचित्रसँग लोकप्रिय बनिरहेको छ । सर्वसाधारण मानिसको जीवनमा अहम् हिस्सा बन्न हतारिएको सोसल मिडियाले युवायुवतीलाई नराम्रोसँग कुलतमा फसाउन सफल भएको छ । सोसल मिडियामार्फत पस्किएका तमाम जानकारी, हरेक मिनट, हरेक घण्टा, हरेक दिन अपलोड गरिएका भिडियोहरूले समाजलाई घृणा गर्न सिकाउँदै छ । अत्यन्त तीव्र गतिमा फैलिने भ्रामक तथ्य र समाचारले मुलुकमा नयाँ द्वन्द्वको वातावरण सिर्जना गरिरहेको छ । साथै अपलोड गरिएका सामाग्रीको विश्वसनीयतामाथि गम्भीर प्रश्नचिन्ह उठिसकेको छ । इडिट गरिएका कन्टेन्ट, निजी जीवनसँग सम्बन्धित भिडियो, पारिवारिक गोप्यता छताछुल्ल बनाउँदै पेट पाल्ने कथितहरूले समाजमा डरलाग्दो भ्रम र आतङ्क सिर्जना गर्न सफल भएका छन् ।

सोसल मिडियाले सिर्जना गरेको गोपनीयता समस्या, साइबर क्राइम, अध्ययन र अनुसन्धानमा कमी, गतिहीन जीवनशैलीले युवायुवतीको जीवन थप धराशायी बनिरहेको छ । आँखामा किरा परे किरा निकाल्ने कि आँखा, औँलामा घाउ भए औँलाको उपचार गर्ने कि औँला काट्ने जस्ता कुतर्क गर्नेले ‘सोसल मिडियामार्फत सुरु भएको र गरिएको अराजक प्रस्तुति क्यान्सर बनिसकेको’ कुरा भुसुक्क बिर्सेका छन् । त्यसैले तमाम कुतर्कलाई खारेज गर्दै दिमागको उपचार गर्नु अनिवार्य भइसकेको छ । कर्पोरेट सेक्टर, राजनेता, सरकार, लेखक, शिक्षक, विचारक, विश्लेषकलगायत सबैको आफ्नै उद्देश्य र लक्ष्य हुनु स्वाभाविक छ । दुर्भाग्यवश यतिबेला सोसल मिडियाको अनियन्त्रित र अत्यधिक प्रयोगले सबै क्षेत्र र वर्गलाई उत्तिकै पिरोलेको छ ।

चीनमा सोसल मिडियाको ‘लत’ छुटाउन क्याम्प नै चलाइएको छ । अमेरिका जस्तो विकसित देशमा समेत सोसल मिडियाले सताउँदै छ । युवायुवतीको आउटडोर गतिविधि सीमित हुँदै गएको छ । स्मार्टफोन र सोसल मिडियाको अत्यधिक प्रयोगबाट ‘एटेन्सन डेफिसिट हाइपर एक्टिभिटी सिन्ड्रोम’ बढ्दै छ । जसको कारण युवायुवतीको ‘मेमोरी’माथि नकारात्मक असर परिरहेको छ । हाम्रो सोच्ने, बुझ्ने प्रक्रियामा गम्भीर धक्का परिरहेको छ ।

हामीले देख्ने विज्ञापनको सङ्ख्या जति धेरै हुन्छ, सोसल मिडिया प्लेटफर्महरूको आम्दानी थप बढ्ने छ । हामी आफ्ना गोप्य जानकारी र सूचना उनीहरूलाई सित्तैमा दिन हौसिन्छौँ । बहुमूल्य समय खेर फाल्दै लामो समयसम्म स्क्रोल गर्छौं । स्क्रोलिङ प्लेटफर्महरूले हाम्रो विवरणहरूको व्यापार कसरी गर्छ भन्ने बुझ्नसम्म सक्दैनौँ । सोसल मिडिया प्लेटफर्महरूले प्रयोगकर्ताको ध्यान खिच्दै कसरी आलोचनामा डुब्न विवश गराउँछ भन्ने नीति-निर्माताले बुझ्न नचाहेको परिणाम मुलुकले भोगिरहेको छ । आश्चर्यजनक रूपमा अनुसन्धानले खुलासा गरेको छ कि सोसल मिडिया प्लेटफर्महरूको सबैभन्दा खोजिने लक्ष्यहरू मध्यम वर्गीय गृहिणी, युवा र बेरोजगार वर्ग हुन् । सजिलै हेरफेर गरिने तथ्यलाई बुझ्न नचाहने युवायुवती डरलाग्दो षडयन्त्रको सिकार बनिरहेका छन् । झुट, भ्रम, घृणा र कृतिम बुद्धिमता निर्मित भ्रामक कन्टेण्टविरुद्ध प्रतिरक्षा गर्ने संयन्त्र नभएको मुलुकमा सजिलोसँग प्रभावमा पर्ने यो वर्गका दिमागहरू सोसल मिडिया एल्गोरिदमको षड्यन्त्रलाई बुझ्न चाहँदैनन् ।

