कमरेड ओलीको निःशस्त्रीकरण !

‘तातो दूधले पोलेको मानिस मोही पिउँदा पनि फुकेर पिउने गर्छ’ भन्ने उखानको सान्दर्भिकता अकस्मात् चुलिएको छ । ०६२/०६३ को राजनीतिक परिवर्तनपश्चात् मुलुकले प्राप्त गरेका राष्ट्रपतिको व्यवहारबाट झस्केका प्रचण्डले नयाँ राष्ट्रपति चयन गर्ने अभियानमा ‘मोही’ फुकेर पिउन चाहेको कुरा कमरेड ओलीले नरुचाएको महसूस वर्तमान राजनीतिले गरिसकेको छ ।

केही दिनअघि कमरेड ओली सम्मानित सदनसामु विचित्र ढङ्गले प्रस्तुत भए । संसदीय राजनीतिमा भाषाको प्रयोग अत्यन्त रोचक किसिमले गर्न सक्ने कमरेड ओलीको विशेष खुबी मुलुकले पहिले नै थाहा पाइसकेको हो । एउटै विषयमा शब्दहरूलाई एकै पटक सम्मानित र अपमानित गर्न सक्ने कलाका धनी कमरेड ओलीले संसद्सामु खर्च गरेको बहुमूल्य समय कुन विषयमा केन्द्रित थियो भन्ने सुन्नासाथ उनको सोच र प्रवृत्तिमा कुनै बदलाव नआएको बुझ्न सकिन्थ्यो । सम्मानित संसद्सामु संवैधानिक इजलासले गरेको फैसलाको खिल्ली उडाउनुका साथै कमरेड ओलीले देउवाप्रति अभद्र कटाक्ष गरेको अनुभूति गरियो ।

नीतिकथाको सेरोफेरोमा कहीँ न कहीँ आफ्नो उपस्थिति थियो भन्ने बिर्सिंदै कमरेड ओलीले बाघ र सुनको बालाको कहानी सम्मानित संसद्लाई सुनाए । बाघले एउटी महिलालाई झम्टेर मारेछ । सुनका बाला लगाएकी महिलालाई खाइहालेछ तर सुनका बाला बाघसँग बचेछ । केही समयपश्चात् बाघ बुढो भएछ । उ गुफाबाट बाहिर निस्कन नसक्ने भएपछि बाटोमा हिँड्ने महिलालाई सुनको बाला लिन गुफाभित्र आऊ भन्न थालेछ । बालाको लोभमा गुफाभित्र जानेलाई उसले भनेछ– अलिक नजिकै आऊ, हातैमा दिन चाहन्छु । सुनको लोभमा नजिकै जानेलाई झ्याप्प पार्दोरहेछ । उल्लिखित नीतिकथा पाठ गर्दै कमरेड ओलीले काङ्ग्रेसलाई बुढो बाघसँग दाँजे । उनको दाबी थियो– अब काङ्ग्रेसको जालमा कोही पर्दैन । सुनको बालामा कोही लोभिँदैन । काङ्ग्रेसलाई बुढो बाघ भनिरहँदा कमरेड ओलीले एमाले बुढो भएको भुसुक्कै बिर्सिए । अहिले काङ्ग्रेसले देखाएको सुनको बाला गत पुस १० गते आफैले कमरेड प्रचण्डलाई देखाएको सम्झिन जरुरी ठानेनन् ।

सम्बोधनको क्रममा देउवालाई जालन्धर नबनौँ भन्ने कमरेड ओली ६ महिनाभित्रमा दुई पटक संसद् विघटन गर्दै जालन्धरको रुपमा कसरी उदाय भन्ने बुझ्न एमाले पार्टीको विगत नियाल्नु अनिवार्य छ । कमरेड मदनको देहावसानपश्चात् पार्टीलाई बलियो बनाउन भन्दा आफू बलियो बन्नुपर्छ भन्ने सिद्धान्तमा अडिग कमरेड ओली एमालेको लोभलाग्दो सङ्गठनलाई कब्जा गर्न रणनीतिक ढङ्गले लागिरहे । यस महाअभियानमा लाग्दै गर्दा अपवादमा बाहेक क्षमतावान्, ऊर्जावान्, लोकप्रिय, योग्य व्यक्तिभन्दा सेवक र भक्तहरूको खोजी तीव्र बनाए । तीव्र गुटबन्दी र माधव नेपालको कमजोरीको जगमा अन्ततः उनी पार्टीअध्यक्ष बन्न सफल भए । ततपश्चात् विगतमा पार्टीले स्थापित गरेका मूल्य-मान्यतालाई च्यातच्युत पार्दै फुक्काफाल हिँड्न थाले ।

