आयातित त्रासदी !

भनिन्छ, असफलताको बोझ डरलाग्दो हुन्छ । वैश्य युगका युवायुवती विफलता देख्न र भोग्न रुचाउँदैनन्, असफलता हरेक स्थानमा पाइन्छ भन्ने वास्तविकता सुन्नसम्म चाहँदैनन् । उनीहरूको एकल लक्ष्य निजी स्वार्थ र आर्थिक उन्नतिमा अड्किएको पाइन्छ । जीवन केवल सुख-सयलमा बिताउनुपर्छ, जसको निम्ति मुलुक उपयुक्त स्थान होइन भन्ने उनीहरूको धारणा छ । उनीहरूको नजरमा मुलुक एक ‘स्थान’ सिवाय केही होइन । रचनात्मक प्रयास र सङ्घर्षमार्फत मुलुकभित्र अवसरहरू सिर्जना हुनेछ भन्ने सुन्न तयार देखिँदैनन् । वर्तमान पुस्ता समाजको आन्तरिक गडबडी र बदलिएको जीवनशैली देख्न सकिरहेको छैन । आयातित परिवर्तनपश्चात् शहर र गाउँको सम्बन्ध जटिल बनिसकेको छ । सामाजिक वास्तविकता थप भ्रमित र जटिल बन्दै छ ।

आजका वयस्कहरू हिजोका बच्चा थिए । उनीहरूको असुरक्षा आज मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, भ्रष्टाचार र आर्थिक अनिश्चिततामा प्रकट भएको छ । मुलुकको राजनीति रफ्तारमा बदलिँदै छ । पछिल्लो पुस्ताले मुलुकको सम्भावनामाथि विचार गर्न छोडेको छ । समाजमा भावनात्मक असुरक्षाको भावना तीव्र रूपले बढ्दै छ । मध्यम वर्गको समावेशी मानसिकतामाथि आक्रमण गरिएको छ । विगतमा बसाइएको राजनीतिक-आर्थिक जग भत्काइएको छ । पुर्खाको पुँजी र विरासतमाथि आक्रमण र अपमान गरिँदै छ । युवाको दिमागमा व्यक्तिगत र राष्ट्रिय सम्मान केवल धनबाट प्राप्त हुन्छ भन्ने मान्यता जबर्जस्ती स्थापित गरिएको छ । वास्तवमा राष्ट्रिय सम्मान प्राप्त गर्न सामाजिक मूल्यको विस्तार गर्नुपर्ने छ । पुर्खाको ज्ञानको सम्मान गर्नुपर्ने छ । आयातित त्रासदीबाट परम्परागत मूल्य र मान्यतालाई सुरक्षित गर्नुपर्ने छ । वर्तमान ग्रामीण अर्थव्यवस्था जोगाउनुपर्ने छ । दुर्भाग्यवश मुलुकले उल्लेखित बाटो हिँड्न छोडेको छ ।

नेपालको लोकतान्त्रिक विकास अनौठो छ । कमजोरप्रति लाजमर्दो क्रूरता बढ्दो छ । अप्राकृतिक राजनीतिले मुलुकको उद्धार कदापि सम्भव छैन । स्पष्ट विचारधारा र साझा दृष्टिकोणबिना मुलुकमा सुशासन ल्याउने अपेक्षा अर्को मूर्खता बन्दैछ । कमजोर व्यक्ति र समुदायको नाममा मुलुकविरुद्ध भयानक षडयन्त्र जारी छ । अपराध मौलाउँदो छ । घृणा व्यापक छ । साम्प्रदायिकता बढ्दै छ । विशेषाधिकार प्राप्त गर्न नसक्नेहरूलाई अपमान गरिएको छ । असहज हतारले धेरै कानुनहरू थला परेका छन् । वास्तविक शासन निकै कमजोर भएको मुलुकमा सीमित विकास महत्त्वपूर्ण हुँदै छ । विस्तार हुँदै गएको मध्यम वर्गीय सङ्ख्या र सामाजिक सञ्जालको डरलाग्दो प्रयोगले युवा पुस्तालाई अस्थिर बनाउँदै छ । मुलुकको शक्ति संरचनाभित्रका दरारहरूले युवायुवतीलाई चिमोट्न छोडेको छ ।

