कसले बनायो हमासलाई आतङ्कवादी ?

सन् १९३८ को नोभेम्बर २६ मा महात्मा गान्धीले ‘हरिजन’मा एउटा लेख लेखे- ‘मेरो सहानुभूति यहुदीहरूसँग छ । तर मेरो सहानुभूतिले मलाई न्यायको आवश्यकताहरूमा अन्धो बनाउँदैन । ‘प्यालेस्टाइन अरबहरूको हो जसरी इङ्गल्यान्ड अङ्ग्रेजको हो, वा फ्रान्स फ्रान्सेलीहरूको हो ।’ हिन्दुत्वलाई रुवाउने गान्धीले हिन्दुस्तान हिन्दुको हो भन्न सकेनन् । दुर्भाग्यवश गोड्सेले हिंसाको बाटो समात्दै गान्धीको हत्या गरिदिए । गान्धीको हत्यामा आरएसएस सदस्य र नेता पटेल खुसी भए तर आजसम्म भारतीय राजनीति हिंसाबाट जोगिएन । सन् १९९३ मा यासिर अराफातसँग ओस्लो शान्ति सम्झौतामा हस्ताक्षर गरेको रिसमा सन् १९९५ को नोभेम्बर ४ मा तेल अबिबमा भएको शान्ति ऱ्यालीमा इजरायली प्रधानमन्त्री यित्ज्याक रबिनको हत्या एक यहुदी बन्दुकधारीले गरिदिए । कस्तो विचित्रको संयोग ! हिन्दु गोड्सेले हिन्दुत्वको निम्ति गान्धीको हत्या गरे भने कट्टर यहुदी यिगल अमिरले यहुदी राज्यको निम्ति रबिनको हत्या गरे । सही र गलतको स्वीकृत सिद्धान्तअनुसार अरबी प्रतिरोधका विरुद्धमा केही भन्न सकिँदैन भन्ने गान्धीको विचारबाट यहुदी र ‘हमास’ले सिक्न चाहेन । माटोको निम्ति अन्ततः ‘हमास’ले हिंसाकै बाटो समात्यो ।

ओस्लो शान्ति-सम्झौताको विरोध गर्ने एक क्रोधित कानुनका विद्यार्थीले रबिनको हत्या गर्दै दक्षिणपन्थी इजरायलीहरूको मनमा घृणाको बिउ रोपिदिए । ओस्लो सम्झौतापश्चात् बिल क्लिन्टनले वेस्ट बैङ्कमा प्यालेस्टिनीहरूलाई जग्गा दिने समारोहको अध्यक्षता गरे । यद्यपि प्यालेस्टिनी मातृभूमि इजरायलले कब्जा गरेको बारेमा ओस्लो सम्झौता मौन थियो । विचित्रको कुरा ‘हमास र नेतान्याहू’हरू सुरुदेखि ओस्लो सम्झौताको विरोधमा रहे । तथापि, गाजाको अन्धकारमा अमेरिकाको मध्यपूर्व व्यापार चम्किरह्यो । यद्यपि ‘रबिन र अराफात’ले सन् १९९४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरे । ‘मध्यपूर्व’मा शान्ति स्थापना अमेरिकाले कहिल्यै चाहेन । अमेरिकाको आशीर्वाद प्राप्त दक्षिणपन्थी इजरायली सत्ताद्वारा प्यालेस्टिनी नागरिकहरूको दैनिक हत्या र विस्थापनले सन् १९८७ मा ‘हमास’को जन्म गराएरै छाड्यो ।

रबिनको हत्या हुनु अघि, प्यालेस्टिनीसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेकोमा नेतान्याहुले जेरुसेलममा नक्कली ‘कफिन’ बोकेर प्रदर्शन गरेको हमासले आरोप लगाउँदै आएको छ । सन् २०२० मा इजरायली नेता नेतान्याहूले भनेका थिए- ‘मैले फरक अडान व्यक्त गर्ने मेरो अधिकारलाई जोड दिएँ । यो मेरो अधिकार मात्र होइन, कर्तव्य पनि हो ।’ करिब २८ वर्षअघि यिगल अमिरद्वारा मारिएका ‘रबिन’प्रति लक्षित गर्दै भनेका थिए- ‘रबिन देशद्रोही थिए । मलाई लाग्यो कि उ गलत थियो र उसले लिएको दिशा गलत थियो । शत्रुसँग शान्ति कायम गर्नु गल्ती थियो ।’ हो आज गाजा विचित्रको अन्धकारमा डुबेको छ । उनी जातिवादको लडाइँ लड्दै छन् । ७ अक्टोबर २०२३ मा इजरायलविरुद्ध एकसाथ २००० रकेट प्रहार गर्दै हमासले अमेरिका र नेतान्याहूको दक्षिणपन्थी सोचलाई जगाइदिएको छ ।

