छेपाराहरूको पेटेन्ट राइटको लडाइँ !
छेपाराहरूको सम्मेलन हुँदै थियो । सम्मेलन हलमा देशभरिका प्रतिनिधिहरू उपस्थित भइसकेका थिए । सम्मेलनको उद्घाटनको निम्ति प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिको आसनग्रहण गराइसकिएको थियो । छेपाराहरूको नेताले मञ्चबाट भाषण सुरु गर्दै भन्न थाले । छिन-छिनमा कुरा फेर्ने, गर्छु भन्ने तर जीवनभर नगर्ने, सधैँ रसरङमा रमाउने, सधैं हतारको कुरा गर्ने तर फुर्सदमा रहने, हाम्रो जातिको पहिचान हो । आज हाम्रो पहिचान माथि धावा बोलिएको छ । जान अनजानमै हाम्रो पहिचान अपहरण गरिएको छ । त्यसैले अपहरण भइसकेको हाम्रो पहिचान फिर्ता लिन हरेक मोर्चाबाट सङ्घर्ष गर्नु ढिला भइसकेको छ ।
धाराप्रवाह रूपमा भाषण गर्ने छेपाराहरूको नेताले आफ्ना कथाब्यथा सम्मेलनमा राख्दै थियो । छेपारो हुनु भनेको वा छेपारो प्रवृत्ति भनेको’ गर्छु भन्ने तर कहिल्यै नगर्ने’ हो भन्ने हाम्रो मुलमन्त्र आज चोरी भएको छ, अपहरणमा परेको छ । त्यो हाम्रो मौलिकपनलाई जोगाउन, हाम्रो खोसिएको ‘पेटेन्ट राइट’ लाई स्थापित गराउन कस्तो लडाइको तयारी गर्ने भन्ने निचोड निकाल्न हामीहरू यस सम्मेलनमा उपस्थित भएका छौँ र हौँ ।
सभामा उपस्थित एक सोझो छेपारो प्रतिनिधिले सोध्यो । हाम्रो पेटेन्ट राइट कसले खोस्यो ? या, कसले अपहरण गऱ्यो ?
छेपारोको नेताले मञ्चमा आसीन प्रधानमन्त्री प्रचण्डतिर हेर्दै भने, ‘सबैले बुझिसके । चिनिसके । प्रधानमन्त्रीज्युले ।
छेपारो प्रतिनिधिले भन्यो । कुन नौलो कुरा भयो र ? देशका प्रधानमन्त्रीको काम नै त्यही हो ।
लिनु हो, दिनु होइन ।
उनले कमसे कम हाम्रो नाम र काम लिएका छन् । अनि देश विदेशलाई धोका । उनी प्रधानमन्त्री भएकै नगर्ने सर्तमा हो । उनी हाम्रा चेला हुन् ।
हैन हैन, उनी हाम्रा अपहरणकारी चेला हुन् । माग्ने त उनको बानी नै छैन । उनी पूर्व अपहरणकारी हुन । उनले कस्ता कस्ता कुरा अपहरण गरे । जाबो हाम्रो पेटेन्ट चोर्नु वा अपहरण गर्नु कुनै नौलो र ठुलो कुरा हैन र रहेन ।
हाम्रो देशमा गर्नेहरू टिक्दैनन् । इतिहासले त्यही भन्छ । गर्छु भनेर सुरसार कसेकाहरू कुर्सीमा पुग्नेबित्तिकै हटाइएका उदाहरण बिपी, मनमोहन हेरे पुगिहाल्छ । यी सबै कुराबाट शिक्षा लिँदै आजकल हाम्रो देशका प्रधानमन्त्री स्वदेशी काम नगर्ने, विदेशी काम गर्ने सर्तमा कुर्सीमा विराजमान छन् । उनले पाएका काम नै नगर्ने हो । जसको पुरापुर धर्म छेपारोबाट सिक्दै निभाइरहेका छन् ।
सभामा उपस्थित अर्को छेपारोले सोध्यो-
हैन, यो पेटेन्ट राइट भनेको के हो ? बौद्धिक सम्पत्तिको रूप हो पेटेन्ट । कुनै चिजको खोजपछि आफ्नो खोजको दावालाई सुरक्षित गर्ने कार्य नै पेटेन्ट राइटअन्तर्गत पर्दछ । कुनै व्यक्ति, समुदाय र देशले प्राप्त गरेको खोजको दावालाई व्यापारिक प्रयोगमा उसको अग्राधिकार कानुनी रूपले सुरक्षित गराउने कार्यलाई संसारमै पहिलो पटक कानुनले सम्बोधन गर्ने मुलुक ग्रीक (हालको ग्रिस) हो । छेपाराहरूको सवाल र जवाफले चिन्तित प्रमुख अतिथिको अनुहार हेर्नलायक हुँदै थियो ।