असफलता सदैव बहुमतमा हुने गर्दछ भन्ने मान्न आजको पुस्ता तयार छैन । मुलुकभित्रको बेथिति, विकृति, विसङ्ति, राजनीतिक अस्थिरता, कुशासन र व्यक्तिगत आर्थिक सफलताको सपनाले युवायुवतीलाई मुलुकमा बस्न दिएको छैन । उनीहरू मुलुक छोड्न हतारिएका छन् । दैनिक रूपमा विदेसिने तथ्याङ्क डरलाग्दो छ । बहसको विषय सङ्ख्या होइन, आजको सन्दर्भ र बढी सान्दर्भिक विषय मुलुक छोड्ने प्रवृत्ति हो । अपवादमा बाहेक सम्पूर्ण युवाहरू मुलुक छोड्न चाहन्छन् । नेपाल चिनेका विद्वानहरु भन्दैछन्-युवायुवती विदेश जाँदैछैनन्, उनीहरू मुलुक छोड्दै छन् । सत्तासँग दीर्घकालीन महत्त्व राख्ने गम्भीर प्रश्नको जवाफ खोज्ने तागत देखिएन । यसले मुलुकको दीर्घकालीन अस्तित्वमाथि गम्भीर खतरा निम्त्याउँदै छ । आयातित परिवर्तनपश्चात् सुरु भएको राजनीतिक त्रासदीको कारण खोज्ने र समाधानको उपाय अपनाउने ल्याकत मुलुकले गुमाएको देखिन्छ ।

डाक्टर र नर्स पढ्न चाहने विद्यार्थीले मुलुकमा पढ्न नपाउने, विद्यार्थीले रुचि नराख्ने विषय पढाउने कलेजले विद्यार्थी नै नपाउने अवस्था आयातित उपलब्धिको जगमा सम्पन्न गरिएको छ । नर्सरीदेखि १२ कक्षा पास गर्ने बेलासम्म मुलुकले शिक्षामा गरेको लगानी कहिल्यै नफर्किने अवस्थामा पुगेको छ । अझ डरलाग्दो कुरा वंशज नागरिक मुलुक छोड्न पाएकोमा गर्व गर्दैछन् । कलिला युवायुवतीका मातापिता आफ्ना छोराछोरी विदेश पठाउन पाएकोमा प्रफुल्ल छन् । सन्तान विदेश पठाउन नसक्नेहरू अपमानित महसूस गर्दैछन् । विदेश पलायन भएका सन्तानले विदेशी मुलुकको स्थायी कागज र नागरिकता पाएको खण्डमा देशमा पार्टी दिने फेशन सुरु भएको छ । भएका संस्था र नीति मारेर मुलुक निर्माण गर्ने राजनीतिक लफ्फाजीमा झुमेका नीति-निर्माता, राजनीतिक नेतृत्व र सरकारलाई उल्लेखित विषयले कतै पोल्दैन । कथित लोकतन्त्रको आगमनपश्चात् आयातित त्रासदीको अन्तिम एपिसोड सुरु भएको अनदेखा गर्दै आफ्नो कुकर्म लुकाउन व्यस्त छन् ।

युवायुवतीहरू मुलुक निर्माणको मेरुदण्ड हुन् । उनीहरू भविष्यका नेता हुन् । युवाले विदेशमा सेवा गर्नुभन्दा आफ्नै देशको विकासमा सहभागी हुन पाए मात्र मुलुक बन्नेछ । युवाहरू आधुनिक र कामकाजी शिक्षाको खोजीमा छन् । बेरोजगारीका कारण विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी मुलुक फर्किन हिचकिचाउँछन् । प्रतिभाशाली आइटी प्रतिभा र पेशेवरलाई मुलुकले स्वागत गर्न सकेको छैन । विकसित र धनी मुलुकका कम्पनीद्वारा दिइने आकर्षक सेवा-सुविधा दिने तागत मुलुकसँग छैन । वैश्य युगमा सिपमूलक पेशेवरहरू आर्थिक प्रलोभनसहितको प्रस्तावको पछि कुद्नु जायज छ । हाम्रो नेतृत्व र नीति-निर्माताहरूको जिम्मेवारी युवाहरूले देख्न र महसूस गर्न पाएका छैनन् । मुलुक छोड्नुको कारणहरू पत्ता लगाउने र युवालाई देशको सेवामा काम गर्न प्रोत्साहन गर्ने नीति कहिलेबाट सुरु हुन्छ भन्न सक्ने अवस्थामा सिंहदरबार छैन ।