यतिबेला गाजा रोइरहेको छ । बालक, वृद्ध, अशक्त, महिला र निर्दोष नागरिकको रगतले गाजाको माटो भिजेको छ । हमासलाई समूल नष्ट गर्ने बहानामा इजरायलले जघन्य काम गरेको छ । इजरायलले गाजाको आकाश, जमिन र समुद्री सीमालाई कसिलो सुरक्षाकवच प्रदान गर्न डरलाग्दो आक्रमण गरिरहेको छ । इजरायली नागरिकलक्षित हमासको गतिविधिलाई गतिलो जवाफ दिन गाजामा अन्धाधुन्ध बमबारी उसको नजरमा सामान्य र अनिवार्य बनेको छ । इजरायली आक्रमण हमासको काँचो आक्रमणको बदला लिने र दीर्घकालीन चोट पुर्ने ढङ्गले चलाइएको छ । सामूहिक हत्यालाई जायज मानिएको छ । झन्डै ९००० मानिसको मृत्यु हुँदा करिब ४००० बच्चा बच्चीले ज्यान गुमाएका छन् । करिब २४००० निर्दोष प्यालेस्टिनी नागरिक घाइते छन् । इजरायली आक्रमण नाङ्गो बन्न हौसिँदा समेत अमेरिका र उसका सहयोगी चुपचाप छन् ।

विश्वले कल्पना गरेको थियो- सन् १९४५ पछि संयुक्त राष्ट्र सङ्घले न्यायपूर्ण संसार निर्माणमा भूमिका निभाउने छ । यसको जन्मसँगै उकासिएको उचाइ र क्षमता अमेरिकाको एकल शक्तिसामु निरीह देखिएको छ । जसले गर्दा उसले बिस्तारै आफ्नो आकर्षण गुमाउँदै छ । कट्टरवाद र लोकवाद जस्ता विचारधाराहरूले आफ्नो वाचा पूरा गर्न नसकेपछि संयुक्त राष्ट्र सङ्घमाथि अतिरिक्त दबाब थपिएको छ । अमेरिकासमर्थित पश्चिमी लेखकहरूले देखाएको पाखण्डसामु राष्ट्रसङ्घ लम्पसार परेको छ । पश्चिमी राज्यहरूले लादेका जातिवाद, आप्रवासन, व्यापार, विश्वव्यापी शासन र अतिरिक्त युद्धले विश्वलाई पिरोलेको छ । विश्व व्यापार सङ्गठन, आइएमएफ, विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घलाई लोकतान्त्रिकीकरण गर्न पश्चिमी राजनीति तयार छैन । विदेशी लगानी र बौद्धिक अधिकार जस्ता विषयले बाँकी विश्वको उन्नति र प्रगति रोकिएको छ । आफ्नो स्वार्थ र दीर्घकालीन रणनीतिक सफलताको निम्ति अमेरिकाले आफ्ना सहयोगीहरूले गरेको तमाम गडबडी र निरंकुशतालाई निर्लज्ज रूपमा सहयोग गर्न हर सम्भव कोसिस गरिरहेको छ । जसले मानवअधिकार, लोकतन्त्र र मानवीयताको दुई वटा परिभाषा निर्माण गरिरहेको छ ।

वैश्य युगमा सिद्धान्तविहीन व्यक्तिले आफ्नो विवेक प्रयोग गरेको प्रमाण छ तर राजनीति जनताको विश्वाससँग खेल्न हौसिएको छ । राजनीति र रिपोर्टिङको सन्दर्भमा अल जजीराले विश्वलाई नयाँ सन्देश दिएको छ । विश्वमा नियन्त्रित सूचना मात्र पुऱ्याउने पश्चिमको सूचना-नीतिमाथि सोसल मिडिया र अल जजीराले आंशिक धावा बोल्न सफल भएको छ । शक्तिशाली मूलधारका सञ्चारमाध्यमले उचित स्थान दिन नचाहेको गाजा-ध्वंशलाई सामाजिक सञ्जालले पुऱ्याएको योगदानसँग पश्चिमी शासकहरू खुसी देखिँदैनन् । सामाजिक सञ्जालले आफ्ना सबै सीमितताको बाबजुद आवाज, कथा र तस्बिरलाई विश्वभर पुऱ्याउँदा प्यालेस्टाइनका निर्दोष जनता प्रति अभूतपूर्व ध्यान पुगेको छ ।

