मिसन अराजकता !
सन् १९४९ को नोभेम्बर महिनामा डाक्टर भीमराव अम्बेडकरले संविधानसभामा भाषण दिँदै भने- भारतीय लोकतन्त्रमा तीन खतरा छन् । उनको पहिलो चेतावनी जनताद्वारा सामाजिक–आर्थिक लक्ष्य हासिल गर्न रोज्ने गैरसंवैधानिक प्रक्रियामा थियो । सामाजिक-आर्थिक लक्ष्यप्राप्तिमा संविधानप्रदत्त अधिकारको प्रयोग जरुरी रहेको, हिंसा, अवज्ञा, असहयोग सत्याग्रहको बाटो छोड्नु पर्ने र संविधानले तोकेको बाहेक अन्य बाटो अपनाए अराजकता सुरु हुने उनको भनाइ थियो । उनले दोस्रो चेतावनीमा भने- भारत सिर्फ राजनीतिक लोकतन्त्रमा मात्र भर नपरोस्, सँगसँगै सामाजिक लोकतन्त्रको विकास गरोस् ! उनको बुझाइमा देशमा छिटोभन्दा छिटो आर्थिक-सामाजिक असमानता बढ्दै गए राजनीतिक लोकतन्त्रको निम्ति खतरा बन्नेछ । सामाजिक लोकतन्त्र विकसित गर्न ढिला गरे राजनीतिक लोकतन्त्रको फाइदा उठाउने तत्त्व हाबी हुनेछन् । तेस्रो खतरा नेतृत्वप्रति देखाउने अन्धसमर्थनलाई देखेका थिए । उनले भनेका थिए- ‘धर्ममा मुक्तिको मार्ग भक्ति हुनसक्छ तर राजनीतिमा भक्ति या नायकपूजा अराजकता तथा तानासाहीमा टुङ्गिने छ ।’ डाक्टर अम्बेडकरले भारतमा देखेको खतरा हुबहु नेपालसम्म आइपुगेको छ । सामाजिक लोकतन्त्र मारिएको आयातित लोकतन्त्रले अराजकताको यात्रा सुरु गरेको छ ।
मुलुकमा सस्तो लोकप्रियताको भोका प्राणीहरूले अराजकताको खेती सुरु गरेका छन् । सडक, सामाजिक सञ्जाल र मिडियामा मनलाग्दी बोल्नेको बाढी आएको छ । राजनीतिक नेतृत्वले विगतदेखि वर्तमानसम्म गरेका तमाम कमी-कमजोरीबाट वाक्कदिक्क भएका सर्वसाधारण जनता आँखा चिम्लेर अराजकतालाई मलजल गरिरहेका छन् । हरेक घृणा, स्टण्टबाजी र धम्कीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले लाइक, कमेन्ट र सेयरमार्फत अपार समर्थन गरिरहेका छन् । संविधानले कल्पना गरेको तीन वटा सरकारमध्ये एकले अर्कोलाई ‘चोर’ भन्ने फेशन सुरु भएको छ । लोकतान्त्रिक व्यवस्थामा मुलुकको शान र शक्तिलाई आगो लगाउँछु भन्ने खुला धम्कीलाई सिंहदरबारले अनदेखा गर्दा अराजकहरूको मनोबल उकासिएको छ, जसको पछिल्लो सिकार काङ्ग्रेस महामन्त्री महेन्द्र यादव बनेका छन् ।
भदौ २० गते महामन्त्री यादवमाथि नुवाकोटनिवासी श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेको घटनालाई सामाजिक सञ्जालले स्वागत गर्दै अराजकताको नमुना प्रदर्शन गरेका छन् । मुलुकको प्रधानमन्त्री धम्कीको भाषा प्रयोग गर्दै भन्छन्- ‘केही समयपछि एक लाख मानिस सडकमा उतार्छौं ।’ काठमाडौं महानगरपालिकाको मेयर भन्छन्- ‘मेरो श्रीमती चढेको गाडी नियमित चेकजाँचमा परे सिंहदरबारमा आगो लगाउँछु ।’ अल्लारेहरूको नजरमा लोकतन्त्र र संविधान भनेको कुनै प्रेमीले प्रेमिकालाई पठाउन लेखेको प्रेमपत्र हो । अलिकति नमिले जस्तो लाग्नासाथ च्यातच्युत बनाउँदै फेरि लेख्न सकिन्छ ! उल्लिखित घटनापश्चात् एउटा गम्भीर प्रश्नले जन्म लिएको छ- निराश युवायुवती, सर्वसाधारण जनता, सोकल्ड नेतृत्व, झिल्के र अपरिपक्व अल्लारेहरू किन अराजक हुँदैछन् ? ‘भविष्यवादी, वैश्विक प्रवृत्ति र नवीनता’ विशेषज्ञ ब्रुनो मेरियनले भनेका छन्- मानव संसार अधिक अराजक हुनुमा तीन कारणले काम गरेका छन्, ती हुन्- जनसङ्ख्याको अधिक वृद्धि, कनेक्टिभिटी र गति ।
ब्रुनो भन्छन्- १५० वर्ष पहिला पृथ्वीमा लगभग एक अर्ब मानिस थिए, आज लगभग आठ अर्ब । जनसङ्ख्याको अविश्वसनीय वृद्धिले वास्तवमा हरेक क्षेत्रमा विस्फोटको वातावरण सिर्जना गरिरहेको छ । अपेक्षाकृत खाली दुनियाँमा पुर्खाले बिताएको जिन्दगी वर्तमानमा सम्भव देखिँदैन । रिचर्ड आर्कबोल्ड र उनका सहयोगीले फेला पारेको आश्चर्यचकित विश्व-संस्कृतिमा व्यापक परिवर्तन आएको छ । झन्डै ४ अर्बभन्दा अधिक मानिसको इन्टरनेट पहुँचले मानिसको दैनिकीमा व्यापक परिवर्तन ल्याएको छ । मानव समुदाय विगतमा भन्दा अधिक जागरूक बन्दै छ । इन्टरनेट पहुँच र बदलिएको आकाङ्क्षाले आम मानिसको जीवनमा रफ्तार ल्याएको छ । बदलिएको आवश्यकता, बिग्रिएको राजनीति र सूचनामा पहुँचले आम मानिसले छिट्टै आफ्ना धारणा परिवर्तन गर्दै आएका छन् । दुनियाँ असन्तुलित बनिरहेको छ । मानवता मर्दैछ । आम मानिस निजी सपनाको पछि कुद्न बाध्य छन् ।
विश्व-राजनीतिमा ‘परिवर्तन’ अनुभवीद्वारा प्रतिस्थापित हुँदै आएको असङ्ख्य उदाहरण छन् । दुर्भाग्यवश नेपालीले भन्ने गरेको परिवर्तन नेपालनिर्मित थिएन । हाइब्रिड परिवर्तनको नाममा स्थापित गरिएको आयातित उपलब्धिको प्रतिस्थापन हुने खतरा टार्न देशी-विदेशी शक्तिले लामो समयदेखि सहकार्य गर्दै आएका छन् । फलस्वरूप सर्वसाधारण जनता पलपल तड्पिन बाध्य छन् । विगतमा सरकारहरूको आर्थिक कुव्यवस्थापनको कारण जनताले उनीहरूप्रति विश्वास गुमाएका छन् । यसलाई सामाजिक सञ्जालले मलजल गरिरहेको छ । बिग्रँदै गएको आर्थिक वातावरणले जनताको दुर्दशा थपिएको छ । व्यापक जनअसन्तुष्टि अनेक रूपमा व्यक्त हुँदै आएका छन् । सार्वजनिक गुनासोका मुद्दाहरू यति धेरै छन् कि सामाजिक अशान्तिमा इन्धनको काम गरिरहेका छन् । सुधारको आशा नदेखेपछि जनतामा आक्रोशको आगो बलेको छ । जनताको आक्रोशको कारण शासनको असफलता हो । एपिसोडको शैलीमा उजागर भएको भ्रष्टाचारका काण्ड हुन् ।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, विकास, समृद्धि, धर्मनिरपेक्षता, राष्ट्रवाद जस्ता तिलस्मी नारा दिँदै तथाकथित सोकल्ड नेतालाई सिंहदरबारको कुर्सीमा आसिन गराउने शक्तिले अन्ततः शिक्षित युवायुवतीलाई मुलुकमा बस्न दिएन । मुलुक बन्न चाहिने सम्पूर्ण आधारहरू एक एक गर्दै समाप्त गरेपछि मुलुक रहनुको कुनै औचित्य रहँदैन भन्ने बुझेको शक्तिले रणनीतिक ढङ्गले भिडाएको सोसल मिडिया, अनेक