आज महँगी अनियन्त्रित छ, आम्दानी घट्दो छ । अवसरको विभाजन अपारदर्शी र अवैज्ञानिक छ । सीमित अभिजात वर्गले राज्यका साधन र श्रोतमाथि कब्जा जमाएका छन् । शिक्षित बेरोजगारी व्याप्त छ । युवायुवती निराश छन् । सैद्धान्तिक राजनीतिको बलमा मुलुक बनाउँछौँ भन्नेहरू डुङ्डुङ्ती गन्हाएका छन् । मुलुकमा सम्भावना छैन भन्दै देश छोड्ने झिल्केहरू राजनीतिक उद्योगमा हामफालेको देख्दा वर्तमान पुस्ता थप अस्थिर बनेको छ । युवाहरूले बुझेका छन्- चर्को स्टण्टवाजीले मुलुक बन्दैन । मुलुक निर्माणको निम्ति नीति, नेतृत्व, पैसा, प्रविधि र त्याग चाहिन्छ । दुर्भाग्य ! मुलुकले आजसम्म त्यसको अनुशरण गरेन, जसले युवायुवतीलाई थप चिमोट्दै छ । विश्वविद्यालयले प्रदान गर्ने डिग्री बजारमा बिक्दैन । राज्यले शिक्षामा गरेको लगानीको अपमान गर्नु युवाको लागि गहिरो निराशाजनक अनुभव हो । काम पाएका भाग्यमानी समेत सन्तुष्ट छैनन् । न्यून तलबले उनीहरूको सामान्य आवश्यकता पूरा भएको छैन । बढ्दो आर्थिक कठिनाइ र सीमित सम्भावनाले पेसाकर्मी समेत मुलुक छोड्न आतुर छन् ।

अथाह भौतिक क्षति, आयातित उपलब्धि, निरन्तर राजनीतिक अस्थिरता, अनुत्पादक र पट्ट्यारलाग्दो परम्परागत नेतृत्व, डरलाग्दो जियो पोलिटिक्सबाट हैरान भएको शिक्षित वर्ग मुलुकमा बस्न नचाहने अर्को कारण बनिरहेको छ । विद्यमान राजनीतिक ध्रुवीकरण, आर्थिक सङ्कट र वैदेशिक चलखेलले उनीहरूलाई थप आक्रोशित बनाउँदै छ । विशेषगरी युवा वर्गमा उकालो लागेको भौतिकवादी सोचले उनीहरूलाई सताउँदै छ । युवाको नजरमा सम्मान र समृद्धि जीवनको आकाङ्क्षा हुनु स्वाभाविक छ । वर्तमान प्रणालीले उनीहरूको चाहनाको सम्बोधन गर्न सक्दैन/गरेन । वर्तमान प्रणाली र नेतृत्वले अभिजात वर्गको मात्र काम गरेकोमा उनीहरू निराश छन् । त्यसैले उनीहरू छिटो भन्दा छिटो मुलुक छोड्न चाहन्छन् ।

समस्या छ भने समाधान पनि छ । यसको सुरुवात शिक्षाबाट गर्नु अपरिहार्य छ । सिपमूलक शिक्षा सुरु गर्नु अनिवार्य छ । मुलुकमैत्री आर्थिक नीतिको निर्माण गर्नुपर्ने छ । विकासमा राजनीति बन्द गर्न न्यूनतम मापदण्ड निर्माण गर्नुपर्ने छ । स्थिर राजनीतिबिना आर्थिक क्रान्ति कठिन हुनेछ । त्यसको निम्ति दक्षिण र उत्तरसँग खुला बहस सुरु गर्नुपर्ने छ । पश्चिमको रणनीतिक स्वार्थबाट मुलुकलाई जोगाउन राष्ट्रिय नीति निर्माणको जरुरी छ । राजनीतिक सरकारहरूलाई बाँध्ने अर्थतन्त्रको चार्टर, लगानीकर्ता, व्यापारी र उद्योगीको खुला स्वागत र कानुनी संरक्षणको ग्यारेन्टी गर्नुपर्ने छ । सरल र युवामैत्री कर नीति, सजिलो व्यापार नीति, अतिरिक्त लगानी र अर्थको खुला स्वागत गर्दै रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राख्नुपर्छ । शिक्षित र अर्धदक्ष मुलुकवासी केन्द्रित उद्योग मुलुक भित्र्याउने, स्वदेशी कच्चा पदार्थमा आधारित घरेलु उद्योग खोल्नुपर्ने छ । सूचना प्रविधि क्षेत्रलाई व्यापक बिस्तार गर्नु पर्दछ । सबै तहमा छिटो र प्रभावकारी न्यायिक प्रणाली चाहिन्छ । प्रत्येक नागरिकलाई न्याय, सम्मान, मर्यादा र समान अवसरको वातावरण निर्माण गर्नुपर्ने छ । राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्ने, नेपाल निर्मित राजनीतिक प्रणालीको विकास गर्दै अनुशरण गरेमा युवा पलायनको समस्या घट्दै जाने छ ।