इजरायलको अन्धाधुन्ध बमबारीपश्चात् भत्किएका भवनका दृश्यहरू, भग्नावशेषबाट गरिएको उद्धार, मारिएका प्रियजनहरूको शोकमा डुबेका पुरुष, महिला र बालबालिकाहरूको चित्कारले राजनीति कति क्रूर भइसकेको छ भन्ने देख्न र बुझ्न सकिन्छ । बम विस्फोटमा परी परिवारको मृत्यु भएको थाहा पाएपछि या शवको बीचमा पत्रकार सम्मेलन गर्ने डाक्टर र डरले चिच्याउने बालबालिका चित्कारले पश्चिमी मानवअधिकारको परिभाषा च्यातिएको छ, जसले मुस्लिम समाज र बाँकी विश्वलाई नराम्रोसँग झक्झकाएको छ । अमेरिका-इजरायल र पश्चिमा नीतिको विरुद्ध पश्चिमी शहरहरूमा भएको विशाल प्रदर्शनहरूले इजरायलविरुद्ध हमासद्वारा गरिएको हमला छायामा परेको छ । सर्वसाधारण यहुदी र विभिन्न देशका नागरिकविरुद्ध हमासले गरेको आक्रमणको निन्दा समेत फिक्का भएको छ ।

षड्यन्त्र-सिद्धान्तको सिकार हमास भइरहेको मान्न नसकिने देखिँदैन । माटोको निम्ति लडाउँदै माटोमा मिलाउन आतङ्कवाद र आतङ्कवादीको बिल्ला बिकाउ हुनेछ भन्ने पश्चिमीहरूले नबुझेको विषय रहेन । ‘षडयन्त्र-सिद्धान्त’ले प्राय सङ्कटमा परेका नेतृत्वको हितमा काम गर्छन् । जब नेतृत्व आफ्नै एजेन्डाहरू अगाडि बढाउन असफल हुन्छन्, तब षडयन्त्र-सिद्धान्तको उपयोग गर्न हौसिन्छन् । षडयन्त्र-सिद्धान्तले हिंसा निम्त्याउने बुझेको नेतृत्वले नितान्त आफ्नो स्वार्थको निम्ति विभिन्न शक्तिकेन्द्रको दलाली गर्न सदैव तत्पर रहन्छ । उनीहरूले सीमान्तकृतहरूलाई सशक्तीकरण गर्छन् । विद्यमान प्रणाली र शक्ति सन्तुलनको फाइदा उठाउन मरिहत्ते गर्छन् । हो यति बेला, रुसले युक्रेन युद्धमा अमेरिकाद्वारा ब्यहोरेको षड्यन्त्र-सिद्धान्त प्यालेस्टाइनमा प्रयोग गरेको छ । हमास र अरब जगतको प्रयोग गर्दै अमेरिकालाई नमिठो सबक सिकाएको छ । दुर्भाग्यवश अमेरिका-रुसको कथित द्वन्द्वको चपेटामा विश्व समुदाय कुनै न कुनै रूपमा परिसकेको छ । राजनीतिक सरोकारवालाहरू षड्यन्त्र-सिद्धान्तको निरन्तर घुमाउरो बाटोमा दौडिएका छन् । उनीहरू सन्तुष्ट छन् । राजनीतिक परिणामहरू सबैलाई थाहा छ- लोकतान्त्रिक प्रणालीको क्षय हुनेछ । सर्वसाधारणको राजनीतिक ‘बली’ चढाइने छ । जनतामा लोकतन्त्रप्रति उदासिनता बढ्ने छ । षड्यन्त्रहरू थप मौलाउने छन् ।

पश्चिमी देशहरू लोकतन्त्रको ठेक्का लिएर बसेका छन् । लोकतन्त्र र शक्तिको आडमा विश्वव्यापी रूपमा गैर जिम्मेवार निरङ्कुशको ठेक्का लिएका छन् । केवल पश्चिमी सम्भ्रान्तहरूको हातमा पुगेको पुँजीवादलाई विश्वभर फैलाउन र टिकाउन उसले तयार गरेको जातिवादी राजनीतिले विश्वमा अन्तहीन हिंसा र द्वन्द्व अनेक रूपमा जन्मिरहने निश्चित छ । पुँजीवादले बजारमा कमजोर वर्गलाई मात्र शोषण गर्छ, जातिवादले जीवनका सबै पक्षहरूमा कमजोर जातिहरूलाई शोषण गर्छ भन्ने बुझेको पश्चिमी राजनीतिले इजरायलको संरक्षणमा हदैसम्म गिर्न तयार भएको प्रमाण अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल अबिबमा नेतान्याहूसँग ५ घण्टा बिताएर दिएका छन् ।

