मृत्युको मुखमा मुलुक !
मुलुकमा घृणाको बजार मौलाउँदो छ । चर्चालाई लोकप्रियताको मापदण्ड बनाउने खेल रणनीतिक ढङ्गले सुरु गरिएको छ । व्यक्तिगत टिप्पणी र विचारले प्रभावकारी सामग्रीको हत्या गरिरहेको छ । सोसल मिडिया युजर र युट्युबरहरू डरलाग्दो षडयन्त्रको सिकार बनेको बुझ्न सकिरहेका छैनन् । सोसल मिडिया सञ्चालकहरूले राजनीतिक भ्रष्टताको व्यापार गरिरहेका छन् । ‘घटित र रेडिमेड’ भ्रष्टाचारका कथाहरू सर्वसाधारण जनतासम्म पुऱ्याउँदै ट्राफिक कमाउने सोसल मिडिया सञ्चालक र राजनीतिक फाइदा उठाउने तथाकथित शक्तिको फन्दामा मुलुक फसिसकेको छ । जनताको भावना भड्काउँदै क्लिक-आधारित नाफा कमाउने खेलको सिकारमा मुलुक परेको छ । विभिन्न मिडिया र अनुसन्धानकर्ताहरूले घृणा अभियान चुहाउने, अवसरवादी राजनीतिक कलाकारहरूले सङ्गठित मार्केटिङ गर्ने र तथाकथित राजनीतिक फाइदा उठाउने खेल ‘मिसन’को रूपमा चलाइएको छ ।
न्याय, अवसर, उन्नति, प्रगति, विकास र समृद्धि खोजिरहेका जनसङ्ख्यालाई सोसल मिडियामार्फत पस्किएका गलत सूचना र प्रविधिले थप आक्रामक बनाउँदै छ । स्थानीय भाषाहरूमा राम्रोसँग डिजाइन गरिएको फेक न्युजले लक्षित वर्गलाई थप अन्योल बनाउने सफलता पाएको छ । मिडिया र सूचना साक्षरताको बारेमा बुझ्न नसक्ने वर्गलाई लोकप्रिय प्लेटफर्महरू मार्फत डरलाग्दो अभियानहरू सञ्चालन गरिएको छ । किताबले मुलुक बदल्न सक्छ भन्ने सोच गायब पारिएको छ । युवा पुस्ता विचित्रको अवस्थाबाट गुज्रिँदै छन् । शिक्षित, नैतिक र राम्रो ज्ञान भएका युवायुवती मुलुकमा भविष्य देख्न छाडेका छन् । पुस्ताको सीप र ज्ञान ओझेलमा परेको छ । नेपाली डायस्पोरा अराजनीतिक दल दलमा फसेको छ । विदेशी भूमिमा प्राप्त गरेको ज्ञान, सिप र अर्थ मुलुक ल्याउने बाटो रोकिएको छ । युवापुस्ता, डाक्टर, इन्जिनियर र उद्यमीहरू नेपाल फर्काउन पर्ने समयमा मुलुक छोड्नेको सङ्ख्या उकालो चढ्दै छ ।
राजनीतिक परिवर्तनको नाममा विदेशी शक्तिद्वारा नालायकहरूको रणनीतिक प्रयोग गरिएको छ । मुलुकमा संविधानवाद, लोकतन्त्र र विधिको शासन भाषणमा सीमित छ । ‘राजनीतिक इन्जिनियरिङ’ भत्किँदै छ । राजनीतिक दल र त्यसका सहयोगीहरूको सार्वजनिक प्रतिष्ठा र इज्जत खस्किँदो छ । रापताप सकिएको परिवर्तन जोगाउने असफल अभियान चलाइएको छ । दण्डहीनता र अराजकता मौलाउँदो छ । जसले असुरक्षा र अनिश्चितताको वातावरण सिर्जना गरेको छ । राजनीतिक दलहरू कमजोर बन्दैछन् । मुलुक आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले तहसनहस बन्दै छ । समय बदलिएको छ । सोकल्ड नेतृत्वले महसुस गरिसकेका छन् तर उनीहरूसँग कुनै एजेन्डा बाँकी छैन । सोसल मिडिया आतङ्क, मुद्रास्फीति, बृहत् सहरीकरण र बढ्दो युवापुस्ताले राजनीतिको प्रकृतिलाई गम्भीर रूपमा परिवर्तन गरिरहेको छ ।