वाल स्ट्रिट जर्नलले सन् २०२१ मा गरेको एक अनुसन्धानमा फेसबुक (मेटा) आफैले गरेको अनुसन्धानको विषय कम रोचक छैन । मेटाले एक्सपोज गरेको विषयले सोसल मिडियाको कुरूप अनुहारलाई महसूस गर्न सकिन्छ । उदाहरणका लागि, १३.५ प्रतिशत किशोर/किशोरीहरूले भनेका छन्- इन्स्टाग्रामले आत्महत्याको विचारलाई अझ उकास्न सहयोग गरिरहेको छ । १७ प्रतिशत किशोर/किशोरीहरूले पनि उनीहरूलाई कुलततर्फ आकर्षित गर्न उकासिरहेको बताएका थिए । त्यसैगरी फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूको कुलतमा युवाहरू सबैभन्दा बढी जोखिममा छन् । फलस्वरूप युवाहरू, महिलाहरू, १३ देखि १९ वर्षका किशोर/किशोरीहरू सोसल मिडिया लत या कुलतका कारण कमजोर मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेका छन् ।

कमजोर सरकारको फाइदा कसरी उठाउने भन्ने सोसल मिडिया दिग्गजहरूले गज्जबले बुझेका छन् । सोसल मिडिया प्लेटफर्मले जानाजानी युवायुवतीलाई भ्रमित गरिरहेका छन् । उनीहरूको कारणले सिर्जना भएका गम्भीर मुद्धाहरूको सम्बोधन गर्न सक्रिय बन्नुको सट्टा अराजकता सिर्जना गर्न सहयोग पुऱ्याइरहेका छन् । युवायुवतीलाई जानाजान कुलतमा फसाउन डिजाइन गरिएको कन्टेन्ट कति खतरनाक हुन सक्छ भन्ने राम्रोसँग लुकाएका छन् । युवायुवतीको बहुमूल्य समय बरबाद गरिरहेका छन् । राजनीतिक अस्थिरता, अनियन्त्रित भ्रष्टाचार र सुशासन कमजोर भएको मुलुकमा सोसल मिडियाको ‘लत’ लगाउँदै पैदा गर्ने रणनीतिका बारेमा सर्वसाधारण नागरिकलाई बुझ्नसम्म दिँदैनन् । अनलाइन प्लेटफर्ममार्फत सिर्जना गरिएको नकारात्मक असरहरू रोक्न उनीहरू आफै बाधक बनिरहेका छन् । युवा दिमागको शोषण रोक्नकै लागि भएपनि सोसल मिडिया प्लेटफर्मको मनलाग्दी समाप्त गर्नु सरकारको जिम्मेवारी हो । युवा दिमागलक्षित सोसल मिडिया रणनीति सफल भएको पछिल्लो समयलाई तत्काल रोक्न असफल रहे मुलुक ठुलो राजनीतिक जोखिममा पर्ने छ ।

सोसल मिडिया आतङ्कपश्चात् चुनौतीहरू फरक देखिन थालेको छ । विजयलाई सीमित गर्ने योजनाको हल्लाले भरिएको छ । मुलुकमा इच्छा र अस्तित्वको लडाइँ चलिरहेको छ । आर्थिक पुनरुत्थानको मुद्दा हराएको समयमा राजनीतिक पुनरुत्थानको योजनाले स्थान पाएको छ । यदि कसैले चासो राख्छ भने हाम्रो राजनीतिको बारेमा बुझ्न धेरै कुरा छ । राजनीति र लोकतन्त्रको लागि हुने झगडाहरू कहिल्यै समाप्त हुँदैनन् । विशेषगरी कथित नेतृत्व र सोकल्ड नेतृत्वले शासनमा ध्यान केन्द्रित गर्न विवश भएका छन् । उत्पीडनको डर र घरपरिवारको जिम्मेवारीको बोझ भएका मानिसहरू सोसल मिडियामा रम्न रुचाउँदैनन् । गतिशीलताको अभाव, सांस्कृतिक मान्यतासँग सरोकार नराख्ने र ज्ञानको अभाव भएका वर्गलाई सोसल मिडियाले सस्तो मनोरञ्जन दिँदै आएको छ । सरकारले आफ्नो क्षमता गुमाउँदै गएको समयमा सोसल मिडिया प्लेटफर्महरू थप शक्तिशाली बन्दै गएका छन् ।