सम्मेलनमा बाँडिएको आरोपहरूको पर्चा आफ्नो हातमा लिँदै पढिरहेका प्रधानमन्त्री आफ्ना छेपारे क्रियाकलापहरूलाई बुँदागत रूपमा यसरी पाइरहेका थिए ।
१) विगतमा विभिन्न शक्ति केन्द्रसँग आफूले सक्ने नसक्ने बाचा गर्दै प्रधानमन्त्रीको कुर्सीमा बसेका दाहाल हरेक दिन मिति सार्दै र आफ्नो वचनलाई टार्दै पटक पटक रङ्ग फेरेको अनेकौँ प्रमाण हाम्रैसामु छन् । महिना दिन भित्रै, १५ दिन भित्रै, ७ दिनभित्रै, मसान्तभित्रै, एकाध दिनभित्रै, भारत जानु अगाडि नै, भारतबाट फर्के पछि, भारतीय राष्ट्रपति आउनु अगाडी नै, राष्ट्रपति जानेबित्तिकै, उज्यालो हुने बित्तिकै, वा साँझ पर्नुअगाडिको शैलीमा विदेशीका रणनीतिक स्वार्थ उनीहरूकै चाहानाअनुसार सम्बोधन गर्ने बाचा छेपाराको रङ्गफेराइ भन्दा चर्को महसूस हुँदा आफ्नो पेटेन्ट राइटको लडाइँ लड्न बाध्य भएका छौँ ।
२) गङ्गा गए गङ्गादास, जमुना गए जमुना दास भनेजस्तो एमाले भेटे मदन भण्डारी, काङ्ग्रेस भेटे बीपी, राप्रपा भेटे राजा महेन्द्र, मधेसी मोर्चा भेटे साक्षात् मोदी नै बन्ने प्रवृत्तिले उनीभित्र जागेको अवसरवाद देख्ने अवसर पाएका हामीहरू (छेपाराहरू) दाहाल कलाबाट दिग्भ्रमित हुन बाध्य छौँ ।
३) जन्मँदा छविलाल नामले सुशोभित भएका वर्तमानका प्रचण्ड धादिङको रिचोकटारमा जन्मिएका चितवनलाई कर्मथलो बनाएका राजकृष्ण कँडेलबाट पुष्पकमल नाम प्राप्त गरे भन्ने सुनिन आएको हो । राज्यसत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने माओको सिद्धान्तबाट प्रभावित मोहन वैद्यबाट प्रचण्ड बनाइएका हुन् भन्ने सुनिन आएको हो । अनेक तिकडमबाट सिंहदरबारको कुर्सी प्राप्त गरे पनि विदेशीको आशीर्वाद बिना जोगाउन असम्भव छ भन्ने राम्रोसँग ज्ञान प्राप्त गरेका वर्तमान प्रधानमन्त्री ब्रह्माको जस्तो तीन टाउकोले बोल्न सक्ने र छिटो छिटो रङ्ग फेर्न सक्ने कलाको कारणले छेपाराहरूको अधिकार दीर्घकालीन रूपमा दाहालको कब्जामा पुग्छ भन्ने हाम्रो दाबी छ ।
४) जुन जाती भेट्यो उसैलाई आफ्नो समर्थन र साथ छ भन्ने दाहाल आजकल छेपाराले पनि आफ्नो जात प्रति नगरेको गद्दारी गर्ने सुरसार टुँडिखेलमा गुरुङ जातीको महान् चाड ल्होसारमा ‘म अरू जस्तो बाहुन हैन’ भनेको सुन्दा हामीहरू (छेपाराहरू) खुसीले झुम्दैछौँ । आफूहरूबाट अकस्मात् खोसिएको पेटेन्ट राइट पुनः हामीमै आउने सम्भावना देख्दा रमाएका हामी उनको विगत र वर्तमान सम्झिदा रमाइ हाल्ने स्थिति नआई सकेको हाम्रो विश्लेषण छ ।