हाइब्रिड परिवर्तनपश्चात् मुलुकमा डरलाग्दो सांस्कृतिक आक्रमण सुरु भएको छ । राष्ट्रको पहिचानसँग जोडिएको संस्कृति, भाषा र परम्परालाई अनदेखा गर्दै कथित आयातित एजेन्डामा मुलुकवासीलाई अल्झाइएको छ । पुर्खाले निर्माण गरेको परम्परा र संस्कृति समाप्त पार्न तथाकथित व्यक्ति र राजनीतिक दलहरू प्रयोग गरिएको छ । जातीयता र पहिचानको नाममा नेपाली भाषा, भेषभूषा, संस्कृतिमाथि रणनीतिक आक्रमण बढाइएको छ । विदेशी भाषा, धर्म, सङ्गीतर्फ युवायुवती लोभिँदै छन् । मौलिक चाडपर्व, नैतिक शिक्षा र मौलिकपन समाप्त गर्न हर सम्भव कोशिस गरिएको छ । लोभलाग्दो विविधता, सांस्कृतिक र भाषिक सम्पत्ति नष्ट गर्दै मुलुकको अस्तित्व समाप्त गर्ने रणनीति तर्फ दक्षिण-पश्चिम लागिपरेका छन् । दुर्भाग्यवश हाम्रो युवापुस्ता आँखा, जिब्रो र छालाको पछि दौडिएको छ भने सोकल्ड नेतृत्व विदेशीको दलाली गर्दै कुर्सी टिकाउने मिसनमा निस्किएको छ ।
‘मिडिया म्याटर्स फर डेमोक्रेसी’द्वारा गरिएको अध्ययनले निष्कर्ष निकालेको छ- ६४ प्रतिशत सोसल मिडिया युजरहरूले ‘विश्वसनीय माध्यम’को रूपमा सामाजिक मिडिया प्लेटफर्महरू प्रयोग गरिरहेका छन् । सोसल मिडिया आधारित सामग्रीले राजनीतिक परिवर्तनको या राजनीतिक कब्जाको लागि अनुकूल वातावरण सिर्जना गर्न सक्ने निचोड निकालेको छ । अध्ययनहरूले चुनावमा सोसल मिडिया सामग्रीहरूले पर्याप्त योगदान गर्न सक्छ भन्ने देखाएको छ । न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टले फेसबुकको संलग्नतामा गरिने विश्वसनीय कथाहरूको बारेमा लेखिसकेको छ । सोसल मिडिया कथाहरूले उत्पन्न गर्ने तागतले अमेरिकी जनतालाई समेत आफ्नो मोहजालमा पार्न सक्छ भने मुलुकको गरिब, अशिक्षित, आक्रोशित मतदाता र सर्वसाधारण जनतालाई कुन स्तरको प्रभाव पार्न सक्छ भनिरहनु परेन । सोसल मिडिया कम्पनीहरूले निर्माण गर्ने कथाहरूबाट उत्पन्न हुने ट्राफिकबाट उनीहरूको नाफा कतिसम्म हुन सक्छ या उनीहरूले कती कमाएका थिए/कमाउँदै छन् भन्ने सोसल मिडिया युजरले बुझ्न सक्दैनन् । मिसन ‘८४ भनेर दिनरात सामाजिक सञ्जाल फोहोर गर्नेहरूले चुनावमा पार्ने सम्भावित र सङ्गठित प्रभाव मुलुकले कल्पना गरेको देखिँदैन । सोसल मिडिया पत्रकारिताले विश्वसनीय पत्रकारहरूलाई उछिनेको समयमा परम्परागत राजनीतिको मृत्यु निश्चित छ । धेरै मानिसहरू समाचारको लागि टिकटकमा फर्किरहेको समयमा राजनीतिसँगै मुलुकको अस्तित्व समेत खतरामा परिसकेको छ ।
दक्षिण-पश्चिमको रणनीतिक सहकार्यपश्चात् मुलुक निरन्तर गरिब बनिरहेको छ । नेपाललाई गरिब राख्न नालायकहरूलाई सत्तामा पुऱ्याउने खेलमा उनीहरू चलाखीपूर्वक सक्रिय छन् । निरन्तर राजनीतिक उथलपुथलले मुलुकको मेरुदण्ड मक्किएको छ । मुलुकले भूराजनीतिक दलदलबाट निस्किने बाटो गुमाएको छ । नेपाल भूपरिवेष्टितबाट भारतवेष्ठित बनिसकेको छ । कर्मचारी र सोकल्ड नेतृत्वलाई पङ्गु बनाउँदै उत्तर, दक्षिण र पश्चिमले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । राष्ट्रलाई केन्द्रबिन्दुमा राख्ने नेतृत्व जन्मिन समेत छोडेको छ । राजनीतिक दलहरू सिद्धान्तबाट च्युत बन्न हौसिएका छन् । विकृत सूचना, गलत सूचना, खराब सूचना, एआईआधारित एल्गोरिदमको आन्तरिक विशेषता, घृणायुक्त भाषण, र भड्काउ पोस्टहरू नेता-निर्माण गर्न मरिहत्ते गरिरहेको छ ।