राज्यका लायक स्थानमा आफ्ना ‘सेवक’लाई नियुक्ति दिलाउँदै संवैधानिक ढङ्गले राज्यसत्तामाथि पकड जमाउँदै गए । उनी जति धेरै बलिया बन्दै गए, एमाले पार्टी राजनीतिक र वैचारिक रूपले कमजोर बन्न थाल्यो । साथै एमालेले जनताको कुरा सुन्न छाड्यो भने आफ्ना कुरा कार्यकर्ता र जनतालाई सुनाउन थाल्यो । अझ भनौँ, अपवादमा बाहेक उनले पुरस्कृत गरेका पात्रहरूले उत्कृष्ट क्षमता प्रदर्शन गर्न सकेनन् । जसले पार्टी र जनताको सम्बन्ध पातलो बन्न थाल्यो । यसको असर उनको पार्टीमा मात्र सीमित रहेन । ओली–राजनीतिको नकारात्मक बाछिटा संविधान र लोकतान्त्रिक पद्दतिमाथि पर्न थाल्यो । फलस्वरूप वाम आन्दोलनप्रति आस्था र भरोसा राख्ने ठुलो जनसमुदाय निराश बन्यो ।

मुलुकको वर्तमान अवस्था र वाम आन्दोलनको असफलताप्रति सटिक र कटु आलोचना गर्दै पुर्वमन्त्री देवी ओझा भन्छन्- ‘पहिला विद्यालयको शिक्षक हुन्थ्यो । अहिले शिक्षकको विद्यालय हुन्छ । पहिला अस्पतालको डाक्टर हुन्थ्यो । अहिले डाक्टरको अस्पताल हुन्छ । पहिला पार्टीको नेता हुन्थ्यो । अहिले नेताको पार्टी हुन्छ ।’ एमालेको लोकतान्त्रीकरण गर्ने आवाज बुलन्द गर्दै अध्यक्ष चुनिएका कमरेड ओली देवी ओझाको ब्यङ्ग्यअनुरूप हिँड्न हौसिँदा मुलुकले उनको निःशस्त्रीकरण चाहेको छ । भनिन्छ- युद्धको एक प्रमुख कारण शस्त्रको अस्तित्व हुनु हो । हिंसाको प्रयोग गर्दै राज्यसत्ता कब्जा गर्ने कम्युनिस्ट सिद्धान्तलाई ‘जबज’मार्फत निःशस्त्र गर्ने काम कमरेड मदनले सम्पन्न गरे । निःशस्त्रीकरणले शान्तिलाई सुदृढ बनाउँछ भन्ने विचारलाई चटक्क भुल्दै त्यागिसकेको तमाम चिन्तन, दर्शन र कार्यक्रमलाई व्यक्तिगत फाइदाको निम्ति कमरेड ओलीले आफ्नै सहयोद्धामाथि निर्मम प्रयोग गरिरहे ।

छिटोभन्दा छिटो सत्ताको स्वाद चाख्न कमरेड ओलीले मुलुकको संविधानलाई मुलुक र जनतामैत्री बनाउन चाहेनन् । धेरै तानतुन गर्दा उठ्ने राजस्वले मुलुकको साधारणतर्फको खर्च मात्र धान्ने बुझ्दाबुझ्दै अनुपयुक्त प्रणालीलाई स्वीकार गर्न राजी भए । आफ्नो स्वास्थ्य र कुर्सी-स्वार्थलाई केन्द्र भागमा राख्दै विकास र समृद्धिको बाधक विषय मुलुकको संविधानमा समावेश गर्ने कमरेड ओलीको तत्कालीन सक्रियता मुलुकले बुझ्नै चाहेन । दुनियाँकै खर्चालु व्यवस्था र प्रणाली बोकेर देशमा विकास र समृद्धिको मूल फुटाउन सकिने कमरेड ओलीको झुटो दाबीको ऋण मुलुक र मुलुकवासीले कसरी चुक्ता गर्लान् ? आजको मितिमा सन्तोषजनक जवाफ मुलुकसँग छैन ।

