पुँजीवादले बुझेको छ- अब जे गर्छ ‘एआई’ले गर्छ !
दार्शनिक मार्क्सको बुझाइमा कुनै पनि राज्य संयन्त्रको मुख्य काम शासक वर्गको शक्तिलाई कायम राख्नु हो । पुँजीवादले वर्गहरू बीचको विभाजनमा आफूलाई सुरक्षित गर्दै आएको छ । आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै कामदारहरूलाई अलग-अलग बनाउनु उसको रणनीति हो । सबै वर्ग सङ्घर्ष पुँजीवादका लागि खतरा बन्दैन । आर्थिक सङ्घर्षले समग्र श्रमिक वर्गलाई विभाजन गरेर कमजोर बनाउन सकिन्छ भन्ने विश्व पुँजीवादले राम्रोसँग बुझेको छ । ऐतिहासिक प्रक्रियामा वर्ग महत्त्वपूर्ण रहे पनि विज्ञानको चमत्कारिक विकास अगाडि उसको उपस्थिति निरीह बन्दै गइरहेको छ । वर्तमान वैश्य युगमा उत्पादनको निम्ति मेसिनको अत्याधुनिक प्रयोग हुँदै गर्दा मानवश्रमको आवश्यकता र महत्त्व मार्क्सले सोचेअनुरूप रहेन । पछिल्लो कालखण्डमा पुँजीपति एवम् सर्वहाराबीचको सम्बन्ध केवल नगदमा सीमित हुन पुग्दा उनीहरूबीच विगतमा रहेको भावनात्मक, सांस्कृतिक एवम् परम्परागत सम्बन्धमा खिया लागेको छ ।
इतिहास लाखौँ विद्रोह र विद्रोहीहरूले भरिएको छ । अदभूत व्यक्तिगत कथा, प्रेरणादायक सामाजिक आन्दोलन र प्रणालीविरुद्ध गरिएका विद्रोहहरूले आम मानिसलाई सन्तुष्टि दिन नसक्दा संसार पुँजीवाद र समाजवादको अन्त्यहीन लडाइँमा फसेको छ । संसार परिवर्तन गर्न चाहनेहरू समान विचारधारा भएका मानिसको खोजी गर्दैछन् । शोषण र उत्पीडन रोकिएको छैन । विश्वव्यापी राजनीतिमा परम्परागत सोच र दक्षिणपन्थी अवसरवादलाई रक्षात्मक बनाउँदै पुँजीवादीले कृत्रिम बुद्धिमत्ता (एआई)को विकास गरेको छ । एआईको अकल्पनीय विकाससँगै ‘मानव निरीक्षण र नियन्त्रण’को खतरा चुलिएको छ । एआई एउटा यस्तो प्रविधि हो जसले मानव-जीवनमा गम्भीर परिवर्तन ल्याउँदै छ । एआईले संसारलाई परिवर्तन गरिरहेको छ । समाज, अर्थतन्त्र र शासन माथि महत्त्वपूर्ण प्रश्नहरू खडा गरिरहेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स तीव्र गतिमा अगाडि बढिरहेको छ । पछिल्लो समयमा मानव वार्तालापको नक्कल गर्न, निबन्ध र लेखहरू लेख्न, सुन्दर चित्र बनाउन ‘एआई’को प्रयोग हुँदै छ । एआई आराम गर्ने पक्षमा छैन । केही समयपश्चात् भिडियो गेम, सङ्गीत र चलचित्र निर्माण गर्न तम्सिने छ । एआईको द्रुत विकासले ल्यापटपबाट गुजारा गर्नेहरू आफ्नो कामबाट विमुख हुँदैछन् । ‘च्याटबट’ले अकल्पनीय करामत देखाउँदै गर्दा ग्राफिक्स कलाकारको व्यवसाय धरापमा पर्दैछ । एमबीए र कानुन विषयको परीक्षा पास गरिसकेको ‘ChatGPT’को अगाडि लेखापाल र वित्तीय विश्लेषकहरू हैरान छन् ।
