‘नहुष’हरूले डुबाएको मुलुक !
भनिन्छ, मुसाको अँजुली थोरै अन्नले भरिन्छ । कायर व्यक्ति सानै कुराले सन्तुष्ट हुन्छ । सानो नदी थोरै पानीले भरिन्छ । उल्लिखित भनाइ हाम्रो मुलुकमा अर्थहीन हुँदै गएको चरितार्थ पार्ने घटना सर्वसाधारण जनताले सुन्न र देख्न पाएका छन् ।
महान् तपस्वी ‘त्वष्टा’ले कडा तपस्यामार्फत ‘विश्वरूप’ नामक पुत्र जन्माए, जुन पछि गएर त्रिशिराको नामले प्रसिद्ध भए । त्रिशिराको अथाह शक्ति देखेर स्वर्गका प्रधानमन्त्री इन्द्र अत्तालिए । इन्द्रले त्रिशिराको शक्ति नष्ट गर्न अप्सराहरूको प्रयोग गरे । दुर्भाग्य ! कुनै पनि अप्सराले त्रिशिरालाई प्रभाव पार्न सकेनन् । दुर्बल भए पनि शत्रुलाई कमजोर आँक्नु हुँदैन भन्ने नीतिअनुरूप इन्द्रले त्रिशिरालाई भौतिक रूपले समाप्त गर्न बज्र प्रहार गरे । त्रिशिरा मारिए तर उनको तीन वटा शिर अलग-अलग गर्न एउटा दाउरेलाई इन्द्रले आदेश दिए । दाउरेको प्रहारपश्चात् अलग गरिएको त्रिशिराको तीन शिरबाट तीन वटा पंक्षी निस्कियो । त्रिशिराको शिरबाट निस्किएका पंक्षीले इन्द्रद्वारा ब्रह्महत्या गरेको हल्ला फैलाए ।
इन्द्रले बिनाकारण पुत्रको हत्या गरेको थाहा पाएपछि त्वष्टा ऋषिले इन्द्रलाई मार्नको निम्ति यज्ञमार्फत वृत्रासुरलाई उत्पन्न गरे । पिताको आदेश अनुसार वृत्रासुरले स्वर्गमा इन्द्रसँग भयङ्कर युद्ध गरे । युद्धमा इन्द्र पराजित हुँदा देवताहरू विष्णुको शरणमा पुगे । विष्णुले इन्द्र र वृत्रासुरबीच सन्धि गराउन देवताहरूलाई सिकाए । अन्ततः वृत्रासुरले इन्द्रसँग सन्धि गर्न तयार हुँदै युद्ध रोके । केही समयपश्चात् इन्द्र र विष्णुले छलकपट गर्दै वृत्रासुरको हत्या गर्न सफल भए । परन्तु ब्रह्महत्याबाट डराएका देवराज इन्द्र स्वर्गबाट अदृश्य भए । इन्द्र अदृश्य भएपछि स्वर्गमा देवता र ऋषिहरूले आयुपुत्र नहुषलाई प्रधानमन्त्रीको पदमा आसीन गराए । सत्ताको नसामा चुर हुँदै नहुषले इन्द्र पत्नी इन्द्राणीलाई जबर्जस्ती आफ्नो बनाउने कोसिस गरे । जसको कारण उनी सत्ताबाट विमुख हुन पुगे ।
यतिबेला मुलुकले नहुषहरूको ताण्डव देख्न पाएको छ । तत्कालीन दरबारको कमजोरी र दक्षिण-पश्चिमको रणनीतिक स्वार्थअनुरूप जन्माइएका नहुषहरूले गरेको गद्दारीले मुलुकको शिर झुकेको छ । सार्वभौम सत्ताको एकल प्रयोग गरिरहेको तत्कालीन दरबारले प्रजातन्त्र र राष्ट्रियतालाई बराबर महत्त्व दिन नसक्दा सत्तामा पुग्न सफल नहुषहरूले मुलुकलाई दोहन गर्नु एक मात्र लक्ष्य रहेको बुझ्दै गर्दा सर्वसाधारण जनताको रगत उम्लिएको छ । विकास, सुशासन र समृद्धिको सपना छर्दै सत्तामा पुग्न सफल नहुषहरूले मुलुकको खेतबारी बाँझो राख्दै जनताको हातमा पासपोर्ट थमाउँदा पनि मुलुकवासीले उनीहरूलाई शङ्काको सुविधा दिएका थिए । मुलुक बनाउनु, जनतालाई राहत, न्याय र अवसर