सामाजिक विकासका लागि शिक्षा गुणस्तरीय हुनुपर्छ । यो समतामूलक हुनुपर्छ । यो अभिजात वर्गको दमन र प्रभुत्वको औजार बन्नु हुँदैन । फराकिलो सामाजिक प्रणालीलाई सुदृढ पार्ने र सबैलाई सशक्त बनाउन सिक्ने र छनौट गर्ने अवसर दिनुपर्ने छ । समाजमा मौजुद आमासमूह लगायत सांस्कृतिक समूहलाई सरकारको आम्दानी कसरी हुन्छ भन्ने शिक्षा दिनुपर्ने छ । अदालत, कर्मचारी, नेपाल प्रहरी र जनप्रतिनिधिलाई आर्थिक राष्ट्रवादको शिक्षा दिनु पर्दछ । पीडितहरूको पक्षमा उभिने वातावरणले दिगो परिवर्तन ल्याउन सक्छ । अल्पसङ्ख्यकको अधिकारलाई तत्काल सम्बोधन गर्न जरुरी छ । सीमान्तकृत नागरिकलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । सबैखाले अतिवादको विरुद्ध समाजलाई सुसूचित गर्नुपर्छ । विदेशमा मात्र हुन्छ भन्ने सोचमा सामाजिक रूपान्तरण चाहिन्छ । कम्तीमा शिक्षा र स्वास्थ्यमा राज्यको देखिनेगरी उपस्थिति चाहिन्छ । यथासम्भव डिजिटल प्रविधिको सुरुवात गर्नुपर्नेछ । घोषणा गरिएका नीतिहरू र तिनको वास्तविक कार्यान्वयनबीचको अन्तरलाई हटाउन पर्नेछ ।

मुलुकको रणनीतिक परियोजनाहरू छिटो भन्दा छिटो सफल बनाउन जनस्तरबाट दबाब दिन जरुरी छ । समुदायको कल्याण र राष्ट्रिय अस्तित्व कायम राख्न सरकारमाथि आक्रामक दबाब सिर्जना गर्न जरुरी छ । धार्मिक, सांस्कृतिक र सामाजिक विविधता भत्काउने नालायकहरूलाई नाङ्गेझार पार्नु जरुरी छ । गरिबी र जलवायु जोखिम एउटै सिक्काका दुई पाटा हुन् । मेहनती गरिब किसानलाई खेतीपातीको निम्ति बाँझो जमिन उपलब्ध गराउनु पर्नेछ । हाम्रो जनसङ्ख्याको ठुलो हिस्सा युवायुवती छन् । उनीहरूको डरलाग्दो पलायन राजनीतिक परिवर्तनको जगमा हुँदैछ । दक्षिण-पश्चिमको रणनीतिक उपलब्धि खारेज गर्ने दायित्व देशभक्त र राष्ट्रभक्त युवाको काँधमा आएको छ । झिल्के सोच र शैलीलाई परास्त गर्न र आयातित त्रासदीलाई रोक्न युवाहरूले कठोर त्याग गर्नु जरुरी छ । एउटा सशक्त राष्ट्रिय मुक्तिको आन्दोलन लड्नुपर्ने छ । तब मात्र मुलुकको सकारात्मक यात्रा सुरु हुनेछ ।