देशभक्तहरूको अग्निपरीक्षा !

भनिन्छ, ‘कानुनको नैतिकतालाई कानुनको अक्षरबाट अलग गर्न सकिँदैन । ‘सेक्सपियरले व्यक्त गरेका छन्- सैतानले पनि आफ्नो उद्देश्यको लागि धर्मशास्त्रको बखान गर्न सक्छ । हो यतिबेला मुलुकमा अनैतिक र भ्रष्टहरूको रजगज चलिरहेको छ । भ्रष्टहरू भ्रष्टाचारको विरुद्धमा छन् । अनैतिकहरू नैतिकता र आदर्शको वकालत गरिरहेका छन् । मुलुकको विचित्र अवस्था देख्दा जनता निराश र आक्रोशित छन् । अभिजात वर्ग मक्ख र ढुक्क छ ।

मुलुकलाई पुर्खाको आदर्श र आधारभूत नैतिकताको खाँचो छ । निजी स्वतन्त्रता र व्यक्तिगत अराजकतालाई सार्वभौम मान्ने पश्चिमा सोच संविधान र कानुनभन्दा माथि बस्न हौसिएको छ । समान व्यवहार या कानुनको समानता कागजमा सीमित छ । समाजमा नियमको प्रयोगलाई निष्पक्ष बनाउने प्रावधान या मापदण्ड थला परेका छन् । विशेष मानिस र विशेष हस्तक्षेपले लोकतन्त्र पीडित छ ।

आन्तरिक एकताबाट मुलुकको शक्ति कायम रहन्छ भन्ने बिर्सेको नेतृत्वले विदेशीको आशीर्वादमा देखेको सुखद भविष्य दुर्भाग्यमा परिणत भइसकेको छ । कथित परिवर्तनको नाममा स्थापित संस्था कमजोर बनाएको सजाय मुलुकले भोग्दै छ । सात सालदेखि ०६२/०६३ सम्म सुपर हिट बनेका कथाहरूको म्याद सकिएको छ । विषाक्त कथाहरू लोकप्रिय बनाउने खेल उत्कर्षमा पुऱ्याइँदै छ । राजनीतिक पुँजी बाँड्न नचाहने सम्भ्रान्तहरू कथित तर्कले सङ्कटको समाधान गर्ने असफल कोसिस गर्दैछन् । सत्ताले जनताको प्रभावशाली समर्थन गुमाउँदै छ । खुस्किएको आत्मविश्वासले राजनीतिमा सङ्कट थप्दै छ । आफूभन्दा चतुर कोही छैन भन्ने गलत धारणामा बाँचेका सोकल्ड शीर्ष नेतृत्व राजनीतिक अराजकता, आर्थिक र कूटनीतिक चुनौतीले थला पर्दैछन् ।

भ्रष्टाचार र राजनीति अलग कुरा हुन् । तर वैश्य युगको राजनीतिले भ्रष्टाचारलाई अभिन्न अङ्गको रूपमा स्वीकार गरेको छ । राजनीतिक पण्डितहरू भ्रष्टाचारका प्रकरणमा प्रतिशोधको नाटक गर्दै मेलमिलापको वातावरण सम्पन्न गरेका छन् । लोकतन्त्रलाई शीर्ष नेतृत्वले आफ्नै दायराभित्र सीमित गरेको अवस्थामा मुलुकवासीले देख्ने र भोग्ने यस्तै हो भन्नेमा भुक्तभोगीहरू विश्वस्त छन् । संविधानले स्थापित गरेका संस्था र संवैधानिक अङ्गमा पुऱ्याइएका सेवकहरूले कथित शीर्ष नेतृत्वको सेवामा दिनरात एक गरेको सजाय मुलुकले भोगिरहेको छ । समयमा आफ्नो योग्यता, क्षमता, कानुन र संविधानको पालना गराउन अल्छी गर्ने सत्तासीनहरू हरेक सङ्कटमा अवसर खोज्दै छन् । आफूलाई जान्ने र चतुर राजनीतिक खेलाडीको रूपमा व्यवहार गर्ने, त्यही ढङ्गको स्टण्टवाजी गर्ने झिल्केको राजनीतिक प्रयोगले डरलाग्दो अनिष्ठको सङ्केत गरिरहेको छ ।