दिनुको सट्टा संविधान र कानुनको पालना गर्ने/गराउने गृहमन्त्रालय युवायुवतीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै लुट्न तम्सिएको घटनाले लोकतन्त्रको अनुहारमा मोसो दलेको छ । पूर्व गृहमन्त्रीका सल्लाहकार, बहालवाला सचिव, पूर्व उपप्रधानमन्त्रीपुत्रको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व गृहमन्त्रीका सल्लाहकारको पुत्र र पूर्वउपप्रधानमन्त्री एवम् पुर्व माओवादी हाल एमालेसचिव फरार छन् । यसले एमालेअध्यक्षलाई चैनसँग बस्न दिएको छैन । उनी पटक-पटक प्रधानमन्त्री प्रचण्डलाई भेट्न बाध्य भएका छन् । यस घटनाको गहिरो अनुसन्धान हुँदा नहुषहरूको साम्राज्य भताभुङ्ग हुने सम्भावना उच्च छ ।
राजनीतिक संरक्षणमा सम्पन्न भएको कथित ठगीधन्दामा संलग्न सम्पूर्ण नहुषपुत्रहरू जेल जान्छन् भन्ने कुरामा सर्वसाधारण जनताले विश्वास गरिसकेका छैनन् । यो काण्ड केही समयपछि सामसुम हुनेछ र अर्को प्रकरण प्रारम्भ हुनेछ भन्नेमा पुरै मुलुक विश्वस्त छ । अझै केही राजनीतिकर्मी र कर्मचारी तानिन सक्ने यस घटनालाई नहुषहरूले लेनदेनको आधारमा सेटल गरेमा आश्चर्य मान्नुपर्दैन । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र कर्मचारीतन्त्रको सञ्जाललाई नेपाल प्रहरीले तोड्न सक्ने अवस्था मुलुकमा छैन ।
०४६ को परिवर्तनपछि प्रधानमन्त्री बन्न सफल कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाबाहेक आजसम्म सिंहदरबारको कुर्सीमा बस्न सफल नहुषहरूले मुलुकको दोहन मात्र गरेका छन् । पापको घैँटो बोकेर जन्मिने सरकारको नयाँ-नयाँ प्रकरणहरूले जनता वाक्कदिक्क छन् । कुर्सीमा पुग्नासाथ अनेक थरिका नहुषहरूले घटाएका कथित काण्डहरूले मुलुक र लोकतन्त्रलाई कप्लक्कै निल्ने अवस्थामा पुगेको छ । गिरिजा प्रसादको आगमनपश्चात् लाउडा, धमिजा काण्डबाट सुरु भएको कथित भ्रष्टाचारका चर्चित घटनाहरू नेपालीको आँखामा घुमिरहेका छन् । अनुसन्धान गर्ने निकाय र व्यक्तिले आँखा चिम्लेका असङ्ख्य काण्डमध्य वाइडबडी, एनसेल लाभकर, ३८ क्विन्टल सुन, यति, ओम्नी, गिरीबन्धु टिस्टेट, सेक्युरिटी प्रेस खरिद प्रकरण र ७० करोड काण्ड, अरुण-३ काण्ड, पशुपति सुनकाण्ड, सार्वजनिक जग्गा दर्ता काण्ड, इम्बोस्ड नम्बर प्लेट काण्ड, ललिता निवास काण्ड, मातातीर्थ जग्गा काण्ड, बुढीगण्डकी कमिसन काण्ड, क्यान्टोनमेन्ट काण्ड, फुटेज काण्ड, चकलेट काण्डका नहुष, नहुषपुत्र, उनीहरूका दाहिने/देब्रे हातलाई समात्ने हो भने मुलुकको राजनीति तत्काल ९० प्रतिशत सफा हुनेछ ।