पश्चिमी जातिवादी राजनीतिले मार्टिन लुथर किङ्गलाई रुवाउँछ । मार्गरेट थ्याचर र रोनाल्ड रेगनले अफ्रिकी नेसनल कांग्रेस र नेल्सन मण्डेलालाई आतङ्कवादी भन्न सक्छ भने हमासलाई आतङ्कवादी भन्नु सामान्य कुरा हो । भियतनाम, इराक, अफगानिस्तान र प्यालेस्टाइनमा असहाय जनताविरुद्ध पश्चिमी शक्तिले लादेको युद्धले चिच्याएर भनिरहेको छ- सबै विनाश गोरा जातिको रक्षार्थ थियो र, हो । अमेरिकी-पश्चिमी जगतको रक्षार्थ हो । आफ्नो शक्तिको निरन्तरताको निम्ति हो । अमेरिका र यसका पश्चिमी सहयोगीहरूले आफ्नो फाइदाको निम्ति आतङ्कवाद उन्मूलनको कथा हाल्नु सामान्य हो । संयुक्त राष्ट्र सङ्घ र नागरिकहरूको सुरक्षासम्बन्धी कानुनहरू रद्दी टोकरीमा फ्याँक्दै बिनापश्चात्ताप नागरिकहरूलाई गम्भीर हानी पुऱ्याउने अमेरिकी नीतिले हमासको हिंसालाई छायामा पार्नेछ ।

इतिहासकारहरू भन्छन्, कट्टरपन्थी राजनीतिको पछाडि अमेरिकाको हात छ । अमेरिकाले इजरायलको टाउकोबाट हात नझिकेसम्म हमासले हतियार उठाइरहने छ । आफ्नो मातृभूमिको प्राप्तिमा तड्पिएको ‘हमास’लाई इजरायल र अमेरिकाले दिएको आतङ्ककारी या आतङ्कवादीको आरोप निरन्तर लागिरहने छ । यसलाई अझ सजिलोसँग बुझ्न दोहाबाट हमासको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयको प्रमुख मुसा अबु मार्जोकलाई सोधिएको प्रश्नको जवाफ काफी छ- ‘इजरायली नागरिकको हत्या गाजाको विनाशको पूर्वाधार होइन ।’ समस्याको जरा दशकौँदेखि चलेको पेसा हो, किन सर्वसाधारणलाई मार्ने भन्दै पत्रकारले मार्जोकलाई सोध्दा पछिल्लो घटनाहरूको लोकप्रिय संस्करणलाई प्रचारको रूपमा अस्वीकार गरे ।

यतिबेला मुलुकवासी, राजनीतिक विश्लेषक, विद्वान् वर्ग, न्यायप्रेमी नागरिक र सत्ताले अत्यन्त सन्तुलित बन्नु जरुरी छ । ‘धर्म र जाति’लाई देखाउँदै लादिएको युद्धले निम्त्याएको अरब-इजरायल र अमेरिकी स्वार्थलाई हामीले अलग-अलग गरेर हेर्नु पर्ने छ । मिडिया स्वतन्त्र र शक्तिशाली नभएको मुलुकमा समाजले सोसल मिडियाको समाचारलाई वैधता दिन हौसिन्छ । तथापि, सूचनाहरू गलत हुन सक्छन् । कमजोर मुलुकमा राजनीतिक कठपुतलीहरूको अग्रसरताले षड्यन्त्र सिद्धान्तको लागि मलिलो जमिन उपलब्ध गराउँछ । गलत जानकारी, गलत सूचना, अफवाह र षड्यन्त्र सिद्धान्तबाट जोगिँदै गाजा र इजरायलमा मारिएका बालबालिका, महिला या निर्दोष नागरिकको पक्षमा आवाज बुलन्द गर्नु जरुरी छ । जसको निम्ति संयुक्त राष्ट्र सङ्घको सक्रिय पहलको निम्ति नेपालले आफ्नो उपस्थिति देखाउनु जरुरी छ ।

www.pandeydipendra.com.np