चरम पन्थले समाजको सोच्ने क्षमतालाई नष्ट गर्छ । डोनर कन्ट्री र अभिजात वर्गले पावर गेम खेल्दैछ । खेलिरहेको छ । उनीहरूले आफ्नो फाइदाको निम्ति जनताको समर्थन प्रयोग गरिरहेका छन् । यदि जनताले प्रणालीप्रतिको आशा गुमाए या दर्शक मात्र बने भने उनीहरूको स्वार्थमा गम्भीर नोक्सानी निम्त्याउने छ । राजनीतिक विश्लेषकहरूले भन्दै आएका छन्- खण्डित अभिजात वर्ग अतिवाद भन्दा खतरनाक हुन्छ । खाइपाइ आएको सुविधाबाट वञ्चित हुन पुगे उनीहरू परिवर्तन या सत्ताको विरुद्ध एकजुट हुनेछन् ।

वैश्ययुगमा मुलुकले सूचना, ज्ञान र बुद्धिबीचको भिन्नता छुट्टाउन छोडेको छ । शक्तिको बलमा उचाइ बढाएका नेताहरूले सर्वसाधारणको अधिकारसँग खेल्न हौसिँदा उसको शक्ति घटेको छ । सत्ता मार्फत गरिएको अतिरिक्त आर्थिक उन्नति अर्थात् भ्रष्टाचारले खलबली मच्चाएको वर्तमान समयमा समग्र बौद्धिक समुदाय चिन्तित बन्दैछ । कुर्सी केन्द्रित राजनीतिको विशेषता मात्र हाबी हुँदा सिद्धान्त र विचारधाराप्रतिको प्रतिबद्धता इतिहास बनेको छ । मुलुकमा बौद्धिक विचार जन्मिँदै-मर्दैछ । बौद्धिक विचारलाई व्यवहारमा बेवास्ता गर्ने समूह राजनीतिमा हाबी हुँदैछ ।

कम्प्युटरमा आधारित प्रविधि जसले भर्चुअल सञ्जाल र समुदायको निर्माणमा महत्त्वपूर्ण स्थान जमाउँदै छ । जसको कारण राजनीति सामाजिक सञ्जालको नियन्त्रणमा पुग्दैछ । समकालीन साइबर संसारमा जीवनका सबै पक्षलाई प्रभाव पार्ने क्षमता उकालो लागिरहेको छ । विचार र सूचनाको आदानप्रदानले परम्परागत राजनीति रक्षात्मक बन्दैछ । अखबारका लेख, ब्लग, सङ्गीत र पोडकास्टहरूले राजनीतिलाई नमिठो धक्का दिँदै छ । सामाजिक सञ्जाल सूचनाको सङ्कलन र वितरणमा उदार र प्रस्तुतिमा उग्र बन्दैछ । सामाजिक सञ्जालमा पोखिएका असन्तुष्टिले वर्गहरू बीच गुम्सिएका भावना बुझ्न सकिन्छ । यद्यपि परम्परागत नेतृत्वले यसको प्रभाव र असरलाई नजरअन्दाज गरिरहेको छ ।

मिडिया या सञ्जालका आधारभूत कमजोरीतर्फ औँला उठाएर नेतृत्वको राजनीतिक आयु कदापि लम्बिने छैन । सामाजिक अन्तर्विरोध चर्केको समयमा विदेशीको चलखेल थप बढ्दैछ । फेसबुक, ट्विटर र इन्स्टाग्राम जस्ता प्राविधिक दिग्गजहरू सोसल मिडियामार्फत रणनीतिक र प्रतिगामी एजेन्डा फैलाउन दिनरात एक गरिरहेका छन् । गम्भीर गोपनीयता र डाटा सुरक्षा गर्न नसक्ने मुलुकमा नयाँ-नयाँ समस्या आइरहने छ । बनिबनाउ मुद्दाहरूको बस्तुगत सम्बोधन गर्न नसक्ने राजनीतिक अवस्था पश्चात् दलीय नेतृत्व मिडियासामु लम्पसार पर्दैछ । पछिल्लो समयमा हाम्रो विवेक र दृष्टिकोणलाई चिमोट्न तम्सिएको सामाजिक सञ्जालको जनअपिल अभूतपूर्व छ ।