माने पनि नमाने पनि राणाहरूको पिँजडाबाट आफ्नो परिवारलाई मुक्ति दिने बहानामा राजा त्रिभुवनले मुलुकलाई दक्षिणको पोल्टामा हालेको राजा महेन्द्रले सुधार्ने कोसिस गरे । शीतयुद्धको फाइदा उठाउँदै मुलुकको पहिचान सृजना गर्न तत्कालीन समयमा राजा महेन्द्रले पश्चिमको केही स्वार्थलाई स्वीकार गरे । राजा वीरेन्द्रले स्वीकार गर्न नचाहेको ‘बनाना रिपब्लिक’लाई राजा त्रिभुवनकै शैलीमा राष्ट्रियताभन्दा कुर्सी ठुलो मान्ने दलीय नेतृत्वले स्वीकार गर्दा मुलुकको प्रजातन्त्र मारेर लोकतन्त्र ल्याइएको बुझ्न अत्यावश्यक छ ।
०४६ को परिवर्तनपश्चात् काङ्ग्रेस प्रजातन्त्र भन्दा पर नजाने बुझ्नासाथ माओवादी हिंसाको रणनीतिक प्रयोग मुलुकले भोग्न बाध्य बनाइयो । भर्खरै स्थापित हुन थालेको काङ्ग्रेसलाई माओवादीमार्फत आक्रमण गर्न लगाउनुको अर्थ राष्ट्रियता भन्दा कुर्सी ठुलो बनाउनु थियो भन्ने गिरिजाप्रसादले अनदेखा गरिदिए । अन्ततः गिरिजा प्रसादको वीभत्स प्रयोग गर्दै राजा महेन्द्रले खोसेको अधिकार दक्षिण-पश्चिमले बाँडीचुँडी खान राजी भयो । रिमोटमार्फत चल्न तयार नहुषहरूलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउँदै कथित उपलब्धिसहितको संविधान भिडाइयो । भागबन्डा र बाँडीचुँडी खाने राजनीतिलाई संस्थागत गर्न संविधानमा चलाखीपूर्वक समानुपातिक निर्वाचन पद्धति राख्न लगाइयो र मुलुकलाई दीर्घकालीन रूपले अपाङ्ग बनाइयो ।
दक्षिण-पश्चिमको उपलब्धिले भरिपूर्ण संविधान जारी हुनासाथ संविधानभित्रका कथित विषय बस्तुबाट जनतालाई गुमराहमा राख्न डाक्टर बाबुरामलाई तराई/मधेस झारियो । तराइमा रणनीतिक हिंसा भड्काइयो । भारतीय प्रधानमन्त्री मोदी र भारतलाई बदनाम गराइयो । ओलीलाई खतरनाक राष्ट्रवादी बनाइयो । छोटो समयमा काङ्ग्रेस-माओवादीलाई मिलाइयो । सिद्धान्त र वर्गीय राजनीतिलाई भताभुङ्ग बनाइयो ।
केवल खानकै निम्ति पुनः ओली-प्रचण्ड गठबन्धन निर्माण गर्दै नेकपा निर्माण गराइयो । अथाह शक्तिसहित सत्तामा पुगेको वामशक्तिलाई देश र जनताको पक्षमा काम गर्न भन्दा भ्रष्टाचारमा डुबाउन सबै ढङ्गले सहयोग पुऱ्याइयो । अन्ततः ओलीको लोकप्रियता समाप्त गर्दै नेकपा भत्काइयो । ओली, देउवा, प्रचण्ड, माधव, झलनाथलाई पखाल्दै एमसिसी सम्झौता अनुमोदन गराइयो । मुलुक निर्माणको एकल अभियानमा हिँडेका व्यक्ति र दलहरू नहुष र नहुष पुत्रहरू उत्पादन गर्ने कारखानामा परिणत गरियो । ततपश्चात् रणनीतिक ढङ्गले यहुदी रक्षाको निम्ति ‘इजरायल’ जन्माएकै शैलीमा रास्वपाको जन्म गराइयो ।
स्थापित व्यक्ति र संस्थालाई बदनाम बनाउँदै नयाँमार्फत आफ्ना स्वार्थ पूरा गर्ने रणनीति करिब सफलतातर्फ लम्किँदा मुलुक नयाँ द्वन्द्वको दिन कुरेर बस्दै छ । सत्तालाई कामै गर्न नसक्ने अवस्थामा पुऱ्याउँदै निर्माण गरिने नयाँ सत्ताले जन्माउने अपराधका नयाँ प्रकरणहरूले जनतालाई थप निराश बनाउने निश्चित छ । सुनियोजित रूपमा घट्ने/घटाइने अपराधको अनुसन्धान अस्थिरताको बीचमा नतिजा दिन असफल हुनेछ तर प्रचारमुखी उल्लिखित घटनाले राजनीति र कर्मचारीतन्त्र थप बदनाम बन्ने छ । सर्वोच्च अदालत र अख्तियारलाई बन्धकमा राखेर खोजिने कानुनी शासनले गर्ने भनेकै जनतालाई निराश बनाउने र कथित राजनीतिक नेतृत्वमार्फत आफ्नो फाइदा लुट्ने मात्र हो भन्ने विदेशीले राम्रोसँग बुझेको छ ।