नामका अपरिपक्व अल्लारेहरू, झिल्के नेता र कथित एजेन्डापश्चात् नेपालीको भाग्यमा दुःख सिवाय केही पर्ने देखिएन । राष्ट्रियता, प्रजातन्त्र, सुरक्षा र समृद्धि खोज्नसमेत मुलुक छोड्नुपर्ने अवस्था कसरी र कसले सिर्जना गऱ्यो भन्ने नबुझ्ने, नसोच्ने पुस्तालाई मुलुक चाहिएको देखिएन । सामाजिक सञ्जालमा बसेर आक्रोश पोख्न माहिर आजको पुस्ताले सित्तैमा पाएको मुलुक गुमेपछि रोदन सुन्ने मानिस कतै फेला पर्ने छैन भन्ने अझै बुझ्न सकेनन् ।
मुलुकको राजनीतिक इन्जिनियरिङ भत्काइएको छ । यस्ता कुरा लेख्दा र व्यक्त गर्दा पाठकलाई निराश तुल्याएकोमा पङ्क्तिकार क्षमा चाहन्छ । सरकार र आम्दानीको भिन्नता बुझ्न ठुलो गणितीय प्रतिभा चाहिँदैन । समस्या कहाँ छ र कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा सामान्य ‘ले म्यान’ले बताउन सक्ने मुलुकमा नीति–निर्माता र सरकार किन यति धेरै निरीह बनिरहेको छ । राजनीतिक इन्जिनियरिङको एउटा मूर्खतालाई सच्याउन अर्को इन्जिनियरिङ जरुरी छ, तर त्यसतर्फ हिँड्ने जाँगर र तागत मुलुकसँग देखिँदैन । भविष्यका चुनौतीहरूको पूर्वानुमान गर्न मुलुकले छिमेकीहरूको स्वार्थ र अमेरिकी-युरोपियन युनियनको दक्षिण एसिया रणनीतिको गहिरो अध्ययन र विश्लेषण गर्नुपर्छ । कूटनीतिक सम्बन्धमा निपूर्णता गुमाएको मुलुकले अन्ततः आफ्ना सम्भावना गुमाउने छ ।
यो कटु सत्य हो, आयातित उपलब्धिलाई संस्थागत गर्ने नाममा शक्तिशालीहरूले जनताको आशा र भविष्य चोरेका छन् । समाजको चाहना र महत्त्वाकाङ्क्षा आयातित त्रासदीको फन्दामा परेको छ । तथापि, आशामा त्यस्तो शक्ति हुन्छ, जसले मुलुकलाई उचाल्न सक्छ । निराशाको जगमा मुलुक फस्टाउन सक्दैन । निराशाले आत्मालाई कमजोर बनाउँछ । आशावादीहरू लड्छन्, उठ्छन् । हारेकाहरूलाई उठ्न सक्षम बनाउने तागत आशामा रहँदै आएको छ । जब शक्तिशालीहरू कानुनभन्दा माथि बस्न चाहन्छन् । त्यस्तो मुलुकमा सर्वसाधारणको आशा घट्दै जान्छ । यथार्थमा मुलुकको कानुन अभिजात वर्गको कब्जामा परिसकेको छ । पटके परिवर्तनपश्चात् जनता ठगिँदै आएका छन् । परिश्रमीहरूका लागि अपर्याप्त अवसर, स्वास्थ्य र शिक्षाको व्यापारीकरण, शिक्षित युवायुवतीको पलायन, साधन र स्रोतको असमान वितरण, आर्थिक निराशा, बढ्दो असमानता, अयोग्यहरूलाई पुरस्कृत, नालायक व्यक्तिलाई महत्त्वपूर्ण भूमिकामा पदस्थापन र कुर्सीकेन्द्रित सङ्घर्षले मुलुक डरलाग्दो भुमरीमा फसेको प्रस्ट्याइरहेको छ ।