मानिसहरू परिवर्तनका भोका थिए, छन् र रहनेछन् । उनीहरूले निरन्तर कुनै न कुनै रूपमा परिवर्तन ल्याएका छन् । वैश्ययुगले ल्याएको विकास र नैतिक ब्रह्माण्डमा आएको परिवर्तनले सर्वसाधारणलाई थप दिग्भ्रमित गरिरहेको छ । पछिल्लो कालखण्डमा मानिसहरूको नैतिक धारणामा भ्रम, अनिश्चितता र अस्पष्टता प्रवेश गरेको छ । जसको कथित रूप सामाजिक सञ्जालमा देख्न पाइन्छ । प्रख्यात अर्थशास्त्री ओस्कर लान्जले पुँजीवादको स्थिरतामा समाजवादको अस्तित्वको प्रभाव रहेको बताएका छन् । उनको बुझाइमा दोस्रो विश्वयुद्धपछि विकसित पुँजीवादी देशहरूमा कल्याणकारी राज्यलाई शासक वर्गले स्विकारेको कुरा धेरै हदसम्म समाजवादी खतराको प्रतिक्रिया थियो । असमानतावादी विचारधाराको विजयलाई सोभियत सङ्घको पतनले थप हौसला पुगेको छ । सोभियत समाजवादको पतनले मात्र एकाधिकार पुँजीवादको दबदबा कायम राख्न मुस्किल हुने बुझ्नासाथ विश्व पुँजीवादले अनेक उपायको उत्पादन गरिरहेको छ ।

मिडिया र बुद्धिजीवीहरू सत्तासँग अघोषित सहकार्य गरिरहेका छन् । अहिले मुलुक र व्यक्तिका प्राथमिकतामा परिवर्तन आएका छन् । पुँजीवादले व्यक्तिका आवश्यकताहरूको सम्बोधन गर्न नयाँ प्रविधिको विकास गरेको छ । सामाजिक सञ्जाल त्यसैको अङ्ग बनेर उदाएको छ । सोसल मिडियाले मुलुकमा ‘सही र गलत’को परिभाषा बदलेको छ । जसले गर्दा समाजको सन्तुलन हराएको छ । मानिसहरूको बिचमा असहमतिको कारण सोसल मिडिया बन्दैछ । बौद्धिक आधिपत्य भएको समाजमा असमान आर्थिक विकास सम्भव हुँदैन । तर, गरिब मुलुकमा असमानता नै राजनीतिको ऊर्जा बन्ने गर्दछ । गरिबलाई कर लगाउने र धनीलाई मुलुकको स्रोत र साधन उपलब्ध गराउने राजनीतिक परिवर्तनले नैतिक अपमानलाई निम्त्याउने छ ।

सामाजिक विश्लेषण र पूर्वधारणा बिचको फरकले नैतिक भ्रम पैदा गर्छ । समाजवादी दृष्टिकोणको पतनले सामाजिक स्तरमा नैतिक दुविधालाई बल प्रदान गर्छ । सामाजिक सोच र वर्गीय अन्तर्विरोधले नैतिक सन्तुलनमा खलबली ल्याउँदै छ । समाजवादी दृष्टिकोणको पतनले नैतिक संवेदनालाई मौन बनाएको छ । भारतीय प्रोफेसर अमर्त्य सेनको बुझाइमा उत्तर-समाजवादी संसारले श्रमजीवी जनताको जीविकोपार्जन र अधिकारहरूमा यति ठुलो प्रहार गरेको छ कि परम्परागत अर्थमा ‘भ्रष्टाचार’ सानो परिवर्तन जस्तो देखिन्छ ।

डिजिटल मिडिया अन्तर्राष्ट्रिय वित्तीय पुँजीको समान शक्तिशाली छन् । मानवीय मूल्य मान्यतालाई जोगाउने, गरिबका बारेमा चासो व्यक्त गर्ने सञ्जाल शक्तिहीन बनाउने खेल सत्ताले गरिरहेको छ । अर्थतन्त्रमा अन्तर्राष्ट्रिय वित्तीय पुँजीको आरोहण र मिडियाले गरिब वर्ग थप अस्थिर बन्दै छ । ‘राजनीतिक वर्ग’ले गुमाएको विश्वसनियताको कारण समाजले ‘डिजिटल मिडिया’लाई अथाह विश्वाससहितको जिम्मेवारी सुम्पिएको छ । यद्यपि आफ्नो भूमिकाबाट सामाजिक सञ्जाल भड्किँदै छ । चरम भ्रष्टाचार, आर्थिक मन्दी र ठुलो बेरोजगारीको बिचमा राजनीति सधैँ रक्षात्मक बन्न पुग्छ । यस्तै अवस्था र लोकतन्त्रको औपचारिक संरचनामाथि प्रश्न उठेको समयमा नव उदारवादी एजेन्डा थप सल्बलाउँदै छ ।