औचित्यहीन र अराजनीतिक सत्ताले ‘ब्ल्याकमेलिङ’मार्फत आफ्ना कमजोरीलाई सम्बोधन गर्ने कोसिस गर्ने छ । संसदीय अङ्कगणितअनुसार ३२सिटे प्रधानमन्त्रीले काङ्ग्रेसको समर्थनबिना कुनै पाइला चाल्न सक्ने छैन । सरकार टिकाउने या ढाल्ने खेल काङ्ग्रेसको हातमा टिकेको अवस्थामा प्रचण्डले क्रान्तिकारी सत्ता चलाउने कल्पना जुनमा बिस्कुन सुकाएजस्तै हो । प्रचण्ड, देउवा, ओली, माधव या कुनै झिल्के प्रधानमन्त्री भए पनि उनीहरूको संरक्षक तिनै शक्ति हुन्, जसले मुलुक निर्माण गर्न कदापि दिने छैनन् । यसको पुष्टि हुँदै आइरहेको छ । सजिलै बुझ्न वर्तमानको संविधान र राजनीतिक प्रणाली काफी छ ।
मुलुकमा राजनीति औपचारिक रूपमा कोमामा छ । मूल्य, मान्यता र सिद्धान्तको हत्या नहुषहरूले गरिसकेका छन् । राजनीति नाफामुखी उद्योगमा स्थापित भइसकेको छ । भ्रष्टाचार योग्यता भएको छ । दलीय मुखियाहरूले आफ्नो उद्योगलाई दीर्घकालसम्म कायम राख्न निर्माण गरेका असङ्ख्य सङ्गठनहरू लुटको धन्दामा लिप्त छन् । दलीय कार्यकर्ताको सम्बन्ध जनतासँग टुटेको छ । उनीहरू दलीय नहुषलाई परिक्रमा गरेर पेट पाल्दैछन् । राजनीति गर्ने मानिसको इज्जत घट्दो छ । सैद्धान्तिक निष्ठा, मूल्य र नैतिकताको कुरा गर्ने मानिसहरू राजनीतिबाट किनारामा पारिएका छन् । मुलुकले दलाल पुँजीवाद र भ्रष्टहरूको कब्जाबाट फुत्किने कोसिससमेत गर्न छोडिसकेको छ ।
कोमल र सत्य वचन बोल्ने व्यक्तिलाई पापी र मूर्ख व्यक्तिले शक्तिहीन सम्झन्छन् । यस तथ्यलाई नहुषहरूले शक्तिमा बदलेका छन् । पार्टीकब्जालाई राजनीति-कब्जा ठान्ने नहुषहरूले परिवर्तनशील संसारलाई स्थिर राख्ने असफल कोसिस गरिरहेका छन् । सत्ता र कुर्सीको निम्ति आफ्नै इतिहासमाथि भद्दा मजाक गर्न हौसिएको नेतृत्वले कुबेर बन्ने तथाकथित मार्ग रोजेका छन् । धनाढ्य ‘कुबेर’ले सम्पूर्ण पृथ्वी दिँदा पनि मुचुकुन्दले स्वीकार गरेनन् । आफ्नै शक्ति र पराक्रमले राज्यको उपभोग गर्ने हिम्मतले भरिपूर्ण थिए, मुचुकुन्द । सिन्धुराजबाट पराजित पुत्र सञ्जयलाई माता विदुलाले सङ्घर्ष गर्न सिकाएकी थिइन् । आफ्नो गर्भलाई दोष दिँदै पुत्र सञ्जयलाई कायर भएर शत्रुको हर्ष बढाएको भन्दै मानव कल्याणको निम्ति युद्ध गर्न तयार गरेकी थिइन् । त्रिशिरा लोभिएन, बिकेन त्यसैले उ मारियो । नहुषले सबै कुरो बुझ्दाबुझ्दै इन्द्रपत्नीमाथि कुदृष्टि लगाउँदा सत्ताबाट विमुख हुन पुग्यो । दुर्भाग्य ! वैश्य युगमा नहुष र नहुषपुत्रहरू तमाम कुरामाथि नजरअन्दाज गर्दै मुलुक डुबाउन मरिहत्ते गरिरहेका छन् ।