यतिबेला मुलुकमा देउवाको पार्टी छ । ओलीको पार्टी छ । प्रचण्ड, माधव, रविको पार्टी छ तर जनताको पार्टी छैन । मुलुकका शीर्ष नेताले कसरी समय गुजार्छन् ? आधुनिक मुलुक निर्माणको निम्ति अन्तरक्रिया र बहस गर्नुको सट्टा एउटै डुङ्गामा सवार प्रतिस्पर्धी दल र साथीविरुद्ध हिलो छ्याप्ने राजनीतिक पार्टी र शीर्ष नेतृत्वले संविधान र प्रणालीको भद्दा मजाक उडाएको सम्मानित सदनले देख्न विवश हुनुले मुलुकमा लोकतन्त्रको हालत कस्तो छ, भनिरहनु परेन । जतिसुकै अप्रिय लागे पनि ‘भारत र चीन’ले नचाहँदासम्म नेपालको विकाशले गति लिन सक्दैन भन्ने कटु यथार्थलाई चटक्क बिर्सेर संविधान जारी गर्दै गर्दा कमरेडले युरोपियन र अमेरिकन स्वार्थलाई मैदान खाली गरिदिए । आफ्नो कारणले ‘भारत र चीन’को अतिरिक्त सक्रियता मुलुकले भोग्नेछ, साथै मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरतामा गम्भीर असर पर्नेछ भन्ने सोच्न आवश्यक देखेनन् ।

कमरेड ओली पटक-पटक भन्छन्- समृद्धिबाहेक अर्को सपना छैन, कार्यक्रम छैन । दुर्भाग्य ! उनको दाबीलाई पत्याउने कुनै ‘कार्ययोजना र टिम’ विगतदेखि वर्तमानसम्म मुलुकले देख्न पाएन । सत्ता सञ्चालनको दौरान उनले पुरस्कृत गरेका पात्रहरूले आफ्नो पदको गरिमा राख्न सकेनन् । बढ्दो ऋण, आयात, जलवायु जोखिम, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय उनको प्राथमिकतामा परेको संसद्ले सुन्न पाएको छैन । जनताको जीवनस्तर कसरी उकास्ने, डरलाग्दो बेरोजगारी समस्या कसरी समाधान गर्ने, शिक्षित मानिसको पलायन कसरी रोक्ने, युवा युवतीको भविष्य देशभित्रै छ भन्ने विश्वास अभिभावक र उनीहरूलाई कसरी दिलाउने भन्ने विषयमा संसदमा बोल्ने, पार्टीलाई अग्रसर गराउने, विपक्षी दलहरूसँग अन्तरक्रिया गर्ने काममा कमरेडको सक्रियता र रुचि मुलुकले देख्न पाएको छैन ।

कमरेड ओलीलाई मुलुकले दुई पटक प्रधानमन्त्रीको रूपमा भोगिसकेको छ । उनले जनतालाई देखाएका सपनाको १० प्रतिशत मात्र काम सम्पन्न गर्न सकेको भए पनि उनी धन्यवादका पात्र हुने थिए । उनको ४० महिने दोस्रो कार्यकालमा केवल चामल, तेल, मकै, कोदो, गहुँमा मात्र आत्मनिर्भर बनाउने सफलता दिलाएका भए आज पूरा मुलुक उनको प्रशंसामा झुमिरहेको हुन्थ्यो । सामान्य आलु, प्याज, च्याउ, सिमी, चना, मास, गोलभेँडा, लसुनलगायतका तरकारीसमेत विदेशीको मुख ताक्नुपर्ने अवस्थाबाट मुलुकलाई उठाउन नसकेको कुरा मात्र स्वीकार गरिदिएको भए राजनीतिक इमानदारिता हुन्थ्यो । तर कमरेड ओली सत्तारुढ दलले सरकार र प्रतिपक्षी दलले संसदमार्फत जनताको काम र आवाज बुलन्द गर्ने परिपाटी बसाउन सक्रिय हुनुको सट्टा सर्वोच्च अदालत, सुशासन र पारदर्शितालाई घाइते बनाएर प्रमुख प्रतिपक्षी दलको मानमर्दन गर्दा युद्ध जितेको महसूस गर्दैछन् ।