५) दुनियाँको आँखामा छारो हाल्ने, दिउँसै रात पार्ने,लोकतन्त्र र राष्ट्रप्रति कुनै माया र जिम्मेवारी बोध नभएको, विदेशी मिडिया बोलाएर नाटक गर्ने लगायतका ओली प्रतिको आरोप फगत कुर्सीको लोभमा भुल्ने तागत हामी छेपारोहरूसँग थिएन/छैन । हामी कसैको एसम्यान हैनौँ भन्ने दाहाल विदेशी शक्तिको इच्छा र चाहना अनुसार राष्ट्रिय सहमतिको व्यक्ति खोज्न हौसिनुले विगतमा नाटकै हो ! नाटकै हो ! भनेको यति सजिलै भुलेको देख्दा हाम्रो काम, नाम, एजेन्डा र इज्जत सबै दाहालका हुनेछ भन्ने पीडाले त्रसित छौँ ।
६) कुर्सीमा पुग्न सबै गुलियो अनुभव गर्ने, कुर्सी पाएपछि दिव्य ज्ञान फुर्ने अनुपम घटना मुलुकले देखिसकेको छ । संविधान र सङ्घीय लोकतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र विग्रह मात्र पैदा गर्छ । मैले दुई महिनाभित्रमा तितो अनुभव गरेको छु । बेला बेलामा उतार चढाव भएपनि फेरि हामी ठिक ठाउँमा आइहाल्छौ । देश, जनता, लोकतन्त्र, स्थायित्व र विकासको निम्ति वर्तमान गठबन्धनको पहल गर्नु जरुरी थियो । त्यसै अनुरूप भएको छ । गरिएको छ भन्ने प्रधानमन्त्री दाहालको पछिल्लो बुझाई र बोलीले हाम्रो (छेपारोहरूको) मौलिकपन थप असुरक्षित भएको छ ।
७) विगतमा पेरिस डाँडाको रोडम्याप अनुरूप एमालेबाट छुट्टिएका माधवलाई सडकमा छोड्दै गत पुस १० गते बालुवाटारको असफल वार्ता पश्चात् बालकोट दरबार प्रस्थान गरे । नेता दाहालले काङ्ग्रेस र मिडिया सामु गरेका तमाम वचनलाई बिर्सँदै ओलीसँग प्रधानमन्त्रीको भिख मागे । निर्वाचन पूर्व गठबन्धनसँग गरिएका वाचा, प्रतिज्ञा, घोषणा, आरोपलाई लत्त्याउँदै नेता ओलीलाई तपाईँ राष्ट्रपति,सभामुख, मुख्यमन्त्री लगायत अनेकौँ पद रोजेर राख्नुस् तर मलाई प्रधानमन्त्रीको कुर्सी उपलब्ध गराई दिनुस् भन्दै गिड्गिडाए । दुर्भाग्य ! प्रधानमन्त्री दाहालले फागुन १२ मा आइपुग्दा नेता ओलीको दुर्गुण मात्र देख्न पुगे । आफू को हुँ ? विगतमा ओली र जनता सामु कसरी प्रस्तुत भएँ ? निर्वाचन पश्चात् जनताले कस्तो हैसियत दिएका छन् भन्ने सबै कुरा अनदेखा गर्दै छेपारो बन्न हौसिए । यती छिटो छिटो रङ्ग फेर्ने काम हामीहरूले (छेपाराहरूले) समेत गर्न नसक्ने बुझ्दै गर्दा नेता दाहालको तथाकथित शैली र व्यवहारसँग रुष्ट छौँ । दाहालको रङ्ग फेराइसँग घोर आपत्ति छ, हाम्रो काम र नाम दाहालले कसरी चोर्न सक्छन् भन्ने हाम्रो दाबी छ ।
नेता दाहालको विरुद्ध आरोपहरूलाई सूत्रबद्ध गर्दै पर्चा निकाल्न सफल छेपाराहरूको आक्रोश थामिएको थिएन । प्रधानमन्त्री दाहालबाट अपहरणमा परेका आफ्ना अधिकार (पेटेन्ट राइट) फिर्ता लिन कस्सिएका आक्रोशित छेपाराहरू दाहालको जबाफ सुन्न आतुर थिए । छेपाराहरूको आरोपबाट मर्माहत दाहाल उनीहरूलाई शान्त बनाउन मञ्चमा आउँदै गर्दा मञ्च तल बसेका छेपाराहरूको नारा जुलुस र आत्मदाहको कोसिसले दाहालको होस उड्दै थियो । अचानक उनी माथि भएको छेपाराहरूको हमलाले तर्सिदा खुलेको निद्राले प्रधानमन्त्री दाहालको अल्पकालीन इज्जत जोगियो । प्रधानमन्त्रीको रूपमा बाँकी उनको कार्यकाल छेपारेपनको नहोस् भन्ने कामना गर्दै मस्तसँग सुतियो ।