‘व्यवहारिक ज्ञान’ मानवको पुँजी हो । यसको उपयोग सदियौँदेखि हुँदै आएको छ । यद्यपि सामाजिक परिवर्तन र प्रविधिको प्रगतिले आगामी दिनमा गम्भीर परिवर्तनहरू हुनेछन् । विकसित देशले स्वास्थ्य, वित्त, यातायात, निर्माण र विभिन्न उद्योगहरूमा एआईको प्रयोग गरिसकेका छन् । म्याकिन्से एन्ड कम्पनीको हालैको रिपोर्टअनुसार, एआईसँग सन् २०३० सम्ममा विश्वव्यापी आर्थिक गतिविधिमा थप १३ ट्रिलियन डलर सिर्जना गर्ने क्षमता छ । प्यू रिसर्च सेन्टरले गरेको सर्वेक्षणअनुसार ६५ प्रतिशत अमेरिकीहरूले हाल गरिरहेको काम ५० वर्षभित्रमा रोबोट र कम्प्युटरले गर्ने अपेक्षा गरिएको छ, जसले नयाँ वर्गको उदय गराउने छ । हरेक दिनजसो प्रगति पथमा लम्किएको एआईको कारण राजनीति, लागत र समयलाई महत्त्व दिन बाध्य लगानीकर्ताको स्वार्थले सामूहिक सङ्घर्षको वकालत गर्नेहरूलाई सङ्कटमा पार्ने छ । जोन मेनार्ड केन्सले पहिलो पटक सन् १९३० मा प्रयोग गरेको ‘प्राविधिक बेरोजगारी’ शब्द र १९औँ शताब्दीमा मार्टिन फोर्डले, ‘राइज अफ द रोबोट्स’मा आधुनिक प्रविधिको कारण बेरोजगार भविष्यको गम्भीर अवस्थाको अर्थ वर्तमान विश्वले महसूस गरिरहेको छ । व्यापक औद्योगिकीकरणले मजदुर वर्गको व्यापक उदय भएजस्तै एआई क्रान्तिले नयाँ गैर–श्रमिक वर्ग सिर्जना गर्नेछ भन्ने इतिहासकार युवल नोआह हरारी (Yuval Noah Harari) को भविष्यवाणी सत्य साबित भएको छ ।
औद्योगिक क्रान्तिपश्चात् टम स्ट्यान्डेजले कुशल अभिजात वर्ग र अकुशल वर्गको बीचमा अध्ययन गर्दा समाज विभाजन र सामाजिक परिवर्तनको कारण र सम्भावना देखे । औद्योगिक क्रान्ति होस् या बोल्सेभिक क्रान्ति, वर्ग सङ्घर्षले सामान्यतया नयाँ सामाजिक वर्गको गठन गरेको फेला पऱ्यो । एआईको आक्रामक उदयपश्चात् उत्पत्ति भएको काल्पनिक वर्गलाई ‘डिजिटल सर्वहारा’को नाम दिइएको छ । ‘कृत्रिम बुद्धिले नयाँ प्रकारका समस्याहरू सिर्जना गर्नेछ’ भन्ने पुँजीवादले बुझ्नासाथ नयाँ वर्ग या बेकार वर्गलाई खुसुक्क सामाजिक सञ्जालमा अल्झाउन सफल भएको छ ।
पछिल्लो समयमा ‘एआई’लाई नयाँ ‘स्टिम इन्जिन’ भन्न थालिएको छ । एआईको जगमा उदाएको डिजिटल सर्वहारा नयाँ श्रमिक वर्ग हो । ‘एआई क्रान्ति’को अत्याधुनिक सफलतालाई कल्पना गर्दै अर्थशास्त्रीहरूले भविष्यवाणी गरेका छन्- आगामी दिनमा विश्व रोजगारी बजारतर्फ सर्नेछ, साथै अधिक मानव अन्तरक्रिया आवश्यक हुनेछ । संसार मानिसले सोचेको भन्दा छिटो परिवर्तन हुँदैछ । म्याककिन्से ग्लोबल इन्स्टिच्युटका अनुसार, एआईले औद्योगिक क्रान्तिको तुलनामा अकल्पनीय ढङ्गले समाजलाई परिवर्तन गर्दैछ । पछिल्लो परिवर्तनले वर्ग सङ्घर्ष र समाजको आमूल रूपान्तरणमा नयाँ अध्याय थपिएको छ । जसले भर्खरै जन्मिएको ‘बेकार वर्ग’ र ‘डिजिटल सर्वहारा’को परिभाषा खोज्दैछ ।
एआईले भविष्यमा कस्तो प्रकारको रोजगारी बजार सिर्जना गर्छ, नयाँ प्रविधिले कस्तो प्रकारको आश्चर्य ल्याउँछ भन्ने भविष्यवाणी गर्न गाह्रो छ । विश्वको उत्कृष्ट प्लेयरलाई हराउने एआई र भर्चुअल रियालिटीको परिचयसँगै प्रविधि द्रुत गतिमा एआई क्रान्तिले नयाँ सामाजिक वर्ग निर्माण गर्न अगाडि बढिरहेको छ । अर्थशास्त्री र राजनीतिज्ञलाई थाहा छ- एआई आइसकेको छ, तर मानिसहरूलाई ‘आउँदैछ’ भनिरहेका छन् । एआईले श्रम बजारमा ठुलो अवरोध ल्याउनेछ । समाजमा नयाँ वर्गको उत्पत्ति भइसकेको छ । विश्व महामारी, मुद्रास्फीति र युद्धले आक्रान्त हुँदा मेसिन लर्निङ र रोबोटिक्सको विकास तीव्र गतिमा सुरु गरिएको छ ।