विश्व पुँजीवादले रणनीतिक शब्दको विकास गरेको छ- ‘पुँजी’ ! यो शब्दले संसारभरका पुँजीपतिहरूको सेवामा एकल निर्णय गर्ने एउटै निकायलाई जनाउँछ भन्ने विश्लेषकहरूको दाबी छ । प्रतिगामी नीतिहरूले विकास गतिलाई मद्दत गर्छ । ‘आर्थिक सुधार एजेन्डा’ लागु गर्न या सुरु गर्न सोसल मिडिया शक्तिशाली हतियार बन्न सक्छ । ब्रेटन वुड्स संस्थाहरूले यस तर्कलाई प्रचार गर्छन्, किनभने उनीहरू विश्वव्यापी वित्तको आन्दोलनमा आफ्नो पकड जमाउन चाहन्छन् । सोसल मिडियाले दर्शकहरूको लागि चाहिने ठाउँ र दृश्य कसरी सिर्जना गर्न सक्छ भन्ने लेखक-आलोचक जेसन स्टेनहाउरले उल्लेख गरेका छन् ।

व्यापक, शक्तिशाली र सबै समाहित सोसल मिडियाले परिवर्तनको भूमिका निभाउँदै छ । विश्वव्यापीकरणको सुरक्षाको निम्ति सामाजिक सञ्जाल/नयाँ मिडियाको प्रयोग गरिँदै छ । समाचार, राजनीति, व्यावसायिक गतिशीलता, गलत सूचना, विकृति, इतिहास, समाजको भूमिका र धारणा सामाजिक सञ्जालका खुराक बनिरहेका छन् । राजनीतिक एजेन्डा र व्यावसायिक एजेन्डाबीचको राजनीतिलाई प्रयोगकर्ताले बुझ्न नसक्दा सामाजिक सञ्जालको दुरुपयोग अनियन्त्रित बन्दै छ । विषय बस्तुको सत्यता र शुद्धता भन्दा प्रविधिमा विशेषाधिकार जमाएर बसेको पुँजीवादले सामाजिक सञ्जालको रणनीतिक बिस्तार गरिरहेको छ । फलस्वरूप युवायुवतीमा सामाजिक सञ्जालको प्रभुत्व, असर र प्रभाव नयाँ चरणमा पुऱ्याइएको छ ।

अन्तमा, भारत र अमेरिका, भारत र तत्कालीन माओवादीबीचको कार्यगत एकतापश्चात् सम्पन्न १२बुँदे सम्झौताको असली ‘फल’ अमेरिकाले मात्र खाएको वर्तमान भारतीय सत्ताले महसुस गर्दा १२ बुँदेको रापताप सकिएको छ । वैदेशिक ऋण बढ्दै गएको, मुलुक रेमिट्यान्सले बाँचिरहेको, वंशज नागरिक मुलुक छोड्न हौसिएको विषयमा प्रफुल्ल भए पनि नेपालको सनातन धर्म अझै बलियो रहेको, आफूद्वारा पालितपोषित पुराना खेलाडीहरू डुङडुङ्ती गन्हाएको अवस्थामा तयार गरिएको विकल्पप्रति भारतको समर्थन रहनेमा अमेरिका ढुक्क हुन सकेन । देशभक्तहरू ब्युँझिएको, सर्वसाधारणको भ्रम टुटेको, सोकल्ड शीर्ष नेतृत्व र भ्रष्टहरूको मनोबल गिरेको, संविधानको निरन्तरतामा भारत-चीनको दृष्टिकोण बदलिएको पछिल्लो अवस्थामा मुलुकको राजनीति थप तरल बन्न पुगेको छ । अङ्गीकृत नागरिकलाई वंशज बनाउन बाध्य सरकारलाई दिल्लीमा स्वागत गरिए पनि मुलुक यथास्थितिमा चल्न सक्ने अवस्थामा छैन । दक्षिण-पश्चिमको कथित उपलब्धिले मुलुक र मुलुकवासीको कल्याण नगर्ने पुष्टि भइसकेको छ । सही अर्थमा जनता र मुलुकलाई सार्वभौम सत्ता सम्पन्न बनाउन या राष्ट्रिय मुक्तिको निम्ति एउटा विद्रोह, जनआन्दोलन या क्रान्ति अनिवार्य छ । जसको नेतृत्वसमेत दक्षिण-पश्चिमले गर्ने खतरा चुलिँदा देशभक्तहरूको अग्निपरीक्षा सुरु भएको छ ।