कमरेड ओलीले ढिलो चाँडो स्वीकार गर्नैपर्छ । आफ्नै अराजनीतिक व्यवहारको कारण मुलुकले अपवित्र गठबन्धन देख्यो, भोग्यो । उनले चाहेको भए राजनीतिलाई एउटा दिशा दिन सक्थे । राजनीतिप्रति आम मानिसको धारणा बदल्न सक्थे । आफ्नो बहुमूल्य समय विकृति, विसङ्गति र बेथितिको विरुद्ध खर्च गर्न सक्थे । दुर्भाग्य ! कमरेडले उल्लेखित बाटो हिँड्न चाहेनन् । आफूभित्र रहेका कमी, कमजोरी र अधिक सत्ता लिप्सालाई रोक्न, सच्याउन, सुधार गर्न आवश्यक समेत देखेनन् । जसको कारण नेपालको वाम आन्दोलनको सेयर मूल्य घटेको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेलाई माया गर्ने झन्डै ६ लाख मतदाताको मोहभङ्ग भएको छ । प्रस्ट भाषामा भन्दा ओलीको पार्टीले ६ लाख लोकप्रिय मत गुमाएको छ । यस अर्थमा कमरेड ओलीलाई भर्खरै सम्पन्न निर्वाचनमा विषय लागेको छ । विषय लागेको विद्यार्थी प्रथम हुन पाउँदैन । कमरेड ओली ६ लाख मतदाताको विश्वास गुमाएर पहिलो भएको गर्व गर्दैछन् । आफूलाई कानुन र संविधानभन्दा माथि देख्ने कमरेड ओली जनताको नजरमा अस्वीकृत भएका छन् तर आत्मसमीक्षा गर्न जरुरी ठान्दैनन् ।

मुलुकको राजनीतिमा कमरेड ओलीको राप-ताप ओरालो लाग्दैछ । कमरेडले नेकपाको एकता जोगाउन सकेनन् । एमाले फुट्नबाट रोकेनन् । अझ भनौँ- उनले परिस्थितिको सही आँकलन गर्न सकेनन् । प्राप्त शक्ति मिल्काएर हवाई शक्तिको पछि लाग्ने उनको अराजनीतिक व्यवहारले मुलुकलाई कति भयानक अवस्थातर्फ डोऱ्याउँदै छ- वर्तमान संसद्को अङ्कगणितले देखाइसकेको छ ।

यतिबेला कमरेड ओलीका दाबीहरू अलपत्र छन् । सिंहदरबारको ढोकाबाट छिर्दै प्रधानमन्त्री बन्ने उद्घोष बेवारिसे बन्यो । समानुपातिक मत ५० लाख ल्याउने हवाइ सपना मुर्छित बन्यो । भएको शक्ति सडकमा मिल्काएर दिनहुँ बालुवाटार धाउने अवस्थामा पुग्दा समेत उनी सच्चिएनन् । वास्तवमा उनीसँग केही थिएन । उनी विकासवादी भएका भए वर्तमान संविधानभित्र खर्चिलो प्रणाली राख्न राजी हुने थिएनन् । उनी सुशासनवादी देखिएनन् । सुशासनको महिमा गाउनेले गुटबन्दी गर्दैन । टीकेप्रथा कायम राख्दैन । क्रेनले टिपेर लायक पदमा नालायकलाई बसाउँदैन । उनी लोकतन्त्रवादी भएको भए यस्तो विभत्स ढङ्गले पार्टी चलाउने थिएनन् । उनी निजी सपनाका सौदागर मात्र हुन् । उनी रित्तो छन् तर स्वीकार गर्न हच्किन्छन् । उनको लहडको भारी मुलुकले बोक्न सक्दैन । त्यसैले कमरेडको निःशस्त्रीकरण जरुरी छ । मुलुक, लोकतन्त्र र वाम आन्दोलनको निम्ति कमरेड ओलीको सम्मानजनक बिदाइ आवश्यक छ ।