आर्थिक उत्पादनसँग सम्बन्धित गतिविधिहरू ठप्प छन् । तत्काल पूर्वाधार बन्ने वातावरण देखिँदैन । उत्तर र दक्षिणको राजनीतिका कारण नयाँ पूर्वाधार बन्ने परिवेश देखिँदैन । वैदेशिक लगानी मुलुक भित्रिने सङ्केतसम्म छैन । उत्पादन बढ्न सकेको छैन । कमजोर पूर्वाधार र अपर्याप्त पूर्वाधारले स्वदेशी उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्ने देखिँदैन । अस्थिर राजनीति र थपिँदै गरेका छिमेकीको सङ्ख्या अर्थात् युरोपियन युनियन र अमेरिकाको स्वार्थले मुलुकको उन्नति र प्रगति थप धकेलिएको छ । युवायुवती निर्यात गरेर धनी बन्ने सपना सिंहदरबारले पालेको देखिन्छ । कृषिप्रधान मुलुक कृषिजन्य उत्पादन आयात गर्न विवश छ । राष्ट्रिय उत्पादनको लागत उकालो लाग्दैछ, जसले मुलुकको सीमित उत्पादनसमेत निर्यात हुन सकेको छैन । व्यापार घाटा र आयातमुखी अर्थतन्त्र राखेर मुलुकको अवस्था बदल्न अर्थ मन्त्रालय हौसिएको छ । यद्यपि उसको नीति, कार्यक्रम र गतिविधिले मुलुकको भविष्य बदलिन सम्भव छैन भन्नेमा अर्थविदहरू ढुक्क छन् ।
उत्पादनशील श्रम शक्ति अवसरको खोजीमा छन् । मुलुकले रोजगारीको अवसर सिर्जना गर्न सकेको छैन । कोभिड-१९, रुस-युकेन युद्धपछि आइलागेको प्यालेस्टाइन-इजरायल युद्धले निजी क्षेत्र थप निराश बन्दैछ । अकस्मात् लागत उकालो लाग्दा वस्तु तथा सेवाको उत्पादन झन्-झन् ओरालो लाग्दैछ । जसले गर्दा युवायुवतीको सीमित अवसर समेत खोसिँदै छ । अप्रिय वैदेशिक रोजगारीको खोजीमा ठुलो सङ्ख्या मुलुक छोड्न बाध्य हुँदा मुलुकले अनेकौँ समस्या झेल्दैछ । गाउँघर बिरानो छ । जमिन बाँझो बन्दैछ । सामाजिक विग्रह, पारिवारिक विघटन, बालबालिकाको सोचमा डरलाग्दो परिवर्तन देखापर्दैछ । मुलुकले सामाजिक मूल्य भुक्तान गरिरहेको छ । वैदेशिक रोजगारीबाट फर्किनेहरू नयाँ रोगका सिकार बनेका छन् । रेमिट्यान्सको अल्पकालीन फाइदाले मुलुकलाई दीर्घकालीन ढङ्गले पिर्दैछ । ठुलो सङ्ख्यामा युवायुवती मुलुकबाट एउटै समयमा विस्थापित हुँदा मुलुकमा जनसाङ्ख्यिक गडबडी निम्तँदै छ ।