मुलुकमा सोसल मिडिया अराजकता चुलिएको छ । सोसल मिडिया कम्पनीहरू समाजप्रति उत्तरदायी बन्दै व्यापार गर्नुको सट्टा केवल नाफामा आधारित छन् । जसले गर्दा सामाजिक सञ्जाल प्लेटफर्महरूले कलीला किशोर/किशोरी, युवायुवती, बेरोजगार वर्ग, महिला गृहिणीलाई डरलाग्दो कुलतमा फसाउन सफल भएका छन् । सर्वसाधारण नागरिक डरलाग्दो मानसिक स्वास्थ्यको सामना गरिरहेका छन् । छोराछोरीलाई सेलफोन राख्न र सामाजिक सञ्जाल खाताहरू खोल्न अनुमति दिने अभिभावकले बालबालिकाको कलिलो दिमागमा कस्तो कुप्रभाव पारिरहेको छ भन्ने अझै बुझेको देखिँदैन । समूहमा लोकप्रिय हुने चाहनाले किशोरहरूलाई कतिसम्म सताएको छ, उनीहरू कस्तो जोखिम मोल्न तयार छन् भन्ने कुरालाई सोसल मिडिया प्लेटफर्महरूले अनदेखा गरिरहेका छन् । युवायुवती र निर्दोष महिलाहरूको मानसिक शोषण गर्न सफल सोसल मिडिया प्लेट फर्महरूले इर्ष्या र उदासीनतासँग जोडिएको वर्गलाई खोजी खोजी सामाग्री पस्किँदै छ ।

आदर्शवादी मानिसहरूले आफूले समर्थन गरेका नेताबाट अझ राम्रो आशा गर्छन् । दुर्भाग्यवश पछिल्ला समयमा उनीहरू सुशासनप्रति कहिल्यै गम्भीर देखिएनन् । जसले सोसल मिडिया प्लेटफर्मको सहयोग लिँदै अराजकता सिर्जना गर्ने शक्तिलाई ऊर्जा प्राप्त भएको छ । राजनीतिक दल र तिनका नेताहरूको दृष्टिकोणबाट मुलुक र राजनीति बदल्न सकिँदैन भन्नेहरूको नजरमा सोसल मिडिया प्लेटफर्म वरदान बनिसकेको छ । यस्तो देखिन्छ कि हाम्रा सबै राजनीतिक खेलाडीहरू त्रुटिपूर्ण पात्रहरू हुन् । उनीहरू एक्लोपन र पागलपनको अवस्थामा अड्किएका छन् । मुलुकको हैसियत चटक्क बिर्सेर आधुनिक मुलुक र समाजसँग दौडिन हौसिएको पछिल्लो पुस्ताले स्वतन्त्रताको नाममा प्रयोग गरिरहेको अराजकतालाई मुलुकले किन र कसको निम्ति आँखा चिम्लिनुपर्ने भन्ने सवालको सकारात्मक जवाफ कुनै कोणबाट फेला पर्दैन । जनताको चेतना स्तर, मुलुकको कमजोर हैसियत, सरकारी संस्थाको गिर्दो साख भएको मुलुकमा आधुनिक प्रविधिसमेत दुर्भाग्य बन्न सक्छ भन्ने सिंहदरबारले भर्खर महसूस गरेको छ ।

वैश्य युगमा अवसरवाद र उपभोक्तावादको जगजगी छ । विश्व पुँजीवादले आफ्नो दबदबा कायम राख्न सोसल मिडियाको निर्माण गरेको छ । राजनीतिक भ्रष्टाचार, कुशासन, अवसरवाद र उपभोक्तावादले थिलथिलो भएको मुलुकमा सोसल मिडिया प्लेटफर्महरूको विकृति, विसङ्गति, अराजकता, उच्छृङ्खलता समेत थपिएको छ । मुलुक र सर्वसाधारण नागरिकको सुरक्षा गर्न नसक्ने अवस्थामा सिंहदरबार पुगेको छ । सायद हाम्रो सङ्कट नयाँ चरणमा प्रवेश गरेको छ । हाम्रा सोकल्ड नेतृत्वको स्वाभाविक भ्रष्ट स्वभाव र शून्य जवाफदेहिताको अवस्थाले मुलुक द्वन्द्व तर्फ लम्किँदै छ ।

विशेषगरी सर्वसाधारण नागरिकहरू फेरि एक पटक घेराबन्दीमा पर्दैछन् । आधुनिकता, स्वतन्त्रता, लोकतन्त्र र प्रविधिको नाममा अर्को शोषणको फन्दामा पर्दैछन् । आधुनिक अर्थतन्त्र र वैश्य युगको विरोधाभासपूर्ण अवस्थाले मुलुकवासीलाई कम जोखिमपूर्ण बाटो देखाउन सकिरहेको छैन । स्वाभाविक रूपमा विकसित मुलुकको स्वतन्त्रतासँग हिँड्ने/हिँडाउने रहरले मुलुकलाई अर्को अराजकतामा जाक्दै छ । हाइब्रिड परिवर्तनको बोझले थला परेको मुलुकमा ‘सोसल मिडिया एडिक्सन’ उकालो चढ्दै छ । अनियन्त्रित एडिक्सनबाट मुलुकलाई जोगाउन नसके मुलुकवासी रणनीतिक अराजकता, आतंक र अन्तहीन द्वन्द्व भोग्न विवश बन्ने छन् । तत्पश्चात बसाइँ सरेको सार्वभौम सत्ताले सिंहदरबारको बचेखुचेको अधिकारसमेत खोस्ने अवसर पाउने छ ।

www.pandeydipendra.com.np