सर्वसाधारण जनता राजनीतिक नेतृत्वसँग कुनै आशा राख्न चाहँदैन । वैश्ययुगको कथित राजनीतिबाट वाक्कदिक्क जनताको आशा जगाउन राजनीतिक धर्म निभाउनु जरुरी छ । उनीहरूले चाहेमा बयानबाजीलाई सदा-सदाको लागि विश्राम दिँदै सक्षम व्यक्तिलाई उच्च पद र लायक स्थानमा पदस्थापन गर्नुपर्ने छ । शक्तिशालीहरू कानुनको अधीनमा बस्दै आशा जगाउन सक्छन् । कानुनको पालना गर्नु र राष्ट्रलाई अन्धकारको खाडलबाट निकाल्नु नै साँचो सम्मान हो भन्ने सोकल्ड नेतृत्वले बुझ्नुपर्ने छ । उल्लेखित कार्य सम्पन्न गर्दै नेताहरूले ठुलो सम्मान कमाउन सक्छन् । दार्शनिक नित्सेले भनेका छन्- सम्मान र महिमा जित्नका लागि नेताहरूले आफूलाई फरक ढङ्गले प्रस्तुत गर्नुपर्नेछ । किनकि यो बाटोभित्र नै महानताको बास हुन्छ । नेताहरू त्याग र समर्पणमार्फत महान् बन्न सक्छन् ।
सिंहदरबारको असफलताको फाइदा उठाउँदै चम्किएको झूटो घमन्डले जनताको भावना थप भड्काउँदै छ । सामूहिक राजनीतिको अवधारणाबाट मुक्त रहेको अराजक व्यक्तिमार्फत मुलुकवासीको कल्याण देख्ने नागरिक समाजको पूर्वाग्रह डरलाग्दो बन्दैछ । संस्थागत भ्रष्टाचार र नियामक कमजोरीहरूलाई सम्बोधन गर्ने कार्यक्रम नभएका झिल्केहरू अराजकतामा राजनीतिक भविष्य देख्दैछन् । विधि, पद्धति र कार्यक्रम निर्माण गर्दै जनताको नेतृत्व गर्नुको सट्टा अराजक अभिव्यक्ति र स्टण्टवाजीमार्फत मुलुक बदल्न हौसिँदै छन् । उनीहरू अराजकतामा मनोरञ्जन गर्दैछन् । आफ्नो गल्ती महसूससम्म गर्दैनन् । सबै दोष अरूको थाप्लोमा हाल्न मरिहत्ते गर्छन् । निजी असफलताको दोष सत्तामाथि थोपर्न हौसिन्छन् । रोबर्ट ब्राउनिङका प्रेरणादायी पङ्क्तिहरूमा अन्तर्निहित विज्ञान र कविताको फ्युजन बुझ्न पैसा र परिपक्वता चाहिन्छ । मुलुकलाई अराजकताको दलदलमा फसाउने अपरिपक्व अल्लारे र अभिजात वर्गका डिजाइनरहरूले मुलुकभित्र सुरक्षा वा विदेशमा शरण पाउँछन् । दुर्भाग्य ! सर्वसाधारण जनता लोकतन्त्रप्राप्तिको मूल्य चुकाउँदै सङ्घर्ष गरिरहन बाध्य हुनेछन् ।
दशवर्षे माओवादी ध्वंशपश्चात् थला परेको मुलुक सार्वभौम सत्ता गुमाएर उठ्ने कोसिस गरिरहेको समयमा एकसाथ आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक समस्यामा फसाउने तारतम्य मिलाईएको छ ।दुर्भाग्यवश मुलुकको दर्दनाक अवस्था, आशा गुमाएको युवा पुस्ता र केवल बाँच्नको लागि मरिरहेको सर्वसाधारण जनता अराजकतामा मुक्ति देख्दै छ । जसले गर्दा मुलुक गम्भीर दुर्घटनातर्फ लम्किँदै छ । अल्पकालीन लोकप्रियतालाई सत्ताको भऱ्याङ बनाउन हौसिएका झिल्के र अल्लारेहरूको सस्तो र खल्लो गतिविधि अराजकतावादीको इन्धन बनिसकेको छ । सोसल मिडियामा फगत ‘लाइक’ खान गरिएका अनुपयुक्त घृणास्पद टिप्पणीले मुलुकविरुद्ध लागेका शक्तिलाई थप उत्साहित बनाएको छ । सुन्दर भविष्यको कल्पना गर्दागर्दै आयातित दुर्दशा भोग्न विवश जनतालाई रोमन राजनेता सिसेरोले कसैको बारेमा एकपटक भनेका कुराहरू सही र सटिक हुन पुगेको छ- ‘उनी प्लेटोको गणतन्त्रमा बस्छन्, रोमुलस रोमका संस्थापकको खाडलहरूमा होइन ।’ हो, यतिबेला मुलुकवासी कसैको गणतन्त्रमा बसिरहेका छन् । आयातित गणतन्त्रमा तड्पिरहेका जनता ‘मिसन अराजकता’ भोग्न विवश छन् ।