यतिबेला एआई चौथो औद्योगिक क्रान्ति हो । यसले अर्थतन्त्र र राजनीतिलाई नयाँ आकार दिन दिनरात एक गर्दैछ । अर्थशास्त्री जोसेफ शुम्पेटरले पुँजीवादले आवधिक रूपमा आफूलाई कसरी पुनः आविष्कार गर्छ भन्ने वर्णन केवल एक वाक्यांशमा गरिदिए । उनले यसलाई रचनात्मक विनाश भने, साथै यस्तो प्रक्रिया अहिले प्रारम्भिक चरणमा छ । नयाँ वर्गको उदयपश्चात् एआईको प्रभावहरू फैलिने छ । एआई क्रान्तिले नयाँ मेसिनका मालिकहरूलाई थप धनी बनाउने छ । श्रमको खर्चमा कटौती हुँदा पुँजीपतिले आयको अंश बढेको देख्ने छ । तत्कालको निम्ति परम्परागत रोजगारीमा केही समस्या उत्पन्न भए पनि अन्य क्षेत्रमा रोजगारी वृद्धि हुनेछ भन्ने पुँजीपतिको बुझाई रहँदै आएको छ । यद्यपि ‘ह्वाइट कलर जब’ र मध्यम-वर्गीय रोजगारीमा तत्काल प्रभाव देखिँदा विश्व पुँजीवाद जोखिमसँग डराउँदै छ । यीमध्ये केही समस्याहरू समाधानका नजिक छन् तर शिक्षा, स्वास्थ्य र सार्वभौमिक आधारभूत आम्दानीका स्रोतहरू थप खतरामा पर्दैछन् ।
अत्याधुनिक र अत्यावश्यक प्राविधिक परिवर्तनले नीति-निर्माताका लागि महत्त्वपूर्ण चुनौती थप्ने गर्दछ । अघिल्ला तीन वटा औद्योगिक क्रान्तिहरूमध्ये प्रत्येकले समान प्रारम्भिक प्रभाव पारेको थियो । यसले अर्थतन्त्रमा रोजगारीहरू खाली ग¥यो, असमानता बढ्यो र श्रममा जाने आयको अंशमा गिरावट ल्यायो । साथै वर्ग सङ्घर्षको नयाँ आधारभूमि खडा गऱ्यो । फलस्वरूप नीति-निर्माताहरू सावधानी र गतिका साथ काम गर्न बाध्य भए । जसले शक्तिशाली सत्तालाई समाजको अन्तर्विरोधअगाडि पटक-पटक झुक्न बाध्य बनायो ।
रोबोटहरू सस्तो र अधिक परिष्कृत हुँदै गइरहेका छन् । नयाँ-नयाँ मेसिनहरू आउँदै छन् । यतिबेला आर्टिफिसियल इन्टेलिजेन्सको आगमनले पुराना चिन्तन र विचारलाई नराम्रोसँग चिमोट्दै छ । एआई क्रान्तिले राजनीतिक नैतिकता र शासनका प्रश्नहरू बदलिएका छन् । उदाउँदै गरेको नयाँ वर्गको अव्यवस्थित शक्ति र शैलीले राजनीतिक शक्तिको भूमिकामा अन्यौलता थपिएको छ । स्वचालित टेक्नोलोजीको आन्तरिक कार्यहरू समाजको पहुँचभन्दा बाहिर रहने नयाँ वर्गले बुझ्दै गर्दा एआई क्रान्तिले अपारदर्शी सम्भावना बढाउँदै छ । एआई क्रान्तिपश्चात् विश्व पुँजीवादले डाटालाई नयाँ वर्ग स्वीकार गरेसँगै एआई पुँजीपतिको कब्जामा परिसकेको छ । कार्यस्थल व्यवस्थित, फर्मको स्वचालन, कामको जोखिम र श्रमिक कामदारको नयाँ रूपहरू देखापरिसकेको छ । एआई प्रबन्धकीय पुँजीवादको सुझावअनुसार श्रम र कार्यस्थलका आधारभूत प्रश्नहरूको जवाफ दिन टेक्नोक्रेटिक शैली अगाडि आउने छ ।
समाज परिवर्तनतर्फ लम्किरहेको छ, निरन्तर लम्किरहने छ । समाज परिवर्तनको कारण केवल आर्थिक मात्र नहुने प्रमाणित भइसकेको छ । साथै व्यावसायिक गतिशीलताको कारण वर्गहरू बीचको निष्ठामा अकल्पनीय परिवर्तन देखापरेको छ । विश्वबजारमा एआईको आक्रामक उपस्थितिले श्रम बजार, अर्थतन्त्र र राजनीतिमा नयाँ अवसर र चुनौती थपिएको छ । त्यसको बाछिटा मुलुकको राजनीति र आर्थिक परिदृश्यमा पर्दैछ । जसले सम्भावित सामाजिक अवरोधहरू निम्त्याउँदै छ । नयाँ वर्गको कारण आउने समस्या उनीहरूले महसूस गरिसकेका छन् । दुर्भाग्य ! सिंहदरबारले एआई टेक्नोलोजीको महत्त्वसम्म बुझ्न सकेको छैन ।
आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो जीवनका धेरै पक्षहरूमा आफ्नो सिक्का जमाउन सफल भइसकेको छ । यसको पछिल्लो उदाहरण सामाजिक सञ्जाल र त्यसको प्रभावलाई लिन सकिन्छ । एआईले हाम्रो दैनिकी, सोच, अन्तरक्रियाको विषय र सूचना प्रविधिप्रतिको धारणामा नयाँ आकार दिइरहेको छ । एउटा अनुसन्धानले देखाएको छ- सन् २०२१ सम्म विश्वव्यापी रूपमा सक्रिय सोसल मिडिया प्रयोगकर्ताहरूको सङ्ख्या ४.२६ बिलियन थियो । उनीहरूले सोसल मिडियामा दैनिक औसत २ घण्टा र २७ मिनेट खर्च गरिरहेको अनुसन्धानले पत्ता लगाएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको अकल्पनीय वृद्धिसँगै ग्राहक प्राथमिकता बुझ्न एआईले आफ्नो उपस्थिति बढाउँदै छ ।
एआईले सामाजिक सञ्जाल प्रयोगकर्ताको अनुभव बढाएको छ, तर धेरै सीमितताहरूको सामना गरिरहेको छ । पूर्वाग्रहको सम्भावना, व्यक्ति र विशेष समूहहरूको अन्यायपूर्ण व्यवहार, नियामक ढाँचा र नैतिक जिम्मेवारीबाट भाग्ने गतिविधिले सोसल मिडिया माथि जटिल नैतिक प्रश्न जन्माएको छ । सोसल इन्जिनियरिङ भत्केको मुलुकमा बढ्दो चिन्ता भनेको भविष्यमा सोसल मिडिया कामहरूमा एआईको प्रभाव हो । संसदीय राजनीतिमार्फत दलीय नेतृत्वलाई भ्रष्ट बनाउने सफलता प्राप्त गरेको समयमा बिना रोकटोक चम्किएको सामाजिक सञ्जालले युवायुवतीलाई वैचारिक रूपले भ्रष्ट बनाउँदै छ । अरूको कमजोरी कोट्याउने नाममा आफू नाङ्गै आउने बेकार वर्गलाई नियमन र नियन्त्रण जरुरी छ तर विश्व पुँजीवादले स्वतन्त्रताको नाममा उनीहरूलाई खुला मैदान उपलब्ध गराइरहेको छ । गराइरहने छ ।
वर्तमान डिजिटल युगमा दैनिक अकल्पनीय मात्रामा डाटा उत्पन्न हुँदैछन् । एआई प्रमुख सामाजिक सञ्जालहरूको एउटा महत्त्वपूर्ण अंश बनेको छ जसले सामाजिक सञ्जालमा आउने विशाल डाटालाई व्यवस्थित गर्दै आएको छ । एआई विगतका केही वर्षहरूमा सबैभन्दा रोमाञ्चक विषयहरूमध्ये एक भएको छ, जसले विगतका मिडिया पोस्टहरूबाट निरन्तर सिक्दै तपाईंको अभियानहरू मापन गरिरहेको छ । प्रयोगकर्तालाई बुझ्न र उनीहरूको पोस्टहरूमा उमेर, स्थान, संलग्नता र क्षमताको मूल्याङ्कन गर्न एआईको निम्ति सामान्य भएको छ । जेनेरेटिभ एआई मोडेलहरूले विभिन्न आकर्षक सामग्री सिर्जना गर्ने क्षमताको साथ सोसल मिडियामा तरङ्गहरू सिर्जना गरिरहेका छन् । एआईको आक्रामक उपयोगपश्चात् सामाजिक सञ्जाल राजनीतिक कार्यकर्ताको भूमिका समेत निभाउँदै छ । अझ डरलाग्दो कुरो गरिब मुलुकमा भ्रष्टाचारको विरोध गर्न, सुशासनको वकालत गर्न या क्रान्ति गर्न, सर्वसाधारण जनताको परम्परागत सोच भत्काउन, नयाँ पार्टी र नेता जन्माउनसमेत ‘एआई’को प्रयोग हुँदैछ । ‘पुँजीवाद’ ढुक्क छ- आगामी दिनमा कुनै व्यक्ति, समुदाय, नेता या दलहरू थप कमजोर बन्नेछन् र सम्पूर्ण काम एआईको अधीनमा पुग्नेछ ।