आत्मिक शान्ति हराउँदै छ । सांस्कृतिक भिन्नतालाई ‘बिष’ बनाउने खेल सुरु गरिएको छ । सकारात्मक र रचनात्मक सोच गायब पारिएको छ । समानता र भिन्नताबिच खेल्ने कोसिस गरिँदै छ । करदाताले पाउने प्रतिफल पातलो बन्दैछ । ग्यास, पेट्रोल, खानेकुराको मूल्य बढाउँदै राज्य सिकारी बन्दैछ । मुलुकको गैरउत्पादक खर्च बढ्दो छ । जनतालाई दक्ष र उत्साही बनाउने सोच र अभियान अझै जन्मिन सकेको छैन । मुलुकको दीर्घकालीन विकासको निम्ति आम मानिसलाई विभिन्न सीप प्रदान गर्न, स्वस्थ राख्न र उत्पादनशील मानवमा विकास गर्नुपर्नेछ । अर्थशास्त्रीहरूले यस प्रक्रियालाई ‘मानव पुँजी विकास’ भनेका छन् । विश्व बैङ्कले भनेको छ- ‘मानव पुँजी भनेको ज्ञान, सीप र स्वास्थ्य हो । आम मानिसले जीवनभर लगानी गर्छन् । समाजको उत्पादक सदस्यको रूपमा आफ्नो क्षमतालाई महसूस गर्न सक्षम बनाउँछन् । पोषण, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, रोजगारी र सीपहरू मानिसहरूमा लगानी गर्नाले मानव पुँजीको विकास गर्न मद्दत गर्दछ । चरम गरिबी अन्त्य गर्न र थप समावेशी समाजहरू सिर्जना गर्न सकिन्छ ।’ दुर्भाग्यवश सिंहदरबार विश्वबैंकको भनाइलाई झुटो सावित गर्न मरिहत्ते गरिरहेको छ ।
सरकार पूर्वाधार निर्माणमा निरन्तर चुक्दै छ । मुलुकको आन्तरिक र बाह्य ऋण निरन्तर बढ्दै गएको छ । आर्थिक वृद्धिलाई निरन्तरता दिन सकिएको छैन । सिंहदरबारको अत्यासलाग्दो कार्यशैलीले मुलुकको रक्तसञ्चार रोकिएको छ । असुरक्षाले राष्ट्रलाई आत्मनिर्भर हुन प्रेरित गर्न सक्छ । दुर्भाग्यवश राजनीतिक परिवर्तनको नाममा उदाएको नयाँ कुलीन वर्गले ‘डर’लाई हतियार बनाए । सरल शब्दमा भन्नुपर्दा गणतन्त्र जोगाउने भन्दै आन्तरिक र बाह्य शक्तिको डर देखाइयो । जसको बहानामा ‘लोकतन्त्र र सुशासन’को बली चढाइयो । तत्पश्चात् तथाकथित राजनीतिक नेतृत्व, दलाल, बिचौलिया र कर्मचारीको शासन भोग्न बाध्य बनाइयो । इतिहासको अपमान गरियो । बौद्धिक वातावरण समाप्त पारियो । अपराधको राजनीति र राजनीतिको अपराधीकरण गरियो । उल्लेखित गतिविधि सफलतापूर्वक सम्पन्न गर्दै मुलुकलाई मृत्युको मुखमा पु¥याउन चाहने शक्तिको सेवा गरियो ।
हाइब्रिड उपलब्धिलाई जोगाउने बहानामा बीपी, पुष्पलाल, कृष्णप्रसाद, मनमोहन, गणेशमान, मदन भण्डारीलाई पोस्टरमा सीमित गरियो । नालायकहरूलाई लायक स्थानमा पुऱ्याउने देशी-विदेशी षडयन्त्रलाई ढोकाबाट स्वागत गरियो । ततपश्चात् उदारवाद, राष्ट्रवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद, जबज मुर्छित तुल्याइयो । रणनीतिक ढङ्गले माओवादी ल्याइयो- गाउँमा बस्न दिइएन । काङ्ग्रेस-एमाले ल्याइयो- देशमा बस्न दिएन । लौरो ल्याइयो- शहरमा बस्न दिइएन । झिल्के ल्याइयो- सोसल मिडियामा बस्न दिइएन । अनेकौँ ‘वाद’ बोकेर राजनीतिक उद्योगमा स्थापित दलहरूमार्फत जनताको जीवनस्तर बरबाद बनाउन कुनै कसर बाँकी राखिएन ।
तमाम सिद्धान्तलाई असफल सिद्ध गराउँदै मुलुकमा सोसल मिडियालाई राजनीतिको ‘वाद’ बनाउने तारतम्य मिलाइँदै छ । दुर्भाग्यवश विश्व हाँक्न सक्ने सिद्धान्तले काम नगरेको मुलुकमा मुलुकलाई झिल्केवादको फन्दामा पारिँदै छ । फलस्वरूप काङ्ग्रेस, एमाले र माओवादी केन्द्रबाट सम्पन्न नभएको बाँकी काम ‘झिल्केवाद’ले फत्ते गर्नेछ ।